मकवानपुर । बागमती प्रदेशकाे चितवन, रसुवा र दोलखा जिल्लामा ४ जनाको मृत्यु भएको छ । ति जिल्लामा पछिल्लो २४ घण्टामा विभिन्न घटनामा परेर ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार दोलखाको कालिञ्चोक गाउँपालिकामा शुक्रबार भएको सवारी दुर्घटनामा परेर १ जना महिलाको मृत्यु भएको छ ।कालिञ्चोक गाउँपालिकाको पुस्टियाङबाट सिंगटीनर्फ आउँदै गरेको लु ३ त १७१४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा कालिञ्चाेक २ बाबरे बस्ने ३६ वर्षीय सञ्चीमाया थामीको घटनास्थलमै मृत्यु भएको हो भने ४ जना घाइते भएका प्रदेश प्रहरीले जनाएकाे छ । ट्याक्टर चालक अबराम थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै रसुवाको गोसाईकुण्ड गाउँपालिकामा बेहोस अवस्थामा भेटिएका एक विदेशी नागरिकको मृत्यु भएको छ । लाङटाङ घुमेर फर्किने क्रममा बेहोस भएका उनलाई काठमाडौंस्थित मेडिसिटी अस्पतालमा पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका हुन् । उनको नाम, थर र देश खुलिनसकेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका ३ मा १ जना व्यक्तिको मृत्यु भएको छ । सडकमा मागेर खाई हिँड्ने गरेका ती पुरुष बिरामी भएपछि उपचारका लागि भरतपुर अस्पतालमा पुर्याइएको थियो । उपचारकै क्रममा उनको शुक्रबार मृत्यु भएको प्रदेश प्रहरीकाे भनाई छ । प्रहरीका अनुसार उनको शव भरतपुर अस्पतालमै रहेको र नाम, थर र ठेगाना खुलेको छैन । चितवनकै भरतपुर महानगरपालिका १६ स्थित नारायणी नदी किनारमा स्थानीय लिला परियार मृत फेला परेका छन् । मंगलबारदेखि बेपत्ता भएका उनी शुक्रबार नदी किनारमा मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
शुक्रबार नै मदन भण्डारी राजमार्ग अन्तरगत हेटौडा– सिन्धुली खण्डका भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् । हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको बा १२ च ६४७४ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको स ९ प ३५२१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा कार चालक ईश्वर पौडेलसहित ३ जना घाइते भएका हुन् । चालक पौडेललाई उपचारपश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।
भरतपुरको जेष्ठ नागरिक चोकमा शुक्रबार भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका १० मा चौबिसकोठीबाट मालपोततर्फ जाँदै गरेको बा १६ च ७०६८ नम्बरको कार र ना ४१ प ६५९२ नम्बरको स्कुटर ठक्कर खाँदा २ जना घाइते भएका हुन् ।

