- सम्झना घिमिरे
मकवानपुर/कानुनले दिएको अधिकार उपभोगमा लागिपर्नुपर्ने बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बताएका छन् । महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न आवाज नउठाए र अधिकार प्राप्त नलडे स्वतः अधिकार प्राप्त नहुने बताएका हुन् ।
एकल महिला तथा द्वन्द प्रभावित महिलाहरुको सवालमा आधारित प्रदेश तथा राष्ट्रिय स्तरको हेटौंडामा आयोजित छलफलमा बोल्दै उनले यस्तोकुरा बताएका हुन् । ‘अब पनि महिलाहरु अघि बढ्न खोज्दा पोथि बास्यो भन्ने मानसिकता बाँकी छैन’ उनले भने ‘आज समाज परिवर्तन हुदै गर्दा महिलाले ३३ प्रतिशत अधिकार प्राप्त गरेका छन् ।’ अब महिलाले ५० प्रतिशत अधिकार प्राप्त गर्नुपर्ने प्रदेश प्रमुख प्रसाईले बताए । महिलालले कहिल्यै हिनताबोध गर्नु नहुने बताउँदै उनले भने ‘महिला राष्ट्रपतिसम्म हुने हैसियत राख्दछन्, हिनता बोध किन गर्नुहुन्छ, जाग्गनु पर्छ, डटेर अधिकार लिनु पर्छ ।’

कार्यक्रममा राष्ट्रिय समावेसी आयोगका कार्यबाहक अध्यक्ष विष्णु ओझा, नेपाली काग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरिक्षक मिरा चौधरी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा लगायतकाले महिलाको अवस्था सुधारको लागि अझै धेरै कार्यहरु गर्नुपर्ने औल्याए । व्यवस्थामा सुधार आयो तर, अवस्थामा सुधार नआएकोले अबको लडाई अवस्था सुधारको लागि हुुनुपर्ने वक्ताहरुले बताए ।
मकवानपुर/ प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दिन पनि पर्खन नसकेकाले देश दुर्घटनातिर गएको केन्द्रीय सदस्य केदार न्यौपानेले बताएका छन् ।
मनहरी गाउँपालिकामा आयोजित गाउँ कमिटी बैठक तथा बिस्तारित भेलालाई सम्बोधन गर्दै न्यौपानेले पुस १० गते केन्द्रीय कमिटीको बैठकसम्म पुग्न पाएको भए संसद विघटन नहुने ठोकुवा गरे । ‘ओली कमरेडले हत्तारिएर संसद विघटन गर्नुभयो’, नेता न्यौपानेले भने ‘पुस १० गते बस्ने बैठकले सबै गाँठाहरु फुकाएर लैजानेमा हामी विश्वस्त थियौँ।’
५ वर्ष ओलीकै नेतृत्वमा सरकार चलाउने र अध्यक्ष पनि कायमै राख्ने अनि प्रचण्डलाई दिइएको कार्यकारी अध्यक्षको अधिकारको सूचि टुङ्ग्याउने गरी केन्द्रीय सदस्यहरुबीच सल्लाह भइरहँदा ओलीले अकस्मात संसद बिघटन गरेर तानाशाही प्रबृत्ति हाबी गरेको न्यौपानेको आरोप थियो । ‘हुन त बैठकबाट कुरा
मिल्ला भन्ने डर पनि होला उहाँनलाई’, न्यौपानेले ब्यंग्य गर्दै भने ‘कुरा मिल्यो भने संसद भंग गर्ने सपना त पूरा हुने थिएन ।’
उनले भागवत गीताको प्रसंग उठाउँदै राजालाई बलवानहरुले पाता फर्काएर गुरुकोमा पछारेको सुनाए । उनले भने ‘चुनाव जितेर हैसियत बिर्सेकाहरुलाई हैसियत देखाइदिने भनेको पाता फर्काएरै हो ।’ कार्यक्रमलाई सम्बोधन गर्दै कानूनविद् समेत रहेका नेकपा नेता सूर्यचन्द्र न्यौपानेले विधि, विधान, पद्धति, बैठक नमान्ने ओली प्रबृत्तिले देश बर्बादितिर धकेकोलेको बताए ।
प्रदेश कमिटी सदस्य ललित घलानले ओलीका हावादारी योजना र भाषणले जनता वाक्क दिक्क भएको बताए । गाउँपालिका कमिटी अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको बैठकमा जिल्ला कार्यालय सदस्य श्रीधर पोखरेल, सचिवालय सदस्यहरु राजाराम स्याङ्तान, बनस्तम थिङ,रेखा पुलामीमगरले ओलीको असंवैधानिक कदमको विरोध गरे ।
मकवानपुर/चिसोबढी बालबालिका, दीर्घरोगी तथा वृद्धवृद्धाहरुको स्वास्थ्यमा समस्या आउन सक्ने संभावना बढेको छ । यसैबीच चिसोमा कपडा अभावले जाडोको समस्या भोग्दै आएका लोपोन्मुख जाति वनकरियाका बालबालिका र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ ।
आदिवासी जनजाति विकासका लागि संजाल काठमाडौंले सदस्यहरुबाट संकलित रकमबाट तयारी कपडा वितरण गरिएको हो । आदिवासी जनजाति विकासका लागि संजालकी अध्यक्ष सावित्रा चेपाङ, उपाध्यक्ष सुदीप ठकुरी, कोषाध्यक्ष निर्मला भुजेल, सदस्य सुमिन गुरुङलगायतले वनकरिया बालबालिकालाई कपडा वितरण गरेका थिए । १ देखी २० वर्षसम्मका ११ छात्रासहित ३३ विद्यार्थी वनकरिया, एक जना शारिरीक अपाङ्गता भएका र ३ जना एकल महिलालाई जाडोमा लगाउँने कपडा वितरण गरिएको थियो ।
कपडा वितरणले बनकरिया बालबालिकालाई विद्यालयमा पढ्न र ट्युसन पढ्न सहज हुने अपेक्षा गरिएको छ । २०६५ सालमा स्थापित संस्थाले आदिवासी जनजातिका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
यसअघि, २० घर रहेको वनकारियावस्तीमा ३ लाख ३० हजार रुपैंयाको लागतमा दश वटा ट्युवेल निर्माण भएपछि भाँडा माझ्न, लुगा धुन कुलोको मलमुत्र मिसिएको पानी प्रयोग गर्नुपर्ने बाध्यताबाट मुक्ती पाएको वनकरियाहरुले बताएका छन् ।


आदिवासी मामिलाहरुको लागि अन्तर्राष्ट्रिय कार्य समूह (आईडब्लुजीआईए) को आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघमार्फत् ट्युवेल निर्माण गरिएको थियो ।
मकवानपुर । कोरोना महामारीको कारणे सिर्जना गरेको जटिल परिस्थितिमा नेपाल सरकारले आर्थिक ऐन मार्फत व्यवस्था गरेकाे विभिन्न छुट सुविधाहरुको लाभ २०७७ फागुनसम्म लिन सकिने व्यवस्था रहेको आन्तरिक राजश्व कार्यालयका कर अधिकृत विनोद कुमार कार्कीले बताएका छन् ।
आर्थिक ऐन २०७७ ले प्रदान गरेका छुट सुविधाहरु सम्बन्धमा आइतबार भएकाे अन्तरक्रिया कार्यक्रममा कार्कीले विभिन्न सुविधाहरुको बारेमा बाेल्दै सोको लाभ उद्योगी/व्यवसायीहरुले समयमै उठाउनु पर्ने बताए । कोरोना महामारीको कारणे सिर्जना गरेको जटिल परिस्थितिमा नेपाल सरकारले आर्थिक ऐन मार्फत विभिन्न छुट सुविधाहरुको व्यवस्था गरेको छ ।
मकवानपुर उद्याग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय हेटौंडा, मकवानपुरका प्रमुख कर अधिकृत शालिग्राम आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संघका कर तथा लेखा परामर्शदाता सकुल कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, कार्यसमिति सदस्य रवि कडेल शर्मा, रुपकराज दहाललगायतले मन्तव्य राखेका थिए । संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता, रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर / मकवानपुर जिल्ला मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टले आफूलाइ अन्याय भएकाे बताउँदै अब न्यायकाे लागि कानुनकाे सहयाेग लिने बताउनु भएकाे छ । आफूले दिंदै नदिएकाे राजिनामा स्वीकृतिकाे समाचार बाहिएकाे भन्दै उपाध्याक्ष विष्टले अब कानुनी बाटाे लड्ने बताउनु भएकाे हाे । आज आइतबार हेटाैंडामा पत्रकार सम्मेलन गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे ।
यसअघि मंसीर २९ गते गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले स्वेच्छाले दिनु भएको राजीनामा आफूले स्वीकृत गरिदिएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले सञ्चार माध्यमसमक्ष भन्नु भएको छ ।
उहाँका अनुसार पुस १७ गते शुक्रबार राजीनामा स्वीकृत भएको हो । शुक्रबार स्वीकृत भएको राजीनामाबारे आइतबार मात्रै समाचार प्रकाशन भएको थियो । आइतबार कार्यालय समयमा उपाध्यक्ष मनिला बिष्टले भने आफूले दिँदै नदिएको राजीनामा कसरी स्वीकृत हुन्छ भन्ने प्रश्न गर्नु भएको छ । उहाँले फेसबुकमा गाउँपालिका अध्यक्षका छोरा विकास उप्रेती र कर्मचारी डिल्लीराम रेग्मीले शुक्रबार साँझ राजीनामा स्वीकृत भएको पत्र दर्ता गराएको सुनेको सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
अध्यक्ष उप्रेती र उपाध्यक्ष बिष्टका यी दुईखाले फरक फरक भनाईले अन्यौलता सिर्जना गरेको छ ।
बिगतको हल्ला के हो ?
पूर्व नेकपा एमालेबाट निर्बाचित अध्यक्ष उप्रेती र उपाध्यक्ष बिष्ट तथा कर्मचारीहरुबीच समन्वय अभाव भएकाले पटक पटक विवाद हुने गरेको र त्यसै क्रममा उपाध्यक्षले राजीनामा दिएका समाचारहरु सञ्चारमाध्यमहरुमा प्रकाशित भएका थिए । यो घटना गत मंसीर २९ गतेको हो । केही दिन यही कुराले स्थानीय सञ्चारमाध्यमहरुमा चर्चा पायो । तर, त्यतिखेरै अध्यक्ष उप्रेती र उपाध्यक्ष बिष्टले यो हुँदै नभएको कुरा भएकाले भ्रममा नपर्न भन्दै मिडियाहरुलाई प्रतिक्रिया दिएका थिए । अध्यक्ष उप्रेतीले भन्नु भएको थियो–‘राजीनामा दिएको हो भने बुझ्ने मै हूँ, मैले बुझ्न पाएको छैन, दिने व्यक्तिले पनि मैले दिएको छैन भन्नु भएको छ, यो अनावश्यक हल्ला कसरी चल्यो ?’
गाउँपालिकाको संस्थागत धारणा
उपाध्यक्ष बिष्टको राजीनामासहित अध्यक्ष र कर्मचारीहरुसँग विवाद बढेको भन्ने समाचारहरु आएपछि पुस १ गते कार्यपालिका बैठक बस्यो । बैठकको माइन्युटमा लेखिएको छ–यस गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले आफ्नो पदबाट राजीनामा दिएको भन्ने बिषयसँग जोडेर भ्रामक र कपोलकल्पित बिषयहरु समेटेर फेसबुक, पत्रपत्रिका, अनलाइन सञ्चार माध्यमहरुमा आएका खबरको बारेमा कार्यपालिका बैठकमा गम्भिर ध्यानाकर्षण र छलफल भयो । पुष्टयाइँ बिना सत्य तथ्य नबुझी अनावश्यक भ्रमपूर्ण, कपोलकल्पित आरोपका समाचार आउनु दुखद् र भत्र्सनायोग्य र खेदपूर्ण भएको । मिडियाकर्मीहरुले समाचार प्रकाशन/प्रसारण गर्दा आधिकारिक रुपमा बुझी प्रकाश/प्रसारण गर्नु हुन बैठक हार्दिक आग्रह गर्दछ ।’
उल्लेखित निर्णयले पनि मंसीर २९ गते दिइएको भनिएको राजीनामासम्बन्धी हल्लालाई खारेज गरेको छ । त्यससँगै गाउँपालिकाले मंसीर २ गते निकालेको विज्ञप्तीले पनि कार्यपालिकाको बैठकको निर्णयलाई सार्बजनिक गरी भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरिएको छ ।


राजनीतिक स्वार्थको असर
अहिले राजीनामा स्वीकृत भएको भनिएको बिषय अब अध्यक्ष एकराज उप्रेती वा उपाध्यक्ष मनिला बिष्टको मात्रै रहेन । यो नेपाल कम्युनिष्ट पार्टीको फुटसँग जोडिएर अघि बढ्यो । फुटसँगै ओली पक्षधरतातिर लाग्नु भएको उप्रेतीले २० दिनपछि राजीनामा स्वीकृत भएको खबर सार्बजनिक हुनुलाई फुटकै असरको रुपमा हेरिएको छ । उपाध्यक्ष पार्टी फुटपछि कुनै पनि गुटमा खुल्नु भएको छैन । उहाँ पूर्व एमाले पक्षधरहरुकै सल्लाहमा आफू रहने बताउँदै आइरहनु भएको छ भने अध्यक्ष उप्रेती मनहरीमा आयोजित पूर्व एमालेको भेलामा अतिथि, हेटौँडामा आयोजित मोर्चा संगठनहरुको भेलामा अतिथि हुनुहुन्थ्यो ।
अध्यक्षमाथि दबाब
गाउँपालिका अध्यक्ष उप्रेतीमाथि यतिखेर उपाध्यक्षको राजीनामा आएको हो कि होइन ? भनेर कार्यपालिका सदस्यहरु (खासगरी वडाध्यक्षहरु) ले दबाब दिएको बताइन्छ । वडाध्यक्षहरु पनि उपाध्यक्षसँग रुष्ट हुनुहुन्छ । अध्यक्षले वडाध्यक्षहरुको दबाब थेग्न नसकिएको बताउने गर्नु भएको छ । त्यसैगरी राजीनामाको बिषयबारे प्रमुख बिपक्षी दल नेपाली काँग्रेसले समेत ध्यानाकर्षण गरी आन्दोलनको चेतनावनी दिएको बताइन्छ । यसरी अध्यक्ष चौतर्फी चेपुवामा परेको एउटा दृष्टान्त छ भने उपाध्यक्षलाई अर्काे खेमाको आरोप लगाएर ओली पक्षधर नेताहरुले ‘राजीनामा स्वीकृति’ का निम्ति दबाब दिएको बुझ्न सकिन्छ । यद्यपि उपाध्यक्ष कुनै पनि गुटमा खुलिसकेको अबस्था छैन ।
गाउँपालिकाको बेथिति
यी घटनाक्रमले गाउँपालिकाभित्र बेथिति प्रस्ट्याउँछ भने अध्यक्ष र उपाध्यक्षको विवादको फाइदा कर्मचारीहरुले उठाइरहेको देखिन्छ । जस्तो कि, गाउँपालिकाका कर्मचारीहरुले तेहोरो भत्ता लिने गरेको, १० बजे कार्यालय नपुग्ने गरेको, पूरा दिन काम नगरी हतार हतार फर्कने गरेकोजस्ता गुनासाहरु यसअघि नै सार्बजनिक भइसकेका छन् । हेटौँडा घर भएका अधिकाँश कर्मचारीहरु नेताहरुका फोर्स लगाएर नजिकै रहेको मनहरी गाउँपालिकामा जागीरका लागि आउने गरेका छन् । कर्मचारी अभावकै कारण खासगरी पशु, कृषि शाखाको प्रगतिमा क्षेत्रको विकासमा उल्लेख्य सुधार हुन सकेको छैन । गत आर्थिक बर्षमा कृषिको १ करोड बजेट फ्रिज भएको थियो ।
अब के होला ?
यो घटनाले मनहरी गाउँपालिकामा रमिता नै देखिन्छ । उपाध्यक्षले राजीनामाको कुरा स्वीकार गर्नु भएको छैन भने कार्यपालिकाको निर्णय र बिज्ञप्तीले ती भ्रमहरुलाई खारेज गरिसकेको कुरामा अडिग रहने सम्भावना देखिन्छ । उहाँले आफूबारे अनेक समाचार र हल्लाहरु आएपनि नियमित रुपमा गाउँपालिकामै रहेर काम गरिरहेको सामाजिक सञ्जालमा लेख्नु भएको छ । कार्यपालिकाको निर्णय र विज्ञप्तीसहित उहाँले कानूनी लडाइँ लड्न सक्ने अनुमान गर्न सकिन्छ ।
पार्टी कार्यकर्ताको भावना बुझ्न सकेनन् जनप्रतिनिधिले
पूर्व एमालेतर्फबाट निर्बाचित अध्यक्ष र उपाध्यक्षलाई सरकार चलाउन, जनताको मनोदशाबाट उतार्नका लागि निर्वाचित गरिएको हो । पार्टीकै टिकटबाट र सक्रियताबाट निर्बाचन जितेका अध्यक्ष र उपाध्यक्षहरुको यति धेरै विवाद देखिए पनि बसेर सल्टाउनुपर्नेमा दुबै जना आफ्नै पाराले चल्नाले परिस्थिति दुर्घटनातिर गएको कार्यकर्ताहरु बताउँछन् । ‘न त राजीनामा दिनेले पार्टीमा छलफल गरे, न त स्वीकृत गरे भन्नेले पार्टीको आधिकारिक कमिटीमा छलफल गरे’, पूर्व एमालेका युवाहरुले दुबैसँग गुनासो गरेका छन् । पार्टी कमिटीको बैठक राखेर कुनै पनि निर्देशन वा सल्लाह सुझाव दिन नसक्नुले मनहरी गाउँपालिकाको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष रामप्रसाद कालाखेती र सचिव हेमलाल उप्रेती पनि यो मुद्दामा दोषी भएको नेकपाका कार्यकर्ताहरुले बिश्लेषण गरेका छन् । मनहरीलाइभकाे सहयाेगमा