राैतहट । माधवनारायण नगरपालिका-२ खेसरहिया चौकस्थित हनुमान मन्दिरको पूजारी ६५ वर्षीय श्रीराम साहको भदौ ३ गते हत्या गरी फरार रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा देवाही गोनाही नगरपालिका-१ करुनिया बस्ने ३६ वर्षीय नरेश भन्ने राम नरेश राउत पटेल र २८ वर्षीय बाल कुमार पटेल रहेका छन् ।अज्ञात व्यक्तिले पूजारी साहको कञ्चटमा गोली प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरु लगायत अन्य व्यक्तिहरु पनि संलग्न रहेको भन्ने खुल्न आएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले बौधिमाई नगरपालिका-७ वडकी बंकुल एरियाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानबाट राम नरेशको बुवाले पूजारीसँग ब्याजमा रकम लिएको र रकम तिर्ने क्रममा विवाद भएको प्रदेश प्रहरी कार्यालय जनकपुर जानकारी दिएकाे छ । पुजारी बस्ने मन्दिर नजिक ३ वटा रक्सी पसल रहेको र रक्सी सेवन पश्चात मन्दिरको धारामा आई खुट्टा धुने, पानी खाने र घटना हुनुभन्दा ३ दिन अघि राम नरेश पटेल र पूजारी बिच बिवाद भएको थियो ।
यसैगरी गाउँमा विभिन्न विषयहरुमा छलफल हुँदा पूजारीले फरक मत राख्ने क्रममा राम नरेश पटेल लगायत अन्यसँग धेरै पटक विवाद भएपछि उनले कटुवा पेस्तोल प्रयोग गरी हत्या गरेको र बालकुमार पटेल घटनास्थल नजिक रहि मानिसको आवत जावतलाई निग्रानी गरेको खुल्न आएको छ । घटनामा संलग्न अन्य फरार अपराधीको खोजी भइरहेको र पक्राउ अभियुक्तहरुलाई जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप भई अनुसन्धान सुरु गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
काठमाडौं । बिहीबार बिहान ११ बजेका लागि तय भएको नेकपाको सचिवालय बैठक दिउँसाे ३ बजे बस्ने गरी सारिएकाे छ । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका बिहीबार बिहान बस्ने तय भएको बैठक दिउँसो ३ बजेका लागि सरेको हो ।
आज बस्ने बैठकमा नेकपा कार्यदलको प्रतिवेदनमाथिको छलफल हुने बताइएकाे छ । कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न भदौ १३ गते सचिवालय बैठक बोलाइएको थियो । गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बस्नुपर्ने भएपछि बैठक १८ गते बस्ने गरी स्थगित गरिएको भनिए पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलपछि बिहीबारका लागि सारिएको थियो ।
बिहीबारको बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । त्यस्तै बिहीबारको बैठक राष्ट्रिय सभाको रिक्त एक जना मनोनीत सदस्यमा कसलाई लैजाने भन्नेमा केन्द्रित हुने भएको छ। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार साँझ भएको दुई घण्टा लामो भेटमा राष्ट्रिय सभामा कसलाई लाने भन्नेमा कुरा नमिलेपछि यो विषयले प्राथमिकता पाउने भएको हो ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिन चाहेकाले भदौ २० गतेभित्र राष्ट्रिय सभा सदस्य बनाइसक्नुपर्छ । पार्टी अध्यक्ष दाहाल पार्टी सचिवालयको निर्णयअनुसार बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने पक्षमा उभिएकाले सचिवालय बैठकमा निर्णय गरेर मन्त्रिपरिषद् बाट मनोनयनका लागि उम्मेदवार सिफारिस गर्ने सहमति अध्यक्षद्वयबीच भएको छ ।
आजको सचिवालय बैठकले लामो समयदेखि स्थगित स्थायी कमिटी बैठक पनि बोलाउन सक्ने बताइएकाे छ । नेकपा भित्रको आन्तरिक विवादका कारण लामो समयदेखि स्थायी कमिटी बैठक र सचिवालय बैठक अवरुद्ध हुँदै आएको छ । विशेष गरी नेकपा शीर्ष नेतृत्वहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पदबाट राजीनामाको माग गरेपछि विवाद चर्किँदै गएको थियो ।
अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच पटक पटक भेटवार्ता हुँदा पनि सहमति जुट्न सकेको छैन । उक्त विवाद सुल्झाउन महासचिव विष्णु पौडेलको नेतृत्वमामा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले दुबै अध्यक्षलाई भदौ ६ गते प्रतिवेदन बुझाएको थियो ।
अहिले पुर्वी र मध्य भू-भागमा नेपाल नजिक रहेको मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा रहेकाेले देशका विभिन्न भागमा बुधबार हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागकाे अनुमान छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थौरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । अहिले गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
बुधबार राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
पूर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको मनसुनको न्यून चापीय रेखा पश्चिम सर्ने क्रममा रहेकाले वर्षाको सम्भावना रहेको जनाइएको छ । भारी वर्षा हुने सम्भावना रहेका स्थानमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको महाशाखाले जनाएको छ ।
यसैगरी भाेली विहीबार देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक/दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ विभागले जनाएकाे छ।
यस्तै विहीबार राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएकाे छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आउँदाे शुक्रबार देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
विमागले आगमी २४ घण्टामा गण्डकी प्रदेश, प्रदेश ५ का थोरै स्थानहरुमा र कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक-दुई का भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेकाे छ।
नेपाल आयल निगमले फेरि पेट्रोलको मूल्य बढाएको छ । निगमले मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रति लिटर २ रूपैयाँले बढाएको हो । अघि साउन ३२ गते निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको थियो ।
निगमले डिजल मट्टितेल, हवाइ इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य केही हेरफेर भएर आएका कारण पेट्रोलको मूल्य बढाइएको निगमले जनाएको छ ।

मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो मातहतमा अस्पताल नभएका जिल्लाका अस्पताललाई स्तरोन्नती गर्ने निर्णय गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतमा मंगलबार बसेको बैठकले प्रदेश मातहत नभएका जिल्लाको स्थानीय तहमा रहेका अस्पतालहरुको स्तरोन्नती गर्ने निर्णय गरेको हो ।
हाल ८ वटा जिल्लामा मात्र प्रदेश मातहतका अस्पतालहरु रहेका छन् । दोलखा, काभ्रे, काठमाण्डौ, ललितपुर र चितवनमा प्रदेश मातहतका अस्पताल छैनन् ।

यसैगरी बैठकले पर्यटन ब्यबसायको इजाजत नवीकरण तथा जरिवाना , विलम्ब दस्तुरमा छुट दिने पनि निर्णय गरेको छ । प्रदेश पर्यटन बिकास सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक, प्रदेश राजपत्र प्रकाशन सम्बन्धी (पहिलो संसोधन) निर्देशिका २०७७, दुध पाउडर प्लान्ट निर्माणका लागि जग्गा भोगचलन स्विकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
यस्तै महिला बिकास प्रशिक्षण केन्द्र ललितपुरको संरचना प्रदेश मातहत ल्याउने र प्रदेश मातहत रहने आयोजनाहरुको अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय गरेको पनि मन्त्री ढुंगेलले बताए ।