मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलसँग छलफल गरेको छ । आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेटका सन्दर्भमा प्रदेश सभाका दलका नेतृत्वसँग छलफल गरिएकाे हाे ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाकाे सहभागितामा भएकाे छलफलमा प्रदेशभित्र परिचालन र प्रवर्द्धन गर्न सकिने तुलनात्मक लाभका क्षेत्रहरु, राजस्वका दर परिमार्जन, दायरा विस्तार लगायतका विषयहरु समेटिने गरी राजस्व वृद्धि सम्बन्धी, अनावश्यक चालु खर्च कटौती गर्दै सार्वजनिक खर्चमा मितव्ययीता कायम गर्ने उपायहरु, बजेट कार्यान्वयनमा प्रदेश र स्थानीय तहबीचको समन्वय र अन्तरसम्बन्धलाई, प्रभावकारी बनाउन आवश्यक सुझावहरु, बजेटलाई सन्तुलित र मागमा आधारित बनाउन आवश्यक सुझावहरुका बारेमा छलफल भएको हो ।
कार्यक्रममा मन्त्री थपलियाले आएका सुझावहरुलाई पुँजीको रुपमा राख्ने बताए । आवश्यकता र ठाँउको भौगोलिकता हेरेर सन्तुलित र परिणाममुखी बजेट ल्याइने उनले जानकारी दिए । बजेट बनाउने सन्दर्भमा छलफलबाट आएका सुझाव मार्गदर्शकका रुपमा रहने पनि उनको भनाई थियो । उनले छलफलमा राजस्वको बाटोहरु खोल्ने, खनिज पदार्थ उत्खननको लागि अध्ययन गर्नेलगायतका कामहरु खोजी गर्ने प्रस्ताव गरे । ‘कर बढी लिने भन्दा पनि करको दायरा बढाइनु पर्छ’ उनले भने ‘चुहावट नियन्त्रण एवम् अनावश्यक लगानी समेत रोक्नु पर्छ ।’ बितरणमुखी भन्दा पनि परिणाम मुखी बजेटमा जोड दिने मन्त्री थपलियाले बताए ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवम् पुर्व आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले बागमती प्रदेशमा स्रोत कम रहेपनी धेरै काम गर्नुपर्ने बताए । पहिले बहुबर्षिय आयोजनाको स्रोत सुनिश्चित गरेर अरु बजेट बिनियोजन गर्न उनले आग्रह गरे । बजेट भावनामा भन्दा आवश्यकतामा बनाउन समेत उनले सुझाव दिए ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश सभा सदस्य दिनेशचन्द्र देवकोटाले लाभको क्षेत्र छनोट गरि इको टुरीजमलाई जोड दिन सुझाव दिए । ग्रिन इको टुरीजम, सांस्कृतिक टुरीजमलगायतका कुराहरु बजेटमा समावेस गर्न उनले आग्रह गरे । कृषि क्षेत्रमा किसानको हातमा पैसा पर्नेगरी लगानी गर्नु पर्ने उनकाे भनाई थियाे । वन क्षेत्रलाई उद्यमशिलता र उत्पादनमा जोड्नुपर्ने बताउँदै उनले विद्यार्थी र विद्यालयको ब्यवस्थापन हुने कार्यक्रमको योजना ल्याउन पर्नेमा जाेड दिए । संघीयतालाई लक्षीत गरी समाजवाद उन्मुख अर्थतन्त्र छुने कार्यक्रमको सुरुवात गर्नुपर्ने उनले बताए । लगानी बोर्ड स्थापना एवम् आर्थिक सम्भावनाका ढोकाहरु खोल्ने गरी बजेट आउनु पर्ने समेत उनले बताए ।
यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य युवराज चौलागाईंले योजना बनाउदा माग र आवश्यकता दुबै समेट्नुपर्ने बताए । खास खास क्षेत्रलाई पर्यटन प्रवर्द्धन गरि लगानी गर्न सुझाव दिदै उनले युवा केन्द्रित कार्यक्रम ल्याएर देशमा बस्ने वातावरण बनाउन समेत बजेटले कार्यक्रम ल्याउनु पर्ने बताए । वैदेशिक रोजगारीबाट देशमा भित्रिएको रेमिटान्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउने कार्यक्रम बनाउनुपर्ने उनकाे धारणा थियाे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापाले प्रदेशको आम्दानी स्थायी बनाउने गरि बजेट बनाउनुपर्ने बताए । चुनाव लक्षित भन्दापनी जनताको अपेक्षा अनुसार उत्पादनमुलक बजेट बनाउन उनले सुझाव दिए । यस्तै एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनालले राजस्व वृद्धिमा ध्यान दिन सुझाव दिए । उद्योग कलकारखाना स्थापना गर्न प्रोत्साहन गर्ने, अनावश्यक बजेट कटौती गर्ने लगायतका कार्य गर्ने गरी बजेट निर्माण गरिनु पर्ने उनले सुझाव दिए । बजेटमा सन्तुलन गरेर जनताको अपेक्षा पनि पूरा गर्न समेत उनले आग्रह गरे ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको कार्यक्रमका विषयमा मन्त्रालयका सचीव कृष्णप्रसाद मैनालीले प्रकाश पारेका थिए ।कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक गोबिन्द लम्साल, नेकपा एमालेका प्रमुख सचेतक मधुसूदन पौडेल, नेकपा माओवादी केन्द्र मुख्य सचेतक रत्न प्रसाद ढकाल, नेपाली काङ्ग्रेसका प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले, कन्चनचन्द्र वादे, नेकपा एमालेका प्रदेश सभा सदस्य ज्ञानबहार लामा, राप्रपाका प्रदेश सभा सदस्य कुमारी तामाङलगायतकाे सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा कार भीरबाट खसेर दुर्घटना भएको छ । उक्त दुर्घटनामा ३ जना घाइते भएका छन् ।
ललितपुरबाट हेटौंडा आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार शनिबार बिहान सडकबाट अन्दाजी ५०० मिटर तल खसेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए । दुर्घटनामा बारा निजगढ नगरपालिका ६ बस्ने ३० वर्षीय सन्दिप शाह, रौतहट मौलापुर नगरपालिका ६ बस्ने १७ वर्षीय विबेक शाह, मकवानपुर भिमफेदी गाउँपालिका ८ बस्ने ६५ वर्षीय प्रेम बहादुर ब्लोन रहेको उनले जानकारी दिए ।
घाइते तीनै जनालाई प्रहरी चौकी ठिंगनको टोलीसमेतले अचेत अबस्थामा उद्धार गरी हेटौंडा ल्याउदै गरिएको प्रहरीले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेशमा दलहरु बिच भागवण्डा मिलाउन संसदीय समिति थप गरिएकाे छ । सत्तापक्ष र प्रतिपक्ष बीच संसदीय समितिकाे सभापति चयनमा सकस रहेकाे बेला पाँच वटा समिति रहेकाे प्रदेश सभामा १ थप गरी छ वटा बनाइएकाे हाे ।
सत्तारुढ दललाई भागवण्डा मिलाउन मन्त्रालय थप गरिएकाे ४८ घण्टा नवित्दै प्रदेशसभामा प्रमुख प्रतिपक्षि तथा अन्य दलहरुलाई भागवण्डा मिलाउन संसदीय समितिसमेत थप गरिएको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच वटा दललाई संसदीय समितिको सभापतिमा भागबण्डा नमिलेपछि शुक्रबार समिति थप्ने निर्णय भएको हो । बागमती प्रदेश सभामा पाँच दलीय बैठकले प्रदेशसभा नियमावली, २०७४ अनुसार विशेषाधिकार समिति थप गर्ने निर्णय गरेको हाे । विशेषाधिकार समितिमा १७ जना सदस्य रहने नियमावलीले व्यवस्था गरेको छ ।
प्रदेशसभा अन्तर्गतका पाँच वटा समितिको निर्वाचन शनिबारकाे लागि तय गर्दै बिहीबार मतदाताकाे नामावली समेत प्रकाशन गरेकाे थियाे । निर्वाचन तालिका प्रकाशन भएकाे १ दिन पछि संसदीय समितिकाे संख्या बढाउने सहमति भएकाे हाे ।संसदीय समिति थप भएसँगै नेपाली कांग्रेसले दुई वटा समितिको नेतृत्व पाउने भएको छ अन्य चार दलले एक/एक वटा समितिको नेतृत्व पाउने गरी सहमित भएको बताइएकाे छ । नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादी एक/एक वटा समितिको नेतृत्व दिने गरी सहमति भएको नेकपा माओवादी केन्द्रे बागमती प्रदेशका मुख्य सचेतक रत्न ढकालले जानकारी दिए ।
जसअनुसार प्रदेश मामिला र सार्वजनिक लेखा समितिको नेतृत्व कांग्रेसले पाउने छ । यस्तै राप्रपाले अर्थ तथा विकास समिति, एमालेले उद्योग बन तथा वातावरण समिति, एकीकृत समाजवादीले प्रदेश विशेषाधिकार समिति र माओवादी केन्द्रले शिक्षा, स्वास्थ्य तथा कृषि समिति समितिको नेतृत्व पाउने छ ।
प्रदेशसभा अन्तर्गतका प्रदेश मामिला समिति, अर्थ विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग, पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति चयनका लागि निर्वाचन तालिका सार्वजनिक भएकाे थियाे ।
सभापति चयनका लागि प्रदेशसभाले सार्वजनिक मतदाता नामावली अनुसार प्रदेश समितिमा १९ जना, अर्थ तथा विकास समितिमा २० जना, सार्वजनिक लेखा समितिमा १८ जना, शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ र उद्योग, पर्यटन समितिमा १९ जना मतदाता रहेका छन् ।
निर्वाचनका लागि शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता साँझ ५ बजेदेखि ६ बजेसम्म मनोनयन फिर्ता लिने पाउने र ६ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका सार्वजनिक भएकाे थियाे । यस्तै, समिति सभापति चयनका लागि शनिबार दिउँसो ३ बजेर ३० मिनेटदेखि मतदान हुने र आइतबार बिहान १० बजे निर्वाचित हुनेहरुलाई सपथग्रहण गराउने कार्यतालिका सार्वजनिक गरिएकाे थियाे ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका १ मा रहेकाे अमर माध्यामिक विद्यालयले क्याप्टेन, भाइस क्याप्टेन तथा कक्षा मनिटरहरुको निर्वाचन गराएर चुनावी प्रकृयाबारे विद्यार्थीलाई प्रयाेगात्मक रुपमा बुझाएकाे छ ।
शुक्रबार विद्यालयमा भएकाे निर्वाचनबाट ४९ मत प्राप्त गरी कक्षा ९ मा अध्ययनरत छात्रा विमला दाहाल विद्यालय क्याप्टेनमा चुनिएकी छिन् । यसैगरी विद्यालयको भाइस क्याप्टेनमा कक्षा ८ मा अध्ययनरत छात्रा नम्रता पराजुली निर्वाचित भएकी छिन् ।
मतदानमा दाहाल ४९ मत प्राप्त गरी क्याप्टेनमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी सक्षम गिरीले ४७ मत प्राप्त प्राप्त गरेको बिद्यालय प्रध्यनाध्यापक मालती उप्रेतीले बताइन् । यस्तै भाइस क्याप्टेनमा पराजुली ८३ मत प्राप्त गरी विजयी हुँदा उनकाे निकटतम् प्रतिस्पर्धी युरोज थिङले ८२ मत प्राप्त गरे ।
बिद्यालय सहायक प्रअ तथा अतिरिक्त क्रियाकलाप संयोजक डीबी बर्तौलाका अनुसार क्याप्टेनकाे प्रतिस्पर्धामा ६ जना र भाइस क्याप्टेनकाे प्रतिस्पर्धामा ४ जना रहेका थिए । यसैगरी विद्यालयकाे कक्षा ४ देखि कक्षा १० सम्म एक छात्रा र एक छात्र गरी दुई जना मनिटरका लागि समेत निर्वाचन गरिएकाे थियाे । कक्षागत मनिटरहरुमा कक्षा ४ मा सुनिदा बानियाँ, २६ मत र अर्पण थिङ मत प्राप्त गरी विजयी भएका छन् भने कक्षा ५ मा खुसी आले १४ मत र राज गाेले १५ मत प्राप्त गरी कक्षागत मनिटरमा विजयी भएका छन् । यस्तै कक्षा ६ काे मनिटरमा रिचा आले २४ मत र शनि वाइबा २१ मत प्राप्त गरी चयन भएकाे उनले बताए ।
कक्षा ७ मा जितु शाह २० मत र स्वस्तिका गोले १८ मत प्राप्त गरी कक्षा मनिटरमा विजयी हुँदा विपिसा बिक २४ मत र रञ्जिता गजुरेल २६ मतका साथ कक्षा ८ काे मनिटरमा चुनिएका छन् । यस्तै कक्षा ९ काे मनिटरमा निशा लामा १५ मत र विनायक अर्याल २९ मतका साथ मनिटर चुनिदा कक्षा १० ‘ए’ काे मनिटरमा स्नेहा शाह ४ मत र ईशा जिम्मा १३ मत (गोलाप्रथाबाट विजयी) का साथ चुनिए । विद्यालयकाे कक्षा १०’बी’ काे मनिटरमा सबिना थिङ २१ मत र नारायण अधिकरी १३ मत प्राप्त गरी विजयी भएकाे बर्तौलाले जानकारी दिए ।
क्याप्टेन भाइस क्याप्टेन र मनिटरकाे लागि जेठ १ गते ११ बजे उम्मेदवारी दर्ता र २ बजे उम्मेदवारी फिर्ताकाे कार्यक्रम भएकाे थियाे भने जेठ २ गते चुनाव चिह्न प्रदान गर्दै मतदान शिक्षासमेत दिइएकाे उनले बताए । त्यस्तै जेठ २ र ३ गते उम्मेदवारले प्रचारप्रसार गरेका थिए ।जेठ ३ गते २ बजेदेखि जेठ ४ गते ११ बजेसम्म मौन अवधिसमेत ताेकिएकाे उनले जानकारी दिए । सवै पदमा गरी ४६ जनाको उम्मेदवारी कायम भएकाे थियाे । मतगणना जेठ ४ गते भएकाे हाे ।
मकवानपुर । अपाङ्गताको क्षेत्रमा कार्यरत संघ-संस्थाहरुले बागमती प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । अन्तराष्ट्रिय स्तरमा ब्यक्तगरेका प्रतिवद्धता, नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन तथा नियमावलीमा भएका प्रावधानहरु कार्यान्वयन गर्न तथा गराउन बिहीबार ज्ञापन पत्र बुझाइएकाे हाे ।
यसैगरी तीन वटै तहका सरकारहरुलाई समान जिम्मेवार बनाउन समेत ज्ञापनपत्र बुझाइएकाे हाे । सार्वजनिक संरचना, सेवा, सूचना सबै नागरिककालागि पहुँचयुक्त बनाउन पर्ने दायित्व सबै निकाय रहेकाे, नीतिनिर्माण तहमा पछाडि पारिएका समुहको अर्थपुर्ण सहभागिता गराउन र नीति योजना, कार्यक्रम र बजेट निर्माण प्रकृयालाई सहभागिता र समाबेशीमुलक बनाउनु पर्ने संबैधानिक दायित्वबाट कुनै तहको सरकार उम्कन नमिल्नै ज्ञापन पत्रमा उल्लेख छ ।
अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि ऐन र नियमावलिमा उल्लेखित सेवासुविधा सम्वन्धि माग पुरा नभए पश्चात् अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धि ऐन २०७४ र नियमावलि २०७७ अनुसार पूर्ण अशक्त, अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकताको आधारमा ब्यक्तिगत सहयोगी सेवा तथा सांकेतिक भाषा दोभाषे सहायक सामाग्रिहरुको ब्यवस्था, सामुदायिक साहायता सम्बन्धी ब्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि समेत ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराइएकाे अपाङ्ग सरोकार केन्द्र मकवानपुर अध्यक्ष गणेशचन्द्र दवाडीले जानकारी दिए ।