मकवानपुर । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले बागमतीको मकवानपुर सहित अन्य जिल्लामा समेत वर्षा भैरहेको छ ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको जल तथा मौसम बिज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको हो। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शुक्रबार दिउँसो देशभर साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यसैगरी शुक्रबार राति कोशी, मधेस, बागमती र सुदूरपश्चिम केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले सबैलाई आग्रह गरेको छ ।
मकवानपुर । बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले पद तथा गोपनीयताको सपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा मुख्य न्यायाधिवक्ता काफ्लेले शपथ लिएका हुन् ।
उच्च अदालत पाटनका मुख्य न्यायाधिश नृपध्वज निरौलाले काफ्लेलाई शपथ ग्रहण गराएका थिए । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र मुख्यमन्त्री बहादुर सिंह लामाको उपस्थिति उनले सपथ लिएका हुन् । २ भदौमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम काफ्लेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए ।
२५ वर्षदेखी कानून व्यवसायीको रुपमा कार्य गर्दै आइरहेका दोलखा तामाकोशी गाउँपालिका–३ का स्थायी बासिन्दा काफ्लेलाई मुख्यमन्त्री लामाको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
नेपाल बार एसोसिएसनको सदस्य काफ्ले यसअघि पूर्व कानून तथा न्यायमन्त्री भीम बहादुर तामाङ र पूर्व महिला तथा समाज कल्याण मन्त्री लिला कोइरालाको सल्लाहकार रहेका थिए ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
१६ साउनमा बागमती प्रदेश सभाबाट पारित भई प्रदेश प्रमुख समक्ष पेश भएको उक्त विधेयक प्रदेश प्रमुख देवकोटाले बिहीबार प्रमाणीकरण गरेका हुन् । १८ साउनमा पदबहाली गरेपछि उनले पहिलो पटक विधेयक प्रमाणीकरण गरेका हुन् ।
प्रमाणीकरण भएको उक्त विधेयक प्रदेश राजपत्रमा “विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष ऐन, २०८१” को नाम प्रयोग प्रकाशित भइ प्रचलनमा आउने छ ।
विज्ञान प्रविधिका विविध क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान, आविष्कार र नवप्रवर्तनमा गरिने लगानीबाट विकसित, प्रविधियुक्त, गुणस्तरीय र परिणाममुखी नतिजाको माध्यमबाट आर्थिक विकास र नागरिकको जीवन पद्धतिलाई सरल तथा सहज बनाउदै प्रदेशको समृद्धिमा योगदान पुर्याउने उद्देश्यले उक्त विधेयक प्रदेश सभाबाट पारित भएको हो ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा एउटा बाघ मृत अवस्थामा फेला परेको छ । बिहीबार बिहान मनहरी-६ प्रतापपुरस्थित बल बहादुर राईको गोठमा बाघ मृत भेटिएको मकवानपुर प्रहरीले जनाएको छ ।
बाघले राईको गोठमा रहेको भैंसीलाई आक्रमण गर्दा भैंसी घाइते भएको र सोहि गोठमा बाघ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी टोली र पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामिटार व्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानबाट बाघलाई भैसीले हान्दा मरेको हुन सक्ने मकवानपुर प्रहरी जानकारी दिएको छ।
उक्त स्थान चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकोले निकुञ्ज सुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले मृत बाघ अनुसन्धानका लागि जिम्मा लिएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विभागीय मन्त्री र मन्त्रालयका सचिवहरूलाई जिम्मेवार ढंगबाट काम गर्न तथा गुनासो रहित सेवा प्रवाहमा केन्द्रित हुन निर्देशन दिएका छन्। बुधबार विभागीय मन्त्री र प्रमुख सचिवसँग कार्य सम्पादन करार सम्झौता गर्दै उनले यस्तो बताएका हुन् ।
नागरिकहरूलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न समेत उनले निर्देशन दिए । उनले सुशासनका विषयमा गम्भीर हुनुपर्ने समेत बताए । ‘नागरिकको आवश्यकता र चाहना अनुसार सहज सेवा तथा विकासका काम अघि बढाउन पर्छ’ उनले भने ।
‘प्रदेश सरकार माथि विविध चुनौती छन्, त्यसकाे सामना गर्न सक्रिय रूपमा काम गर्नुपर्छ’ उनले भने ‘पछिल्लो समय विभिन्न कोणबाट प्रदेश संरचनाको टीकाटिप्पणी भइरहेकाले त्यसलाई व्यवस्थापन गर्न गम्भीर हुन जरुरी छ ।’