मकवानपुर । मकवानपुरलाई काठमाडौं जोड्ने चित्लाङ–चन्द्रागिरि–थानकोट सडकखण्ड ७ पुसबाट १ महिना बन्द हुने भएको छ ।
उक्त सडक खण्डअन्तर्गत पर्ने पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्म सडकको मर्मत सम्भार गर्नु पर्ने भएकाले आइतबारबाट १ महिनासम्म सवारी आवागमन बन्द गर्न लागिएको हो ।
सडक डिभिजन कार्यालय काठमाडौंले बिहीबार सूचना जारी गर्दै सडक स्तरोन्नतिका लागि उक्त सडक खण्ड ७ पुस आइतबारदेखि ६ माघ २०८१ सम्म पूर्णरुपमा बन्द गरिने जानकारी गराएको छ । उक्त अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ ।
‘यस कार्यालयअन्तर्गत थानकोट–चित्लाङ सडक स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्मको सडकखण्ड ७ पुस देखि ६ माघसम्म पूर्ण रुपमा बन्द हुने भएकोले सो अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न हुन जानकारी गराइन्छ’ सूचनामा उल्लेख छ ।
यसैगरी प्रदेश राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा ११ पुससम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
उक्त सडक अन्तर्गत दक्षिणकाली–छैमले सडकखण्डमा कालोपत्र गर्न लागिएकोले सवारी सञ्चालनमा रोक लगाइएको हाे । यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।१३ मंसिरदेखि २९ मंसिरसम्म समेत दक्षिणकाली–छैमले सडकखण्डमा कालोपत्र गर्न भन्दै बन्द गरिएकाे थियाे । उक्त कार्य नसकिएकाे पुनः १० दिन उक्त मार्ग बन्द रहने भएकाे हाे ।
यससँगै हेटौंडा भएर काठमाडौं यात्रा गर्ने सवारीसाधनले बैकल्पिक मार्ग प्रयोग गर्नु पर्ने भएकाे छ । हेटौंडाबाट काठमाडौं जोड्ने छोटो मार्ग कान्ति लोकपथ भने संचालनमा रहेकाे छ । साना सवारी साधनबाट काठमाडौं आवतजावत गर्न कान्ति लाेकपथ उपयुक्त विकल्प रहेकाे छ ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले जिल्ला समन्वय समितिले चुस्त, दुरुस्त कार्य सम्पादन गर्न समन्वयात्मक भूमिकामा रहेर निर्देशकको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।
जिल्ला समन्वय समिति मकवानपुरको वार्षीक समीक्षा कार्यक्रममा बुधबार प्रदेश प्रमुख देवकाेटाले यस्तो बताएका हुन् । व्यक्तिले शान्त र एक्लै भएको बेला आफ्नो ब्रम्हले उचित र निष्पक्ष कार्य गरेको स्वमुल्याङ्कन गरेर गर्व महसुस गर्ने गरी काम गर्नु पर्ने देवकाेटाले बताए ।
नेपालको संविधान (२०७२) को धारा २२० ले निर्दिष्ट गरे अनुसार समन्वय समितिको गठनको ब्यवस्था छ । यस अनुसार जिल्लामा रहेका स्थानीय तहहरुलाई समन्वयकारी भूमिका निर्वाह गर्न उनले निर्देशन दिए । राज्यका तीनै तहसङ्ग समन्वय, विकास निर्माण अनुगमन, प्रकोप तथा बिपत् ब्यवस्थापन समन्वयमा समेत चुस्त रहनु पर्ने उनले सुझाव दिए ।
बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाको भौगोलिक अवस्था अवलोकन सहित कम्तीमा जिल्ला सदरमुकामसम्म पुग्ने ईच्छा रहेको बताउँदै प्रमुख देवकोटाले जिल्लागत अवस्था बुझ्ने पहिलो मौका मकवानपुरले दिएकोमा खुसी समेत व्यक्त गरे । कार्यक्रममा मकवानपुर जिल्लाका १० वटा स्थानीय तहहरुको वार्षिक कार्य प्रगती अवसर चुनौती तथा आर्थिक सवालमा समिक्षात्मक प्रस्तुती गरिएको थियो ।

कार्यक्रममा मकवानपुरमा रहेर विभिन्न क्षेत्रमा गरेको योगदानको कदर गर्दै १३ बिधाका २४ जनालाई सम्मान गरिएको थियो । पत्रकारीतातर्फ भावना रिजाल तथा गणेश दर्पण अधिकारीलाई सम्मान गरिएको जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्माले बताइन् । यसैगरी सहकारी, गैसस, कर्मचारी, बिद्यालय, सामुदायिक वन, स्वास्थ स्वयम सेविकालगायतका विधामा सम्मान गरिएको थियो ।
यसैगरी हालै सम्पन्न पत्रकार महासंघ जिल्ला प्रदेश तथा केन्द्रको निर्वाचनमा मकवानपुर जिल्लाबाट नेतृत्व गरेका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान तथा बधाइ कार्यक्रम समेत गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुर सभापति ललित घलानको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्रीहरु कुमारी मोक्तान, एकालाल श्रेष्ठ तथा पूर्व सांसद प्रेम बहादुर पुलामी समेतको उपस्थति रहेको थियो ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा मंगलबारबाट ११ पुस सम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
उक्त सडक अन्तर्गत दक्षिणकाली–छैमले सडकखण्डमा कालोपत्र गर्न लागिएकोले सवारी सञ्चालनमा रोक लगाइएको हाे । यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।
हेटौंडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ, त्रिभुवन राजपथ लगायतकाे मार्ग भने सूचारु रहेकाे प्रहरीले जनाएकाे छ ।
१३ मंसिरदेखि २९ मंसिरसम्म समेत दक्षिणकाली–छैमले सडकखण्डमा कालोपत्र गर्न भन्दै बन्द गरिएकाे थियाे । उक्त कार्य नसकिएकाे पुनः १० दिन उक्त मार्ग बन्द रहने भएकाे हाे ।
मकवानपुर । नेकपा (एमाले) हेटौडा उपमहानगरपलिकाको अध्यक्षमा बाेलबहादुर कार्की विजयी भएका छन् । कार्कीले खसेकाे कुल ३२७ मत मध्ये १७६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिष्पर्धी जेन श्रेष्ठले कुल १३३ मत प्राप्त गर्दै पराजीत भएका छन् ।
यसैगरी उपाध्यक्षमा राजकुमार बास्तोला १४३ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटतम प्रतिष्पर्धी धनबहादुर मुक्तानले ७४ र इन्द्रप्रसाद खतिवडा ६८ मत प्राप्त गरे । यस्तै सचिव पदमा शान्ता गौतम ( प्रदिप ) १९७ मत प्राप्त विजय हुँदा प्रतिष्पर्धी प्रकाश बाँनिया ८७ मत प्राप्त गरे ।
यसैगरी नगर कमिटि उप सचिवमा शान्ता कुमार तामाङ ७४ मतका साथ विजय हुँदा उक्त पदका उम्मेदवार सुरेश मिजारले ६७ मत, कवि रेग्मीले ४१ मत, शिवबहादुर थापाले ३९ मत, भिमप्रसाद तिमल्सिनाले ३४ मत र अर्जुन प्रसाद अर्यालले ३१ मत प्राप्त गरेका छन् । यस्तै महिला उप सचिव पदमा चन्द्रावती पनेरु अधिकारी १४६ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटतम प्रतिष्पर्धी रन्जिता सिलवालले ७९ मत प्राप्त गरिन् भने अर्का उम्मेदवार जुना दंगालले ६९ मत प्राप्त गरेकी छिन् ।
मंसिर २९ गतेदेखि भएको एमाले हेटौंडाको नगर अधिवेशनमा नेतृत्व चयनका लागि मतदान भएको हाे । सोमबारकाे मतदानले २१ सदस्यीय हेटौंडा उपमहानगर कमिटी चयन गर्नेछ । नगरका ३३४ प्रतिनिधि मध्ये ३२७ जनाले मतदान गरे । ७ जना प्रतिनिधिले मतदानमा सभागिता जनाएनन् ।अध्यक्ष पदमा २ सहित पदाधीकारीमा १६ जनाकाे उम्मेदावरी कायम भएकाे थियाे ।
नगर अध्यक्ष पदमा उम्मेदवारी दिएका इन्द्र नेपाल र नवराज खतिवडाले उम्मेदवारी फिर्ता लिए पछि कार्की र श्रेष्ठले प्रतिष्पर्धा भएकाे थियाे । अधिवेशनले पदाधिकारीमा विजयी ५ सहित ८१ सदस्यीय कमिटिकाे चयन गरेकाे छ । पदाधिकारी ५ पदमा मात्रै निर्वाचन भएकाे हाे । अन्य पदमा भने सर्वसम्मत निर्वाचित भएका छन् ।
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । मूल्य समायोजन भएसंगै पेट्रोलको मूल्य बढेको छ भने डिजेल र मट्टीतेलको मूल्य घटेको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले घटेको छ । निगमले समायोजन गरेको मूल्य राति १२ बजेदेखि लागु हुने जनाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत् राखिएको छ ।
अब काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गत तेस्रो वर्गका पेट्रोल पम्पमा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ पर्ने भएको छ । यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, सुर्खेत र दाङ डिपो अन्तर्गत दोस्रो वर्गमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मट्टितेल १५० रुपैयाँ कायम भएको छ ।
यसैगरी चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, विरगन्ज, नेपालगन्ज, भलवारी र दिपायल दिपो अन्तरगत पहिलो वर्गको क्षेत्रमा पेट्रोल १५९.५० रुपैयाँ र डिजेल मट्टितेल १४८.५० रुपैयाँ कायम भएको नेपाल आयल निगमले जनाएको छ ।