मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेकाे छ । हेटौंडाको रातोमाटेबाट लागुऔषध नाईट्राभेट, नुफिम, डाईजापाम, फेनारगनसहित आइतबार २ जना पक्राउ परेका हुन् ।
प्रकाउ पर्नेमा बिरगंज महानगरपालिका वडा नम्बर ९ पर्सा बस्ने वर्ष ४२ को ईश्वर बहादुर उदास र वर्ष २४ को सन्दिप कुमार श्रेष्ठ रहेको मकवानपुर प्रहरीले जानकारी दिएको हो । प्रहरीका अनुसार आइतवार राती साढे ११ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नं १५ रातोमाटे चेकपोष्ट स्थितमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा विरगंजबाट हेटौडा तर्फ आउदै गरेको बा ४० प ६४७८ नम्बरको मोटरसाईकलसहित उनीहरुलाई लाई पक्राउ गरिएको छ ।
उनीहरुको साथबाट लागुऔषध नाईट्राभेट ३०० ट्याब्लेट,नुफिम ५३ एम्पुल,डाईजापाम ५० एम्पुल, फेनारगन ५६ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । लागुऔषध सहित पक्राउ परेका उदास र श्रेष्ठलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट दिन १८ म्याद लिई थप अनुसन्धान कार्य भईरहेको रिमालले जानकारी दिए छन् ।
मकवानपुर । राष्ट्रिय युवा संघ नेपाल भीमफेदी गाउँपालिकाले संगठन विस्तार अभियानलाई तीब्रता दिएको छ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघको आइतबार भीमफेदी ७ र ८ नम्बर वडामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
युवा संघ भीमफेदी गाउँपालिकाका अनुसार संयुक्त भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।
भीमफेदी–७ मा जनक चुनीको अध्यक्षतामा २१ सदस्यीय र भीमफेदी–८ मा विनेश अधिकारीको अध्यक्षतामा २३ सदस्यीय कमिटी गठन गरिएको हो ।
गाउँपालिकाका सबै वडामा पार्टीका निर्देशन अनुसार नयाँ कार्यसमिति गठन भइरहेको छ ।
मकवानपुर । हेटौंडा भेट्रान्स क्लबले चेपाङ विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेकाे छ । हेटौंडा–१५ रातोमाटेस्थित जनजागृति माध्यामिक विद्यालयमा ५ कक्षासम्म अध्ययनरत चेपाङ तथा विपन्न परिवारका विद्यार्थीलाई क्लबले न्यानो कपडा ट्रयाक–सुट सहयोग गरेको हो ।
क्लबका उपाध्यक्ष नवराज बज्राचार्यको अध्यक्षता तथा वडा नम्बर १५ का वडा अध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यमा आइतबार बिहान ५५ जना विद्यार्थीलाई ट्रयाक–सुट हस्तान्तरण गरिएको हो ।
भेट्रान्स क्लबले ३३ हजार रुपैयाँ बराबरको ट्रयाक–सुट सहयोग गरेको क्लबका सदस्य कविन सांगामीले बताए । हेटौंडा–१ स्थित ग्लोबल सर्जिकल सप्लायर्सका सञ्चालक राजन सञ्जेलले विद्यालयलाई १० हजार रुपैयाँ बराबरको सेनिटाइजर र मास्क सहयोग समेत गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी पूर्वअध्यक्ष मीना लामा, प्रधानाध्यापक दीपकलाल खतिवडा, क्लबका कोषाध्यक्ष रमेश उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरका २९ सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा समावेश भएका छन् । मकवानपुरमा २७ वटा विद्यालयमा शैक्षिक सुधारका लागि आइसीटी ल्याब व्यवस्थापन , १ विद्यालयमा प्राविधिक ल्याब व्यवस्थापन र १ विद्यालयलाई भवन निर्माण गर्न अनुदान दिने भएको हो ।
हेटाैडा उपमहानगरपालिको प्रगति मावि, महेन्द्र किरण मावि, महेन्द्र मावि, जनजागृति मावि, बालबोध मावि, ज्योति मावि, अमर मावि र अरनिको माविलाई आइसिटी ल्याब स्थापना गर्न सरकारले अनुदान दिने भएको हाे । यी सबै विद्यालयले आइसीटी ल्याब स्थापनाकाे लागि ६ लाख ५० हजार रुपियाँका दरले रकम पाउने छन् । यसैगरि,उपमहानगरपालिका भित्रकै आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रले चार कोठे भवन निर्माणका लागि ३६ लाख रुपैयाँ अनुदान पाउने भएको छ ।
यसैगरि जिल्लाको कैलाश गाउँपालिकाको एकमात्र कालिका मावि, इन्द्रसरोवर गाउँपालिकाको पञ्चकन्या मावि, मनहरीको एकमात्र युवावर्ष आधारभूत विद्यालय छनौट भएका छन् । यसैगरी, बागमती गाउँपालिकाको देवकी मावि, सूर्य मावि र जनता माविले आइसीटी ल्याब बनाउन अनुदान पाउने भएका छन् । आइसीटी ल्याबकै लागि बकैया गाउँपालिकाको कर्मप्राप्ति मावि, महेन्द्र मावि, बुद्ध मावि, बाघभैरव मावि, कालिका मावि, कालीदेवी मावि छनौट भएका छन् । यसैगरि,थाहा नगरपालिकाको बागेश्वरी मावि, सुनौला मावि, इन्द्रायणी मावि, स्वच्छन्दभैरव माविले आइसीटी ल्याबकाे लागि अनुदान रकम पाउने छन् ।
मकवानपुरगढी गाउँपालिकाको बंशगोपाल माविले प्राविधिक ल्याब बनाउन १० लाख अनुदान रकम पाउने भएको छ ।यस्तै, मकवानपुरगढीकै जनक मावि र भीमफेदी गाउँपालिकाको लेकाली बसीफाँटले आइसीटी ल्याबकाे लागि अनुदान पाउने छन् । शैक्षिक सुधारका लागि जिल्लाको विकट राक्सिराङ गाउँपालिकाको कुनैपनि विद्यालय छनोटमा परेको छैन् ।
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयानुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका चार हजार १ सय ५७ सामुदायिक विद्यालय छनोट गर्दा मकवानपुरका २९ विद्यालय परेका हुन् ।
शिक्षा मन्त्रालयका अनुसार छनोट भएका विद्यालयमध्ये ९ सय ७६ विद्यालयमा ४ कोठे भवन, ९ सय ६६ विद्यालयमा २ कोठे भवन निर्माण गरिनेछ । यस्तै, २ हजार १ सय ६ विद्यालयमा आइसीटी ल्याब व्यवस्थापन, ८८ मा प्राविधिक ल्याब र २१ नयाँ प्राविधिक शिक्षालय निर्माण गरिनेछ । चार कोठे भवन निर्माणका लागि प्रति विद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार रकम उपलब्ध ग गराइनेछ ।
नयाँ प्राविधिक शिक्षालयका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई जम्मा ७० करोड ५९ लाख ६ हजार, प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि ८८ विद्यालयलाई ८८ करोड रकम छुट्याइएको छ । साथै, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुटेका १४ विद्यालयका लागि ३३ करोड ६० लाख रकम उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ । विद्यालय छनोट गरी बाँकी १ अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षा मन्त्रालयले जनाएकाे छ । देशका ७३७ स्थानीय तहबाट १३ हजार ४ सय ७३ विद्यालयले प्रस्ताव पठाएका थिए । जसमा ७ हजार ९ सय ८६ विद्यालयले भवन निर्माण, ४ हजार २ सय ३५ विद्यालयले आईसीटी ल्याब, १ सय १७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १ सय ८८ र घेराबार खेल मैदानमा ९ सय ४७ विद्यालयले आवेदन दिएका थिए । निवेदन दिन बाँकी रहेका पालिकाहरुलाई समेत सम्बोधन गरिने मन्त्रालयले जानकारी दिएकाे छ ।
हेटाैंडामा ३ कविका २१ कविता
Tags: No Comments
मकवानपुर । हेटाैडामा ३ कविका २१ कविता सुनिएका छन् । साहित्य सङ्गम मकवानपुरकाे आयाेजनामा भएकाे कार्यक्रममा ३ कविले कविता वाचन गरेका हुन् ।
मकवानपुरे कवि जेनन नेपाल हाल अष्ट्रेलियाले प्रायाेजन गरेकाे कविता वाचन कार्यक्रम शनिबार हेटाैडाकाे माेटल एभाेकाडाेमा भएकाे हाे । मकवानपुरसहित माेरङ र बाग्लुङ जिल्लाका ३ जना समकक्षी कविले २१ कविता कार्यक्रममा वाचन गरेका थिए । मकवानपुरका कवि निमेष निखिल, माेरङका कवि ज्याेति जङ्गल र बाग्लुङका कवि भूपिन खड्काले आआफ्ना ७/७ कविता कार्यक्रममा वाचन गरेका हुन ।
कविता वाचन कार्यक्रमकाे पहिलाे चरणमा कवि भूपिनले चोरी एक तुलनात्मक अध्ययन, कुरुप कविता, चवालिस, तेइसौ सताब्दी शिर्षकका ४ वटा कविता वाचन गरेका थिए । कवि ज्योतिले बादशाहको चुम्बन, प्रेमी देश, आमाहरु, म कसैलाई सम्झिरहेको किन छु शिर्षकमा ४ वटा कविता सुनाएकी थिइन् । यस्तै कवि निमेषले ऐना अगाडी, शोक गीतको पोष्टमार्टम, समय र कवि, सम्बोधनमा मित्र राम विलास गरी ४ वटा कविता सुनाएका थिए ।
कार्यक्रमकाे दाेस्राे चरणमा कवि भूपिनले नोटको जिबनि, ढुङ्गा, बसुन्धरा शिर्षकका कवि ज्याेतिले लैजानु, काग अवतार, सिकाइ शिर्षकका र कवि निमेषले कविताका नाममा, क्रान्ति, स्वीकाराेक्ती शिर्षकका ३/३ कविता वाचन गरेका थिए ।
साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्याैपानेकाे सभाध्यक्षतामा भएकाे कार्यक्रमा समाजिक विकास मन्त्रालय बागमती प्रदेशका मन्त्री कुमारी माेक्तानकाे प्रमुख आतिथ्यता संगम मकवानपुरका संस्थापक अध्यक्ष नवराज शर्मा विशिष्ट आतिथ्यता रहेकाे थियाे ।
मकवानपुरका कवित सुवास खनालले कार्यक्रममा सुनिएका कविताका कविहरुकाे बारेमा संक्षेपमा परिचय गराएका थिए । संगम उपाध्यक्ष सानु खनालले स्वागत मतव्य राखेर शुरु भएकाे कार्यक्रम संगमका सचिव डीवी बर्ताैलाले संचालन गरेका थिए ।