मकवानपुर । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका महिलाहरुलाई निःशुल्क ड्राइभिङ तालिम दिने भएको छ ।
नवनियुक्त श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले यस्तो निर्णय गरेका हुन् । सार्वजनिक यातायातको क्षेत्रमा महिला चालकको सहभागिता बढाएर आत्मनिर्भर बनाउने उदेश्यका साथ तालिम दिन लागिएको हो । देशमा सीपमुलक श्रमको अभिवृद्धि तथा यातायात क्षेत्रमा महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले तालिमको व्यवस्था गर्न लागिएको मन्त्री महर्जनले जानकारी दिए ।
यातायात क्षेत्रलाई समावेशी, मर्यादित एवं सुरक्षित बनाउन महिला चालक उत्पादन तथा महिला लक्षित रोजगार कार्यक्रम अन्तर्गत रहेर कम्तिमा २५० जना महिलाहरुलाई तीन पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन प्रशिक्षण सीप प्रदान गर्ने मन्त्री महर्जनले बताए । मन्त्री महर्जनले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षामा तीन पटक सम्म फेल भएकाले ९० दिन सम्म कुर्नुपर्ने व्यवस्था खारेज गर्ने पनि निर्णय गरेका छन् । उक्त समय घटाएर १ महिनामा ल्याउने निर्णय गरिएको मन्त्री महर्जनले बताए । उनका अनुसार उक्त निर्णय कार्यान्वयनका लागि यातायात व्यवस्था विभाग, मीनभवन काठमाडौंसँग समन्वय भइरहेकाे छ ।
मन्त्री महर्जनले पदभार सम्हाले लगतै मातहतका कार्यालय तथा सेवाग्रहीका समस्याको विषयमा चासो देखाएका छन् । १४ साउन सोमबार काठमाडौंमा मातहतका १३ वटा यातायात व्यवस्था कार्यालयका प्रमुखहरुसँग उनले अन्तरक्रिया समेत गरेका थिए । अन्तरक्रियामा उपस्थित कार्यालय प्रमुखले सेवाग्रहीहरुले सेवा लिन लामो समय खर्चनु पर्ने, हाल प्रयोग भैरहेको सर्भर डाउन हुने, लाइसेन्स छपाई ढिला हुँदा सेवाग्राहीहरुले भोग्नु परेका लगायतका समस्या मन्त्री समक्ष राखेका थिए ।
मन्त्री मर्हजनले यातायात क्षेत्रमा देखिएका समस्या समाधानकालागि संघीय मन्त्री, प्रदेशका मन्त्रीहरु, सचिव, सम्बन्धित कार्यालयका प्रमुखलगायतका सरोकारवालासँग छलफल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
मकवानपुर । मकवानपुरको हेटौडाबाटबाट लागुऔषध चरेशसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएकाे छ । मकवानपुर प्रहरीका अनुसार पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ का २६ वर्षीय हरी गौरव र नवलपरासीको पण्डितपुर वनगरिया गाउँपालिका–१ का ४३ वर्षीय अनिल भर चौधरीलाई १० किलो २५० ग्राम चरेश सहित नियन्त्रणमा लिइएकाे हाे ।
बिहिबार प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा–१५, चुरीमाईस्थित पुर्व–पश्चिम सडक खण्डमा हेटौंडाबाट पथलैयातर्फ जादै गरेको ना ६ ख ५८३९ नम्बरको यात्रुबाहक बसलाई सुरक्षाजाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणकाे लागुऔषध चरेशसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुकाे झोलाभित्र लुकाएर राखिएको चरेश १० किलो २ सय ५० ग्राम फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पदभार ग्रहण गरेका छन्।
शुक्रबार प्रदेश राजधानी हेटौंडास्थित कार्यालयमा उनले पदधार ग्रहण गरेका हुन् । देवकोटा बागमती प्रदेशका चौथो प्रदेश प्रमुख हुन् ।
गत साउन १४ गतेको संघीय मन्त्रिपरिषद्ले बागमती प्रदेश प्रमुख देवकोटालाई नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो ।मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले देवकोटालाई बुधबार प्रदेश प्रमुखमा नियुक्त गरेका थिए भने बिहीबार पद तथा गोपनीयताको शपथ गराएका थिए ।
यसैबीच निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई शुक्रबार बिदाइ गरिएको छ । नवनियुक्त प्रदेश प्रमुख देवकोटाले शर्मालाई बिदाइ गरेका हुन् ।
पदभार कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेश सभाका सभामुख भुवनकुमार पाठक, प्रदेशका मन्त्रीहरू, मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
मकवानपुर । देशभर मनसुनी वायुको प्रभाव रहेकोले हाल आंशिकदेखि साधरणतया बदली रहेको छ । छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले गण्डकी प्रदेशको थोरै स्थानहरू साथै कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावका कारण बिहीबार राती धेरैस्थानमा पानी परेकाे थियाे । शुक्रबार दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने महाशाखाले जनाएकाे छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेस र कोशी प्रदेशकाे तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ । महाशाखाकाे अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
शुक्रबार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको साथै मधेस र कोशी प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मकवानपुर । तीनवटा प्रदेशका प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।
नेपाल सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बागमती लुम्बिनी र कर्णाली प्रदेशको प्रमुखहरुलाई सपथ गराइएका हुन् ।
१४ साउन सोमबार बसेको संघीय सरकारको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेअनुसार बागमतीमा कैलालीका दिपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशी प्रदेश प्रमुख नियुक्त भएका थिए ।
त्यसपछि राष्ट्रपति पौडेलले बुधबार नियुक्ति गरेका उनीहरूले बिहीबार सपथ ग्रहण गरेका छन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।
को हुन बागमतीका प्रदेश प्रमुख देवकोटा
बागमतीको प्रदेश प्रमुख नियुक्त भएका दिपकप्रसाद देवकोटा २०१५ साउन २ गते पाल्पाको तत्कालीन देवीनगर गाउँ पञ्चायत–२ मा जन्मिएका थिए । वि स २०३१ सालदेखि पाल्पा जिल्लामै रहेर शिक्षण पेसामा आबद्ध उनी २०३४ सम्म अध्यापन जारी राखे ।
त्यसपछि उनले पाल्पामा हुँदा तत्कालीन तानसेन नगर पञ्चायतमा लेखापालको काम गरे । वि स ०३८ सालमा पाल्पाबाट देवकोटा कञ्चनपुरको महेन्द्रनगर गएपछि तत्कालीन महाकाली अञ्चल अदालतमा उनी ०३९ माघसम्म विचारी काम गर्थे। त्यसपछि लोक सेवा आयोगबाट मुखिया बनेका उनको बैतडी हुलाकमा सरुवा भयो।
०४२ मा कैलालीमा हुँदा उनी बढुवा भएर खरिदार बने। ०४८ सालमा निजामती कर्मचारी आन्दोलनमा सहभागी भएपछि काठमाडौँको भद्रकालीमा २२ दिन आमरण अनशन बसे । यही आन्दोलनमा सहभागी भएको कारण उनलाई खरिदारको जागिरबाट अवकाश दिइयो।
सरकारी नोकरी बाट अवकाश पाएपछि उनी एमालेको सक्रिय राजनीतिमा आए । ०४९ मा देवकोटा धनगढी नगरको उपप्रमुखमा एमालेको तर्फबाट चुनावी प्रतिस्पर्धा गरे तर पराजित भए।
एमालेको नगर, जिल्ला कमिटी सदस्य हुँदै देवकोटा २०५९ मा नेकपा एमाले कैलालीको अध्यक्ष बने। दुई कार्यकाल एमाले कैलालीलाई हाँकेका उनले ०६५ सालमा राजीनामा दिए। देवकोटा ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कैलाली ५ बाट चुनाव लडे पनि सफल हुन सकेनन्।
पार्टीको विभिन्न कमिटीमा काम गरेको अनुभवी देवकोटा भूमि आयोग कैलालीको अध्यक्ष बनेर ५ महिना काम गरेका थिए। नियुक्तिताका एमाले अनुशासन आयोगको सदस्य रहेका देवकोटा प्रदेश प्रमुख नियुक्त भएसँगै पार्टी राजनीतिबाट अलग भएको नेकपा एमालेले जनाएको छ । देवकोटा कुशल कर्मचारीसंगै सशक्त राजनीति नेतृत्वको रुपमा चिनिन्छन ।