मकवानपुर । सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) मकवानपुरले सोमबार बागमती प्रदेश मुख्यमन्त्री कार्यालयमा ‘थाल ठटाएर’विरोध गरेका छ । बागमती प्रदेशको वन ऐन,२०७६ संशोधन गर्न माग गर्दै महासंघ मकवानपुरले सोमबार १ घण्टा मुख्यमन्त्री कार्यालयको मुख्यगेटमा विरोध प्रदर्शन गरेको हाे ।
फेकोफन मकवानपुरले देशव्यापी रुपमा सचालन गरेकाे सप्ताहव्यापी विराेध कार्यक्रम अन्तर्गत प्रदेश वन ऐन,२०७६ विरोधमा आइतबार बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयमा धर्ना दिएको थियो ।
बागमती प्रदेश सरकारले ऐनलाई संशोधन नगरेको र आन्दोलन स्वरुप १ घण्टा थाल ठटाएर विरोध प्रदर्शन गरेको फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाईले बताए । विरोध प्रदर्शनमा वन ऐनका ९४ दफामध्ये ८० वटाभन्दा धेरै दफा नेपालको संविधान र संघीय वन ऐन २०७६ संग बाझिएकाले ऐन संशोधन वा खारेज गरी नयाँ ऐन तर्जुमा गर्न माग गरिएको छ ।
मकवानपुर । तामाङ समुदायकाे सांस्कृतिक तथा धार्मिक पर्व ल्होछारको अवसरमा मकवानपुरको बागमती, राक्सिराङ र बकैयाले आआफ्नाे गाउँपालिकामा ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने २८५८ औँ सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष)का अवसरमा बागमती गाउँपालिकाले माघ १८, १९ र २० गते र बकैया र राक्सिराङ गाउँपालिकाले माघ १९,२० र २१ गते सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे । सोमबार सूचना जारी गर्दै गाउँपालिकाहरुले ल्होछारमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।
मकवानपुर जिल्लामा तामाङ समुदायको बाहुल्यता रहेको छ । तामाङ समुदायको बाहुल्यता रहेको भन्दै ल्होछार मुख्य दिन १९ गते र साे दिनकाे १ दिनअघि र १ दिनपछि गरी ३ दिनसम्म सार्वजनिक विदा दिएको बागमती गाउँपालिकाले जनाएकाे छ । त्यसैगरी बकैया र राक्सिराङ गाउँपालिकाले ल्होछार मुख्य दिन १९ गते र त्यस पछीकाे २ दिन विदा दिएकाे जनाएको छ । ३ दिन सार्वजनिक विदाको समयमा पनि कोभिड–१९ विरुद्धको खोप अभियान तथा अन्य नियमित खोप कार्यक्रमहरु भने सञ्चालन हुने जनाइएको छ ।
यसैगरी काभ्रेपलाञ्चोकको रोशी तेमाल गाउँपालिकाले २८५८ औँ सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष)का अवसरमा आगामी माघ १८, १९ र २० गते तीन दिन गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालय, सङ्घसंस्था र बैंक तथा वित्तीय संस्थाहरू तीन दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यस्तै मकवानपुर लगायत बागमती प्रदेशका जिल्लाहरुमा साेनाम ल्हाेछारमा सार्वजनिक विदा माग गर्दै यस अघी मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ज्ञापनपत्र समेत बुझाएका थिए । नेपाल तामाङ घेदुङ संघीय कार्य समितिले बागमती प्रदेशमा सोनाम ल्होछारका अवसरमा ३ दिन सार्वजनिक विदा दिन माग गर्दै ज्ञापना पत्र बुझाएका थिए ।



मकवानपुर । शहीद दिवसकाे दिन नवोदय साहित्यिक बगैँचा बाल क्लवले आइतबार विशेष कार्यक्रम आयोजना गरेको छ ।
बाल क्लवले भर्चुअल माध्यमबाट आयाेजना गरेकाे शहीद दिवस अन्तर्गत बहस कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले राणाकालमा साहादत प्राप्त गर्ने शहीदहरुले योगदान गरेर नै देशमा स्वतन्त्रता आएको बताए । यसैगरी नेकपा माओवादीका नेता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष ललित घलानले राष्ट्रका लागि निस्वार्थ रुपमा शहीदहरुले योगदान पु¥याएकाले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।
‘देशलाई अगाडितर्फ लैजानको निम्ति शहीदको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।’ उनले भने –‘पार्टीले र राज्यले नै शहीदलाई विशेष प्राथमिकता दिदै रोजगार, शिक्षालगायत अन्य क्षेत्रमा शहीदका परिवारलाई उचित ध्यानदिनुपर्ने बेला आएको छ ।’
जनता समाजवादी पार्टी मकवानपुरका अध्यक्ष राजेन्द्र सिंखडाले शहीदलाई माल्यार्पण गर्दैमा शहीदको सपना पूरा नहुने बताए । शहीदलाई लिएर राजनीतिक दलले पार्टी विशेषको रुपमा भागवन्डा गर्ने गरेकोमा उनले गुनासो पोखे ।
कार्यक्रम अन्तर्गत शहीदले पु¥याएकाे योगदानमा आधारित ४ मिनेटको वृत्तचित्रसमेत प्रस्तुत गरिएकाे थियाे । कार्यक्रममा बालज्योति माध्यमिक विद्यालयका रियाज कार्की, जिएस निकेतन विद्यालयका आयुषजन विष्ट, ब्रम्हदिक एकेडेमीकी जेनिशा अधिकारी, अमर माविकी सुस्मिता ढुङ्गाना, जेनिथ इन्टरनेशनल बोर्डिङका सुभम खनाल, नवोदय विद्यालयका सत्कार स्याङतान, सेरोन गिरी र प्रीतिका कार्कीले रचना वाचन गरेका थिए ।
कार्यक्रमको संयोजक तथा क्लवका अध्यक्ष अनुशा उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो । साहित्यकार डीबी बर्ताैला, पत्रकार सुरेश श्रेष्ठ, लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध नाईट्रोभेटसहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिकाको २ छुट्टाछुट्टै स्थानबाट नाईट्रोभेट १ सय १६ ट्याब्लेटसहित हेटाैडा ४ बस्ने वर्ष ३४ का अनिल कुमार तामाङ र जितपुर सिमरा २२ बारा बस्ने वर्ष २३का अनिस तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
शुक्रबार भुटनदेवी मोडतर्फबाट शितलमहल चोकतर्फ जाँदै गरेको गरेको बा २४ प ४५९५ को मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक अनिलको साथबाट ४८ ट्याब्लेट नाईट्रोभेट बरामद भएपछि पक्राउ गरेको प्रहरी निरीक्षक रिमालले बताए ।
यस्तै, शुक्रबार नै हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कस्थित बसिरहेका अनिसलाई शंका लागि चेकजाँच गर्दा लागूऔषध नाईट्रोभेट ६९ ट्याब्लेट बरामद भएपछि पक्राउ गरेको प्रहरी निरीक्षक रिमालले बताए ।
प्रहरीका अनुसार पक्राउ परेका दुबै जनालाई आइतबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेकाे छ ।
मकवानपुर । हेटौंडा ७ मा रहेको न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समुहको ३१ औं वार्षिक साधारणसभा शनिबार भएको छ ।
संस्थाका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा ७ नम्बर वडा अध्यक्ष राजन थापाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष थापाले वन समुहले विभिन्न समयमा तालिममार्फत उपभोक्तालाई आयआर्जनमा अघि बढाएको भन्दै समुहको प्रशंसा गरे ।
कार्यक्रममा संस्थाका अध्यक्ष क्षेत्रीले समुहको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका सचिव शान्ति चौलागाईंले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बिजय गौतमले आर्थिक प्रतिवेदन सभामा पेश गरेका थिए ।
संस्थाले साधारणसभाको अवसरमा विभिन्न क्षेत्रमा सम्मान तथा पुरस्कृत समेत गरेको छ । संस्थाले जेष्ठनागरिक तर्फ भानुभक्त पौडेल र धनकुमारी दाहाललाई पौष्टिक आहार, दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको छ ।
यस्तै कृषि र पशुपालन तर्फ सुर्य बहादुर पाख्रीनलाई कृषि औजार र सरसफाइ तर्फ कृष्ण बहादुर थापालाई सरसफाइ सामाग्री सहित प्रमाणपत्रले सम्मान गरिएको थियो भने संस्थाको गतिविधिलाई संचारमाध्यममार्फत प्रचारप्रसार गरेको भन्दै पत्रकारद्वय पुष्पराज अधिकारी र भिमसेन पौडेललाई नगद पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मानित गरिएको छ।
यसैगरी बनक्षेत्रमा लागेको डडेलो नियन्त्रणमा उल्लेखनीय भुमिका निर्वाह गर्ने उपभोक्ता सुभद्रा घिसिङ र सरिता घलानलाई पनि सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूह मकवानपुरका अध्यक्ष साधुराम चौलागाईं, अस्मिता नेपालकी अध्यक्ष आरती पाठक, रानी वन उपभोक्ता समुहका उपाध्यक्ष केशव धिताल, समुहका सल्लाहकार रघु आचार्य लगाएतले मन्तव्य व्यक्त गरेका थिए । ७१ हेक्टर क्षेत्रफलमा फैलिएको समूह २०७३ सालमा सर्वमान्य गणेशमान सिं वन पुरस्कार तृतीयबाट पुरस्कृत भएको थियो ।