मकवानपुर । मकवानपुरकाे राक्सिराङ गाउँपालिकामा बाेलेराे गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ६ जनाकाे अवस्था गम्भिर रहेकाे तथा ३ जना सामान्य घाइते भएका मकवानपुर प्रहरीले जनाएकाे छ ।
बुधबार बिहान राक्सिराङ – ९ अठारे स्थित भित्रि सडक खण्डमा खैराङबाट मनहरी तर्फ आउदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो सडकबाट ५० मिटर तल खसी दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । प्रहरी चौकी कान्द्राङबाट प्रहरी सहायक निरीक्षक भरत कुमार खड्कासहितकाे टोली घटनास्थल पुग्दा बोलेरोमा चालक सहित ९ जना सवार रहेकाे पाइएकाे बताइएकाे छ ।
उक्त बाेलेरो दुर्घटनामा घाइते ९ जना राक्सिराङ – ९ का रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा १६ वर्यीष हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिल बहादुर घलान, निजको श्रीमति ६५ वर्षीय फुलमाया घलान, ३८ वर्षीय रुप बहादुर राउत, ४८ वर्षीय दिपक खड्का घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
यसैगरी ५० वर्यीय सुर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र २८ वर्षीय सुजन तामाङ दुर्घटनामा घाइते भएकाे अर्यालले बताए । घाईते सबैकाे स्थानीयसमेतकाे सहयोगमा उद्धार गरी उपचारको लागि मनहरी अस्पताल ल्याइएकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा शुक्रबार सडक भासिँदा बेपत्ता भएको गाडी चौथो दिनसम्म समेत फेला परेकाे छैन । गाडी फेला नपरे पछि स्थानीय सरकारकाे समन्वयमा भूगर्वविद्काे टोलीले आज पाचौं दिन उक्त स्थानकाे अनुसन्धान थालेकाे छ ।
माछा बोक्ने ना.४ च ४८३३ नम्बरको सिंगल क्याप बोलेरो गाडी (भ्यान) हेटौंडा उपमहानगरपालिका – १६ र १७ को सीमा नजिकैकाे गैरीगाउँ सडकमा गत शुक्रबार एक्कासी भासिएकाे थियाे । उक्त स्थानमा पानीको दह बनेको छ । भासिएकाे पाचौं दिनकाे दिन विभागकाे टोलीले अनुसन्धान थालेकाे हाे ।
घाँस काट्ने मेसिन लोड गरिएको गाडी भित्री कच्ची सडकमा रोकिराखेको अवस्थामा अगाडिको पांग्रा भासिन सुरु भएको थियो । निकाल्ने क्रममा एक्कासि सडक नै भासिएर गाडी जमिनमुनि गायब भएको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । गाडीका चालक हरेराम राई र सहचालक भने सडक भासिनुअघि नै निस्किएर जोगिएका थिए ।
भासिएको करिब पाँच सेकेन्डमै बेपत्ता भएको गाडीधनी हरेराम राईले बताए । गाडी भासिएको वरिपरि माछापालन गरिएको पाँचवटा पोखरी र बोरिङसमेत छ । राईले नै दुवै व्यवसाय गर्दै आएका छन् । धेरैले बोरिङका कारण जमिन भासिएको हुन सक्ने अनुमान गरेका छन् ।
गाडी खोजीका लागि शनिबार दिनभर दुईवटा मोटरले पानी बाहिर फालिए पनि उक्त गाडी फेला नपरेको डिएसपी अर्यालले बताए । ‘शनिबार दिनभर गाडी खोजेका हौँ, आइतबार खोजेनौँ । विपत् व्यवस्थापन समितिको बैठकले विज्ञको टोली ल्याउने निर्णय गरेकोले आइतबारबाट खाेजी कार्य नगरिएकाे हाे’ उनले भने । गाडी भासिएको ठाउँ सुरक्षित राखेर विज्ञको टोली आएकाेले पुनः खोजी तथा अनुसन्धान सुरु गरिएकाे छ ’ उनले भने । गाडी भासिएको स्थानसँगै जोडिएको माछापोखरीको माछा र पानी निकालिएकाे छ । पोखरी खाली गरेपछि गाडी खोजी गर्न सहज हुने प्रवक्ता अर्यालले बताए ।
गाडी बेपत्ता भएको घटना सार्वजनिक भएपछि उक्त स्थानमा दिनभरजसो मानिसहरूको भिड लाग्ने गरेको छ । गाडी भासिएको घटनापछि निरीक्षण र घटनाको वास्तविकता बुझ्न प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने सहितकाे टोलीले सोमबार अवलोकन गरी बस्तुस्थिति बझेकाे छ । यसअघी हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, उमप्रमुख राजेश बानियाँ, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, सुरक्षा निकायका प्रमुखलगायत घटनास्थल पुगेर वस्तुस्थिति बझेका छन् ।
हेटौंडा उपमहानगरको विपत् व्यवस्थापन समितिको बैठकले गाडी भासिएको स्थान र आसपासको अध्ययनका लागि भूगर्भविद्काे टोली ल्याउने गरी निर्णय गरेको थियाे । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको उपस्थितिमा उपमहानर प्रमुख मीना कुमारी लामा, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि सम्मिलित बैठकले खानी तथा भूगर्भ विभागलाई अध्ययन र अनुसन्धानका लागि टोली पठाइदिन पत्राचार गर्ने निर्णय गरेको हो ।
उपमहानगरका उपप्रमुख राजेश बानियाँले तत्कालका लागि गाडी भासिएको स्थानको भौगोलिक अवस्थाबारे अध्ययन गरी केही भन्न र गर्न नसकिने भएकाले अनुसन्धानका लागि भूगर्भविद्को टोली झिकाउने निर्णय गरिएकाे बताए ।
‘आइतबार दिउँसो विपत् व्यवस्थापन समितिको बैठक बसेर यहाँको भौगोलिक अवस्थाबारे अध्ययन गर्न खानी तथा भूगर्भ विभागलाई अनुसन्धान टोली पठाई सहयोग गर्न पत्राचार गर्ने निर्णय गरेका हौं,’ उनले भने । गाडी भासिएको स्थान हेर्नेको भिड बढेपछि उपमहानगरले नगर प्रहरी परिचालन गरेको छ ।

भासिएकाे स्थानकाे अनेक अड्कलबाजी
गाडी भासिएको स्थान हेर्न पुगेका स्थानीयले घटनाबारे थुप्रै अड्कल लगाएका छन् । विगतमा यस क्षेत्रमा भास (दलदल) रहेकाले गाडी बेपत्ता भएको हुन सक्ने केही स्थानीयको दाबी छ । वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले गाडी भासिएर बेपत्ता भएको घटनाले आफू आश्चर्यमा परेको बताए । उनले उक्त फाँटमा जोत्दै गरेका हलगोरु नै भासिएर बेपत्ता भएको आफूले पनि सुनेको बताए ।
कोइरालाले करिब १० वर्षअघि गाडी भासिएको स्थानबाट पाँच–सात सय मिटरको दूरीमा जोत्दै गर्दा एउटा गोरु भासिएर मरेको घटना आफैँले देखेको सुनाए । उनले भासिएर कुनै पनि चिज बेपत्ता भएको पहिलोपटक देखेको बताए । ‘भासिएर बेपत्ता नै भएको पहिलोपटक सुने र भिडियो हेरेर थाहा पाएँ आश्चर्य लाग्यो’ उनले भने । ‘पहिले–पहिले जोत्दै गरेको हलगोरु नै बेपत्ता हुने गरेको गाउँले बुढापाकाले सुनाउथे, पत्यार लाग्दैनथ्यो’ उनले भने, ‘म आफैँले पनि यहाँभन्दा पाँच–सात सय मिटर पर १० वर्षअघि जोत्दै गरेको हलगोरुमध्ये एउटा गोरु दलदलमा भासिएर मरेको देखेको छु ।’
स्थानीय पुडासैनीले उक्त स्थान दलदल नै भएकाे स्वीकार्छन् । उनका अनुसार २०७२ सालकाे भूकम्प आउँदा समेत उक्त स्थानमा चुन निस्किएकाे पानीकाे फोका उठेकाे देखेकाे बताए । स्थानीयहरु डिप बाेरिङका कारण दलदल भएकाे समेत बताउँछन् । ‘उक्त स्थानकाे पोखरी बनाउनका लागि यहाँ करिब ८ वर्षअघि बोरिङ गरिएकोमा पाइपबाट पानी भनेजस्तो नआए पनि त्यसको वरिपरिबाट लेदोसहितको पानी भने बगिरहन्थ्यो । अहिले जमिन भासिएको सोही बोरिङ खनिएको स्थलमै हो’ स्थानीय प्रकाश पराजुलीले बताए । उनका अनुसार हेटौंडा १६, १७ र १८ स्थित फाँटमा सानाठुला दर्जनौँ डिप बोरिङ खनिएकाले छन् भने करिब ५ सय मिटरको दायरामा मात्र झन्डै आधा दर्जन ठाउँमा पाइप गाडेर भूमिगत पानी निकालिएको छ । ‘यसकाे कारण भोलिका दिनमा कति ठाउँमा जमिन भासिने समस्या देखिएला अत्यास लाग्छ’उनले भने ।
‘यो भन्दा अलि माथिको स्थानहरू चाहिँ अलि धाप क्षेत्र नै हो। तर यो त त्यस्तो ठाउँ नै होइन’ स्थानीय निरन्जन ढकालले भने, ‘सडकको दुवै साइडमा माछा पोखरी रहेछ। सडकको भित्तामा बोरिङ पनि खनेको रहेछ। बोरिङ खनेको स्थानमा जमिन कमजोर भएर भासिएर गाडी दबिएको हो कि भन्ने लाग्छ।’
भूगर्भविद्काे टोलीले अनुसन्धान गरे पछि मात्रै उक्त स्थानकाे दलदलकाे बास्तविकता पत्ता लाग्ने उपमेयर बानियाँ बाताउँछन् ।
सवारी धनी राई घटना बारे यसो भन्छन्…
गत शुक्रबार साँझतिरको समयमा भित्री कच्ची सडकमा हिलोमा फसेको गाडी निकाल्न निकै प्रयास गरे। हिलोमा फसेको गाडी निकाल्ने प्रयास गर्दा झण्डै १ घण्टा लाग्यो।
केही गर्दा पनि गाडी निस्कने सुर नदेखिएपछि ट्याक्टर ल्याएर गाडी तान्ने प्रयास गरियो। स्थानीय एक व्यक्तिले ट्याक्टर बोलाउनको लागि फोन गर्दै थिए। म र रौतहट स्थायी ठेगाना भएका सहचालक मुक्तिलाल सहनीले गाडी निकाल्ने प्रयास गरिरहे। तर गाडीको अगाडीको भाग बिस्तारै दबिएको जस्तो मुक्तिलालले अनुभव गरे।
उनी चिच्याउँदै मलाई तुरुन्तै निस्कन भने। दुवैजनाले दुईतिरको ढोका खोलेर निस्किन भ्यायौं। तर हामी निस्किएर हेर्न पनि नभ्याउँदै गाडी जमिनमा बिलायो।
गाडीको अगाडीको भाग दबिएको चाल पाएपछि हामी धन्न भाग्न भ्यायौँ । ‘खटट्ट… आवाज निस्कियो। दुई सेकेन्ड जतिमा गाडीको अगाडीको भाग बिलायो। सहचालकले कराएपछि दुवैजना भाग्न भ्यायौं। त्यसको ३ सेकेण्ड पनि नहुँदै पूरै गाडी जमिनमा बिलायो। नत्र त हामी पनि गाडीसँगै भासिने रहेछौं ।
हामी हरेक दिन सोही बाटोमा माछाका दाना बोक्न, माछा लिनका लागि आउजाउ गर्ने गर्छौं । तर न कहिल्यै गाडी हिलोमा फसेको थियो, न त त्यस स्थान वरपर गाडी दबिएको घटना नै भएको थियो। विगत १ वर्षदेखि सोही स्थानमा ९ वटा माछा पोखरी सञ्चालन गर्दै आएका छु । यस्तो घटना भने जीवनमै पहिलोपटक घटेको र भोगे ।
गाडी त्यसरी जमिनमै दबिएको त मैलै पहिलो पटक देखेको हुँ । गाडी निकैबेर हिलोमा फस्यो। गाडी निस्किएला जस्तो भएपछि अगाडी बढाएँ। त्यतिबेला नै भूकम्प गएजस्तै गरी जमिन हल्लिएको महशुस भयो। यत्तिकैमा जमिनबाट केही ब्लास्ट भएजस्तो आवाज आयो। त्यसपछि गाडी जमिनमा दबिन सुरु भयो। जमिन भासिएपछि गाडी एकैछिनमा हरायो। धमिलो पानी घटट्ट गरेर भूमरी बन्यो। यत्तिकैमा वरपरको माटो झर्यो अनि गाडीको थोरै भाग पनि भेटिएन। त्यही समयमा सडक नजिकै रहेको माछा पोखरीका माछाहरू पनि असामान्य तरिकाले उफ्रिएको देखियो ।
अध्ययन गर्न भूगर्भ विभागको टोली हेटौंडामा
गाडी भासिएर हराएको विषयमा अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली हेटौँडा आइपुगेको छ । मंगलबार बिहान हेटौडा आइपुगेको टोलीले काम सुरु गरेको हो ।
विभागबाट आएका ४ जनाको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो । टोलीले घटना स्थलको भूबनोट, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्नेछ ।
विभागका भूगर्भविद्ले घटना स्थलको भौगोलिक अवस्था, माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गर्ने छ ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौं जाेड्ने छाेटाे मार्ग कान्ति लाेकपथ बन्द भएकाे छ ।
आइतबार बिहानैबाट परेकाे वर्षाकाे कारण मकवानपुर र ललितपुरको सिमाना बागमती खोलामा सवारी साधन आवत जावत गर्न बनाएको डाईभर्सन बगाउँदा बाटो बन्द भएकाे हाे । मकवानपुरको भिमफेदी गाउँपालिका -८ र ललितपुरको बागमती गाउँपालिका – २ स्थित बागमती नदीकाे ललितपुर तर्फको डाइभर्सन बर्षाको कारण बगाएकोले तत्काल बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
प्रहरी टोली खटी गई अबरुद्ध सडक खुलाउने पहल भईरहेकोले हाललाई हेटौंडाबाट काठमाडौं जानको लागि अन्य बाटोहरु प्रयोग गर्न अनुरोध मकवानपुर प्रहरीले अनुराेध गरेकाे छ । यसका साथै कान्तिलोकपथमा मर्मतको काम भई रहेकोले हरेक दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बन्द रहदै आएकाे छ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा शुक्रबार अपराह्न एक्कासी जमिनमुनि भासिएको माछा बोक्ने सिङ्गल क्याप बाेलेरो गाडी (भ्यान) अझै भेटिएकाे छैन । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरीगाउँ स्थित सडकमा ना ४ च ४८३३ नम्बरको बाेलेरो गाडी (भ्यान) भासिएर जमिनमुनि बेपत्ता भएको हाे ।
गैरीगाउँबाट चुच्चेखोला तर्फ जाँदै गरेको ना ४ च४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी (खाली) सडकमा राेकिराखेकाे अवस्थामा सडक भासिंदा डुबेको बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । बलेरो चालक हरि राईले समेत राेकी राखेकाे गाडी सडक भासिदा पुरिएकाे तथा आफू र सहचालक गाडी भासिनुअघि नै निस्किएर जोगिएका जानकारी दिए ।
गाडी भासिएको करिब ५ सेकेन्डमै हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको प्रवक्ता अर्यालले बताए । गाडी भासिएको नजिकै स्थानीय हरि राईले माछापालनकाे लागि खनिएकाे पोखरी र बोरिङ समेत रहेको छ । बोरिङका कारण जमिन भासिदाँ गाडी बेपत्ता भएकाे प्रहरीले अनुमान लगाइएको छ ।
उक्त स्थानमा पानी तान्नका लागि २ वटा मोटर पम्प प्रयोग गरिएकोमा पानीको सतह घटेको भएतापनि सवारी साधन हालसम्म नदेखिएको प्रहरीले जानकारी दिएकाे छ । ‘खाल्डोको दायाँ बायाँबाट माटो झरिरहेको कारण खाल्डोको आयतन झन् ठुलो हुदै गएको छ’ प्रवक्ता डिएसपी श्यामु अर्यालले भने ‘ भासिएर वेपत्ता भएकाे सवारी साधनकाे खोजि कार्य जारी छ ।’
मकवानपुर । मकवानपुरकाे हेटौंडामा ४ जना व्यक्तित्व सम्मानित भएका छन् । शनिबार हेटौंडामा भएकाे छुट्टाछुट्टै कार्यक्रममा ४ जनालाई सम्मानित गरिएकाे हाे । सिस्नुपानी नेपाल मकवानपुरले २ जना हास्यव्यङ्ग्यकारलाई सम्मान गरेकाे छ भने बुढ्यौली साहित्य समाज मकवानपुरले २ जना साहित्यकारलाई सम्मानित गरेकाे हाे ।
सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा शनिबार हेटौंडामा कृष्ण मुरारी गौतम ‘चट्याङ मास्टर’ र सुबाेध गौतम ‘यदुमे’ लाई हास्यव्यङ्ग्य पुरस्कारबाट सम्मान गरिएकाे हाे । बुढ्यौली साहित्य समाज मकवानपुरले साहित्यकार देवीप्रसाद घिमिरे र देवराज खरेललाई सम्मान गरेको छ ।
सिस्सुपानी मकवानपुरले सिस्नुपानी नेपाल तथा एजिङ नेपालका संस्थापक हास्यव्यङ्ग्य स्रष्टा ‘चट्याङ मास्टर’लाई डा. गणेशकुमार पौडेल स्मृति सम्मान २०८१ बाट सम्मानित गरिएकाे हाे । उक्त पुरस्कारको राशी २५ हजार रुपैंया रहेको छ । यस अघि हास्यव्यङ्ग्यकार आरसी रिजाल र उत्तमकृष्ण मजगैयालाई उक्त पुरस्कारबाट सम्मानित गरिएको थियो । उक्त पुरस्कार सिस्नुपानी नेपाल मकवानपुरका पूर्व अध्यक्ष गणेश पौडेलको स्मृतिमा परिवारजनले स्थापना गरेका हुन् ।
यस्तै युवा हास्यव्यङ्ग्य कलाकार ‘यदुमे’ लाई आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८१ बाट सम्मानित गरिएकाे छ । १५ हजार ५५५ रूपैयाँ राशिको उक्त सम्मान सिस्नुपानी नेपाल मकवानपुरका संस्थापक तथा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालले स्थापना गरेका हुन् । अघिल्लो वर्ष उक्त पुरस्कारबाट हास्यव्यङ्ग्य कवि अनिल पौडेललाई सम्मानित गरिएकाे थियाे ।
यसैगरी बुढ्यौली साहित्य समाजले भोजपुरका देवीप्रसाद घिमिरेलाई तुल्सी थापा स्मृति सम्मानबाट सम्मानित गरिएकाे छ । उक्त सम्मान २५ हजार राशिकाे रहेकाे छ । मकवानपुरका देवराज खरेललाई तोयानाथ रिजाल स्मृति सम्मानबाट सम्मानित गरिएकाे हाे । उक्त सम्मानकाे राशी नगद २० हजार रुपैयाँसहित रहेकाे छ ।