मकवानपुर । हेटौंडामा हस्तकला तथा लघु उद्यम उपज प्रदर्शनी गरिएको छ । सातौ उद्योग दिवसका अवसरमा बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको संयुक्त आयोजनामा प्रदर्शनी गरिएको हो ।
मन्त्रालयको प्राङ्गणमा विहीबार १ दिनका लागि हस्तकला तथा लघु उद्यम उपज प्रदर्शनी गरिएको हाे । प्रदर्शनीमा ढाका, हाते होजीयारी, टेष्टी अचार, हस्तकलाका सामान, मसला, डल, कुसन, फ्रेमहरु लगायतका १५ वटा स्टल राखिएको थियाे।
विशेषगरी हत्तकला तथा लघु उद्यम उपजका सामाग्रीको बजारीकरण गर्नका लागि प्रदर्शनी गरिएको मन्त्रालयले जनाएको छ । मकवानपुर महिला उद्यमी व्यावसायीसंघमा आवद्ध महिलाहरुले उत्पादन गरेका सामान स्टलहरुमा राखिएको हाे ।

मकवानपुर । स्व बुद्ध रत्न शाक्य स्मृति विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आधुनिक राष्ट्रिय माविका कर्ण यादव प्रथम भएका छन् । जेसीआई हेटौंडा लेडी जेसीज सप्ताह २०२१ अन्तर्गत दोस्रो दिन विहीबार भएकाे वक्तृत्वकला प्रतियोगितामा आधुनिक माविकै रिसि यादव द्वितिय र चन्द्रोदय माविकी आश्र्या जर्गा मगर तृतिय भएका छन् ।
परिवर्तनको लागि उठ्नुस् र मानव विकासका लागि नेतृत्वको अभ्यास भन्ने विषय रहेकाे प्रतियोगितामा ६ वटा विद्यालयका १४ जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । जनसाहित्यिक मञ्च नेपालको केन्द्रीय सचिवालय सदस्य मसान उपासक र साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानले प्रतियाेगिताकाे निर्णयक रहेका थिए । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ सहित जेसीज सप्ताह २०२१ समापन समारोह अन्तिम दिन पुरस्कृत गरिने छ ।
यसैगरी विहीबार नै महिला उद्योमशीलता सम्बन्धि तालिम भएको छ । तालिममा १५ जना सहभागी रहेको थियो । दोस्रो दिनमै हेटौंडा १ स्थित चौकीटोलमा स्वागत बोर्ड समेत स्थापना गरिएको छ । जेसीआई हेटौंडा लेडीका अध्यक्ष प्रतिमा श्रेष्ठको सभाध्यक्षता तथा जेसीआई हेटौंडा लेडी २०२१ का बोर्ड सल्लाहकार शुक्रराज जोशीको प्रमुख अतिथ्यता रहेको थियो । प्रतियोगिता स्वास्तिका बानियाँको संयोजकत्वमा भएको थियो । मूल कार्यक्रम संयोजक कविता पौडेल, सह मूल कार्यक्रम संयोजक डिलमाया घर्ती र लेडीकै पूर्व अध्यक्ष रश्मि बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
नगरस्तरिय अन्तर विद्यालय (आधारभूत) तहको वक्तृत्वकला प्रतियाेगिता

यसै गरी बालअधिकारको सुनिश्चितताको लागि विद्यालयको भूमिका विषयमा नगरस्तरिय अन्तर विद्यालय (आधारभूत) तहको वक्तृत्वकला प्रतियोगिता छ । हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाको आयोजनना तथा महिला तथा बालबालिका महाशाखाको समन्वयमा कार्यक्रम भएको थियो ।
वक्तृत्वकला प्रतियोगितामा नवोदय शिसु सदनकी दर्शना सापकोटा प्रथम भएकी छिन् । द्वितिय जीएस निकेतन माविकी पूर्वजा न्यौपाने र तृतिय फेमकोल एकेडेमीकी एन्जिला मोक्तान भएका छन् । यसैगरी सान्त्वना बालजागृति बोर्डिङकी रेनिशा सापकोटा र प्रोत्साहनमा बालबोध माविकी आदित्या ढकाल भएका छन् । क्रमशः प्रथम, द्वितिय, तृतिय, सान्त्वनालाई स्टेशनरी सामाग्री र ब्याक सहित पुरस्कृत भएको छ । प्रोत्साहन पुरस्कारबाट छनौट भएकी ढकाललाई स्टेशनरी सामाग्री सहित पुरस्कृत गरको छ ।
प्रतियोगीहरुले बालअधिकार भनेको के हो ? बालबालिकाको स्थिति र यसमा विद्यालयको भूमिकाबारे आ–आफ्न धारणा राखेका थिए । १० वटा सामुदायिक र ८ वटा संस्थागत गरी १८ वटा विद्यालयका ३५ जना प्रतियोगिहरुको सहभागिता रहेको थियो । प्रतियाेगिताकाे निर्णयकमा ज्योति न्यौपाने, सिएम रिमाल, निर्जन अर्याल र माधव प्रसाद गौतमको भूमिका रहेको थियो ।
प्रतियोगीतामा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको सभाध्यक्षता तथा महिला तथा बालबालिका महाशाखाका अधिकृत जगन्नाथ सापकोटाको प्रमूख अतिथ्यता थियो ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा स्वीकृत भन्दा बढी नदीजन्य पदार्थ उत्खनन् गरिएकाे पाइए पछी साे वापत थप राजश्व सकलन हुने भएकाे छ । गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननबाट थप सवा करोड राजश्व उठाउने भएकाे छ । स्वीकृत १ लाख ३५ हजार घन मिटरमा १ लाख ६३ हजार ८ सय ७४ घन मिटर नदिजन्य पदार्थ उत्खनन भएको थियो । बढी उत्खनन् गरिएको नदीजन्य पदार्थको परिमाण २८ हजार ८ सय ६१ को हाल बिक्रि मुल्य १ करोड २२ लाख १८ हजार ५ सय ९२ रुपैयाँ गाउँपालिकाकाे आम्दानीमा राजश्व थप हुने भएकाे हाे ।
सामरी खोलामा ज्यालादारीका कामदार र स्वयमसेवकको लापरवाहीका कारण नदीजन्य पदार्थ उत्खनन् बढी भएको पुष्टि भएको छ । सोही बढी उठेको नदीजन्य पदार्थ बिक्री गर्दा पालिकाले राजश्व उठाउँदै गरेको गाउँपालिकाका प्रवक्ता भागवत घिमिरेले जानकारी दिए । बढी उत्खनन् गरिएको नदीजन्य पदार्थको परिमाण २८ हजार ८ सय ६१ बाट १ करोड २२ लाख १८ हजार ५ सय ९२ रुपैयाँ गाउपालिकालाई थप राजस्व रकम प्राप्त हुन आएको प्रवक्ता घिमिरेले जानकारी दिए ।
गाउँपालिका कार्यालयले बुधवार पत्रकार सम्मेलन गर्दै ज्यालादारी कर्मचारीको बदमासीले नदीजन्य पदार्थ बढी संकलन भएको जानकारी दिएकाे हाे । सामरी खोलाबाट वर्षातको समयमा खोलाको सतह बढेर वस्तीमा खोला पस्ने जोखिम न्यूनिकरणका लागि गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन् गरेको थियो । वस्ती जोगाउनका निम्ति उत्खनन् गरिएको नदीजन्य पदार्थ खोला क्षेत्रमै घाट गद्दी गरेर राखिएको थियो ।
उक्त घाट गद्दी गर्दा ज्यालादारी कर्मचारीले बढी उत्खनन् गरेको र यसलाई सबै राजनीतिक दल, पत्रकारहरुले चासो देखाएपछि गाउँपालिकाले कदम अगाडि बढाएको थियो । गाउँपालिकाका अनुसार नदीजन्य पदार्थ उत्खनन्मा खटिएका ज्यालादारीका कामदार र स्वयंमसेवकले प्रतिटिपको आधारमा गाउँपालिकालाई हिसाब बुझाएको पाइएको छ । हिसाबमा उनीहरुले १ लाख ३५ हजार घनमिटर नदीजन्य पदार्थ रहेको भन्ने प्रतिवेदन दिएको प्रवक्ता घिमिरेले बताए ।
उक्त प्रतिवेदनकै आधारमा नदीजन्य पदार्थ बिक्री गर्दा नेपाली कांग्रेसले नदिजन्य पदार्थ उत्खनन परिमाणमा चित्त नबुझेको भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराएको घिमिरेले बताए । उत्खनन् गरेर राखिएको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति र गाउँपालिकाको प्राविधिक टोलीले नापजाँच गर्दा स्वीकृत भन्दा बढी नदीजन्य पदार्थ उत्खनन् गरिएको पत्ता लागेको थियो ।
गाउँपालिकाका प्रवक्ता भागवत घिमिरेले ६ नम्बर वडामै मात्रै घाट गद्दी गरिएको नदीजन्य पदार्थमा बढी उत्खनन् भएको पाइएको जानकारी दिए । उनका अनुसार ६ नम्बर वडा क्षेत्रमा पर्ने खोलामा उत्खनन्का लागि खटिएको ज्यालादारीका कर्मचारीले बढी नदीजन्य पदार्थ उत्खनन् गरिएको पाइएको थियो ।
नदीजन्य पदार्थ उत्खनन्मा ज्यादालारी कामदार र स्वयमसेवकले बढी उत्खनन् गरेको आवाज उठेपछि गाउँपालिकाले तत्काल कदम चालेको पाइएको छ । गाउँपालिकाले सर्वदलीय बैठक बोलाएर सवै दलको निगरानीमा डम्पिङ गरी राखेको बाँध झोलुङगे पुल मुनिको थुप्रोवाट नदिजन्य पदार्थ बिक्रि वितरण गर्ने कार्य गरिएको जनाइएको छ ।
गाउँपालिकावाट जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइएको थुप्रोका परिमाण थप घटबढ हुनुका कारण तथा नदीजन्य पदार्थमा देखिएको विवाद वारे यथार्थ विवरण गाउँकार्यापलिका पेश गर्नको लागि गाउँकार्यापालिकाको बैठकले गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा छानविन समिति बनाएको थियो ।
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको विभिन्न पदहरुमा बुधबार मनोनयन गरिएको छ । संघको विधानमा व्यवस्था भए बमाेजिम विभिन्न पदहरुमा मनोनयन गरिएको संघले जनाएको हो ।
मनाेनयन हुनेहरु रोजगारदाता परिषदको सभापतिमा संघका उपाध्यक्ष उज्वल चौलागाई, बस्तुगत समन्वय समितिको संयोजकमा संघका उपाध्यक्ष राजु अधिकारी, महासचिवमा दिपक उप्रेती, सचिवहरुमा माधव ज्ञवाली, राजाराम कार्की र श्रीकृष्ण कर्माचार्य, सहकोषाध्यक्षमा निलम पाण्डे, महिला उद्यमी विकास समितिको सभापतिमा अंकिता सुमार्गी, बस्तुगत समन्वय समितिको सहसंयोजकमा तेजराज अधिकारी र प्रदिप अर्याल, सल्लाहकारमा उत्तमप्रसाद शर्मा, कानूनी सल्लाहकारमा ईश्वरराज ढकाल र आईटी परामर्शदातामा निरज श्रेष्ठ चयन भएका छन् ।
यसअघि संघको पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षमा अनिल अग्रवाल, कोषाध्यक्षमा सन्तोष कुमार अर्याल, कार्यसमिति सदस्यमा रवि कडेल शर्मा, जगदिश दहाल, विशेष आमन्त्रित सदस्यमा राजेन्द्र लामिछाने र कृष्णराज कोइराला मनोनित भएका थिए ।
संघ सल्लाहकारहरुमा हिरालाल श्रेष्ठ, श्याम सुन्दर ढकाल, अशोक शाक्य, महेन्द्र राउत, नरोत्तम दहाल, सरोज खनाल र अध्यक्ष सल्लाहकारमा विष्णु प्रसाद घिमिरे यसअघि नै चयन भइसकेका छन् ।
मकवानपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरले आठौँ पार्टी पुनर्गठन दिवसको अवसरमा हेटौंडामा दीप प्रज्वलन गरेको छ ।
पार्टी पुनर्गठन दिवसको अवसरमा मंगलबार साँझ हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन सहितको कार्यक्रम गरेको हो । हेटौंडा चौकिटोल स्थित जिल्ला पार्टी कार्यलयबाट र्याली सहित बुद्धचोक आइ दीप प्रज्वलन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विप्लव नेकपाका केन्द्रीय सदस्य एवं मकवानपुरका जिल्ला ईन्चार्ज इन्द्रबहादुर परियार (नयन) ले विप्लव नेतृत्वको नेकपाले दलाल पूजीवादी सत्ताको विरुद्धमा वैज्ञानिक समाजवादीको लक्ष बोकेर सर्घषमा अघि बढिरहेको बताए ।
उनले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र तत्कालिक माओवादीका नेता अहिलेको जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनलाई अलपत्र पारेर पूजीवादी सत्तामा गएपछि विप्लवको नेतृत्वमा नेकपाको पुनर्गठन गरिएको बताए । उनले कुनैपनि हालतमा एमसीसी पास हुन नदिने समेत उद्घोष गरे ।
कार्यक्रममा जिल्ला सेक्रेटरी वाटर,जिल्ला सदस्य एवं नगर सेक्रेटरी सूर्य अर्याल,जनवर्गीय संगठनका ईन्चार्जहरु नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसअघि आजै विप्लव नेकपाले दिवसको अवसरमा पार्टी कार्यलयमा शुभकामना एवं चियापान कार्यक्रम गरेको नेकपा विप्लव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरका जिल्ला उपाध्यक्ष ललित घलानले जानकारी दिए ।
घदानले पुनर्गठन दिवसको अवरसरमा मंसिर ६ गते हेटौंडामा मोटरसाईकल र्याली र मंसिर ७ गते “राष्ट्रिय स्वाधीनता र वैदेशिक हस्तक्षेप” विषयक वक्तृत्वकला र जिल्लाको विभिन्न स्थानीय तहमा फुटबल खेलकुद कार्यक्रम गरिएको बताए ।