मकवानपुर । हाल देशभर मनसुनी वायु तथा पश्चिमी वायुसमेत प्रभाव रहेको छ । जसकाे कारण देशैभर भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बङ्गालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी बङ्गालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको रूपमा रहेको छ । आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तर पश्चिम दिशा तिर सर्ने देखिएकाे महाशाखाले जनाएकाे छ । जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको धेरै स्थान, सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको पहाडी भूभाग एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा साथै मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभाग एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेश मन्त्री परिषद् विस्तार भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनु भएको छ ।
आलेमगर मन्त्री नियुक्ति भएसँगै ८ वटा मन्त्रालय कायम रहेको बागमती सरकारले पूर्णता पाएको छ । शुक्रबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री किरण थापाको उपस्थितिमा मन्त्री आलेमगरलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
यसअघि मुख्यमन्त्री थापाले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय आफैं मातहतमा राखेका थिए। बागमतीमा नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपाको संयुक्त सरकार छ।
मकवानपुर । मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा न २ सुकौरामा मंगलबार इभी (EV) दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
हेटौंडा – भिमफेदी- कुलेखानी – फाखेल सडक खण्ड अन्तरगत सुकौरामा ev दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य ४ जना घाइते भएका छन् ।
काठमाडौबाट बिरगंज तर्फ जान आउदै गरेको मधेश प्रदेश०३-००१ ज ०७२० नं.को यात्रु बाहक इभी सडकबाट अन्दाजी १ किलोमीटर तल झरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते मध्ये काठमाडौ २ जना पुरुष,१ जना महिला तथा १ जना महिलालाई हेटौडा पठाइएको प्रहरीले जनाएको छ । इभीमा चालक सहित ८ जना सवार थिए ।
घाइते/मृतकहरुको विवरण :
१. चालक बारा कलैया उ.म.न.पा.२४ बस्ने बर्ष अं.२० को अमिर अन्सारीको टाउको दाईने खुट्टा र शरिरको बिभिन्न भागमा चोट अबस्थाम गम्भीर भइ उपचारको लागि ट्रमा सेन्टर काठमाडौ तर्फ पठाईएको ।
२. मकवानपुर हेटौडा उ.म.न.पा.११ बस्ने बर्ष अं.२३ कि कल्पना तामाङको ढाड खुट्टा र शरीरको विभिन्न भागमा चोट अबस्था गम्भिर भइ उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौ इन भइ उपचार हुदै । बारा महागढीमाई न.पा.११ बस्ने बर्ष अं.२१ की बबिया कुमारी यादवको दाईने खुट्टा,शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम उपचारको लागि हेटौडा अस्पताल इन भइ उपचार हुदै ।
३. हाल नाम थर वतन नखुलेको बर्ष अं.३४/३५को जस्तो देखिने पुरुष बोल्न नसक्ने गम्भिर घाईते भई उपचारको लागि ट्रमा सेन्टर इन भइ उपचार हुदै ।
४. हाल नामथर वतन नखुलेको ४ जना पुरुषको घट्नामा नै मृत्यु भएको, उद्धार कार्य हुदै सनाखत हुन बाकी ।
मकवानपुर । हरितालिका तीजको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नु भएकाे छ।
मुख्यमन्त्री थापाले सोमबार शुभकामना सन्देश दिनु हुँदै तीज नेपाली महिलाहरूले सनातन सांस्कृतिक पर्वका रूपमा मनाउँदै आएको उल्लेख गर्दै पर्वले पारिवारिक सुख, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्ने अवसर प्रदान गर्ने बताउनु भएकाे छ। यस्ता सांस्कृतिक पर्वले विविधतामा एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउने विश्वास उहाँले व्यक्त गर्नु भएकाे छ।
तीजको मौलिकता कायम राख्दै संस्कृति संरक्षण, संस्कारयुक्त वातावरण निर्माण र सदाचार जीवनशैली अपनाउन चाडपर्वको गरिमालाई सम्मानजनक बनाइराख्नुपर्ने उहाँले सन्देशमा भन्नु भएकाे छ। ‘तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक, जातीय र वर्गीय विभेदलगायत सबै प्रकारका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाउन प्रेरणा दिने अपेक्षा छ’ उहाँले भन्नुभएकाे छ ‘विभेदमुक्त र समतामूलक समाज निर्माणतर्फ अघि बढ्न तीज पर्वले सबैलाई प्रेरित गर्न सकोस शुभकामना।’
मकवानपुर । आज भाद्र शुक्ल तृतीया । यस दिनमा मनाइने हरितालिका तीज पर्व मनाइँदै छ । आजको दिन व्रतालुले शिव-पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।
आइतबार दर खाएपछि औपचारिक रूपमा शुरु भएकाे यस वर्षकाे तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिव पार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ ।
यही विश्वासका साथ व्रतालुहरूको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरूमा घुइँचो लागेको छ । तीजको अवसरमा महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । उनीहरू भेला भएर नाचगान गर्दछन् ।
हरितालिका तीजको धार्मिक, सामाजिक तथा साँस्कृतिक महत्व
हरितालिका तीजको महत्व हाम्रो सनातन संस्कृतिमा ठूलो रहेको छ l मुख्यरूपले सौभाग्यवती वा विवाहित महिलाहरुद्वारा यस पर्वलाई मनाइन्छ तर यो व्रत अविवाहित महिला तथा पुरुषहरुको लागि पनि उत्तिकै श्रेष्ठ मानिएको छ l हरितालिका तीजमा भगवान शिव, माता गौरी एवं गणेशजीको पूजा-आराधनाको महत्व रहेको छ l यो व्रत निराहार एवं निर्जला भई तथा रात्रि जाग्राम गरि नाचगानको साथ गर्ने गरिन्छ l
आलिभिः सखिभिः हरिता इति हरितालिका । अथवा सखिभिर्हरिता यस्मात् तेनेयं हरितालिका । ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी हुन्छ । पौराणिक प्रसंगअनुसार भाद्र शुक्ल तृतीयाको दिन पर्वतराज हिमालयकी सुपुत्री पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका सखीहरूले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो ।
हरितालिकाको लोकप्रसिद्ध नाम ‘तीज’ हो । यो विशेषगरी नारीहरूले मनाउने पर्व हो । धार्मिक रूपमा तीज अन्तर्गत उमामहेश्वरको पूजा गरी निराहार व्रत बस्ने र भोलिपल्ट व्रतको उद्यापन गरेर भोजन गर्नेसम्मका कृत्यहरू पर्दछन् । तीजमा निराहार व्रत बसी पार्वतीसहित भगवान् शिवको पूजा–आराधना गर्ने नियम छ । यसका साथै तीजमा दरका रूपमा विशेष खानपान, नाचगान र मनोरञ्जन समेत गरिन्छ । यो पर्व नेपाल, भारतलगायत हिन्दुहरूको बसोबास भएका अन्य मुलुकमा समेत मनाइन्छ । तीजमा मीठामीठा परिकार आफैंले पकाएर आफन्तहरूलाई बोलाएर आफ्नै मिहिनेतको फल खाने र खुवाउने चलन छ । यस्तै नयाँ कपडा तथा गरगहना जोरजाम गर्ने पर्वका रूपमा पनि तीज अगाडि रहेको छ ।
नेपाली समाजमा प्राचीनकालदेखि नै तीजलाई महत्त्वपूर्ण पर्वका रूपमा लिने गरेको पाइन्छ । विवाह भएर टाढा पुगेका छोरी–चेली–भान्जीहरूलाई घरसम्मै माइती लिन जाने, माइतमा एकसाथ भेला हुने, रमाइलो भेटघाटबीच मीठो एवं स्वादिष्ट दर खाने, व्रत बसी सामूहिक पूजा गर्ने र नाचगानका माध्यमले आफ्ना दुःखसुखका पीरमर्का व्यक्त गर्ने अवसर तीजले नै जुटाउंछ ।
यस पर्वलाई पतिपत्नीबीचको सम्बन्ध प्रगाढ बनाउने, आपसी सहयोगको भाव प्रत्यक्षरूपमा व्यक्त गर्ने, उमामहेश्वरको पूजाद्वारा पतिपत्नी एक–अर्काका पूरक भएको प्रमाणित गर्ने, ईश्वर–उपासनाद्वारा इच्छाएको फल प्राप्त गर्ने जस्ता अनेकौं प्रेरणाहरू तीज पर्वबाट प्राप्त गर्न सकिन्छ । पतिपत्नीबाट अलि माथि उठेर हेर्दा सामाजिक पक्षसँग यो पर्व जोडिन पुग्छ । घरमा सासू–बुहारी र नन्द–भाउजूबीचको सम्बन्ध पनि तीतो नभएर मीठो एवं प्रगाढ नै हुनुपर्छ ।
आपसमा घरभित्रका व्यावहारिक विषयलाई बाहिर लैजाँदा वास्तवमा आफ्नै घरको बेइज्जत हुने र बाहिरी मानिसले घरायसी मनमुटावलाई जोड्न सक्ने हुँदा यसतर्फ सचेत गराउन माइती पक्षका अभिभावकले ठूलो भूमिका निर्वाह गरेका हुन्छन् । पारिवारिक द्वेष हुनबाट विमुख गराउने शिक्षा पनि यस पर्वबाट प्राप्त गर्न सकिन्छ । यसभन्दा पर गएर हाम्रो घरमा आश्रित व्यक्तिहरूलाई जोड्ने प्रयत्न गर्नु र नन्दआमाजू, फुपूदिदी र हजुरदिदीहरूलाई, सानीमा, ठुलीआमा एवं वरपरसम्मका इष्टमित्र र आफन्तहरूलाई बोलाएर उदारभावका साथ खानपान तथा रमाइलोले भेटघाट भए जति सबैको मन प्रसन्न भई आत्मीयपनको विकास हुनुले व्यावहारिक पक्षमा पनि एक–आपसमा सहयोग एवं सहकार्यको भावना जागृत हुन्छ ।
तीजको धार्मिक पृष्ठभूमि
भाद्र शुक्लपक्षको तृतीया तिथिमा पार्वतीले भगवान् शिवजीलाई पति पाऊँ भनी गरेको व्रतबाट तीजको परम्परा चलेको पाइन्छ । जब पार्वतीको चिन्तन, ध्यान, पूजा, उपासना, जप, तप सम्पूर्ण महादेवमा केन्द्रित थियो, उसबेला नारदको याचनाअनुसार पिता पर्वतराज हिमालयले भगवान् विष्णुसँग उनको विवाह निश्चय गर्दछन् ।
वासुदेव स्वयं देवः कन्यां प्रार्थयते यदि ।
तदा मया प्रदातव्या त्वदागमनगौरवात् ।।
पिताजीले आफ्नो इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिने निश्चय गरेको थाहा पाएपछि पार्वतीलाई असह्य पीडा भयो । उनले आफ्नो वेदना सखीहरूलाई सुनाइन् । सखीहरूले पार्वतीलाई लुकाउने सल्लाह गरे, र हरण गरि जंगलमा पुर्याए । पार्वती हराएको सूचनाले पर्वतराजको दरबारमा भने हाहाकार भयो । यसरी सखीहरूले हरण गरेर लुकाएको अवस्थामा पार्वतीले आशुतोष भगवान् शिवजीको तपस्या गरिन् । उनले बालुवाको शिवलिंग बनाई पूजा गरिन् र ‘ॐ नमः शिवाय’ मन्त्रद्वारा भगवान् शिवजीलाई प्रसन्न गराई वरदानस्वरूप उनै भगवानलाई पतिरूपमा प्राप्त गरिन् । यसप्रकार पार्वतीले सिद्ध गरेको पूजालाई हरितालिका पूजा भन्न थालिएको हो ।
व्रत बस्ने दिन
तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् । व्रतको समयमा महिलाहरूले तीजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण-ब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।
सामाजिक महत्व
नेपाल कृषिप्रधान मुलुक हो । तीज बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर र्फकने प्रचलन छ जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुखदुखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ ।
सांस्कृतिक महत्व
मानिस जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ । तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू पनि यसमा रमाउँछन् । कामबाट केही समय अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्को विशेषता बन्दैछ ।
व्रतकथा
पौराणिक कालदेखि चलिआएको तीजको व्रतकथा महात्म्यको कथा भगवान शिवले पार्वतीजीको पूर्वजन्मको स्मरण गराउने उद्देश्यले यसप्रकार भन्नु भएको थियो । हे गौरी ! पर्वतराज हिमालयको घर अर्थात तिम्रो माइतमा बस्दा गङ्गातटमा तिमीले आफ्नो बाल्यावस्थामा अधोमुखी भई घोर तपस्या गरेकी थियौ । उक्त अवधिमा तिमीले कुनै अन्नपानी नखाई केवल हावाको मात्र सेवन गरेकी थियौ र मात्र सुख्खा पत्ताहरू चबाई दिनहरू काटेकी थियौ । माघको चिसोमा तिमीले निरन्तर जलमा प्रवेशगरी तप गर्यौ, बैशाखको शरीर जलाउने गर्मीमा पञ्चाङ्ग्निद्वारा शरीर तपायौ । साउनको मुसलधारे वर्षामा खुल्ला आकाशमुनि बिना अन्नपानी व्यतीत गर्यौ । तिम्रो यो कष्टदायक तपस्या देखेर तिम्रा पिता धेरै दुःखी र चिन्तित हुने गर्दथे ।
एकदिन तिम्रो तपस्या तथा तिम्रा पिताजीको दुःख र चिन्तालाई मनन गरी नारदजीले तिम्रा घरमा आउनुभयो । तिम्रा पिताले नारदजीलाई घर आउनाको कारण सोध्नुभयो र प्रत्युत्तरमा नारदजीले भन्नुभयो “ हे गिरिराज ! म भगवान विष्णुले पठाएर यहाँ आएको हुँ । तपाईंकी छोरीको घोर तपस्याबाट प्रसन्न भई स्वयं भगवान विष्णु उनीसँग विवाह गर्न चाहनुहुन्छ । यसबारे म तपाईंको राय जान्न चाहन्छु ।”
नारदजीका कुरा सुनेर तिम्रा पिताले अति प्रसन्नताकासाथ भन्नुभयो । श्रीमान् यदि स्वयं विष्णु भगवान मेरी कन्याकासाथ वरण गर्न चाहनुहुन्छ भने मलाई कुनै आपत्ति छैन । उहाँ त साक्षात् परब्रह्म हुनुहुन्छ । यो त हरेक अभिभावकको पिताको इच्छा हुन्छ कि उसकी छोरी सुखसंम्पदाले परिपूर्ण पतिका घरकी गृहलक्ष्मी बनून् र आफ्नो जीवनसाथै पति र परिवारको सुखकी कारण बनून् । नारदजीले तिम्रा पिताको स्वीकृति पाएपछि भगवान विष्णुसमक्ष गई विवाह टुङ्गो लागेको समाचार सुनाउनु भयो । तर विष्णुसँग आफ्नो विवाह हुन लागेको थाहा पाएपछि तिमी असाध्यै दुःखित भयौ । तिम्रो दुःखको कुनै ठेगान भएन । अति दुःख, चिन्ता र कष्टमा तिम्रा दिनहरू बित्न थाले ।
तिम्रो चिन्तित र दयनीय मुहार देखेर तिम्री एउटी सखीले तिम्रो दुःखको कारण सोद्धा तिमीले भन्यौ -‘मैले मनैदेखि भगवान शिवलाई वरण गरेकी छु, तर मेरा पिताले मेरो विवाह विष्णुजीसँग गरिदिने निधो गर्नुभयो । म विचित्र धर्मसङ्कटमा छु । अव मैले प्राण त्याग्नुबाहेक कुनै उपाय र विकल्प देखेकी छैन । ‘ तिम्री ती संगिनी अति नै चङ्ख र समझदार थिइन् । उनले तिमीलाई भनिन् – ‘प्राण नै त्याग गर्नुपर्ने यहाँ के नै कारण छ र? संकटको घडिमा धैर्यताका साथ काम गर्नुपर्दछ । हिन्दूनारीको जीवनको सार्थकता नै केमा छ भने जसलाई मनैले पतिका रूपमा एक पटक वरण गरिन्छ, उसैसँग निष्ठापूर्वक जीवन निर्वाह गर्नुपर्दछ । दीगो आस्था र एक निष्ठाका सामु त स्वयं भगवान पनि असहाय र किंकर्तविमुढ बन्न पुग्नुहुन्छ ।
तसर्थ म तिमीलाई घनघोर वनमा लैजान्छु जुन साधनास्थल पनि हो र त्यहाँ तिम्रा पिताले समेत तिमीलाई खोजेर पाउनुहुन्न । मलाई पूर्ण विश्वास छ ईश्वरले अवश्य तिम्रो सहायता गर्नुहुनेछ ।’ अनि तिमीले तिम्री सहेलीले भने झैँ गर्यौ । यता तिम्रा पिता तिमीलाई घरमा नदेखेपछि धेरै चिन्तित र दुःखी हुनुभयो । उहाँ सोच्न थाल्नुभयो – ‘मैले त मेरी पुत्रीको भगवान विष्णुसँग विवाहको निधो गरेको थिएँ, भगवान विष्णु विवाहका निमित्त जन्ती लिएर आउनुभएका बखतमा कन्यालाई घरमा नभेट्दा अनर्थ हुन जानेछ, विष्णुलाई मैले के जवाफ दिने?’ यती विचार गरी तिम्रा पिताले चारैतिर तिम्रो खोजीको कार्य शुरु गराउनुभयो ।
यता तिम्रो धुमधामसँग खोजीकार्य भइरह्यो उता तिमी आफ्नी सहेलीका साथ नदीका तटमा एउटा गुफामा आराधनामा लीन भयौ । भाद्रपद शुक्लको तृतीया तिथि, अनि त्यस दिन हस्ता नक्षत्र थियो, त्यसदिन तिमीले बालुवाको शिवलिङ्ग निर्माण गर्यौ । रातभरि मेरा स्तुतिमा गीत गाउँदै जागरण गर्यौ । तिम्रो यो कठोर तपस्याको प्रभावले मेरो आसन हल्लिन पुग्यो र शीघ्र तिम्रा सामूमा पुगेँ र तिमिलाई वर माग्न भनेँ । त्यससमय आफ्नो तपस्याको फलका प्रभावले प्रकट भएको म महादेवलाई आफूसमक्ष देखेर तिमीले भन्यौ – ‘मैले हजुरलाई साँचो मनले पतिका रूपमा वरण गरिसकेकी छु । यदि तपाई साँच्चै नै मेरो तपस्याबाट प्रसन्न भई यहाँ प्रकट हुनुभएको हो भने मलाई आफ्नी अर्धाङ्गिनीका रूपमा स्वीकार गर्नुहोस् । त्यसपछि “तथास्त्” भनेर म कैलाश पर्वततर्फ फिर्ता भएँ ।
भोलिपल्ट उज्यालो हुने बितिक्कै तिमीले पूजाका समस्त सामग्री नदीमा सेलाई आफ्नी सहेलीसहित बर्तको समापन गर्यौ । त्यही समय तिम्रा पिता गिरिराज आफ्ना बन्धुबान्धवसहित तिमीलाई खोज्दै खोज्दै त्यहीँ पुग्नुभयो । तिम्रा पिताले तिम्रो अवस्था देखेर अत्यन्त दुःखी हुँदै तिम्रो त्यो कठोर तपस्याको कारण सोध्नुभयो । तिमीले भन्यौ – ‘पिताजी ! मैले आफ्नो जीवनको अधिकांश समय कठोर तपस्यामा विताएँ । मेरो यो तपस्याको एकमात्र उद्देश्य माहादेवलाई पतिका रूपमा प्राप्त गर्नु थियो । आज म आफ्नो तपस्याको परीक्षामा सफल भएकी छु । म आफ्नो आराध्यको खोजीमा घरबाट निस्किएर हिँडेकी हुँ । अब मैले हजुरसँग घर नै फर्कनु पर्छ भने महादेवका साथ मेरो विवाह गरिदिने भए मात्र म घर फर्कन्छु । तिम्रा कुरा सुनेर पिता हिमालयले तिम्रो इच्छा स्वीकार गर्नुभयो र तिमीलाई घर फिर्ता लिएर जानुभयो । केहीसमय पछि उहाँले पुरा विधिविधान सहित हाम्रो विवाह गरिदिनु भयो । भगवान शिवले अझ भन्नुभयो – हे पार्वती ! भाद्रपदको शुक्ल तृतीयामा तिमीले मेरो आराधना गरी जुन बर्त बसेकी थियौ, त्यसैको परिणामस्वरूप हामी दुईको विवाह सम्भव भएको हो । यो बर्तको महत्त्व यसकारणले पनि महत्त्वपूर्ण छ । जसले यो बर्त निष्ठापूर्वक पालन गर्दछ, त्यसलाई मनोवाञ्छित फल प्राप्त हुनेछ । यो बर्तलाई हरितालिका भन्नुको अर्थ पनि पार्वतीलाई साथीहरूले पिता र आफ्नो प्रदेशबाट हरण गरी जंगलमा लगेको प्रसङ्गसँग जोडिन्छ । हरितालिका शब्दमा रहेका हरिता र आलिका यी दुई शब्दको अर्थ पनि क्रमशः हरण गरिएकी र सथीहरू भन्ने हुन्छ । भगवान शिवले पार्वतीजीलाई भन्नुभयो – यस व्रतलाई विधिविधानपूर्वक जसले लिन्छ, त्यसले तिम्रोजस्तै सुयोग्य र अचल श्रीमान् प्राप्त गर्दछ ।