मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकाे एक सामुदायिक वनमा बोरामा हालेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ।
हेटौंडा १५, सेल्फी रोडस्थित सामुदायिक वनमा शुक्रबार दिउँसो एक जनाकाे शव फेला परेकाे मकवानपुर प्रहरीले जनाएकाे छ । शुक्रबार दिउँसो स्थानीयवासी च्याउ टिप्न जंगल पुगेका बेला सेतो बोरामा बाँधेर खाल्डोमा फालिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबरपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बोराभित्र अन्दाजी ३० देखि ३२ वर्ष उमेरकाे महिलाको शव फेला परेको हो। मृतकको नाम, थर र ठेगाना भने अहिलेसम्म खुल्न सकेको छैन। घटनास्थल सुरक्षित राखेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली पनि परिचालन गरिएको बताइएकाे छ ।
उक्त शव हेटौंडा अस्पतालमा ल्याइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

