मकवानपुर । मकवानपुर प्रहरीले हेटौडा १५ बाट भन्सार छलि ल्याइएका १ करोड ३५ लाख मूल्य बराबरकाे कपडासहित २ जनालाई नियन्त्रणमा लिएकाे छ ।
२ असोजमा जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणकाे कपडासहित भारत, बिहार मोतिहारी,तुकालिया पुर्वी चम्पारण सपही बस्ने ३० वर्षीय जन्दार आलम र बन्जरिया पुर्वी चम्पारण चौलाहा कलोनी बस्ने १९ वर्षीय मुना मियालाई नियन्त्रणमा लिएकाे हाे ।
हेटौडा १५ रातोमाटे चेकपोष्ट स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरी टोलीले सुनसरीबाट हेटौडा हुँदै काठमाडौं जाँदै गरेको बीआर०५जीडी१३४३ नम्बरकाे भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा ३४५ बोरा आलुको भन्सार बिल काटेर प्रति बोरा ५० किलोको दरले भन्सार बिल भन्दा कम २६४ बोरा आलु राखी ल्याएका थिए । जाँच गर्दा आलुका बाेराकाे भित्री भागमा लुकाई ७४ बोरा कपडा तथा बिभिन्न किसिममा तयारी कुर्ता, रोल सहितको सर्ट एंव पाईन्टको कपडासहित ल्याएको भेटिए पछि ट्रक चालक आलम र सहचालक मियालाई नियन्त्रणमा लिएकाे हाे ।
भन्सार छलि ल्याईएका उक्त कपडा,आलुका बोराहरु गरी १ करोड ३५ लाख बराबरको सामाग्रीहरु बरामद गरी ट्रक र ट्रकका चालक तथा सहचालक समेतलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । उनीहरुलाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा पदक विजेता पलेशा गोवर्द्धनलाई हेटौंडा नगर परिक्रमा गराए सम्मान गरेकाे छ । प्रदेश सरकारले पलेशालाई प्रदेश राजधानी हेटौंडा परिक्रमा गराएर १० लाख रुपैयाँसहित सम्मान गरेकाे हाे ।
संविधान दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रदेश सरकारले पलेशालाई १० लाख रुपैयाँ नगदसहित सम्मान गरेकाे हाे । यसैगरी पलेशाका प्रशिक्षक कविराज नेगीलाई ३ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई ३ लाख रुपैयाँ प्रदान गरिएकाे छ ।
त्यस्तै १९ औं एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई ५ लाख रुपैयाँसहित सम्मान गरिएकाे छ । एरिकाले एसियाडमा महिला ६८ केजी तौल समूहमा रजत पदक जितेकी थिइन् । एरिकाले २५ वर्षपछि नेपाललाई करातेमा रजत पदक दिलाएकी हुन् ।
यसअघि सन् १९९८ मा बैंककमा भएको १३ औं एसियाली खेलकुदमा तेक्वान्दोकी सविताले नेपालका लागि पहिलो पटक रजत दिलाएकी थिइन् ।प्रदेश सरकारले एरिकाको प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख रुपैयाँ र नेपाल कराते महासंघ बागमती प्रदेश समितिलाई २ लाख रुपैयाँ प्रदान गरेकाे छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, खेलकुद मन्त्री मीनकृष्ण महर्जनले उनीहरुलाई नगरसहित सम्मान गरेका थिए ।
मकवानपुर । संविधान दिवसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन र प्राप्त उपलब्धिलाई जगेर्नाको लागि हातेमालो गर्न बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना सन्देश दिनुभएको छ ।
संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवसको अवसरमा प्रदशे प्रमुख देवकोटाले शुभकामना सन्देश दिनुहुंदै संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरुले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अझै विद्यमान रहेको औल्याउनु भएको छ ।
जनताका प्रतिनिधिहरुले संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको आज ९ बर्ष पूरा भएको छ । “यस सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी,दाजुभाइहरुमा हार्दिक बधाई,साथै शुभकामना व्यक्त गर्दछु” प्रदेश प्रमुखद्वारा जारी सन्देशमा भनिएको छ ।
यो सुनौलो विहानी ल्याउन योगदान गर्नुहुने इतिहासको विभिन्न कालखण्डका शहीदहरुप्रति उहाँले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।
नेपाली जनताको संघर्ष र बलिदानको स्वरूप विसं २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइदै आएको छ ।
“केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको संविधान जारी भएको उत्सवको दिन हो आज” प्रमुखको सन्देशमा भनिएको छ।
यो ९ वर्षको अन्तरालमा लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरु सम्पादन भएका र यसले संविधानमा मूलभूत लोकतान्त्रिक मूल्य मान्यता समेटिएका सन्देशमा उल्लेख छ ।
साथै सकारात्मक कामको पहलमा सबैको ऐक्यवद्धता आवश्यक रहने पनि उहाँले बताउनु भएको छ । संविधानमा लिपिबद्ध हक अधिकार कार्यान्वयनका लागि सरोकारवाल सबैले आ आफ्नो स्थानबाट पहलकदमी लिइरहन सम्पूर्ण नेपाली नागरिकमा प्रदेश प्रमुख देवकोटाले आमनागरिकमा अनुरोध समेत गर्नुभएको छ ।
संविधान कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मुल्य मान्यता र प्रणालीलाई राष्ट्रिय जीवन पद्धति बनाउन संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ ले सबैमा नयाँ उत्साह प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।
मकवानपुर । बागमती विश्वविद्यालयको उपाध्यक्षमा कुसुमराज सुवेदी नियुक्त भएका छन् । मङ्गलवार बसेको बागमती विश्वविद्यालयको कार्यकारी परिषद्ले सुवेदीलाई उपाध्यक्ष पदमा नियुक्त गरेको हो ।
उपाध्यक्ष विश्वविद्यालयको प्रशासकीय प्रमुख हुने व्यवस्था छ भने उपाध्यक्षको नियुक्ति संरक्षक समितिले गठन गरेको छनौट समितिले सिफारिस गरेका तीन जना उम्मेदवारमध्येबाट कार्यकारी परिषद्ले गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार संरक्षक समितिले सुवेदीलाई जिम्मेवारी दिएको हो ।
विधानत उपाध्यक्षको पदावधि ४ वर्षको रहने व्यवस्था गरिएको छ ।
उनीसहित ५ जनालाई उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले सर्ट लिष्ट गरेको थियो । सो लिस्टमा खेमराज जोशी, देवचन्द्र मानन्धर, धर्मदत्त तिवारी र शिवराज सन्जेल समावेश रहेका थिए ।
चितवन खैरहनी–५ निवासी सुवेदी करिब २० वर्षदेखि शिक्षण पेसामा आबद्ध छन् । खैरहनी–३ स्थित सहिद स्मृति बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्र संकायको शिक्षाशास्त्र तथा पाठ्यक्रम मूल्याङ्कन अन्तर्गत पेडागोजी विषयमा विद्यावारिधि गरेका छन् ।
मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाले बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई प्रतिवेदन बुझाएको छ ।
आयोगले आ.व. २०८०/८१ को गतिविधि तथा मानव अधिकारको अवस्था सहितकाे प्रतिवेदन बुधबार प्रदेश प्रमुखलाई बुझाएकाे हाे । आयोगका बागमती प्रदेशका उपसचिव पवनकुमार भट्टले प्रदेश प्रमुख देवकोटालाई प्रतिवेदन बुझाएका हुन । प्रतिवेद ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटाले प्रतिवेदनले दिएको सुझाव कार्यान्वयनको लागि आफूले आफ्नो तर्फबाट समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिवेदनमा बागमती प्रदेशमा नागरिक तथा राजनीतिक अधिकारको अवस्था सुधारोन्मुख भएको उल्लेख गरिएकाे छ । ‘हत्या तथा आत्महत्याका घटना भइरहेकाले नयाँ प्रबिधिसंगै हुने यस्ता अपाराधिक गतिबिधिले प्रहरीको अनुसन्धानमा चुनौती थपिएको देखिन्छ’ प्रतिवदेनमा उल्लेख छ ।प्रतिवेदन अनुसार आयोगको बागमती प्रदेश कार्यालयमा आ.व. २०८०/ ०८१ मा मात्रै मानव अधिकारको हनन भएको भनि नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी ११ वटा, आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकारका ३ वटा, यातनाका २ वटा, बाल अधिकारका १ वटा, महिला अधिकारका १ वटा, जातीय विभेदका १ वटा, अपाङगता भएका व्यक्तिको अधिकारका ४ वटा तथा अन्यमा ३ वटा गरी जम्मा २६ वटा उजूरी दर्ता भएका छन् ।
यसैगरी पुराना उजूरीकाे संख्या ५ सय ९६ रहेका छन् । सोही आ.व.मा ७३ वटा उजूरीको अनुसन्धान समपन्न भई कानूनी प्रक्रियामा गएकाे छ । हाल ५४९ उजूरी अनुसन्धानको क्रममा रहेका आयोगले जनाएको छ ।
प्रदेशमा अपाङ्गता भएका व्यक्तिलाई घरपरिवारका मान्छेले विभेद गर्ने गरेको, सरकारी कार्यालय तथा स्थानीय तहका संरचनाहरू अपाङ्गमैत्री नभएको, सार्वजनिक स्थल, सडक मार्ग तथा यातायातका साधन अपाङ्गमैत्री हुन नसकेको विषयका सवाललाई प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरी घर परिवार तथा विद्यालयमा बालबालिका माथि हिंसाका घटना भईरहेका, बाल विवाह, बाल श्रम कायमै रहेको तथा बालबालिका यौनजन्य हिंसाका शिकार भईरहनु मानवअधिकारको दृष्टिले संवेदनशिल रशेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी जातीय छुवाछुत तथा विभेदका घटना भईरहेका, ग्रामिण भेगमा मात्र हैन शहरी क्षेत्रमा पनि जातीय विभेदका घटना भईरहेको प्रतिवेदनमा उल्लेख छ ।
“स्वास्थ्य सेवा सबैका लागि पहुँच योग्य तथा सर्वशुलभ छैन, समाजमा मानसिक रोगबाट पीडित व्यक्तिहरुको हेरचाह र उपचार सुनिश्चित हुन सकेको छैन, निशुल्क पाईने भनेका औषधीको जहिले पनि अभाव हुन्छ, अस्पतालको वातावरण बिमारी तथा कुरुवा मैत्री पाईदैन, उद्योग तथा कलकारखानाबाट निस्केको धुवा, धुलो तथा ध्वनीले वातावरण प्रदुषित भईरहेको छ भने रोकथामका उपायहरु अबलम्वन गरिएको छैन” प्रतिवेदनमा भनिएको छ ।