मकवानपुर । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा शैलेन्द्रमान बज्राचार्य नियुक्त भएका छन्।
हाम्रो नेपाली पार्टी (हानेपा)बाट सरकारमा सहभागी भएका बज्राचार्यले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बज्राचार्यलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शपथ गराएका हुन् ।
प्रदेश्को भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मंगलबारै मन्त्री पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बज्राचार्यलाई मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।
गत साउन ६ गते नेकपा एमालेले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा रहेका बेला हानेपाबाट बज्राचार्यलाई मन्त्री बनाइएको हो ।संविधान अनुसार मुख्यमन्त्री बानियाँले भदौ ५ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्नेछ । नेकपा एमाले र नेकपाको सहमति अनुसार प्रदेश सरकार गठन गर्न बहुमत नपुगेको अबस्थामा मुख्यमन्त्रीले सत्ता टिकाउने प्रयास स्वरुप बज्राचार्यलाई मन्त्री बनाएका हुन् ।
यसअघि सोमबार मुख्यमन्त्री बानियाँले प्रदेश सरकारमा देखिएको असमझदारी अन्त्य गर्न र निकासको लागि सर्वदलिए बैठक बोलाएका थिए । बैठकमा उनले कि आफूलाई विश्वास गर्न नत्र बहुमत पुर्याएर सरकार गठन गर्न समेत भनेका थिए ।
बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राप्रपा, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीसँग आफूलाई समर्थन गर्न भन्दै औपचारिक रुपले पत्राचार गरेका बताइएको छ।
को हुन बज्राचार्य ?
हाम्रो नेपाली पार्टी (हानेपा)का नेता शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारमा दोस्रो पटक मन्त्री नियुक्त भएका हुन् । काठमाडौं–१९ हनुमानढोका क्षेत्रका स्थानीय उनी २०७९ मा काठमाडौँ क्षेत्र नम्बर–८ (क) बाट बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।
यसअघि तत्कालीन समयमा माओवादी केन्द्र (हाल नेकपा)को नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । उनले २०७९ चैतदेखि २०८० असारसम्म ४ महिना प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको नेतृत्व लिएका थिए ।
काठमाडौँ–१९ हनुमान ढोका क्षेत्रमा २०३८ सालमा जन्मिएका उनी पेसाले प्रिन्टिङ प्रेस सञ्चालक हुन् । व्यवस्थापन सङ्कायमा पब्लिक युथ क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेका उनी पर्यटन व्यवसाय तथा शैक्षिक क्षेत्रमा समेत लगानी रहेको छ। बज्राचार्य क्लबको संस्थापक अध्यक्ष, तथा काठमाडौँ दरबार स्क्वायर प्रमोशन एशोसिएशनको पूर्व अध्यक्ष भएर सामाजिक काम गरेका उनी सहकारी क्षेत्रको समस्यामा समेत अभियन्ताको रूपमा काम गरेका छन्।

