नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा गोविन्द लम्साल नियुक्त भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले लम्साललाई संसदीय दलको सचेतकमा नियुक्ति गरेका हुन ।
नेता लामाले लम्साललाई काँग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११(१) बमोजिम संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
गत पुसमा बागमती प्रदेश संसदीय दलको नेतामा लामा निर्वाचित भएपछि दोलखाबाट प्रदेश सभामा निर्वाचित कुन्दनराज काफ्लेलाई दलको प्रमुख सचेतक नियुक्त गरेका थिए । कांग्रेस सांसद काफ्लेले गत भदौ १८ मा सचेतक पदबाट राजीनामा दिएका थिए ।
काफ्लेले राजिनामा दिई रिक्त रहेको प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नियुक्त लम्साल २०७९ मा भएको निर्वाचनमा धादिङ २ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा तथा अफिम फडानीलाई तीव्रता दिएको छ । प्रहरीले ४ दिनमा १ सय ६० बिगाहा जग्गामा लगाएको गाँजा तथा अफिम फडानी गरिएकाे मकवानपुर प्रहरी प्रबक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए ।
मकवानपुर प्रहरीले कार्तिक १२ गते देखी गाँजा तथा अफिम फडानी सुरु गरेकाे हाे । गाँजा तथा अफिम फडानी अभियान अन्तरगत पहिलो दिन कात्तिक १२ गते ३ बिगाहा, ८ कठ्ठा, कार्तिक १३ गते ६१ बिगाहा, ३ कठ्ठा र कार्तिक १४ गते ५७ बिगाहा १५ कठ्ठा तथा कार्तिक १५ गते ३७ विगाहा १५ कठ्ठा जमिनमा लगाइएकाे गाँजा फडानी गरिएको भण्डारीले बताए ।
प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्बर–४ मादल सेन, रतुवा,वडा नम्बर–९को कोल्टे, धुरकोट, कात्तिके, अठारे क्षेत्र वडा नम्बर–३ सरीखेत पलाँसे कैलाश गाउँपालिका वडा नम्बर–३ को कालिकाटार,आपचौर,भोगटार,र वडा नम्बर–४ को तोकुवा, धुस्राङ्, देउतिसमा लागूऔषध गाँजा फडानी गरेको उनले बताए ।
यसैगरी राक्सिराङ–९ रिचोपुङ, सिमलटार लोजा, वाङराङ, खोल्सी, रुन्चेदाङ, चेउराङ राक्सीराङ– १ र २ मा फडानी गरिएको छ । त्यस्तै कैलाश ८ को वाक्सिराङ ,सतपुर, पाख्रे, र वडा नम्बर ७ को बिलाउने, देरवारी फडानी गरिएको बताईएको छ ।
भण्डारीका अनुसार, जिल्लाको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको विभिन्न वडामा लगाइएको गाँजा र अफिम खेती नष्ट गर्नको लागि गत आइतबार १ सय ३७ जना प्रहरी टोली परिचालन गरेको थियो । जिल्लाकाे कैलाश, राक्सिराङ्ग, भीमफेदी, मनहरी गाउँपालिका तथा थाहानगरपालिकामा गाँजा खेती हुदै आएकाे छ ।
मकवानपुर । मकवानपुर जिल्लामा गैरआवासीय नेपाली (एनआरएनए) लाई नागरिकता दिइएको छ ।
बुधबार गैरआवासीय नेपाली हेटौंडाका संजिता विडारी र श्रीकृष्ण थापालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले पहिलो पटक नेपाली नागरिक प्रदान गरेको हो । हेटौंडा ११ नवलपुरकी बिडारी र हेटौंडा ५ का थापा श्रीमान श्रीमती हुन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले उनिहरुलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए । नागरिक प्राप्ति पछि प्रजिअ सेढाईले उनीहरुलाई ईश्वर, देश र जनताको नाममा शपथ खुवाएका थिए ।
विगत १५ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएक बिडारी र थापाले गैरआवसीय नेपाली नागरिकता पाएकोमा खुसी व्यक्त गर्दै देश प्रतिको माया अझै बढेको बताए । आफ्नो देशमा लगानी गर्ने बाटो खुलेको भन्दै थापाले देशलाई आर्थिक रुपमा सहयोग पुग्ने बताए ।
यसअघि असोज ३० गते मंगलबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरेका थिए ।
नेपालको संविधानमा गैर आवासीय नेपालीले नागरिक पाउन सक्ने ब्यबस्था हुँदा हुँदै पनि कानूनको अभावमा नागरिकता दिन सकिएको थिएन । गत जेठमा गैरआवासीय नेपालीलाई नागरिकता लिन पाउने गरि सरकारले नागरिकता सम्बन्धी ऐन संशोधन गरेको थियो ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका नि:शुल्क दन्त शिविर हुने भएको छ । मनहरी ३ स्थित हाडिखोला स्वास्थ्य चौकीमा १ दिने नि:शुल्क दन्त हुने भएको हो ।
दन्त शिविर कार्तिक १८ गते शनिवार बिहानबाट सुरु हुने बताइएको छ । रोटरी क्लब अफ हेटौंडा र रोट्र्याक्ट क्लब अफ हेटौंडाको आयोजना तथा एभरेष्ट डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा शिविर हुने भएको हो ।
शिविरको स्थानीय आयोजक रोटरी कम्युनिटी कर्ल्स हाँडिखोला तथा संयोजन मनहरी गाउँपालिका स्वास्थ्य समितिले गरेको छ ।
