मकवानपुर । हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा साँस्कृतिक कार्यक्रमसहितकाे शैक्षिक प्रदर्शनी सुरु गरिएकाे छ । तहगत विद्यार्थीको प्रस्तुती रहने गरी आइतबारबाट सुरु भएको कार्यक्रम आगामी ४ माघसम्म सञ्चालन हुनेछ ।
अर्धवार्षिक परीक्षा सकिएलगत्तै विद्यार्थीलाई पुनर्ताजगी हुने गरी कला प्रदर्शनीको अवसर प्रदान गरिएको विद्यालयले जनाएको छ । विद्यालयले विद्यार्थीको आत्मबल बढाउन, सिकेका कुरा प्रस्तुत गर्न, शिक्षा, ज्ञान, सीप क्षमताको विकास गर्ने लक्ष्यसहित साँस्कृतिक, शैक्षिक प्रदर्शनीको आयोजना गरेको प्रिन्सीपल विनोद सुवेदीले जानकारी दिए । विद्यालयले खेलकुदका क्रियाकलापलाई पनि अगाडि बढाउने उनले बताए ।
कार्यक्रममा सोमबार कक्षा १ कक्षादेखि कक्षा ३ कक्षासम्मका विद्यार्थीको प्रस्तुति रहेकाे थियाे । पहिलो दिन आइतबार नर्सरी, एलकेजी र युकेजी कक्षाका विद्यार्थीले प्रस्तुती देखाएका थिए । विद्यार्थीले उद्घोषण, नृत्य, गायन, नाटक कला प्रस्तुत गरेका छन् । बुधबार कक्षा ४ र ५ को, बिहीबार कक्षा ६ देखि ९ सम्मका विद्यार्थीको साँस्कृतिक प्रस्तुती रहने बताइएकाे छ । यसैगरी शुक्रबार शैक्षिक प्रदर्शनी गरी कार्यक्रमकाे समापन गरिने छ ।
कार्यक्रममा अर्धवार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई कक्षागतरुपमा पुरस्कृत समेत गरिएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले नगरका जनताको स्वास्थ्यप्रति आफूहरु गम्भीर भएर लागिरहेको बताएकी छन् ।
हेटौंडा–१ को जरुवाटोलमा नवनिर्मित नकौली शहरी स्वास्थ्य केन्द्रको भवन सोमबार उद्घाटन गर्दै मेयर लामाले जनतालाई स्वास्थ्य सेवा सहज बनाउन आफ्नै भवन निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको बताइन् ।
‘हेटौंडाको १९ वटा वडामा २२ वटा स्वास्थ्य केन्द्र बनाएर सेवा दिइरहेका छौं’, मेयर लामाले वडा नं. १, १५ र १९ नम्बर वडामा दुई/दुई वटा स्वास्थ्य केन्द्र बनाएर सेवा प्रवाह गरिरहेको बताइन् ।
‘साविक गाविस मिलेर बनेका वडाहरुमा टाढाबाट सेवाग्राहीहरु आउन समस्या हुने भएकाले हामीले वडा नं. १ को नाकौली–बाँझोडाँडा, १५ को चिप्लेटी र १९ को ज्यामिरेमा थप केन्द्र भवन बनाएरै सेवा प्रवाह गरिरहेकाछौं’, मेयर लामाले ती केन्द्रहरुमा दैनिक सयौं सेवाग्राहीले सेवा लिइरहेको बताइन् ।
वडा नं. १ का अध्यक्ष सविन न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँले आफूहरु नगरमा निर्वाचित भएपछिमात्रै चारवटा स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माण सम्पन्न भएको बताए । ‘जहाँ जनता, त्यहाँ सेवा’ भन्ने भावनाका साथ आफूहरु स्वास्थ्य क्षेत्रमा गम्भीर भएर काम गरिरहेको उनले बताए ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले नयाँ व्यवस्थासंगै जनताको घरदैलोमा सेवा पुर्याउन स्थानीय सरकारले गरेको कामको खुलेर प्रशंसा गरे । उनले केन्द्रमा खटिने कर्मचारीहरुलाई जनतामाझ मुस्कानसहित सेवा प्रवाह गर्न निर्देशन दिए ।
स्वास्थ्य केन्द्रबाट स–साना घाउचोटको उपचार, नेपाल सरकारबाट वितरण हुने निःशुल्क औषधी सेवा, गर्भवती परीक्षण, परिवार नियोजनका अस्थायी साधन वितरण, खोप सेवा तथा सरकारले चलाएको विशेष स्वास्थ्य अभियान सञ्चालन हुने स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रशासन महाशाखा प्रमुख गोपालप्रसाद पोखरेल, स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारी, १ नं. वडा सचिव शान्तादेवी लौडारीलगायतले स्वास्थ्य क्षेत्रमा उपमहानगरपालिकाले प्रवाह गरिरहेको सेवाको बारेमा जानकारी गराएका थिए ।
मकवानपुर । मकवानपुरको मनहरीमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । आईतबार अपरान्ह मनहरी गाँउपालिका वडा नम्बर-६ नँयाबस्ती स्थित भित्री सडकखण्डमा मनहरी बजारबाट नँयाबस्ती तर्फ जादै गरेको ना १ क ९२५० नम्बरको बसले स्थानीय २ वर्षीय पुजा थिङलाई ठक्कर दिएकाे थियाे ।
बसकाे ठक्करबाट घाइते थिङलाई उपचारकाे लागि हेटौडा अस्पताल ल्याइएकाेमा उपचारकाे क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । प्रहरीका अनुसार मृतक बालिका मनहरी गाउँपालिका ६ नँयाबस्ती बस्ने खडक बहादुर थिङको छोरी हुन् । उक्त बस मनहरीस्थित बिलिभर्स इङलिस बोर्डिङ स्कुलको रहेकाे बताइएकाे छ ।
बस चालक मकवानपुर मनहरी गाँउपालिका वडा नम्बर ७ बिजौना बस्ने चन्द्र बहादुर तामाङ तथा ठक्कर दिने बस ईलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा उपमहानगर समितिकाे अध्यक्षमा कृष्ण प्रसाद पोखरेलको चयन भएका छन् । शनिबार भएकाे संगठनकाे तेस्राे नगर अधिवेशनले पोखरेलकाे अध्यक्षतामा ३४ सदस्यीय समिति गठन गरको हाे ।
हेटौडमा भएकाे अधिवेशनले समितिको उपाध्यक्षमा सृजना रानाभाट र रत्न बहादुर स्याङ्तान, सचिव चिरन्जीवी घिमिरे, कोषाध्यक्ष प्रेम बहादुर स्याङ्तान, सह सचिब सृजना कुमारी शर्मा, सह कोषाध्यक्ष उमा लामा चयन भएका छन् । यसैगरी सदस्यहरूमा लिलादेवी तिमल्सिना, विष्णुप्रसाद पराजुली, पुण्यशीला श्रेष्ठ, सङ्गीता बजगाई, रामकुमार ढकाल, गीता न्यौपाने, गोविन्द उप्रेती, होमनाथ ढकाल, सरोजकुमार महतो, सविना वाइवा, रमा काफ्ले, विधान आचार्य लगायतका चयन भएका छन् ।
अधिवेशनमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले शिक्षकले सामाजिक चेतनाको विस्तारमा योगदान दिएकाे बताए । ‘लोकतन्त्र स्थापना तथा परिवर्तनका निम्ति शिक्षकहरुले त्याग गरेका छन्’ उनले भने । आफू पनि शिक्षक भएर आन्दोलनमा होमिएको स्मरण गर्दै शैक्षिक गतिविधिमा निरन्तर लाग्दै शैक्षिकको उन्नयनतर्फ क्रियाशील हुनु पर्ने उनले बताए । सदैव शैक्षिक गतिविधिमा साथ दिने तथा शैक्षिक सुधारमा आफू सकारात्मक रहेको उनले बताए ।
शिक्षक सङ्गठन जिल्ला समिति मकवानपुरका अध्यक्ष श्रीराम दाहालले पालिकामा संगठनको गतिविधिलाई तीब्र रुपमा अगाडि बढाउनु पर्ने साथै सदस्यता नवीकरण,शैक्षिक तथा रचनात्मक कार्यक्रममा जोड दिनुपर्ने बताए । ‘समसामयीक शैक्षिक मुद्दा उठान गरेर शिक्षकका वास्तविक समस्यामा केन्द्रित हुँदै समाधान गर्न एकताबद्ध हुनु पर्छ’ उनले भने ।
कार्यक्रममा हेटौंडा उपनपाका सङ्गठन सचिव देवराज शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भरत पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा हेटौडा ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, शिक्षक साकोसका अध्यक्ष शिवप्रसाद लामिछाने,शिक्षक सङ्गठन सचिवालय सदस्य डीबी बर्तौला,सचिव मुकुन्द न्यौपाने, प्रदेश कोषाध्यक्ष लक्ष्मी चौलागाईं,केन्द्रीय सदस्य लक्ष्मी गजुरेल, लगायतले शुभकामना व्यक्त गरेका थिए ।
नगर समिति अध्यक्ष गोपी रमण प्याकुरेलको सभाध्यक्षतामा तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएकाे अधिवेशनमा एनएनटीए पुर्व राष्ट्रिय परिषद् सदस्य रमेश प्रसाद लामिछाने, पुर्व बागमति प्रदेश सचिवालय सदस्य मोहन प्रसाद शर्मा, प्रदेश सदस्य सुनिल गौतम, बालकुमार श्रेष्ठ, दीपक गौतमलगायतकाकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरे लोक गायक सोमबहादुर घलान हेटौंडामा सम्मानित भएका छन् । शनिबार वासुदेव रिजाल स्मृति प्रतिष्ठान मकवानपुरले घलानलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
‘आलु र तामा हजुर छेपारोलाई जामा भ्यागुतोलाई स्टकोट…’ गितका गायक पछिल्लो समय बिमारी छन् । उनलाई बिमारी अवस्थामै कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा तथा प्रतिष्ठान अध्यक्ष आरसी रिजाल लगायतले सम्मान गरेका थिए । घलान शिक्षण पेशाका साथै संस्थानमा रोजगारी गरी रातोमाटे गाउँ पञ्चायतका अध्यक्ष समेत भएका थिए । घलानको आफ्नै शब्द र स्वरमा रहेको उक्त गीत रेडियो नेपालमा रेकर्ड भएको छ ।
कार्यक्रममा गायक घलानलाई रङ्गकर्मी उज्ज्वल शर्मा भण्डारीले शब्दमा थप चिनाएका थिए । यसैगरी कार्यक्रममा समाजसेवी कृष्णप्रसाद नेपाललाई १५ हजार रूपैयाँ राशिको सम्मानबाट सम्मानित गरिएको छ । प्रतिष्ठानले हेटौडा उपमहानगरपालिकाकाे सहयाेगमा हेटौंडका प्रथम प्रधान पञ्च वासुदेव रिजालकाे स्मृतिमा ग्रन्थ प्रकाशन गरेकाे छ । भैरवीदेवी रिजाल संरक्षक रहनु भएको प्रतिष्ठानद्वारा प्रकाशित गरिएकाे वासुदेव रिजाल स्मृति ग्रन्थकाे कार्यक्रममा विमोचन गरिएकाे थियो ।
स्मृति ग्रन्थकाे सम्पादन साहित्यकार निमेष निखिलले गरेका छन् । स्मृति ग्रन्थमा विभिन्न क्षेत्रका ३१ व्यक्तित्वहरूद्वारा वासुदेव रिजालका बारेमा लेखिएका सस्मरण समावेश छन् । कार्यक्रममा वासुदेव रिजालको व्यक्तित्व तथा योगदान बारे इतिहासकार केदार न्यौपानेले जानकारी दिएका थिए । न्यौपानेले रिजाल हेटौंडा नगरका योजनाकार रहेकाे बताए । १९९५ सालमा जन्मिएका हेटौंडा गाउँपञ्चायतको पछिल्लो तथा नगरपञ्चायतका प्रथम प्रधानपञ्च रिजालको निधन २०३७ सालमा भएको थियाे ।
कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेल र निवर्तमान अध्यक्ष राजकुमार लामिछानेले हास्यव्यङ्ग्य रचना वाचन समेत गरेका थिए । प्रतिष्ठानले मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालय प्राङ्गणमा भानुभक्त आचार्यको शालिक निर्माण गरेको छ भने वर्षेनी भानु जयन्तिमा साहित्यिक जमघट समेत गर्ने गरेको छ ।
वासुदेव रिजाल स्मृति ग्रन्थ प्रकाशन सहयोग गरेको हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा तथा वासुदेव रिजाल स्मृति प्रतिष्ठानका अध्यक्ष आरसी रिजालको सभाध्यक्षतामा कार्यक्रममालाई रामचन्द्र आचार्य फुर्सतीले स्वागत गरेका थिए भने प्रतिष्ठानकी सचिव अनिता न्यौपानेले सहजीकरण गरेकी थिइन् ।