मकवानपुर । अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको मत लिने भएका छन् ।
कांग्रेस बागमती संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मत आगामी भदौ ३ गते भित्र लिने निर्णय गरेको हो ।गत साउन ६ गते सत्ता साझेदार दल नेकपा सरकारबाट बाहिरिएपछि उनको सरकार अल्पमतमा परेको थियो ।
मुख्यमन्त्री बानियाँले आगामी भदौ ४ गते भित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । अल्पमतमा परेका उनलाई सरकार टिकाउन अन्य साना दलहरूको समर्थन आवश्यक छ । मुख्यमन्त्री बानियाँले भदौ ३ गतेभित्र विश्वासको मत लिने संसदीय दलले निर्णय गरेको हो । बैठकले विश्वासको मत लिनु एक दिन अगाडि नै हेटौंडामा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरेको बताइएको छ ।
बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मतबारे पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत शीर्ष तहका नेताहरूसँग छलफल गर्ने निर्णय गरेको दलका सचिव मिनकृष्ण महर्जनले जानकारी दिए । बैठकले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत पुर्याउन शीर्ष नेतृत्वसहित अन्य दलका नेतृत्वसँग समन्वय तथा छलफल गर्ने समेत निर्णय गरेको महर्जनले बताए ।
एमाले बागमती सरकारबाट बाहिरिएपछी नेकपासँग मिलेर नयाँ सरकार बनाउन साझेदारी गरेको छ । उक्त अवस्थाबिच कांग्रेस साना दलको समर्थनमा सरकार टिकाउने रणनीतिमा छ । एमाले र नेकपाको सरकार गठनको अवस्था पनि साना दलको समर्थन विना सम्भव छैन ।
बागमती प्रदेश सभामा रहेका तीन ठुला दल काग्रेस तथ एमाले र नेकपाको गठबन्धन तीन साना दललाई फकाउन व्यस्त छन् । २ सिट संख्या रहेको हाम्रो नेपाल पार्टी (हानेपा) लाई मुख्यमन्त्री बानियाँले सरकारमा सहभागी गराएर विश्वासको मत लिने दाउमा लागेका छन् ।
३ सिट रहेको नेपाल मजदुर किसान पार्टी सरकार नजाने मनस्थितिमा रहेको देखिन्छ । १२ सिटको राप्रपाले सरकारमा सहभागी हुने नहुबे विषयमा अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यस्तो अवस्था रही रहे बागमतीमा सरकार गठन थप पेचिलो बन्ने देखिन्छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकाे एक सामुदायिक वनमा बोरामा हालेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ।
हेटौंडा १५, सेल्फी रोडस्थित सामुदायिक वनमा शुक्रबार दिउँसो एक जनाकाे शव फेला परेकाे मकवानपुर प्रहरीले जनाएकाे छ । शुक्रबार दिउँसो स्थानीयवासी च्याउ टिप्न जंगल पुगेका बेला सेतो बोरामा बाँधेर खाल्डोमा फालिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबरपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बोराभित्र अन्दाजी ३० देखि ३२ वर्ष उमेरकाे महिलाको शव फेला परेको हो। मृतकको नाम, थर र ठेगाना भने अहिलेसम्म खुल्न सकेको छैन। घटनास्थल सुरक्षित राखेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली पनि परिचालन गरिएको बताइएकाे छ ।
उक्त शव हेटौंडा अस्पतालमा ल्याइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका २ स्थित तिलटारमा ट्रक पल्टिँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ ९ बस्ने ३६ वर्षीय अर्जुन कार्की रहेका छन् ।
बुधबार बिहान तिलटारस्थित त्रिभुवन राजपथबाट तरकारी बोकेको डिब्बा ट्रक १ सय मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुरको पालुङ तर्फबाट बिरगंजको लागि तरकारी लिई आउदै गरेको मधेश प्रदेश ०३-००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक चण्डी खोलामा खस्दा २ जना घाइते भएका थिए ।
दुर्घटनामा ट्रक चालक मकवानपुर राक्सिराङ ९ बस्ने २३ वर्षीय रन्जित कार्की र चालकका काका नाता पर्ने अर्जुन कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घाइते दुबै जनालाई हेटौंडा अस्पताल ल्याइएकोमा अर्जुनलाई डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
बर्षा र हुस्सुको कारण ओरालो बाटोमा चिप्लिएर ट्रक अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा शैलेन्द्रमान बज्राचार्य नियुक्त भएका छन्।
हाम्रो नेपाली पार्टी (हानेपा)बाट सरकारमा सहभागी भएका बज्राचार्यले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बज्राचार्यलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शपथ गराएका हुन् ।
प्रदेश्को भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मंगलबारै मन्त्री पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बज्राचार्यलाई मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।
गत साउन ६ गते नेकपा एमालेले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा रहेका बेला हानेपाबाट बज्राचार्यलाई मन्त्री बनाइएको हो ।संविधान अनुसार मुख्यमन्त्री बानियाँले भदौ ५ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्नेछ । नेकपा एमाले र नेकपाको सहमति अनुसार प्रदेश सरकार गठन गर्न बहुमत नपुगेको अबस्थामा मुख्यमन्त्रीले सत्ता टिकाउने प्रयास स्वरुप बज्राचार्यलाई मन्त्री बनाएका हुन् ।
यसअघि सोमबार मुख्यमन्त्री बानियाँले प्रदेश सरकारमा देखिएको असमझदारी अन्त्य गर्न र निकासको लागि सर्वदलिए बैठक बोलाएका थिए । बैठकमा उनले कि आफूलाई विश्वास गर्न नत्र बहुमत पुर्याएर सरकार गठन गर्न समेत भनेका थिए ।
बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राप्रपा, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीसँग आफूलाई समर्थन गर्न भन्दै औपचारिक रुपले पत्राचार गरेका बताइएको छ।
को हुन बज्राचार्य ?
हाम्रो नेपाली पार्टी (हानेपा)का नेता शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारमा दोस्रो पटक मन्त्री नियुक्त भएका हुन् । काठमाडौं–१९ हनुमानढोका क्षेत्रका स्थानीय उनी २०७९ मा काठमाडौँ क्षेत्र नम्बर–८ (क) बाट बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।
यसअघि तत्कालीन समयमा माओवादी केन्द्र (हाल नेकपा)को नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । उनले २०७९ चैतदेखि २०८० असारसम्म ४ महिना प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको नेतृत्व लिएका थिए ।
काठमाडौँ–१९ हनुमान ढोका क्षेत्रमा २०३८ सालमा जन्मिएका उनी पेसाले प्रिन्टिङ प्रेस सञ्चालक हुन् । व्यवस्थापन सङ्कायमा पब्लिक युथ क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेका उनी पर्यटन व्यवसाय तथा शैक्षिक क्षेत्रमा समेत लगानी रहेको छ। बज्राचार्य क्लबको संस्थापक अध्यक्ष, तथा काठमाडौँ दरबार स्क्वायर प्रमोशन एशोसिएशनको पूर्व अध्यक्ष भएर सामाजिक काम गरेका उनी सहकारी क्षेत्रको समस्यामा समेत अभियन्ताको रूपमा काम गरेका छन्।
मकवानपुर । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। कोशी, लुम्बिनी, कर्णाली प्रदेशको केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
मंगलबार दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशको हिमाली र तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
मंगलबार राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग साथै मधेस प्रदेशका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।