मकवानपुर । मकवानपुरका २९ सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा समावेश भएका छन् । मकवानपुरमा २७ वटा विद्यालयमा शैक्षिक सुधारका लागि आइसीटी ल्याब व्यवस्थापन , १ विद्यालयमा प्राविधिक ल्याब व्यवस्थापन र १ विद्यालयलाई भवन निर्माण गर्न अनुदान दिने भएको हो ।
हेटाैडा उपमहानगरपालिको प्रगति मावि, महेन्द्र किरण मावि, महेन्द्र मावि, जनजागृति मावि, बालबोध मावि, ज्योति मावि, अमर मावि र अरनिको माविलाई आइसिटी ल्याब स्थापना गर्न सरकारले अनुदान दिने भएको हाे । यी सबै विद्यालयले आइसीटी ल्याब स्थापनाकाे लागि ६ लाख ५० हजार रुपियाँका दरले रकम पाउने छन् । यसैगरि,उपमहानगरपालिका भित्रकै आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रले चार कोठे भवन निर्माणका लागि ३६ लाख रुपैयाँ अनुदान पाउने भएको छ ।
यसैगरि जिल्लाको कैलाश गाउँपालिकाको एकमात्र कालिका मावि, इन्द्रसरोवर गाउँपालिकाको पञ्चकन्या मावि, मनहरीको एकमात्र युवावर्ष आधारभूत विद्यालय छनौट भएका छन् । यसैगरी, बागमती गाउँपालिकाको देवकी मावि, सूर्य मावि र जनता माविले आइसीटी ल्याब बनाउन अनुदान पाउने भएका छन् । आइसीटी ल्याबकै लागि बकैया गाउँपालिकाको कर्मप्राप्ति मावि, महेन्द्र मावि, बुद्ध मावि, बाघभैरव मावि, कालिका मावि, कालीदेवी मावि छनौट भएका छन् । यसैगरि,थाहा नगरपालिकाको बागेश्वरी मावि, सुनौला मावि, इन्द्रायणी मावि, स्वच्छन्दभैरव माविले आइसीटी ल्याबकाे लागि अनुदान रकम पाउने छन् ।
मकवानपुरगढी गाउँपालिकाको बंशगोपाल माविले प्राविधिक ल्याब बनाउन १० लाख अनुदान रकम पाउने भएको छ ।यस्तै, मकवानपुरगढीकै जनक मावि र भीमफेदी गाउँपालिकाको लेकाली बसीफाँटले आइसीटी ल्याबकाे लागि अनुदान पाउने छन् । शैक्षिक सुधारका लागि जिल्लाको विकट राक्सिराङ गाउँपालिकाको कुनैपनि विद्यालय छनोटमा परेको छैन् ।
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयानुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका चार हजार १ सय ५७ सामुदायिक विद्यालय छनोट गर्दा मकवानपुरका २९ विद्यालय परेका हुन् ।
शिक्षा मन्त्रालयका अनुसार छनोट भएका विद्यालयमध्ये ९ सय ७६ विद्यालयमा ४ कोठे भवन, ९ सय ६६ विद्यालयमा २ कोठे भवन निर्माण गरिनेछ । यस्तै, २ हजार १ सय ६ विद्यालयमा आइसीटी ल्याब व्यवस्थापन, ८८ मा प्राविधिक ल्याब र २१ नयाँ प्राविधिक शिक्षालय निर्माण गरिनेछ । चार कोठे भवन निर्माणका लागि प्रति विद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार रकम उपलब्ध ग गराइनेछ ।
नयाँ प्राविधिक शिक्षालयका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई जम्मा ७० करोड ५९ लाख ६ हजार, प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि ८८ विद्यालयलाई ८८ करोड रकम छुट्याइएको छ । साथै, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुटेका १४ विद्यालयका लागि ३३ करोड ६० लाख रकम उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ । विद्यालय छनोट गरी बाँकी १ अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षा मन्त्रालयले जनाएकाे छ । देशका ७३७ स्थानीय तहबाट १३ हजार ४ सय ७३ विद्यालयले प्रस्ताव पठाएका थिए । जसमा ७ हजार ९ सय ८६ विद्यालयले भवन निर्माण, ४ हजार २ सय ३५ विद्यालयले आईसीटी ल्याब, १ सय १७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १ सय ८८ र घेराबार खेल मैदानमा ९ सय ४७ विद्यालयले आवेदन दिएका थिए । निवेदन दिन बाँकी रहेका पालिकाहरुलाई समेत सम्बोधन गरिने मन्त्रालयले जानकारी दिएकाे छ ।

