मकवानपुर / उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले ३ अर्बको कोष स्थापना गरेको छ । बैंक मार्फत सहुलियत दरमा ऋण प्रदान गर्न कृषि विकास बैंक लिमिटेड तथा साना किसान लघुबित्त वित्तीय संस्था लिमिटेडसँग प्रदेश सरकारले विहीबार सम्झौता गरिएको छ ।
प्रदेश सरकारले विनियोजन गरेको ३ अर्बको कोषलाई बैंकमार्फत अधिकतम् ३ प्रतिशतको सहुलियतपूर्ण व्याजदरमा वितरण गर्नको लागि विहीबार सरकार र कृषि विकास बैंक तथा साना किसान लघुवित्त वित्तीय संस्थाबीच सम्झौता भएकाे हो । यो सम्झौताको तत्काल कार्यान्वयन गरिने प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारले शुरु गर्न लागेको युवा उद्यमशील कर्जा प्रवाह कार्यक्रमलाई मूर्तरुप दिन प्रदेश सरकार र कृषि विकास बैंक तथा साना किसान विकास बैंकबीच सम्झौता गरिएको हो । प्रदेश सरकारले रोजगारी सिर्जना, पर्यटन प्रबर्द्धन तथा उत्पादन वृद्धि गराउने उद्देश्यले सञ्चालन गर्न लागेको युवा उद्यमशील कर्जा प्रवाह कार्यक्रममा दुई सरकारी बैंकहरुसँग सहकार्य भएको हो ।
प्रदेशका युवाहरुमार्फत प्रस्ताव आह्वानगरी कृषि, उद्योग, व्यापार व्यवसाय, रोजगारी, उत्पादन, पर्यटन, शैक्षिक कार्यक्रम, लघु तथा साना उद्योग, वन तथा वातावरणजन्य उद्योग, फोहोरमैला व्यवस्थापन, सामाजिक क्षेत्रसँग सम्बन्धित उद्योगलगायतमा बैंकमार्फत कर्जा लगानी गरी रोजगारी सिर्जना गर्ने तथा स्वरोजगार बनाउने कार्यक्रमका लागि सहुलियतपूर्ण व्याजदरमा ऋण उपलब्ध गराउन ३ अर्बको कोषको लागि बजेट व्यवस्था गरिएको छ ।

प्रदेश सरकारले प्रदेशभित्र रोजगारी सिर्जना गर्न तथा उत्पादन वृद्धिगर्न उद्यमशीलता गर्न चाहने नागरिकहरुका लागि सहुलियतपूर्ण व्याजदरमा ऋण उपलब्ध गराउने भएको हो । सरकारले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानीगर्ने कार्य व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शीरुपमा सञ्चालन गर्न कार्यविधि समेत पास गरेको छ ।
कार्यविधि अनुसार स्थानीय तहले सिफारिस गरेका आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका नागरिकहरुका लागि तोकिएको बैंकमार्फत कर्जा प्रवाह गरिने छ । नागरिकलाई कर्जा प्रदानगर्नका लागि सरकारले ३ अर्बको कोष निर्माण गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुड्डेलले जानकारी दिए ।
कृषि विकास बैंकमार्फत हुने लगानीले देशमा रोजगार, व्यवसाय तथा उत्पादन समेत बढ्ने सरकारले अपेक्षा गरेको छ । लगानी पश्चात सरकारले बेरोजगार युवा जनशक्तिहरुलाई रोजगारमा आवद्ध गर्ने, फोहरमैला व्यवस्थापन गर्ने, महिला तथा दलित समुदायको उद्यमशीलतालाई प्रबद्र्धन गर्ने, उत्पादनशील कार्यक्रमको लागि लगानी प्रबद्र्धन गर्ने, कोरोना भाइरसको महामारीबाट प्रभावित कृषि, पर्यटन एवं रोजगारी मूलक घरेलु तथा लघु उद्योग व्यवसायीलाई पुनरुत्थान गरिने छ । सहुलियतपूर्ण व्याजदरमा ऋण लगानी कार्यक्रम कार्यान्वयनको नीतिगत विषयमा आवश्यक निर्देशनका लागि सम्बन्धित मन्त्रालयका मन्त्री संयोजक हुनेगरी निर्देशक समिति रहने छ ।
यसैगरी ऋण लगानी प्रकृया सहजीकरण तथा समन्वय गर्नका लागि सम्बन्धित मन्त्रालयका सचिव संयोजक रहनेगरी समिति बनाइएको जनाइएको छ । सरकारले यसअघि अनुदानकोरुपमा लागानी गर्ने गरेको भएपनि त्यसको प्रभावकारिता कम भएकोले लाभग्राहीलाई अपनत्व हुनेगरी कर्जाको रुपमा लगानी गर्न लागिएको जनाइएको छ । यसो गर्दा कोषमा रकम रहिरहने र उत्पादनको क्षेत्रमा काम पनि हुने विज्ञहरुको ठम्याइ छ ।
एउटै रकमले पटक पटकगरी धेरै लाभग्राहीहरुलाई सेवा दिन सकिने तथा व्याजमार्फत कोष पनि क्रमशः वृद्धि हुँदै जाने भएकोले प्रदेश सरकारले शुरु गर्न लागेको कार्यक्रम उपयोगीहुने जनाइएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम प्रदेशको आर्थिक रुपान्तरणको महान योजना रहेको बताएका छन् । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले विहीबार हेटौंडामा बैंकहरुसँग सम्झौता पत्र हस्ताक्षर कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सरकारको यो अभियान सही कार्यान्वयन हुन सके देशको रोजगार र उत्पादनको क्षेत्रमा ठूलो प्रभावपर्ने बताए ।
मुख्यमन्त्री पौडेलले विगतमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा अन्य निकायहरुबाट उत्पादन तथा रोजगार वृद्धिका लागि भनेर गरिएको लागनीको ठूलो हिस्सा अनेकन प्रकारले खेर गएको उल्लेख गर्दै सहुलियतपूर्ण ऋणको कार्यक्रमले त्यो अनावश्यक लगानीलाई रोक्ने र वास्तविक उद्यमीहरुलेमात्र रकम लिने बताए । सानासाना उद्यम गरेर स्वरोजगार बन्न चाहनेहरुका लागि सरकारको कार्यक्रम उपयोगी हुने भन्दै पौडेलले कामगर्न चाहनेहरुका लागि प्रदेश सरकार सारथि बन्ने बताए ।
कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सरकारको तीनखम्बे अर्थनीतिको सफल कार्यान्वयन गर्न तथा समृद्ध नेपाल, सुखी नेपालीको अवधारणालाई पुरागर्न कार्यक्रम अघि सारिएको बताए । प्रदेशका प्रमुख सचिव डा. मानबहादुर विश्वकर्माले सकारात्मक परिणामको आशासहित अगाडि सारिएको कार्यक्रम केही महत्वकांक्षीसमेत भएकोले सबै निकायको समन्वयमा मात्र कार्यक्रम सफल हुने धारणा राखे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, साना किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवप्रसाद कोइरालालगायतको उपस्थिती थियो ।
मकवानपुर /बागती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोक सेवा आयोगको वर्षौदेखिको छवि कायम राख्न निर्देशन दिएका छन् ।
बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगका पदाधिकारी तथा कर्मचारीहरुसँगको भेटमा मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । प्रदेश लोक सेवा आयोगले सङ्घीय लोक सेवा आयोगको क्षविलाई कायम राख्दै काम गर्नुपर्ने उनले बताएका हुन् ।
प्रदेश लोक सेवा आयोगको कार्यालय निरीक्षण तथा अवलोकनका लागि आयोगको कार्यालय हेटौंडा पुगेका मुख्यमन्त्री पौडेलले कसैले पनि आफूले प्राप्त गरेको अख्तियारको दुरुपयोग गर्नुनहुने धारणा व्यक्त गरे । पौडेलले प्रदेशमा भनसुन र पहुँचका आधारमा जागिर पाउने सम्भावना नरहने बताए । उनले आयोगले आफ्नो काममा कसैले पनि औंला ठड्याउन नसक्नेगरी काम गर्दै आएको र आगामी दिनमा पनि यो गरिमा बचाइराख्नु पर्ने धारणा राखे ।
सो अवसरमा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले आयोगले आयोगका सबै पदाधिकारी तथा कर्मचारीहरुले चाहेमा समेत निश्चित उमेद्वारलाई उत्तीर्ण वा अनुत्तीर्ण गराउन नसकिने गरी प्रणाली व्यवस्थित गरिएको बताए । आयोगका सदस्य सुदर्शनप्रसाद ढकालले आयोगले सीमित स्रोत र साधनका बावजुत पनि प्रशस्त काम गर्न सकेको बताए ।
अर्का सदस्य शर्मिला नेउपाने (न्यौपाने) ले आफूहरुले उपयोगी तथा प्राविधिकलगायत सबै हिसाबले बैज्ञानिक पाठ्यक्रम तयार पारेको बताइन् । आयोगका निमित्त सचिव भोला दाहालले आयोगमा कर्मचारीहरुको अभाव रहेको भएपनि आफूहरु परिणाम दिनेगरी काममा लागेको बताए । उनले आयोगले जारी गरेको विज्ञापन अनुसार आज मंगलबार दिउँसोसम्म पाँच हजार ६ सय २१ वटा आवेदन प्राप्त भएको र जसबाट ४१ लाख ६९ हजार राजश्व संकलन भएको जानकारी दिए ।
प्रदेशमा प्रदेश र स्थानीय तहमा प्रदेश लोकसेवा आयोगमार्फत कर्मचारी पदपूर्तिगर्ने प्रकृया शुरु गरिएको छ ।

आयोगले स्थापनाको झण्डै एकवर्षपछि पहिलो पटक रिक्त दरबन्दीमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । प्रदेश सरकार र स्थानीय तहको माग फारामका आधारमा चौथो तहमा रिक्त दरबन्दीमा कर्मचारी भर्नाका लागि आयोगले विज्ञापन प्रकाशित गरेको थियो । यस बाहेक आयोगले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा ३६ जना र आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाबाट ३६ जना गरी प्रशासनिक तथा प्राविधिकतर्फ चौथो तहमा ८१ जना पदपूर्ति गर्ने विज्ञापनमा उल्लेख छ ।
त्यस्तै खुलातर्फ ३८८ जनासहित महिला, आदिवासी जनजाति, मधेशी, दलित तथा अपाङ्गता भएकाहरुसमेत रहनेगरी चौथो तहको रिक्त पदमा पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगले जनाएको छ । हाललाई प्रदेशका दुईवटा मन्त्रालयका लागि २२ जना र ४४ वटा स्थानीय तहका लागि अन्य कर्मचारी माग गरिएको हो । आयोगले लिने परीक्षा उत्तिर्ण परीक्षार्थीलाई स्थायी नियुक्ती भने सम्बन्धित मन्त्रालय वा स्थानीय तहलेनै गर्ने विज्ञापनमा उल्लेख छ ।
मकवानपुर । हेटौंडामा आइतबार “राजा आउ,देश बचाउ” को नारा लगाउँदै शक्ति प्रदर्शन गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा नेशनल डेमोक्रेशी अलाईन्स (एनडिए) ले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा शक्ति प्रदर्शन गरेकाे हाे । प्रदर्शनमा करिब एक हजार जनाको सहभागीता रहेको आयाेजकले जनाएकाे छ ।
मोटरसाईकल तथा साना सवारी ¥यालीमा अधिकाशं मानिसहरु मकवानपुरसहित बारा, पर्सा, रौतहट, चितवनका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) निकट युवाहरुको बढी सहभागिता रहेको जनाइएकाे छ । उनीहरुले नपालको राष्ट्रिय झण्डा बाकेर हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा नारा जुलुस लगाउँदै हेटौंडा परिक्रमा गरेका थिए ।
प्रदर्शनमा समभागीहरूले“अखण्ड नेपाल जिन्दावाद,स्वाभिमान नेपाली जनता जिन्दावाद,हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ,धर्म निरपेक्षता खारेज गर,संघियता खारेज गर,२०४७ सालको संविधान लागु गर लगाएतका नाराहरु लगाएका थिए ।
पछिल्लो समयमा देशभर राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा नारा जुलुस लगाउँदै प्रदर्शन भईरहेको छ । यसअघि राजावादी समूहले पोखरा र जनकपुरमा समेत प्रदर्शन गरिसकेको छ ।
मकवानपुर । युनाईटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरले बिक्रीमा ल्याएको आईपीओ आइतबार बाँडफाँड भएको छ। ३ दिन अघि प्रि अलटमेन्ट गरेकाे क्यापिटलले शेयर बाँडफाँड गरिसक्नुपर्नेछ भएकाेले आइतबार आइपीओ बाँडफाँड गरेकाे हाे ।
आइपीओमा आवेदन गर्ने ८१ हजार २७३ हजर आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले आइपीओ हात पारेका छन् भने बाँकी रहेकाे ६ कित्ता शेयर २० देखि १० हजार कित्ता आवेदन गर्ने ६ जना आवेदकलाइ गाेलाप्रथाबाट १ कित्ता थप गरी ११ कित्ता शेयर बाँडफाँड गरिएकाे छ।
बाँकी ४ लाख ५९ हजार १२९ जना आवेदकको हात खाली भएको छ। आइपीओ आवेदन दिने ८६१ जनाको आवेदन रद्द भएकाे छ। आईपिओमा ५ लाख ४० हजार ४०२ याेग्य आवेदकले ९४ लाख ८३ हजार ८४० कित्ता शेयर खरिदकाे लागि आवेदन दिएका थिए। यो सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओको ११.६९ गुणा धेरै हो।
कम्पनीले बिक्रीमा ल्याएको मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरमा मात्रै सर्वसाधारणमा बाँडफाँड गरेको हो।
माउन्टेन इनर्जीकाे आइपीओ बुधबार बाँडफाँड हुने
यस्तै माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आईपीओ मंशिर १७ गते बुधबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले मंशिर १४ गते आइतबार प्रि अलटेमन्ट सकिएकोले बुधबार आइपीओ बाँडफाँड गर्ने जनाएको छ।
माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आईपीओमा साढे सात गुणाभन्दा धेरै आवेदन परेको छ। कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ। यो मागभन्दा ७.६१ गुणा धेरै हो।
धितोपत्र बाँडफाँड निर्देशिका अनुसार कम्पनीले बिक्रीमा ल्याएको आइपीओ १ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउने छन्। यसअनुसार हालसम्मको तथ्याँक अनुसार आइपीओमा आवेदन गर्ने बाँकी ४ लाख ९१ हजार जना आवेदकको भने हात खाली हुने भएको छ। यो कुल आवेदकको ७२ प्रतिशत हो।
कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो। यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिएको छ। बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयर भने सर्वसाधारण लगानीकर्ताको लागि बिक्री खुल्ला गरिएको थियो।
यस अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको जनाउछ।
मकवानपुर । आज बिहीबार र भोलि शुक्रबार देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै छ। नियमित कार्यक्रम अन्तर्गत मंसिर ११ गते आज र १२ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउनुका साथै बालभिटा वितरण र पाखुराको नाप पनि लिइनेछ।
आज हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा ९२ खोप केन्द्र मार्फत भिटामिन ए र जुकाको औषधी खुवाउने गरी तयारी पुरा भएको उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भोला चौलागाईंले बताए । उनका अनुसार उपमहानगरका १२ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने लक्ष्य रहेको छ । करिब १४ हजार बालबालिकालाई खुवाउने तयारीमा उपमहानगरपालिका रहे पनि १२ हजार बालबालिकालाई खुवाउने अनुमान गरिएको उनले बताए । बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’क्याप्सुल खुवाउने गरिन्छ। यस्तै १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बालभिटा वितरण गर्ने गरिएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार वर्षमा २ पटक हुने यस कार्यक्रमले २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने लक्ष्य राखेको छ। यस्तै ६ लाख बालबालिकालाई बालभिटा वितरण र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने योजना छ। भिटामिन ‘ए’ कार्यक्रममा देशभरका करिव ५२ हजार स्वास्थ्य स्वंमसेविका सहभागी हुनेछन्।
६ महिनादेखि ५ वर्ष उमेर सम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न नेपालमा २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउन थालिएको हो। बालबालिकालाई जुकाको औषधि २०५८ र बालभिटा २०६६ सालदेखि वितरण थालिएको हो।