मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
आइतबार दिउँसो परेकाे पानीसँगै चट्याङ लागेर मनहरी – ५ दरदराका २८ वर्षीय अविरल थिङको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ । यसैगरी चट्याङ लागेर स्थानीय ५६ वर्षीय सिंहबहादुर थिङ र मनहरी ५ डिल्लिपुर बस्ने १० वर्षीय सौगात गोले घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
घाइते दुबै जनालाई उपचारका लागि चितवन लगिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार सिंहबहादुर मृतकका बाबु रहेकाे तथा गोले मृतकका सानीआमाको छोरा हुन् । घाइतेहरुकाे अबस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुर । हेटौंडा अटोमोबाइल्स एसोसिएसनले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो वितरण कार्यक्रम गरेको छ।
कार्यक्रममा अटोमोबाइल क्षेत्रका विभिन्न समस्या र समाधानका उपायहरूमा छलफल गरिएको थियो।एसोसिएसनका अध्यक्ष ऋषि कुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नोडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल काठमाडौंका सह कोषाध्यक्ष पंकज अग्रवालले नेपालको राजस्वमा करिब ५ प्रतिशत योगदान गर्ने अटोमोबाइल क्षेत्रले चाहेजति सेवा प्रवाह गर्न नसकेको बताए।
प्रत्यक्ष रूपमा १ लाख नागरिकले रोजगारी पाएको र अटोमोबाइलको निर्जीवन बिमामा ५० प्रतिशत हिस्सा रहेको जानकारी दिए। उनले सरकारले बिजक मूल्यलाई मान्यता नदिनु कमजोरी भएको र व्यवसायीहरूले सामान खरिद गर्दा ध्यान दिनुपर्ने बताए। अनधिकृत कार्यबाट बच्न र अटो भिलेजको अवधारणालाई अघि बढाउनुपर्नेमा उनले जोड दिए। अटो भिलेज बनाउन सरकारको नीति स्पष्ट हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा अध्यक्ष ढकालले नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै कानुनले तोकेको र राज्यले दिएको दायरामा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सरकारले लागू गरेको एमआरपी नियम संगत पालना गर्न र एमआरपी नलागेका सामान बिक्री वितरण नगर्न व्यवसायीहरूलाई अनुरोध गरे।
कार्यक्रममा उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्ज्वल चौलागाईं, महासचिव प्रतिमा श्रेष्ठलगायतको उपस्थिति थियो।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा एकै मञ्चमा ३ जना स्रष्ट्राका ३ मुक्तक संग्रह विमोचन गरिएकाे छ । मुक्तक मञ्च मकवानपुरकाे २४ औँ नियमित मुक्तक वाचन श्रृङ्खलाकाे अवसरमा ३ जना स्रष्ट्राका मुक्तक संग्रह विमोचन गरिएकाे हाे ।
शनिबार मकवानपुरे मुक्तककारहरु किशन पौडेल, राजबाबु पहाडी र दिनेश शर्माका मुक्तक संग्रहहरु विमाेचन गरिएकाे हाे । पौडेलकाे अन्तर्ध्वनी, पहाडीकाे गल्छेडाका धुनहरु र शर्माकाे बन्द ढोकाकाे चित्कार मुक्तक संग्रह विमाेचन गरिएकाे थियाे । मञ्च अध्यक्ष सागर तिमल्सिना, मुक्तककार हरिकृष्ण काफ्ले, अग्रज साहित्यकार तुलसी घिमिरे, कवि शान्ति प्रियवन्दना, साहित्य संगम मकवानपुर अध्यक्ष डीबी बर्तौला, साहित्यकार दिपक गौतम र मुक्तककारत्रयबाट विमोचन गरिएकाे थियाे ।
विमोचन भएका मुक्तक संग्रह अन्तर्ध्वनीमाथि डीबी बर्तौला, गल्छेडाका धुनमाथि शान्ति प्रीयवन्दना र बन्द काेठाकाे चित्कारमाथि दिपक गौतमले समिक्षात्मक टिप्पणी समेत गरेका थिए । समिक्षात्मक टिप्पणी गर्दै वक्ताहरुले मुक्तक सक्षिप्तमा लेखिने गहन कविता भएकाेले मुक्तक संग्रह भित्र थोरै सृगारिङ, मातृभाव, बिकृत राजनिती, बिसङती, नयाँ पुस्ताको लागि सन्देश, मन भित्रको पीडा,अन्तर ह्रदयको आवाज, आध्यात्मिक चिन्तन, प्रकृति प्रेम, देश भित्रकाे युवा आवाज, प्रगतिशीलता, वैदेशिक रोजगारको पीडा, बा आमाको चिन्ता, परिस्थितिको चिन्तन रहेकाे बताए ।
मुक्तककारहरु समयाबोधी भएकाे बताउँदै वक्तात्रयले मुक्तक संग्रहहरुमा केही मुक्तकहरु मुक्तककाे संरचनामा नभएकाे, तुक नमिलेकाे साथै सम्पादन र शुद्धाशुद्धीमा ध्यान नदिएकाे लगाएका प्रतिक्रिया दिएका थिए । विमोचन भएका संग्रहबाट केही मुक्तक समेत वाचन गरिएका थिए ।
मञ्च अध्यक्ष सागर तिमल्सिनाकाे सभाध्यक्षता, मुक्तककार हरिकृष्ण काफ्लेकाे प्रमुख आतिथ्यता तथा तुलसी घिमिरेकाे विशिष्ठ आतिथ्यतामा भएकाे कार्यक्रममा मकवानपुरका साहित्यकारहरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सहजिकरण मञ्च सचिव सुबास सजलले गरेका थिए ।
मकवानपुर । मुक्तक मञ्च मकवानपुरले २ जना स्रष्टालाई सम्मानित गरेकाे छ । मञ्चले २४ औँ नियमित मुक्तक वाचन श्रृङ्खलाकाे अवसरमा शनिबार २ जनालाई मुक्तक सम्मानबाट सम्मानित गरेकाे हाे ।
मञ्चले तारा स्मृति मुक्तक सम्मानबाट चितवनका मुक्तककार बिमला अधिकारी देवकाेटा तथा हरिकृष्ण काफ्ले मुक्तक सम्मानबाट रुपन्देहीका मुक्तककार रमेश समर्थनलाई सम्मानित गरेकाे छ । देवकाेटालाई ७ हजार ५०० रुपैंया राशीकाे तारा स्मृति मुक्तक सम्मानबाट सम्मानित गरिएकाे हाे । मकवानपुरका साहित्यकार तथा मुक्तक मञ्चका मकवानपुरका संस्थापक उपाध्यक्ष किसन पौडेलद्वारा पिता तारा प्रसाद पौडेलको सम्झनामा उक्त सम्मान स्थापना गरेका हुन् ।
सम्मानको राशि स्थापनाको समयमा ५ हजार ५५५ रहेकाेमा २०८० देखि बढाएर ७ हजार ५०० बनाइएको हाे। बिमलाकाे मनकाे किनारा मुक्तक संग्रह २०७५ सालमा प्रकाशित छ । उक्त सम्मानबाट २०७९ सालमा देवराज खरेल मकवानपुर तथा २०८० सालमा हरिकृष्ण काफ्ले रौतहट सम्मानित भइसकेका छन् ।
यसैगरी समर्थनलाई १० हजार रुपैंया राशीकाे हरिकृष्ण काफ्ले मुक्तक सम्मानबाट सम्मानित गरिएकाे हाे । मकवानपुरका हास्यव्यङ्ग्यकार आरसी रिजाले अग्रज मुक्तककार हरिकृष्ण काफ्लेकाे सम्मान गर्दै उक्त सम्मान स्थापना गरेका हुन् । मुक्तक विधामा प्रदान गरिने यो सम्मान मञ्चले पहिलो पटक प्रदान गरेकाे हाे । समर्थनकाे ब्रम्हलुट मुक्तक संग्रह २०५३ सालमा प्रकाशित छ ।
नेपाली साहित्य क्षेत्रको मुक्तक विधामा दिइएको योगदानकाे कदर गर्दै मञ्चले देवकाेटा र समर्थनलाई सम्मानित गरिएकाे अध्यक्ष सागर तिमल्सिनाले जनाकारी दिए । मञ्च अध्यक्ष तिमल्सिनाकाे सभाध्यक्षता, मुक्तककार हरिकृष्ण काफ्लेकाे प्रमुख आतिथ्यता तथा तुलसी घिमिरेकाे विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ ले हाम्रो घर बालगृहलाई सहयोग गरेको छ । शुक्रबार वडा कार्यालयले हेटौंडा ५ मा रहेको बालगृहलाई स्टेशनरी सामग्री सहयोग गरेको हो ।
बालगृहमा आश्रीत बालबालिकाको अध्ययनमा सहयोगको लागि स्टेशनरी सामग्री सहयोग गरिएको वडाध्यक्ष विष्णु गोपाल महर्जनले बताए । ‘जेष्ठ नागरिक आश्रमलाई कार्यक्रममै राखेर सहयोग गर्दै आएका छौ’ वडाध्यक्ष महर्जनले भने ‘ सियान, रिकभरिङ समुहलाई सहयोग गर्यौ । आगामी आर्थिक वर्षबाट कार्यक्रममै राखेर बालगृह लगायतका सामाजिक सस्थालाई सहयोग गर्ने छौं ।’
बालगृहलाई २६ हजार बराबरको सामग्री सहयोग गरिएको वडा सचिव राम प्रसाद गुरागाईले जानकारी दिए । उनका अनुसार यस अघि सियान पुनर्स्थापना केन्द्रलाई खाद्यान्न तथा मकवानपुर रिकभरिङ समुहलाई कुर्सी सहयोग गरिएको छ ।
उक्त बालगृहका उपाध्यक्ष देव कुमारी चापागाईंलाई वडा कार्यालयमा वडाध्यक्ष महर्जन, वडा सदस्य सुरज बर्तौलाले स्टेशनरी हस्तान्तरण गरेका थिए ।
हाम्रो घर बालगृहमा २७ जना बालबालिका आश्रीत रहेका छन् । सन्चालनमा समस्या आएको भन्दै केही समय अघि बालगृहको अक्षयकोष स्थापनाको लागि भागवत पुराण सप्ताह लगाइएको थियो ।