मकवानपुर । स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा गोकुल अधिकारी चयन भएका छन् । शनिबार हेटौंडामा भएको तेश्रो अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा प्रेमकला पौडेल, सचिवमा प्रमोद अर्याल, कोषाध्यक्षमा रणधीर गुप्ता र सदस्यमा जमुना थिङ चयन भएका छन् । २ जना सदस्य पछि चयन गरिने अध्यक्ष अधिकारीले बताए ।
संघले केन्द्रीय परिषद् सदस्यमा सुरेश श्रेष्ठ र आदर्श थोकर चयन भएका छन् भने प्रदेश परिषद् सदस्यमा मेनुका बल, रबिन्द्र वाइबा र दीक्षान्त खड्का चयन भएको छन् । स्वतन्त्र पत्रकार संघ राष्ट्रिय सल्लाहाकार नवराज पहाडीको प्रमुख आतिथ्यता र स्वतन्त्र पत्रकार संघ राष्ट्रिय कोषाध्यक्ष शालिग्राम पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सल्लाहकार पहाडीले पत्रकारहरु स्वतन्त्र हुनु पर्ने बताए । ‘पत्रकारिता पेशा आफैंमा स्वतन्त्र पेशा हो,’ उनले भने,‘तर, पत्रकारहरु पनि अहिले विभिन्न दलहरुसँग आवद्ध छ । दलीय आवद्धताले पत्रकारिता पेशा स्वतन्त्र हुन सक्दैन ।’ यस्तै विशिष्ट अतिथि राष्ट्रिय कोषाध्यक्ष पाण्डेले पत्रकारिता पेशा चुनौतिपूर्ण रहेको भन्दै क्षमतावान मान्छेहरुलाई पत्रकारिता पेशामा टिक्न गाह्रो नहुने बताए ।
मकवानपुर । मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको अध्यक्षमा लालकाजी रत्न बज्राचार्य सर्वसम्मतले चयन भएका छन् । शनिबार भएको छैठौँ पुर्नगठन कार्यक्रमले बज्राचार्यलाई ४ बर्षे कार्यकाल लागि पुनः अध्यक्षमा चयन गरेको हो ।
यसैगरी तेक्वान्दो कार्य समितिको प्रथम उपाध्यक्षमा निरु कुमारी मगर,द्वितीय उपाध्यक्षमा ओम कुमार लामा ,सचिवमा बिक्रम लामिछाने,सह—सचिवमा सुरेश ढुंगाना ,कोषाध्यक्षमा रबिन्द्र डंगोल रहेका छन् । जिल्ला तेक्वान्दो कार्य समितिमा १८ सदस्यीय कमिटि चयन भएका छन् ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल,मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष सानु लामा अतिथि रहेका थिए ।
मकवानपुर । मकवानपुरगढीकाे ज्यामिरेखोला पक्की पुलको उद्घाटन् शनिबार गरिएकाे छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ ज्यामिरेखोलामा निर्माण गरिएको पक्की पुलको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका हुन् । पुल गाउँपालिका, संघीय सरकार र प्रदेश सरकारको ३ करोड ११ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको हाे ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले हाल सम्म प्रदेश सरकारले ६२ वटा पुल निर्माणको काम गरिसकेको बताए । ‘साढे तीन वर्ष अगाडी स्थापना भएको प्रदेश सरकारले चार सय किलोमिटर पक्की सडक निर्माण गरिसकेको छ । विकासका काम भनेको कहिले पनि ढुङ्गीदैन । ठुला मुलुकमा पनि विकासको काम सकिएको छैन’ पाैडेलले भने ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले पुल निर्माण पछी यस क्षेत्रका स्थानीय बासिन्दालाई सहज हुने बताए । कार्यक्रममा जिल्ला विकास समिति मकवानपुरका पूर्व उपसभापति बद्री लंसाल, मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ का अध्यक्ष जितबहादुर घिमिरे, वडा नम्बर–६ का अध्यक्ष टिका दाहाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
ज्यामिरेको पक्की पुल संघिय सरकारबाट ८९ लाख ६४ हजार ३१९, प्रदेश सरकारबाट ३० लाख अनुदान र गाउँपालिकाको आन्तरीक श्रोतबाट २ करोड १८ हजार १६९ गरी कुल ३ करोड १९ लाख ८२ हजार ४ सय ८८ रुपैँया लागतमा निर्माण भएको गाउँपालिकाका अध्यक्ष हुँमागाईले जानकारी दिए । पुलको लम्बाइ २६.६५ मिटर र चौडाइ ७.२० मिटर छ ।
पुल निर्माणपछि गाउँपालिकाका वडा नं. ५ र ६ का बासिन्दा बढी लाभान्वित हुने भएका छन् । पुल नहुँदा वर्षायाम स्थानीयवासी ज्यामिरे खोला जाेखिम माेलेर वारपार गर्ने गर्दथे । उक्त क्षेत्रमा बर्षाकाे समयमा ज्यामिरेखाेलाले जन धनकाे समेत क्षती पुर्याउँदै अाएकाे थियाे । पुल निर्माण भएसँगै स्थानीयबासीलाई खाेला वारपार गर्न जाेखिम कम भइ सहज हुने भएको छ ।
मकवानपुर । हेटाैडामा भएकाे खुल्ला दाैड प्रतियाेगितामा महेश माेक्तान प्रथम भएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार भएकाे ५ किलोमिटर पुरुष खुल्ला दौड प्रतियोगितामा हेटौंडाका मोक्तान प्रथम भएका हुन ।
अन्तराष्ट्रिय युवा दिवस २०२१ को अवसरमा प्रदेश युवा परिषद् बागमती प्रदेशको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जिल्ला खेलकुद विकास समिति मकवानपुरको समन्वयमा दौड प्रतियोगिता भएको हाे । प्रदेश युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरि दिवस मनाइरहेका छ । अगष्ट १२ बाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम गर्न ५१ सदस्यीय मुल आयोजक समिति बनाइएको छ ।
शनिबार भएकाे दौड प्रतियोगितामा ४० जनाले सहभागि रहेको जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले बताए । हेटौंडाको बुद्धचोकबाट सुरु भएको दौड प्रतियोगिता पिप्लेपुगी पुनः बुद्धचोकमा अाइ समापन भएको थियो । प्रतियोगितामा हेटौंडा १३ वनस्पतिका मोक्तानले १६ मिनेट ३४ सेकेन्डमा दौड पुरा गरि प्रथम भएका थिए । त्यस्तै प्रदेश प्रहरी कार्यालयका सुरेश साह द्वितीय भएका छन् । उनले १७ मिनेट २६ सेकेन्डमा दौड पुरा गरेका थिए । प्रदेश प्रहरी कार्यालयकै एजिन राईले १७ मिनेट ३६ सेकेन्डमा दौड पुरा गरि तृतीय भएका छन् ।
साताव्यापी कार्यक्रमको पहिलो दिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतको विशेष आतिथ्यतामा प्रदेश युवा परिषद्को हेटौंडास्थित कार्यालयको उद्घाटन गरिएको थियो । त्यस्तै साउन २९ गते जिल्ला युवा समिति मकवानपुरको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भइसकेको छ भने साउन ३० गते जिल्ला खेलकुद विकास समितिको समन्वयमा ५ किलोमिटर दौड कार्यक्रम शनिवार भएको छ ।
साताव्यापी कार्यक्रम अन्तर्रगत साउन ३१ गते बाल कल्याण समाज मकवानपुरको समन्वयमा कोभिड–१९ संक्रमणको परिवेशमा बालबालिकालाई बालश्रमबाट जोगाँउ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिने भएकाे छ । साउन ३२ गते शिक्षाका लागि राष्ट्रिय अभियानको समन्वयमा अन्तरक्रिया कार्यक्रम संचालन गरिने छ । भदौ १ गते हेटौंडा लेडी जेसिसको समन्वयमा वक्तृत्वकला प्रतियोगिता संचालन गरिने तथा भदौ २ गते कार्यक्रम समापन गरिने जनाइएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवस विश्वका विभिन्न मुलुकमा सन् २०२० र नेपालमा सन् २००४ देखि मनाउन सुरु गरिएको हो ।
मकवानपुर । हेटाैडामा ‘कास्ट अन म्याथम्याटिक्स’ कार्यक्रम भएकाे छ । हेटौंडाकाे नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयमा ‘कास्ट अन म्याथम्याटिक्स’ कार्यक्रम शुक्रबार भएको छ । भर्चुअल माध्यमबाट नवोदय म्याथ क्लवको आयोजनामा ‘कास्ट अन म्याथम्याटिक्स’ कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले विद्यालयमा छलफल भएका गणित विषयका विषयवस्तुहरु स्लाइडमार्फत कक्षागत रुपमा प्रस्तुत गरेका थिए ।कार्यक्रममा कक्षागत रुपमा प्रस्तुत गरिएकाे विषयवस्तुकाे आधारमा कक्षा ७ लाई उत्कृष्ट समूह घोषणा गरिएकाे छ । भोटिङ र विद्यार्थीले दिएका प्रस्तुतिका आधारमा कक्षा ७ लाई उत्कृष्ट समूह घोषणा गरिएको हो । कार्यक्रममा म्याथ काउन्सिलका अध्यक्ष धनिकलाल शाह र नेपाल शिक्षक महासङ्घ नगरसमिति हेटौंँडाका अध्यक्ष दीपक अधिकारीले निर्णायक रहेका थिए ।
कार्यक्रममा बोल्दै हेटौंँडा क्याम्पसका क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धरले भावी दिनमा इन्टरनेशनल कन्फ्रेन्सको कार्यक्रममा सहभागिता जनाउनमा यसले ठूलो भूमिका निर्वाह गर्ने
बताएका छन् । ‘नवोदयले राम्रो कार्यक्रम सुरुवात गरेको छ । आउने दिनमा नयाँ योजना सहित नयाँ खोज र अनुसन्धान गरी कार्यक्रमलाई परिस्कृत गर्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्दछ’ उनले भने ।
यसैगरी म्याथ काउन्सिलका अध्यक्ष शाहले यस्ता कार्यक्रमले गर्दा विद्यार्थीहरुको सिर्जनशीलतामा विकास हुने बताए । यसैगरी नगरसमिति हेटौंडा अध्यक्ष अधिकारीले गणित विषय विषयमा मात्र सीमित नभई यसले जीवन उपयोगी कार्यमा पनि जोडिने गरेको बताए । ‘क्रियटिभ कामले विद्यार्थीलाई उत्प्रेरित गर्नुका साथै गणित विषयलाई सरल र सहज बनाउने छ’ उनले भने ।
म्याथम्याटिक्समा उत्पन्न भएका समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयवस्तु कार्यक्रमले समेटिएको गणित शिक्षा विषयका अनुशन्धान कर्ता टीकाराम पोखरेलले बताए । ‘म्याथम्याटिक्स विषय धेरै कठिनाई र गाह्रो भएको अभिभावकबाट गुनासो सुनिन्छ ’ पाेखरेलले भने –‘गणित विषयलाई सजिलो बनाउन र धेरैकुरा सिक्नमा यस्ता कार्यक्रमले मद्दत पु¥याउँदछ ।’
गणित विषयप्रति विद्यार्थीको दृष्टिकोण सकारात्मक होस् भन्ने हेतुले कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक आरती उप्रेतीले जानकारी दिइन् । नवोदय म्याथ क्लवका अध्यक्ष ईशान शर्माको अध्यक्षतामा कार्यक्रम भएको हो ।