थाहानगर। नेकपा एमाले थाहा नगर कमिटीले थाहानगरकाे अधिवेशन फागुण २८ गते गर्ने निर्णय गरेको छ । शनिबार पालुङमा सम्पन्न नगर कमिटीको पूर्ण बैठकले अच्युतम प्रसाद ढकालको संयोजकत्वमा एक सय ५ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरेको हो ।
केन्द्रीय पोलिटव्युरो सदस्य तथा मकवानपुर इञ्चार्ज देवी ज्ञवालीको प्रमुख अतिथि एवम नगर अध्यक्ष ढकालको सध्यक्षतामा भएको बैठकले माघ पहिलो हप्ताभित्र सबै वडाहरुको बैठक, माघ २१ गतेभित्र सदस्यता नविकरण, फागुण ८ र ९ गते आवशीय प्रशिक्षण, फागुण १५ गतेभित्र सबै वडाहरुको अधिवेधन तथा प्रतिनिधि छनौट गर्ने निर्णय पनि गरेको हाे ।
बैठकमा प्रमुख अतिथि ज्ञवालीले पार्टीभित्र देखा परेको समस्यालाई चिरेर अघि बढे अर्को निर्वाचनमा गठबन्धनलाई पछार्न सकिने बताए । यसैगरी संविधान सभा सदस्य सुवाष चन्द्र ठकुरी, निर्वाचन क्षेत्र नम्बर २ का इञ्चार्ज बलराम बल, थाहा इञ्चार्ज तथा बागमती प्रदेश सदस्य इन्द्रमान स्याङ्तान, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पार्टीका सर्कुलरहरु बारे बताउदै थाहामा जनताको विश्वास कायम गर्न आग्रह गरे ।
बैठकमा प्रदेश कमिटी, जिल्ला कमिटी र नगर कमिटीका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।
मकवानपुर । लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छिन् ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचाररत दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्दै उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी हुन् । दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्त्री केसीले उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन समेत दिइन् ।
‘बस समितिले घाइतेहरूको उपचार गर्छ र अहिले गरिरहेको पनि छ’ उनले भनिन्, ‘तपाईहरू (चिकित्सक) ले पनि उपचारमा कुनै कमी हुन नदिनुहोला ।’ आर्थिक अभावकै कारण घाइतेहरूको उपचारमा समस्या आउन नदिन समेत मन्त्री केसीले निर्देशन दिइन् ।
शिक्षण अस्पताल कोहलपुरमा उपचारत १३ जना घाइतेहरूमध्ये एक जना डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । हाल उपचारत १२ जना घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ ।
दुर्घटनामा एक महिला सहित १२ जनाको मृत्यु भएको थियाे भने २२ जना घाइते भएका थिए । मृतक १२ जनामध्ये २ भारतीय नागरिकसहित ८ जनाको सनाखत भएको छ । बाँकी ४ जनाको सनाखत भएको छैन । सनाखत नभएका चार जना मृतक भएकाे प्रहरीले जनाकारी दिएकाे छ ।
मृत्यु हुनेमा मकवानपुर हेटौंडा १७ हटियाका ३९ वर्षीय सौरभ बिष्ट, नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, जुम्लाको चन्दननाथ-९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुम गोतामकोट-९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका-१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्र राम र भारत उत्तरप्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखत भएको छ ।
शिक्षण अस्पताल कोहलपुरमा उपचारत १३ जना घाइतेहरूमध्ये १ जना डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । हाल उपचारत १२ जना घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार बसका चालक सल्यान घर भएका २८ वर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ । घाइतेहरूमध्ये ७ जना बुटवल, २ जनाको भालुबाङ अस्पतालमा उपचार भइरहेको बताइएकाे छ ।
हेटौंडामा भीमविराग प्रतिष्ठान र गुन्जनको कवि गोष्ठी
Tags: No Comments
मकवानपुर । भीम विराग साहित्य कला प्रतिष्ठान नेपाल र गुन्जन नारी साहित्य संस्था काठमाडौको संयुक्त आयोजनामा हेटौंडामा कवि गोष्ठी गरिएको छ ।
शुक्रबार हेटौंडामा आयोजना गरिएको कवि गोष्ठीमा मकवानपुरका तथा गुन्जनमा आबद्ध समेत करिब ३ दर्जन सर्जकहरुले रचना वाचन गरेका थिए ।
गुञ्जनका तर्फबाट जलेश्वरी श्रेष्ठ, हिरण्यकुमारी श्रेष्ठ, सुलोचना मानन्धर,सुस्मिता नेपाल, पद्मावती सिंह,सन्ध्या पहाडी, डा. रेणुका सोलु,डा. रजनी ढकाल, विन्दु सुवेदी,रुकु कार्की,सावित्री श्रेष्ठ, मन्जिला शर्मा,कमला रिसाल,रीता खत्री,रश्मि रिमाल,शान्ता शाक्य,उषा केसी,विमला कार्की,निर्मला फुयाल , यशोधा अधिकारी,गीता कार्कीले गोष्ठीमा सहभागी जनाएका थिए ।
यसैगरि मकवानपुरका आरआर चौलागाईं, हयग्रीव आचार्य, भावना सापकोटा, पूर्णकला घिमिरे, सविता तिमल्सिना, सानू खनाल, हरिकृष्ण काफ्ले,रजनी पौडेल, गीताकुमारी न्यौपाने, जयन्ती आचार्य, गोपिनी गौतम, दिनेश शर्मा, किशन पौडेल , अश्लेषा अधिकारीले आ आफ्नो रचना सुनाएका थिए ।
गोष्ठीमा आठ दशक छुनै लागेकी पद्मावती सिंहले गीत गाउँदा ७३ वर्षको उमेरकी सुशीला पाण्डे मानन्धरले आफूलाई रोक्न सकिनन् । भीम विरागसँग कुनै समय अभ्यास गरिएको तर रेकर्ड हुन नपाएको गीत उनले सुनाइन् । यस्तै बालजागृती माध्यामिक बिद्यालयको कक्षा ४ मा अध्ययनरत छात्रा अश्लेषा अधिकारीले तिमिले त होइन तिम्रा आखाहरु बोलको गित संगीत मै प्रस्तुत गरिन ।
प्रतिष्ठान अध्यक्ष केशवलाल श्रेष्ठ तौजको अध्यक्षता तथा प्रतिष्ठानका सल्लाहकार सुशीला पाण्डे मानन्धरको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा विशिष्ट अतिथि जलेश्वरी श्रेष्ठ गुञ्जनका अध्यक्ष, अतिथि पद्मावती सिं गुञ्जन संस्थापक अध्यक्ष र कार्यक्रमको सेतु आरआर चौलागाईं रहेका थिए ।
प्रतिष्ठानका सदस्य गोपिनी गौतम ढकालले स्वागत गरेकी गोष्ठीमा कार्यक्रम अवधारणा गुञ्जन महासचिव सुस्मिता नेपालले राखेकी थिइन् । गोष्ठीको सहजीकरण प्रतिष्ठानका महासचिव छवि अनित्यले गरेका थिए।
मकवानपुर । राष्ट्रिय कृषक समूह महासंघ, नेपाल बागमती प्रदेश कार्यसमितिकाे अध्यक्षमा विजय लामा चयन भएका छन् ।
महासंघ बागमती प्रदेशकाे आयाेजनामा हेटौंडामा भएको साना किसान सम्मेलन तथा दाेस्राे प्रदेश अधिवेशनले पुनः लामाको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो । यस्तै उपाध्यक्षमा मिरा शाह, सचिव दिपक पुडासैनी, कोषाध्यक्ष ज्योत्सना खत्री,सह सचिव पदम बहादुर थापा चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा हिरा पोखरेल, भवानी प्रसाद न्यौपाने, सरिता सापकोटा,मीना राई,सरिना भट्टराई,सोमेस यापा,लक्ष्मण हुमागाई, जितमान तमाङ चयन भएका छन् । अधिबेशनले शुशिला काफ्ले संयोजक तथा छविन्द्र नारायण श्रेष्ठ र गणेश राज कायष्थ सदस्य रहेको लेखा समिति समेत चयन गरेको छ ।
अधिबेशन अघि महासंघले प्रभात फेरी कार्यक्रम गरेको थियो । प्रभातफेरी हेटाैडा वसपार्कबाट सुरु भई, टिसियन राेड, सिमाचाेक, बुद्द चाेक हुँदै उधाेग वाणिज्य संघसम्म भएको थियो ।
प्रभातफेरीमा कृषि विद्ययक जारी गर, किसान अधिकारको ग्यारेण्टी गर, कृषि जैविक विविधताको संरक्षण गर, कृषिजन्य उद्योग स्थापत गर, कृषिमा कालो वजारी बन्द गर, महिला किसानको सम्मान गर, किसानको उत्पादनको मूल्य निधारण गर, किसानलाई दुधको मुल्य भुक्तानी गर लगायतका नारा लगाइएको थियो ।
प्रभातफेरी पछि भएको कार्यक्रममा कृषि उत्पादनलाई बजार सुनिश्चतता गरेर सहयोग पु¥याउन कृषकहरुले सरकारसँग आग्रह गरेका छन् । सम्मेलनसँगै भएको प्रदेश स्तरीय कृषि कानून र किसान बिषयक सम्बाद कार्यक्रममा कृषकहरुले भूमिमाथिको स्वामित्व समस्या समाधान गरिनुपर्नेमा जोड दिएका छन् । यस्तै संघीय, प्रदेश तथा स्थानीय सरकारहरुले कृषक पहिचान गरि वर्गीकरण गरेर व्यवसायिक तथा साना किसान छुट्याइ परिचयपत्रको व्यवस्था गरिनुपर्नेमा समेत सुझाव दिएका छन् । यस्तै कार्यक्रममा प्रदेश कृषि बिकास ऐन २०८० मा कमी रहेका बिषयमा समेत थप बिषयहरुको ड्राफ्ट समेत प्रस्तुत गरिएको छ ।
बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाईंको प्रमुख आतिथ्यता तथा राष्ट्रिय कृषक समूह महासंघ प्रदेश अध्यक्ष विजय लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ केन्द्रिय अध्यक्ष नमराज बस्नेत, प्रदेश संयोजक राजेन्द्र बस्नेत, गैर सरकारी महासंघस महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठक, राष्ट्रिय कृषक समूह महासंघ केन्द्रिय उपाध्यक्ष अनिता मडै तथा केन्द्रिय महासचिव रिता बास्ताकोटी, राष्ट्रिय कृषक समूह महासंघ केन्द्रिय सदस्य महानन्द सापकोटालगायतको उपस्थित रहेको थियो ।
मकवानपुर । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेकाे मौशम विज्ञान विभागले जनाएकाे छ । हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभावित भएका छन् । देशका भित्री मधेशहरु र अन्य केही स्थानमा समेत हुस्सु र कुहिराे लागेकाे छ ।
पुस २७ गते शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने राती कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्दा दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाेले त्यसकाे असरबाट साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन समेत महाशाखले अनुरोध गरेकाे छ।
