मकवानपुर । मकवानपुरकाे हेटौंडामा नेशनल गोल्ड कप सिजन १ फ्री फायर खेलकाे प्रतियोगिता हुने भएको छ। हेटौडाबाट प्रशारण हुने नेशनल गोल्ड टेलिभिजनको आयोजनामा उक्त प्रतियाेगिता हुदैंछ ।
“खेल अब शारीरिक मात्र नभई मानसिक र प्रविधिको संयोजनमा आधारित हुनुपर्छ” भन्ने मूल नाराका साथ हुने प्रतियोगिताकाे मुख्य प्रायोजन हेटौडा स्कुल अफ म्यानेजमेन्टकाे रहने छ । बागमती प्रदेश खेलकुद विकास परिषदको सहकार्यमा आयोजना हुन लागेको प्रतियोगिता बुधबारबाट औपचारिक रूपमा सुरु भएकाे छ । प्रतियोगिताकाे फाइनल १७ जेठमा आयोजना गरिने आयोजक संस्था नेशनल गोल्ड टेलिभिजनका अध्यक्ष उज्वल चौलागाँईले जानकारी दिए ।
१ लाख रुपैयाँ पुरस्कार रहेको प्रतियोगिता नेपालकै ठूला ई स्पोर्ट्स प्रतियोगितामध्ये एक हुने उनकाे दाबी छ। मकवानपुर जिल्लामा यति ठूलो पुरस्कार राशिसहितको ईस्पोर्ट्स प्रतियोगिता पहिलोपटक आयोजना हुन लागेको हो। प्रतियोगितामा देशभरिबाट १६ वर्ष उमेर पुरा गरेका युवाहरूले अनलाइन गुगल फर्ममार्फत निशुल्क दर्ता गरेका छन्। ६ जेठसम्म खुल्ला गरिएको आवेदनमा १ हजार वटा टोलीको सहभागिता रहेको छ। प्रत्येक टोलीमा एकजना ब्याकअप खेलाडीसहित ५ जना खेलाडीको सहभागिता रहने उनले जानकारी दिए ।
सुरुका चरणका खेलहरू अनलाइन माध्यमबाट हुने भए तापनि क्वार्टर फाइनल, सेमिफाइनल र फाइनल खेलहरू भने हेटौडाको हिमालयन दरबार पार्टी प्यालेसमा आयोजना गरिने छन् । प्रतियोगितामा एक पटकमा १२ टोलीका ४८ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन्। विशेषतः युवा पुस्तामा अत्याधिक लोकप्रिय रहेको फ्री फायरलाई आधार बनाएर यो प्रतियोगिता आयोजना गरिएको हो ।
आगामी संस्करण, सिजन २ बाट फुटबल लगायतका खेलहरूको प्रतियोगिता पनि समावेश गरिने आयोजकले जनाएकाे छ । यस्ता प्रतियोगिताले नेपाली ईस्पोर्ट्स क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। हेटौडा सिटी कलेज, जे एन्ड बी वारिष्ठा एकेडेमी, होटल वासुकला, होटल सुर्यान्स, ई स्पोर्ट कन्सल्टेन्सीले सह-प्रायोजन गरेका प्रतियोगिताकाे प्रत्यक्ष प्रशारण नेशनल गोल्ड टेलिभिजन, टेलिभिजनकाे आधिकारिक युट्युब च्यानल, फेसबुक पेजमार्फत गरिने आयोजकले जनाएकाे छ ।
थाहाले जित्यो पालिकास्तरीय महिला भलिबलकाे उपाधी
Tags: No Comments
मकवानपुर । मकवानपुर हेटौंडामा भएकाे तेस्रो संस्करणको पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिकाले हात पारेकाे छ । मंगलबार भएकाे फाइनलमा थाहाले हेटौंडा उपमहानगरकाे टिमलाई २५–२०, ३०–२८ र २५–१९ को सोझो सेटमा हराउँदै प्रतियोगिताकाे विजेता बन्यो ।
प्रतियोगिताको विजेतासँगै थाहाले १ लाख रुपैयाँ हात पार्यो । उपविजेता हेटौंडाले ८० हजारमा चित्त बुझायो । यसैगरी सेमिफाइनल प्रवेश गरेका भीमफेदी र बकैया गाउँपालिकाकाे टिमले ३०/३० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थाहाकी गंगा गुरुङ घोषित भइन् । यस्तै उत्कृष्ट स्पाइकर हेटौंडाकी नेहा चौधरी, डिफेण्डर हेटौंडाकै आइसा सिं दनुवार, ब्लकर भीमफेदीकी तुलसा चौधरी, सेटर थाहाकी लक्ष्मी बलामी र उत्कृष्ट प्रशिक्षक थाहाकै किरण गिरी घोषित भए । उदयीमान खेलाडी हेटौंडाकी अप्सना उप्रेती भइन् । सर्वोत्कृष्ट खेलाडी गुरुङले ७ हजार र अन्य विधागत उत्कृष्टले जनही ४/४ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
मंगलबार भएकाे पहिलो सेमीफाइनल खेलमा भीमफेदी गाउँपालिकालाई ३–१ सेटले पराजित गर्दै हेटौंडा फाइनल प्रवेश गरेको हो । हेटौंडाले भीमफेदीलाई २६–२४, २२–२५, २५–१८ र २५–२१ ले पराजित गरेको थियाे । यस्तै दोस्रो सेमीफाइनल खेलमा थाहा नगरपालिकाले बकैया गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको छ । थाहाले बकैयालाई २५–१२, २५–१७ र २५–१८ को सेटमा हराएकाे थियो ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग, मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगितामा मकवानपुरका ७ वटा पालिकाको सहभागिता रहेको थियो । केशवलाल प्रतिष्ठानका अध्यक्ष प्रताव विष्ट, हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा लगायतले विजेता उपविजेतालाई पुरस्कार वितरण गरे ।
मकवानपुर । बागमती प्रदेश सभाकाे मंगलबारकाे बैठकमा प्रदेश सभा अन्तरगतका संसदीय समितिमा विचाराधीन ४ वटा विधेयकका प्रतिवेदन पेस गरिएकाे छ । मंगलबारकाे बैठकमा संसद्को हिउँदे अधिवेशनमा पेस भएका ४ वटा संशोधन विधेयकको प्रतिवेदनहरू पेस भएका हुन् ।
संसदीय समितिमा दफावार छलफल गरी संशोधन प्रस्तावसहित पारित भइ तयार भएका विधेयकका प्रतिवेदन सभामा पेस भएको हो । बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर प्रसाद ढकालले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन पेस गरेका हुन् ।
त्यस्तै उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन, प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन पेस गरेका हुन् ।
बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेका छन् । यसैगरी मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन सभामा पेस गरेका छन् । मंगलबारकाे बैठककाे सुरुमै सभामुख भुवन कुमार पाठकले विशेष समय र शुन्य समय नरहेकाे सदनलाई जानकारी गराएका थिए ।
सत्तापक्ष र प्रतिपक्षी दल बीचको सहमतिका विषयहरु टुंगिन नसक्दा प्रदेश सभाकाे हिजोकाे बैठक सम्भावित कार्यसूची हटाउँदै सभामुख पाठकले स्थगित गरेका थिए । प्रदेशसभामा पेश गर्नका लागि तयार गरेका विषयहरु कार्यसूचिबाट हटाएर सोमबारको बैठक स्थगित गरिएको थियाे । सत्तापक्ष र प्रतिपक्षी दल बीच सहमति हुन नसक्दा पटक–पटक रोकिँदै आएको बैठक प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र सहमत भएसँगै मंगलबार सुचारु भएकाे हाे ।
विगतका सहमति कार्यान्वयनको माग गर्दै आएको प्रतिपक्षी दलले तत्काल सरकारको नीति कार्यक्रम ल्याउन दिन तयार भएपछि बैठक संचालन भएको हो । प्रतिपक्षीको माग सरकारले क्रमिकरुपमा सम्बोधन गर्दै अघि बढ्ने प्रतिवद्धतापछि मंगलबारकाे बैठक संचालन भएको हो । प्रतिपक्षले बजेट रकमान्तरको बटम लाइन माग राख्दै आएकाे छ ।
मकवानपुर । मकवानपुरकाे भीमफेदी गाउँपालिका ९ स्थित त्रिभुवन राजपथ अन्तरगत लामिडाँडाकाे छैसठ्ठी माेडमा गाडी दुर्घटना हुँदा १४ जना घाइते भएकाे छन् ।
मंगलबार मकवानपुरकाे चित्लाङबाट सर्लाहीकाे लालबन्दी जादै गरेको प्रदेश २-०३-००१ ज ०१४७ नं. को विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा १४ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । घाइते मध्ये मध्ये ३ जनाकाे अवस्था गम्भिर रहेकाे बताइएकाे छ । त्रिभुवन राजपथ सडक खण्डको छैसठ्टी मोडबाट उक्त गाडी खस्दा सल्लाको रूखले अड्काएकाे अवस्थामा रहेकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनास्थलमा प्रहरी चौकी भैसे र सिमभन्ज्याङ्गबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्दार गरि हेटौडा अस्पतालमा ल्याइएकाे छ । प्रहरीका अनुसार उक्त गाडीमा चालक सहित १४ जना सवार थिए । बेक्र फेलभई गाडी दुर्घटना भएको उद्दारमा खटिएको टोलीले जानकारी दिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
मकवानपुर । बागमती प्रदेशकाे वर्ष खेलाडी राजन बल र एरिका गुरुङ घोषित भएका छन् । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आइतबार साँझ हेटौंडामा खोखोका बललाई सर्वोत्कृष्ट पुरुष र करातेकी गुरुङलाई सर्वोत्कृष्ट महिला वर्ष खेलाडी घोषित गर्दै सम्मान गरेकाे छ ।
मन्त्रालयले विभिन्न ८ विधाका १२ जनालाई बागमती प्रदेश स्पोर्ट्स अवार्ड प्रदान गरेको हो । एथ्लेटिक्सका जीतबहादुर केसी र बैकुण्ठ मानन्धरलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । यस्तै पारा तेक्वान्दोका कविराज नेगी उत्कृष्ट प्रशिक्षक र पत्रकार श्याम चित्रकार उत्कृष्ट पत्रकारबाट सम्मानित भएका छन् ।
फुटबलका आयुष घलान, भलिबलकी सलिना श्रेष्ठ र एथ्लेटिक्सका सन्तोषी श्रेष्ठ लोकप्रिय खेलाडीबाट सम्मानित भए । तेक्वान्दोकी संगीता वैद्य बागमतीको शान, पारा तेक्वान्दोकी पलेसा गोवर्द्धन उत्कृष्ट पारा तेक्वान्दो खेलाडी, गल्फका सद्भाव आचार्य युवा खेलाडी र ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्षबाट सम्मानित भए ।
लाइफ टाइम एचिभमेन्ट, उत्कृष्ट महिला र पुरुष, बागमतीको सान र उत्कृष्ट प्रशिक्षकलाई जनही १/१ लाख रुपैंया र अन्य विधाका खेलाडीलाई जनही ५० हजार रुपैयाँसहित अवार्ड र सम्मानपत्र प्रदान गरिएको थियो । यसैगरी उत्कृष्ट पत्रकारबाट सम्मानित चित्रकारले ५० हजार रुपैंयासहित अवार्ड प्राप्त गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालगायतले सम्मानित सबै जनालाई अवार्ड, नगद र सम्मानपत्र प्रदान गरेका थिए ।
मुख्यमन्त्री लामाले प्रदेश स्पोर्ट्स अवार्डले खेलाडी र खेल क्षेत्रमा लाग्न चाहनेलाई थप हौसला मिल्ने बताए । ‘कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिंदै जानुपर्छ उनले भने ‘खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सफलता प्राप्त गरेका पूर्व तथा वर्तमान खेलाडीको कदर र नयाँ खेलाडीको हौसला बढाउन कार्यक्रम सफल सावित हुनेछ ।’
यस्ता कार्यक्रमले खेलाडीको विदेश पलायन रोक्न समेत मद्दत पुग्ने आयोजकले विश्वास लिएकाे छ । खेलाडीहरुलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यका साथ प्रदेश सरकारले पहिलो पटक अवार्डको आयोजना गरेको हाे ।