मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबारकाे खेलमा परेली युवा क्लब, ईन्टरनेट सिटि, राप्तीरिभर युवा क्लव, पिप्ले युवा क्लव विजयी भएकाे छ ।
बिहीबार हेटौडा ११ सिमलटार खेल मैदानमा एफसी इन्टरनेटलाई २–० ले हराउँदै परेली समूह क को शीर्षस्थानमा उक्लिएको छ । हेटौंडा १९ बस्तीपुरको परेलीले ५ खेलबाट ११ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको हो । लिगमा परेलीले ५ खेल खेल्दा अपराजिता यात्रामा रहेको छ । परेलीले ५ मध्ये ३ जित र २ खेल बराबरी खेलेको हो ।
परेलीका लागि कप्तान राम लामा र होमराज स्याङ्तानले गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच परेलीका होमराज स्याङ्तान घोषित भए । यसैगरी बिहीबारकाे खेलमा पिप्लेले महाबीर क्लवलाई ७–० ले गाेल अन्तरले हराएको हो । पिप्लेका लागि निरब घलानले ४ तथा सुसन वाइबा र आर्यन थापा मगरले समान एक/एक गोल गरेका हुन् । एक गोल भने उपहार स्वरुप पाएको थियो । यो खेलसंगै पिप्ले युवा क्लबले लिगको सुरुवाती जित निकालेको हो । ४ गोल गरेका घलान नै खेलको म्यान अफ द म्याच घोषित भए ।
हेटौडा ६ स्थित गौरिटार रंगशालामा भएको खेलमा आरआरवाइसीले विजय यूथ क्लवलाई १–० ले हराउदा सन्देश राईले गरेको गोल नै निर्णायक बन्यो । राई खेलको म्यान अफ द म्याच घोषित भए । बिहीबारै भएको खेलमा इन्टरनेट सिटीले हेटौंडा फुटबल एकेडेमीलाई ४–२ काे गोलले पराजीत गरेकाे छ ।
जारी प्रतियोगितामा शुक्रबार पनि ४ वटा खेल सञ्चालन हुनेछ । गौरीटार रंगशालामा पहिलाे खेल न्यु डाँफे र रियल स्टार क्लब बिच हुनेछ भने एफसी मल्टिभिजन र एफसी नामटार बिच दाेस्राे खेल हुनेछ । यस्तै सिमलटार खेल मैदानमा सानाेपाोखरा क्लब र ७ नम्बर फुटबल क्लब बिच पहिलाे खेल र हटिया स्पाेर्टस् र पदमपाेखरी बिच खेल हुने आयोजकले जनाएकाे छ ।
आयोजकका अनुसार प्रत्येक समूहबाट उत्कृष्ट तीन क्लवले ए डिभिजनस्तरको मान्यता प्राप्त गर्नेछन् भने समूहको पहिलो र दोस्रो हुने क्लवले मात्र नकाउट चरणका खेल खेल्नछन् ।
१४ भदौबाट सुरु लिगको प्रतियोगिताको फाइनल खेल ९ असोजमा हुनेछ । लिग विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् । जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी जिल्ला लिग सुरु गरिएको हो । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरि प्रतियाेगिता संचालन भइरहेकाे छ ।
यसअघि भएको जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्पोटर्स एकेडेमीले उपविजेतामा चित्त बुझाएकाे थियो।
मकवानपुर । बागमती प्रदेश प्रहरी प्रमुख र प्रदेश अन्तर्गतका प्रहरी प्रमुखबीच कार्यसम्पादन सम्झौता भएकाे छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माले प्रदेश अन्तर्गतका प्रहरी प्रमुखहरुसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०८०।०८१ को कार्य सम्पादन सम्झौता भएकाे हाे । चालु आर्थिक वर्षको लागि प्रदेश अन्तर्गतका १० वटा जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, नेपाल प्रहरी विशेष सुरक्षा गण, बागमती प्रदेश प्रहरी गण गरी १४ वटा कार्यालयका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिएकाे हाे ।
कार्यसम्पादन अन्तर्गत जिल्ला प्रहरी कार्यालयको लागि ४० वटा, बागमती प्रदेश प्रहरी तालिम केन्द्र र ट्राफिकको लागि १८ र प्रहरी गणहरुको लागि १९ वटा वार्षिक कार्यसम्पादन क्रियाकलापहरु समावेश गरी सम्झौता गरिएकाे हाे । कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रे सहित बागमती प्रदेश प्रहरी कार्यालय मातहत प्रहरी प्रमुखहरुले प्रस्तुतिकरण गरेका थिए ।
सोही अवसरमा उपस्थित कार्यालय प्रमुख सहित मातहतका इलाका प्रहरी काकार्यालयसँग भर्चुअल माध्यमबाट प्रदेश प्रहरी प्रमुख शर्माले प्रहरीको प्रमुख कार्य अपराध अनुसन्धान, गस्ती व्यबस्थापन, विशेष योजना, ट्राफिक व्यवस्थापन, वार्षिक कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने र चाडपर्व लक्षित सुरक्षा योजना बनाई प्रहरी परिचालन गर्ने लगायतको आवश्यक निर्देशन दिएकाे प्रहरी नायव उपरीक्षक सूचना अधिकारी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
मकवानपुर । कर्मचारी संचयकाेषकाे वार्षिकोत्सवमा शाखा कार्यालय हेटौंडाले बिहीबार निःशुल्क स्वास्थ्य शिविर गरेकाे छ । काेषकाे ६३औँ वार्षिकोत्सवकाे उपलक्ष्यमा काेषका सञ्चयकर्ता लगायतकाे लागि स्वास्थ्य शिविर आयोजना गरिएकाे ।
कर्मचारी मिलन केन्द्र मकवानपुरकाे समन्वय र सीएमसी चुरेहिल हस्पिटलकाे प्राविधिक सहयाेगमा भएकाे शिविरकाे मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले उद्घाटन गरे । शिविरको उदघाटन गर्दै श्रेष्ठले निःशुल्क स्वास्थ्य शिविरले स्वास्थ्य अवस्थालाई परोक्ष रूपमा जाँच गरी स्वस्थ राख्न मद्दत पुर्याउने बताए । ‘कोषको यस प्रकारको पहलले कर्मचारीहरूको सामाजिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्याएको छ’ उनले भने ‘स्वास्थ्य जाँच कार्यक्रमले कर्मचारीहरूको शारीरिक र मानसिक स्वास्थ्यको महत्त्वलाई उजागर गरेको छ, जसले स्वस्थ्य कमर्चारीले, स्वस्थ्य बाताबरणमा सेवा प्रवाह गर्न सक्षम हुनेछन् ।’
संचय कोष हेटौंडा शाखा प्रमुख डा. दिलिपराज पौडेलले कर्मचारी सञ्चय कोषले विगत ६२ वर्षदेखि देशको समृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । संस्था आजसम्म आइपुग्दा लाखौँ कर्मचारीहरूको भविष्य सुरक्षित गर्न सफल भएको भन्दै सञ्चयकर्ताहरूलाई आर्थिक सुरक्षा र सामाजिक सुरक्षामा पनि काम गरेका जानकारी दिए । ‘एक स्वस्थ कर्मचारी नै सक्षम कर्मचारी हो, र सक्षम कर्मचारीले नै आफ्नो काममा उत्कृष्टता देखाउन सक्छ ’ उनले भने ‘निःशुल्क स्वास्थ्य शिविरले कोषको सञ्चयकर्ताहरूलाई अझ स्वस्थ र सक्षम बनाउने उद्देश्य पूरा गरेको छ ।’

शाखा कायर्लय हेटैडाकी उप प्रबन्धक निमा डोमा शेर्पाले स्वास्थ्य शिविरमा सञ्चयकर्ताहरूले आफ्नो स्वास्थ्य जाँच गराउँदै निःशुल्क परामर्श, र अन्य स्वास्थ्यसम्बन्धी सेवाहरू प्राप्त गरेकाकाे बताए । कर्मचारी मिलन केन्द्रकी कार्यबाहक आध्यक्ष शान्ति बिकले निःशुल्क स्वस्थ्य शिविरले कर्मचारीलाई आफ्नो स्वास्थ्यमा सम्बेदनशिल हुन् र आफ्नो स्वास्थ्य प्रति सदैब सचेत रहन प्रेरित गर्ने बताइन् ।
स्वास्थ्य शिविरमा जनरल फिजिसियन सेवा, प्रेशर, सुगर, दम, रुघा, खाेकी, पेट, छाति, मुटु, उपचार तथा परामर्श सेवा निःशुल्क जाँच गरिएकाे कर्मचारी संचयकाेष हेटौडा शाखा प्रमुख डा. दिलिपराज पौडेलले जानकारी दिए । शाखा कार्यालय परिसरमा भएकाे स्वास्थ्य जाँच सीएमसी चुरे हस्पिटलका डाक्टर तथा नर्सलगायतकाे प्राविधिक टोलीले सेवा दिएका हुन् । शिविरमा सामान्य किसिमका रोगकाे औषधी दिइएकाे थियाे भने जटिल रोगकाे लागि हस्पिटल रिफर गरिएकाे छ । शिविरबाट रिफर भएका विरामीकाे लागि अस्पतालले छुट सहितकाे सेवा उपलब्ध गराउने बताइएकाे छ ।
चितवन मेडिकल कलेज (सीएमसी) सञ्चयकाेषकाे स्वास्थ्य उपचार योजना अन्तर्गत सुचिकृत अस्पताल समेत हाे । काेषकाे कार्यालयले ‘सुरक्षित भविश्यकाे लागि निवृत्तभरण तथा सञ्चय काेष’ भन्ने नाराका साथ ३१ भदौमा वार्षिकोत्सव मनाउँदै छ । हेटौंडा शाखाले उक्त दिन प्रभातफेरी कार्यक्रम गरी दिउँसो वार्षिकोत्सव मनाउने शाखा प्रमुख पौडेलले बताए । काेषकाे हेटौंडा कार्यालयले मधेस प्रदेशका धनुषा, महाेत्तरी, बारा र पर्सा तथा बागमती प्रदेशका मकवानपुर, चितवन र सिन्धुलीका सञ्चयकर्तालाई सेवा उपलब्ध गराउँदै आएकाे छ ।
मकवानपुर । देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले छ।
बिहीबार दिउँसो सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतः बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधरणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसैगरी बिहीबार राति सुदूरपश्चिम प्रदेशमा साधरणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधरणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी देखी अति भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
मकवानपुर । बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाल नियुक्त भएका छन् । बागमती प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा नेपाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बुधबारको प्रदेश मन्त्रिपरिषद् बैठकले आयोगको रिक्त उपाध्यक्ष पदमा सिन्धुपाल्चोकका नेपाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले आयोगमा २ सदस्य समेत नियुक्त गरेको छ । आयोगको सदस्यमा काठमाडौँका दीपेन्द्र श्रेष्ठ र काभ्रेका गुणराज मोक्तान नियुक्त भएका छन् । श्रेष्ठ यसअघि पनि आयोगका सदस्य थिए । आयोगमा अझे २ सदस्य रिक्त रहेको छ ।
बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता लामिछानले समाजिक विकास मन्त्रालयको प्रस्ताव र खेलकुद मन्त्रालयको स्वीकृतीमा प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा नुवाकोटका दीपक लामालाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।
यसैगरी श्रम रोजगार तथा यातायात र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ ।उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको संघीय इकाईको कार्यालयका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्चलाई पनि स्वीकृती प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए ।