मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्काे बिहीबारकाे बैठकले विभिन्न निर्णयहरु गरेकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सिटीइभिटी) को प्रमुख कार्यकारी निर्देशकमा शान्ति लामालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले नुवाकोट म्यागङ गाउँपालिका–४ की लामालाई प्रदेश सिटीइभिटीको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । प्रमुख कार्यकारी निर्देशकमा नियुक्त भएकी लामा नेपाली कांग्रेस नुवाकोटको महाधिवेशन समिति सदस्य छिन् भने २०७४ को स्थानीय तह निर्वाचनमा म्यागङ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।
यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख कार्यालयको सबलीकरणका लागि १० लाख रुपैयाँ अख्तियारी दिने निर्णय गरेको छ । लामिछानेका अनुसार बैठकले प्रदेश औद्योगिक तथा व्यवसाय ऐनलाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसाय ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गराउने निर्णय गरेको छ । यसैगरी अपांगता भएका व्यक्तिहरूको सशक्तीकरणका कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गर्ने निर्णय समेत बैठकले गरेको छ ।
मन्त्रिपरिषद् बैठकले स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति नवीकरण तथा स्तरोन्नति मापदण्ड, तामिल सञ्चालन कार्यविधि, प्रविधि हस्तान्तरण कार्यविधि, प्रदेश नीति तथा योजना आयोगको वार्षिक आयोजना छनौट कार्यविधि संशोधनका लागि मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ । बैठकले प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयक तर्जमाका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
यसैगरी प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० करोड रुपैयाँ बजेट दिने निर्णय गरेको छ ।रंगशाला निर्माणका लागि वार्षिक बजेट कार्यक्रममा समावेश भए अनुसार १० करोड रुपैयाँ बजेटकाे अख्तियारी दिने निर्णय गरेको लामिछानेले जानकारी दिए । अनुदानका रूपमा १० करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय गरेको हो ।
यसैगरी मन्त्रिपरिषद् बैठकले संघीय सरकारबाट सरुवा भई आएका ३ जना र प्रदेशमा हालै बढुवा भएका एक जना सचिवलाई पदस्थापन गर्ने निर्णय गरेको छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले चितवनमा निर्माण भइरहेकाे गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि १० करोड रुपैयाँ बजेट दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रंगशाला निर्माणका लागि वार्षिक बजेट कार्यक्रममा समावेश भए अनुसार १० करोड रुपैयाँ बजेटकाे अख्तियारी दिने निर्णय गरेको हाे ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले अनुसार भरतपुर महानगरपालिका र बागमती सरकारको साझेदारीमा निर्माण भइरहेको उक्त रंगशाला निर्माणका लागि अनुदानका रूपमा १० करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय गरेको हो । उक्त रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुरले ३० प्रतिशत लागत साझेदारी गर्ने सहमति गरेको थियो ।
बागमती प्रदेश सरकार र भरपुर महानगरपालिका चितवनले रंगशाला निर्माण गर्ने गरी गत २१ कार्तिक २०८० मा सम्झौता गरेका थिए । २३ माघ २०८० काे प्रदेश मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का आह्वान गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएकाे छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि ५२ करोड ५० लाख बजेट स्वीकृत गरेकाे थियाे ।
तत्कालिन प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेल र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले रंगशाला निर्माणका समझदारी पत्रमा हस्ताक्षर पछि बजेट जुटाउन स्राेतकाे खाेजीलाई तिब्रता दिइएकाे थियाे । उक्त अवधि अघी रंगशाला निर्माण गर्दाको ऋणको जिम्मा भने संघीय सरकारलाई नै छोड्ने गरी प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गरी तत्काल निर्माण गर्ने गरी सम्झौता भएकाे थियाे ।
भरतपुर महानगरपालिकाले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार प्रदेश सरकारले ५२ करोड ५० लाख रुपैयाँ र भरतपुर महानगरपालिकाले २२ करोड ५० लाख रुपैयाँ लगानी गर्ने छन् । यसअघि रंगशाला निर्माणका लागि २३ असार २०८१ मा बागमती प्रदेश सरकारले १ करोड ८० लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय गरेको थियाे । उक्त रकम भरतपुर महानगरपालिकाकाे नाममा अख्तियारी दिने निर्णय भएकाे थियाे ।
आर्थिक वर्ष २०८०।०८१ वर्षको लागि उक्त रकम रकमान्तर गरी भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय भएकाे थियाे ।
चितवनको भरतपुर नगरपालिकामा रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २२ साउन २०७८ बाट पूर्ण रुपमा रोकिएको थियो । अब बाँकी संरचना भने बागमती प्रदेश र भरतपुर महानगरपालिकाले बनाउने छन् । महानगरले संघीय सरकारसँग पनि रंगशाला निर्माणकाे लागि रकम माग गरेकाे बताइएकाे छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा ५ राउन्ड हवाई फायर गरिएको छ । हेटौंडा–५ र हेटौंडा–८ को सिमानामा गैँडाको खाग तस्करलाई पक्राउ गर्न हवाई फायर गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृतको नेतृत्वमा खटिएको टोलीले हवाई फायर गरि गैँडाको खाग सहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाउकाे छ । घटनाकाे विस्तृत विवरण निकुञ्ज मार्फत गर्ने गरी तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी लगिएको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार विशेष सुराकीकाे आधारमा तस्कर पक्राउ गर्न २ वटा सवारीमा ७/८ जना सेनाको टोलीले हेटौंडा आएका थिए । तस्कर भाग्न खोज्दा हवाई फायर गरिएकाे बताइएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटाैंडामा बुधबारबाट सुरु प्रदेश लिग फुटबल प्रतियोगितामा पशुपति शिवाजी चित्लाङ एफसी काठमाडौंले विजयी सुरुवात गरेको छ ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्प रंगशालामा सुरु प्रदेश लिगमा चित्लाङ एफसी काठमाडौंले माउण्ड एभरेष्ट क्लब काभ्रेलाई ३–० गोलअन्तरले पराजित गरेको हो । काठमाडाैंकाे लागि तीनै गोल अंकित रासकोटीले गरे । रासकोटी खेलको म्यान अफ दी म्याच भए । जीतसँगै काठमाडौंले ३ अंक प्राप्त गर्यो ।
लिगकम नकाउट आधारमा सञ्चालन भइरहेको प्रतियोगिता बिहीबार नुवाकोट र दोलखा तथा भक्तपुर र सिन्धुली जिल्लाको लिग च्याम्पियनबीच खेल हुनेछ । प्रतियोगिताको फाइनल प्रवेश गर्ने २ वटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउन पाउने छन् ।प्रतियोगिता बिजेता तथा उपविजेताले नगद २ लाख र १ लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेकी थिइन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रमअनुसार प्रदेश फुटबल संघको आयोजनामा सुरु प्रतियोगितामा मकवानपुरको पदमपोखरी युथ क्लब, काठमाडौंको चित्लाङ फुटबल क्लब, सिन्धुलीको ब्लु अल्पलाइन क्लब, दोलखाको टाइगर टिम तिखालाल, धादिङको धुनिबेसी युवा समाज, नुवाकोटको बटार युथ क्लब, सिन्धुपाल्चोकको चौतारा स्पोर्टस् क्लब, चितवनको बीएफसी क्लब, ललितपुर र काभ्रेको माउण्ट एभरेष्ट फुटबल क्लबको सहभागिता रहकाे छ ।
११ जिल्लामा भएको जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि विजेता टिमहरुको प्रतियोगितामा सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल २० पुसमा हुने आयोजकले जनाएकाे छ ।
मकवानपुर । अहिले नेपालमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । जसको प्रभावले हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाकाे सम्मभावना रहेकाे छ । साथै केही हिमाली क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ । आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले मंगलबार देशका धेरै जसो स्थानमा प्रभाव पारेको महाशाखाले जनाएकाे छ । काठमाडौं उपत्यकालगायत केही स्थानमा मंगलबासर साँझ सामान्य वर्षा समेत भएको थियो ।
पश्चिम न्यूनचापीय प्रणालीका कारण आकाशमा बादल टम्म लागे पनि वर्षा भने न्यून भयो । अहिले पनि आकाशमा बादल लागेकाे छ । पश्चिमका डडेलधुरा तथा दिपायल क्षेत्रमा पानी परेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ । बुधबारबाट मौसममा क्रमिक सुधार भए पनि शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । उक्त प्रणालीको मुख्य असर पश्चिम नेपालमा पर्ने र काठमाडौं उपत्यकासम्म वर्षा गराउने सम्भावना रहेकाे छ ।
बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।