मकवानपुर । मेची–महाकाली साइकल यात्राको लागि हेटौंडाका साइकलप्रेमी ११ जना सहित १३ जनाको शुक्रबार झापाको सीमावर्ती बजार मेचीनगर प्रस्थान गरेका छन् । हेटौंडाबाट शुक्रबार बिहान झापाको काकडभिट्टा प्रस्थान गरेको साइकलयात्रा टोलीले शनिबार कोजाग्रत पूर्णिमाको दिन बिहान ८ बजे मेचीनगरस्थित नेपाल–भारत सीमानाकाको मेची पुलबाट साइकलयात्रा सुरु गर्ने भ्रमण टोलीका लक्ष्मीचरण श्रेष्ठले जानकारी दिए ।
साइकल यात्रा टोलीमा हेटौंडाका ११ जना र बुटवलका २ जना रहेका छन् । स्वास्थ्य, पर्यावरण, पर्यटन र साइकल संस्कृति विकासको निम्ति साइकल भन्ने सकारात्मक सन्देशको लागि हिमालयन राईडर्स सोसाइटी हेटौंडाको समन्वयमा साइकल यात्रा हुनेछ भने सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यको नेतृत्वमा यात्रा हुन लागेको हो ।
टोलीमा श्रेष्ठसहित, भानुभक्त आचार्य, चेतनाथ आचार्य, बुद्धिबहादुर आलेमगर, राजु थापामगर, लेखनाथ ढकाल, सरोज लामिछाने, ओकिलराज बानियाँ, दुर्गाप्रसाद लामिछाने, विकास बानियाँ, सीता श्रेष्ठ, सुशील चौधरी (बुटवल), सुरज खत्री (बुटवल) रहेका छन् । साइकलयात्रामा सहभागी सदस्यमध्ये श्रेष्ठ र भानुभक्त आचार्य दोस्रो पटक मेची–महाकाली साइकल यात्रा गर्दैछन् । ब्यक्तिगत खर्चमा मेची महाकाली साइकलयात्रा गर्न लागिएकाे हाे ।
चेतनाथ आचार्य साइकलयात्रामा सहभागीमध्ये जेष्ठ सदस्य हुन् । आगामी दिनमा निर्माण गरिने यातायातका पूर्वाधारमा साइकल लेन, साइकल पार्किङ,अपाङमैत्री लेन समावेस गर्न सोसाइटीले सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।
२०५४ साल माघ महिनामा सामान्य साइकलमा हेटौंडाका ११ जनाले मेची–महाकाली यात्रा गरेका थिए । भिजिट नेपाल वर्ष १९९८ को अवसरमा हेटौंडाको शहीद स्मारकलगायतका पर्यटकीयस्थलको जानकारी दिनका लागि ब्यक्तिगत खर्चमा उनीहरुले साइकलयात्रा गरेका थिए । ११ जनामध्ये २ जनाले पूर्वबाट हेटौंडासम्म साइकलयात्रा यात्रा स्थगित गरेका थिए भने ९ जनाले १६ दिन लगाएर मेची–काली साइकलयात्रा पूरा गरेका थिए ।
२५ वर्षअघिको पूर्वपश्चिम राजमार्गको अवस्था र बर्तमान अवस्थामा निकै फरक आएको र अहिले गियर सहितको साइकल उपलब्ध भएका कारण १२ दिनभित्र यात्रा सम्पन्न गर्न सकिने यात्राका सदस्य तथा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्य बताउँछन् ।

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट तास खेलीरहेका ९ जनालाई नियन्त्रणमा लिएको छ ।
विहीबार साँझ हेटौंडा–७, देवी बन टोल स्थित गोकुल नाथ पौडेलको घरमा तास खेलिरहेको अवस्थामा पौडेलसहित ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तास खेलिरहेको स्थानबाट ४ लाख ६५ हजार ३ सय ९० रुपैयाँ नगद सहित हेटौंडा–८ बस्ने अजय खड्का, मंदिप पौडेल, रोहित कुमार के.बी., भरत तितुङ, हेटौंडा–७, बस्ने रुपक चौलागाई, बिरेन्द्र खत्री, सबिन चौलागाई, गोकुल नाथ पौडेल र हेटौंडा–१५ बस्ने ओम घलानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर गढी गाउँपालिकामा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
असोज ८ गते मंगलबार मकवानपुर गढी -७ दुम्सीडाडा स्थित भित्री कच्ची सडक खण्डमा दुम्सीडाडाबाट हेटौडा तर्फ आउदै गरेको ना. २ ह ५१७४ नम्बरको अटो आफै अनियन्त्रित भई सडकबाट ३५ फिट तल खस्दा अटोमा सवार ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अटो दुर्घटनामा मकवानपुर गढी ७ सुकौरा बस्ने २३ वर्षीय मनिता मोक्तान, निजको २ महिनाको छोरी जानुका जिम्बा,सुकौरा बस्ने २९ वर्षीय कृष्ण बहादुर योन्जन निजको छोरी ८ वर्षीय सारोक्षा योन्जन, सुकौराकै २६ वर्षीय दिल माया योन्जन, २२ वर्षीय हिरा माया योन्जन र २२ वर्षीय बिकाश योन्जन मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
घाइतेहरुको हेटौंडा अस्पतालमा उपचारको लागि ल्याइएकोमा मनिता मोक्तान, निजको २ महिनाको छोरी जानुका जिम्बाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए । अन्य घाइते उपचार पछि डिस्चार्ज भएको बताइएको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेमा सवारी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
असोज ९ गते बिहान हेटौडा १५ रातोमाटेस्थित पुर्व पश्चिम सडक खण्डमा चुरियामाई मन्दिर तर्फबाट हेटौडातर्फ आउदै गरेको ना.१ क ६०५५ नम्बरको हाइड्रा क्रेन आफै अनियन्त्रित भई सडकको छेउमा पल्टिदा चालक र सहचालक घाइते भएकोमा सहचालकको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
क्रेन दुर्घटनामा सहचालक बिपिन महतोको उपचारको क्रममा मृत्यु भएको छ भने चालक दशरथ पासवान घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।
उनका अनुसार दुर्घटनामा चालक पर्सा जिल्ला बिरगजं ३० लालपर्सा बस्ने ३० वर्षीय पासवान सामान्य घाईते भएका थिए । साथै सहचालक पर्सा बिश्रामपुर बस्ने १८ वर्षीय महत्तोलाई क्रेनले च्यापिएकोमा उद्धार गरी दुबै जनालाई उपचारको लागि हेटौडा अस्पताल ल्याइएकोमा सहचालक महतोको उपचारको डक्टरले मृत घोषणा गरेका थिए ।
घाइते चालक पासवानको हेटौंडा अस्पताल उपचार भइरहेको तथा दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका जुरीखेतमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
मकवानपुर प्रहरीका अनुसार असोज ८ गते बुधबार बेलुका भिमफेदी ६ जुरीखेतस्थित भीमफेदी कुलेखानी काठमाडौ सडक खण्डमा काठमाडौ तर्फबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्रदेश ०२-०२७ प ४८४२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा काठमाडौ २७ महाबौद्ध बस्ने ६५ वर्षी शसिराज पाण्डे र निजको श्रीमती ६२ वर्षीय राज्यश्री थापा क्षेत्र घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्कुटर चालक काठमाडौ २७ महाबौद्ध बस्ने ६५ वर्षीय पाण्डे र ६२ वर्षीय क्षेत्रीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । क्षेत्रीको बेलुका ७:२० बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । घाइते पाण्डेको हेटौंडा अस्पताल मै उपचार भइरहेको छ ।
स्कुटर दुर्घटनामा घाइते भएका पाण्डे र क्षेत्रीलाई ६० मिटर तलबाट उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । स्कुटर सडकबाट करिब १ सय मिटर तल खसेको साथै स्कुटरको नम्बर घाइते पाण्डेले जानकारी गराएको भण्डारीले बताए ।
