मकवानपुर । बागमती प्रदेशकाे चितवन, रसुवा र दोलखा जिल्लामा ४ जनाको मृत्यु भएको छ । ति जिल्लामा पछिल्लो २४ घण्टामा विभिन्न घटनामा परेर ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार दोलखाको कालिञ्चोक गाउँपालिकामा शुक्रबार भएको सवारी दुर्घटनामा परेर १ जना महिलाको मृत्यु भएको छ ।कालिञ्चोक गाउँपालिकाको पुस्टियाङबाट सिंगटीनर्फ आउँदै गरेको लु ३ त १७१४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा कालिञ्चाेक २ बाबरे बस्ने ३६ वर्षीय सञ्चीमाया थामीको घटनास्थलमै मृत्यु भएको हो भने ४ जना घाइते भएका प्रदेश प्रहरीले जनाएकाे छ । ट्याक्टर चालक अबराम थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै रसुवाको गोसाईकुण्ड गाउँपालिकामा बेहोस अवस्थामा भेटिएका एक विदेशी नागरिकको मृत्यु भएको छ । लाङटाङ घुमेर फर्किने क्रममा बेहोस भएका उनलाई काठमाडौंस्थित मेडिसिटी अस्पतालमा पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका हुन् । उनको नाम, थर र देश खुलिनसकेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका ३ मा १ जना व्यक्तिको मृत्यु भएको छ । सडकमा मागेर खाई हिँड्ने गरेका ती पुरुष बिरामी भएपछि उपचारका लागि भरतपुर अस्पतालमा पुर्याइएको थियो । उपचारकै क्रममा उनको शुक्रबार मृत्यु भएको प्रदेश प्रहरीकाे भनाई छ । प्रहरीका अनुसार उनको शव भरतपुर अस्पतालमै रहेको र नाम, थर र ठेगाना खुलेको छैन । चितवनकै भरतपुर महानगरपालिका १६ स्थित नारायणी नदी किनारमा स्थानीय लिला परियार मृत फेला परेका छन् । मंगलबारदेखि बेपत्ता भएका उनी शुक्रबार नदी किनारमा मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
शुक्रबार नै मदन भण्डारी राजमार्ग अन्तरगत हेटौडा– सिन्धुली खण्डका भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् । हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको बा १२ च ६४७४ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको स ९ प ३५२१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा कार चालक ईश्वर पौडेलसहित ३ जना घाइते भएका हुन् । चालक पौडेललाई उपचारपश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।
भरतपुरको जेष्ठ नागरिक चोकमा शुक्रबार भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका १० मा चौबिसकोठीबाट मालपोततर्फ जाँदै गरेको बा १६ च ७०६८ नम्बरको कार र ना ४१ प ६५९२ नम्बरको स्कुटर ठक्कर खाँदा २ जना घाइते भएका हुन् ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाबाट १२ किलो ९ सय ग्राम गाँजासहित २ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
हेटौड–१५ रातोमाटेस्थित सडकबाट करिब १२ किलो ९ सय ग्राम गाँजासहित २ जना महिलालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएकाे प्रदेश प्रहरी कार्यालय बागमतीले जनाएकाे छ। मकवानपुरकाे बकैया गाउँपालिका–४ बस्ने ३२ वर्षीया चमेली माया घलान र बकैया–१० मन्थली बस्ने २५ वर्षीया रोजिना घलानलाई उक्त परिणामकाे गाँजासहित नियन्त्रणमा लिइएकाे हाे ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौडाबाट काकडभिट्टा तर्फ जादै गरेकाे मे.१ ख ३३३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार चमेली मायाको साथबाट करिब ६ किलो ५ सय ग्राम र रोजिनाको साथबाट करिब ६ किलो ४ सय ग्राम गाँजा सहित नियन्त्रणमा लिइएकाे प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
काठमाडौं । नेपाली सर्टफिल्म ‘पाउलो’ (द शुज) भारतको सिएमएस्, इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल (आईसीएफसी) को नोमिनेशनमा परेको छ । अप्रिल १५ देखि २१ सम्म भारतको लखनउमा आयोजना हुने फेस्टिभलमा उक्त फिल्म नोमिनेशननमा परेकाे हाे ।
जुत्ताको कथावस्तु रहेको लघुचलचित्र “पाउलो” मा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् । काठमाडौंमा छायांकन गरिएको पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन रहेको छ भने प्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन् । सहायक निर्देशन करन साउदको रहेको छ । लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् र सम्पादन अनिल कुमार महर्जनले गरेका छन् । पाउलोको अफिसियल पार्टनरको रुपमा मालिका मिडिया, साइलेन्ट एक्ट रहेको छ ।
लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । मानिसको कथालाई विम्बको रुपमा जुत्ताको जीवनकथा प्रस्तुत गरिएको निर्माण टीमले बताएको छ । फिल्ममा कलाकार वा पात्रले जुत्तालाई हैन, जुत्ताले कथाका पात्रहरूलाई घुमाइरहन्छ । त्यही जुत्ताले कसैलाई खुसी थपिदिन्छ त कसैलाई रुवाउछ वा समयअनुसार उही मानिसलाई दुखी बनाइदिन्छ ।
लघुचलचित्र ‘पाउलो’ मा त्यस्तै एउटा जीवन्त कथा र समाजको यथार्थ चित्रण रहेको छ । जुत्ता एउटा सामाग्री मात्र हैन, मानवीय अनुभुतीहरु पनि हुन् भन्ने यस लघुचलचित्रको मुख्य सार रहेको छ । जुत्ताको कथा रहेको “पाउलो” लाई ब्ल्याक हर्स जुत्ता कम्पनीले प्रायोजन गरेको छ । ब्ल्याक हर्सले नेपालमा विभित्र ब्राण्डेड जुत्ता तथा चप्पलहरुको उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।
ऐना आर्ट्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र पाउलोको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । अन्य चलचित्रहरूमा व्यक्तिलाई पात्रको रुपमा उभ्याउने गरिएतापनि यस लघुचलचित्रमा भने जुत्तालाई नै मुख्य पात्र र जीवनको रुपमा उतार्ने प्रयास गरिएको उनी बताउँछन् । उनले यसअघि निर्माण गरेका लघुचलचित्र ‘भाउ’, ‘घुर्रा’, ‘द स्कुल वाल’ विभिन्न अन्तरास्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर विभिन्न देशहरुमा प्रदर्शनसमेत भईसकेको छ । एक सटमा खिचिएको ‘घुर्रा’ले नेपालमा केहि समयअघि आयोजना भएको नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट लघुचलचित्रको अवार्ड समेत प्राप्त गरेको थियोे ।
मकवानपुर । प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियाेगिता चैत २५ गते आइतबारदेखि हुने भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको संयुक्त आयोजनामा अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियाेगिता हुने भएकाे हाे ।
चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुनेछ । पुरुष फुटबल बाहेक सबै खेल चितवनमा हुनेछ भने पुरुष फुटबल हेटौंडास्थित गौरीटार रङ्गशालामा हुने भण्डारीले बताए । प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १२ करोड खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको समापन वैशाख १ गते गौरीटार रंगशाला हेटौडामा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गरिने कार्यक्रम रहेकाे छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले पुर्णता पाएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार नेकपा एमालेका ४ जनालाई मन्त्री नियुक्त गरेपछि सरकारले पुर्णता पाएकाे हाे ।
मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरूले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् । २५ पुसमा गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिइएकाे हाे । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठले भने पहिलोपटक मन्त्री बन्ने अवसर पाएका हुन् ।
यो सँगै गत फागुन २३ गते नेपाली कांग्रेसका ६ मन्त्रीले राजिनामा दिएपछि रिक्त रहेकाे ६ वटा मन्त्रालयमध्ये एमालेले ५ वटा मन्त्रालयको नेतृत्व लिएकाे हाे । यसअघि १७ चैतमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका थिए ।