मकवानपुर । त्रि वि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीले आज आइतबार अनशन तोडेका छन् । अस्पतालका सफाइ कर्मचारी ४६ वर्षीय विकास नेपालीकाे हातबाट जुस पिएर उनले अनशन ताेडेका हुन् । हिजाे शनिवार राति डा. केसी र सरकारबीच ८ बुँदे सहमति भएपछि उनले आज २८ आै दिनमा अनशन तोडेका हुन् ।
डा. केसीले चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै गत भदौ २९ गतेदेखि जुम्लामा १९ औँ अनशन सुरु गरेका थिए । असोज ६ गतेदेखि त्रि वि शिक्षण अस्पतालमा अनशन बसिरहेका डा.केसीले सरकारले माग सम्बोधन गर्न सहमति भएपछि अनशन तोडेका हुन् ।

डा. केसीको स्वास्थ्यमा समस्या देखिन थालेपछि चिकित्सक संघले केसीका माग सम्बोधन नगरेको भन्दै आन्दोलन घोषणा गर्दै आएको थियो । सरकार र डा. केसी पक्ष सहमतिमा आएपछि संघले गर्ने भनेकाे आन्दोलन फिर्ता लिएको छ ।
मकवानपुर । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७४ हजार २ सय ५२ पुगेको छ। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ रहेको थियो ।
मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ सय पुगेको थियो। पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ।
यस्तै नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक पुगेको छ। शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८ सय १८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ६ सय ५४ र होम आइसोलेशनमा १७ हजार १ सय ६४ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म २४ घण्टामा यतिधेरै संक्रमित भेटिएर नयाँ रेकर्ड कायम भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ।
संक्रमितमध्ये उपत्यकामा मात्रै आधाभन्दा बढी रहेका छन् । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
काठमाडौंमा २ हजार १ सय, भक्तपुरमा २ सय ३ र ललितपुरमा ३ सय ६९ गरी २ हजार ६ सय ७२ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गाैतमले बताए ।
हेर्नुहाेस तथ्यांक








पाँच कविको पन्ध्र कविताको तेस्रो शृङ्खला
Tags: No Comments
मकवानपुर । प्रलेस मकवानपुरले आयोजना गर्दै आएको पाँच कविका पन्ध्र कविताको तेस्रो शृङ्खलाका रुपमा शुक्रबार फरक–फरक प्रदेशका पाँच कविहरूलाई प्रस्तुत गरिएको छ । अनलाइन माध्यमबाट भएको कविताको तेस्रो शृङ्खलामा मकवानपुरबाट कवि सुवास खनाललाई प्रस्तुत गरिएको थियो ।
खनालको पछिल्लो समय दोस्रो कविता कृतिको रुपमा ‘सपनाका अवयव’ बजारमा आउँदैछ । खनालले ‘सहरले ढुङ्गा खान्छ’, ‘लालबहादुरको किड्नी बिक्रीमा’ छ र ‘डाक्टर केसीको दिमाग ठीक छैन’ लगायत कवितामार्फत सामाजिक विद्रोहको आवाज प्रस्तुत गरेका थिए । अर्का कवि सुनसरीबाट लता कार्कीका तीन कविता प्रस्तुत गरिएको थियो । उनले नारी चेत र आजको चेतनशील समयमा समेत नारीहरू विभेदीकरणको सिकार हुनुपरेका पक्षलाई कवितामा समेटेकी थिइन् ।
सुर्खेतबाट कविता वाचनमा प्रस्तुत भएका बलभद्र भारतीले २०४६ अघिका सामाजिक परिस्थिति र जर्जर अवस्थालाई कवितामा बुनेका थिए र आजको समय पनि त्यसभन्दा अघि जान नसकेको सङ्केत गरेका थिए । दाङबाट कविता वाचनमा उपस्थित भएका केशव थापाले तल्लो वर्गमा परेका र गिट्टी कुटेर खाने मजदुरका कथाहरू कवितामा खिपेका थिए ।
पछिल्लो समय पद्य कविता लेखन र प्रवर्धनमा क्रियाशील कविराज पौडेल रुपन्देहीबाट कविता वाचनमा सामेल भएका थिए । उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छन्द कविताको अभियानमा संलग्न छन् र पद्य कवितामा सामाजिक र वैचारिक पक्षहरू समावेश गर्दछन् । माक्सवाद सौन्दर्य चिन्तक तथा प्रगतिवादी कवि डा. अमर गिरीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वाचित कविताहरूमाथि समीक्षात्मक टिप्पणी कवि तथा समालोचक विन्दु शर्माले गरेकी थिइन् ।
प्रलेस मकवानपुरका सचिव विशाल अधिकारीको सहजीकरणमा सञ्चालन भएको उक्त कार्यक्रमको अध्यक्षता प्रलेस मकवानपुरकी अध्यक्ष शान्ति प्रियवन्दनाले गरेकी थिइन् /
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति, योजना र लक्ष्य अनुसार सरकारले काम गर्ने बताएका छन् । प्रदेश नीति तथा योजना आयोगले तयार पारेको दिगो विकासका लक्ष्यहरू बागमती प्रदेशको अवस्था तथा मार्गचित्र बिमोचन गर्दै उनले नीति अनुसार काम नभए उद्देश्य प्राप्ती नहुने बताए।
अहिले पनि तीनै तहले बिकासमुखी भन्दा पनि बितरणमुखी बजेट प्रस्तुत गरिरहेको भन्दै यसलाई सुधार्न जरुरी रहेको बताएका हुन्। ‘बजेटलाई अहिलेपनि छर्ने परिपाटी रहेको छ, यो हामीले अन्त्य गर्नुपर्छ’ पाैडेलले भने- ‘सम्बृद्धि हासिल गर्न उत्पादनमुखी काम गर्न जरुरी छ ।’ पौडेलले मौलिक हकको अनुभूति हुनेगरी कार्यान्वयन गर्ने, दायित्व तीनै तहका सरकारको भएको बताए । देशका लागि स्थायित्व र दिगो रूपमा विकास लक्ष्यहरु हासिल गर्दै, समृद्ध नेपालःसुखी नेपालीको सपनालाई टेवा दिने महत्वपूर्ण रूपमा बागमती प्रदेश रहेको उनले बताए ।
समाजवाद उन्मुख समृद्ध प्रदेशको दीर्घकालीन सोच प्रदेश सरकारको रहेको पनि उनले स्पष्ट पार्दै भने–‘भौगोलिक विकटता, जनसांख्यिक विविधता, समावेशीताजन्य चुनौती र समस्याहरूसँग जुध्दै समाजवाद उन्मुख वातावरण तयार पार्ने दायित्व समेत प्रदेश सरकारको छ ।’ प्रदेशले दिगो विकासका रणनीतिक प्राथमिकताका विषयगत लक्ष्य तथा उद्देश्यहरूको सूचकहरू जसलाई गतवर्ष प्रकाशित पहिलो आवधिक योजनामा समावेश गरिएका जानकारी दिदैं यसैलाई दिगो विकासको लक्ष्यको आधारभूत तथ्यांक स्रोतको रूपमा प्रयोग भएको उनले जानकारी दिए।
प्रतिवेदनमा नेपालको दिगो विकासको चित्रण प्रस्तुत गर्नको साथै महत्वपूर्ण वर्षको रूपमा रहेको २०१९, २०२२ र २०२५ को लागि प्रमुख आधार तथ्यांकहरू समावेश गर्दै सन् २०३० को लागि मार्गचित्र प्रस्तुत गरेको उनले जानकारी दिए । ‘लक्ष्यहरू पूरा गर्नका लागि केही समय चुनौति रहेपनि हाम्रा विकासका लक्ष्यहरू, निर्धारित उद्देश्यहरू समयमै प्राप्त गर्नका लागि सरकारी र गैरसरकारी नीजि र सामुदायिक क्षेत्रबीच रणनीतिक साझेदारी हुन आवश्यक छ ।’ मुख्यमन्त्री पाैडेलले भने ।
मकवानपुर । पोष्ट बहादुर बोगटी सुरुङमार्ग (भीमफेदी कुलेखानी) सडक आयोजनाको कार्यालय उद्घाटन भएको छ । बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत रहने गरि शुक्रबार प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुँयालले उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन गर्दै मन्त्री फुयाँलले बागमती प्रदेशको गौरवको आयोजना मात्रै नभई देशकै गौरवको रुपमा सुरुङ मार्गको काम अगाडी बढाउने बताए । उनले नेपाल सुरुङ मार्गमा प्रवेश गरिसकेको भन्दै सुरुङ मार्गको काम अगाडी बढिसकेको दाबी गरे । पोष्ट बहादुर बोगटी सुरुङमार्ग(भीमफेदी कुलेखानी)को टेण्डर आह्वान हुने गरि काम भईरहेको आयोजना कार्यालयले जनाएको छ । कार्यालयको उद्घाटनमा सुरुङ मार्गको जानकारी दिँदै पोष्ट बहादुर बोगटी सुरुङमार्ग(भीमफेदी कुलेखानी) आयोजनाका प्रमुख नबिन कुमार सिंहले यहि आर्थिक वर्षको पुसको दोस्रो हप्तामा वातावरणीय प्रभाव मुल्यांकन(इआइए) सकिए फागुनको पहिलो हप्ता टेण्डरका आह्वान हुने बताए ।
यस्तै अहिलेकै गतिमा काम गर्न सके आर्थिक वर्षको अन्तिम तिर अर्थात जेठको तस्रो हप्ता सम्झौता हुने समेत दाबी गरेका छन् । कार्यालय प्रमुख सिंहका अनुसार भीमफेदी–कुलेखानी सुरुङ मार्ग मकवानपुरको भीमफेदी बजारबाट करिब २ किलोमिटर उत्तर पूर्वबाट ७ दशमलव ५ मिटर व्यास भएको दुईवटा सुरुङ्गमार्ग निर्माण हुनेछ। उनले भने ‘भीमफेदीबाट कुलेखानीसम्मको करिब १६ किलोमिटर जटिल भू बनावट, उच्च जोखिम, साँघुरो, घुमाउरो तथा अप्ठ्यारो सडकखण्डलाई ३ किलोमिटरमा घटाएर काठमाडौसँग हेटौंडा तथा तराई मधेशको दूरी अझ छोट्याउने यस आयोजनाको प्रमुख लक्ष्य रहेको छ ।’
सिंहले दिएको जानकारी अनुसार आयोजनाको प्रमुख संरचनाको रुपमा दुई वटा सुरुङ्गहरु एक आपसमा ४० मिटरको फरकमा समानान्तर रुपमा साढे दुई किलोमिटर दुई लेनको सडक, ७५ मिटर र ३५ मिटर लम्बाईको दुई वटा पक्कीपुलहरु बन्ने छन् । सुरुङको आयोजनाको अन्तर्गत नै सुरुङ भित्रको बाहेक अन्य सुरुङ संग जोडिएको बागमती प्रदेशको राजधानी तर्फ संघको राजधानी तर्फको सडकको स्तर वृद्धि हुने भएको छ ।
जस अन्तर्गत भैंसे–भीमफेदी सडक खण्ड तथा कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक खण्ड पनि दुईलेनको सडक बनाएर स्तरवृद्धि गरिने भएको हो । प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालय अन्तगर्तबाट कुलेखानी–फाखेल–फर्पिङ्ग सडक सुधार एवम् स्तरोन्नती गर्ने कार्य भईरहेको मन्त्रालयका सचिव सन्जिव बरालले जानकारी दिए ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रमबाट प्रदेश गौरवको आयोजनाको रुपमा घोषणा गरी आयोजनाको सम्भाव्यता अध्ययन तथा निर्माणको लागि तयारी कार्य हुँदै आएको सचिव बरालले बताए । आयोजना निर्माण गर्नको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट श्रोत सुनिश्चितता पश्चात १९ अर्ब ३२ करोड ५ लाख ७६ हजार ५ सय रुपैंया लागतको बहुबर्षिय खरिद गुरुयोजना स्वीकृत गरिसकेको छ ।
सुरुङमार्गको परामर्शदाताको रुपमा काम गर्न दक्षिण कोरिया, चीन,अष्ट्रेलिया, टर्की सहित विभिन्न देशबाट १२ संस्थाले इच्छुक रहेको भन्दै जानकारी गराएको सचिव बरालले बताए । यस्तै नेपाल सरकारले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा सुरुङमार्गको आयोजनालाई प्रदेश सरकारसँगको सहकार्यमा कार्यान्वयन गर्ने गरी बजेटको व्यवस्था गरेको बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँलले बताए ।