मकवानपुर / प्रेस चौतारी नेपाल मकवानपुरले सूचना केन्द्र स्थापना गरेको छ । आसन्न स्थानीय तहको निर्वाचन प्रचार प्रसारका लागि चौतारीले आइतबार सूचना केन्द्र स्थापना गरेको हो ।
नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जिल्ला पार्टी कार्यालयमा सूचना केन्द्रको उद्घाटन गर्नुभयो । उहाँले सूचना केन्द्रको माध्यमबाट नेकपा एमालेले आसन्न निर्वाचनका तयारीका लागि गर्ने गतिविधिहरु, एमालेका घोषणा, योजना तथा प्रतिबद्धताहरु सबै जनतामाझ पुग्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँले सोमबार नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, १९ वटै वडाहरुका वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारहरुले एकसाथ उम्मेदवारी दिने पनि जानकारी दिनुभयो ।
बिहान १० बजे पार्टी कार्यालयमा जम्मा भएर एकसाथ २ हजार जना भन्दा बढिको उपस्थितिमा र्यालीसहित उम्मेदवारी दिने उहाँले बताउनुभयो । प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपाल बागमती प्रदेश महासचिव प्रकाश दाहालको समेत उपस्थिति रहेको थियो ।
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा सत्ताधारी ५ दलीय गठबन्धन अन्तरगत मकवानपुर जिल्लाका अन्तिम अवस्थामा आएर बाध्यकारी सहमति भएको छ ।
केन्द्रीय निर्देशन र प्रदेशको समन्वय र जिल्लाको सहकार्यमा गठबन्धनबाट जिल्लाको १० स्थानीय तहमा भागबण्डा टुङ्गीएको हो । जस अनुसार नेपाली काँग्रेसले ६ वटा पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख पद पाएको छ । यसैगरी यसैगरी नेकपा एकीकृत समाजवादीले जिल्लाको १० मध्ये २ पालिकामा प्रमुख पद पाएको छ । माओवादीले ३ वटा पालिकामा प्रमुख पद पाएको छ ।
आज ११ बैशाखमा बसेको बागमती प्रदेश स्तरीय गठबन्धनको बैठकले यो भागबण्डा मिलाएको हो । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसको बैठकले मकवानपुरको थाहा नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्र उपप्रमुखमा नेपाली कांग्रेसलाई दिएको छ ।
यसैगरी मकवानपुरगढी गाउपालिका अध्यक्षमा नेपाली कांग्रेस उपाध्यक्षमा नेकपा माओवादी केन्द्र, भिमफेदी गाउँपालिका
अध्यक्षमा नेकपा माओवादी केन्द्र, उपाध्यक्षमा नेपाली कांग्रेस ईन्द्रशरोबर गाउपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादी
उपाध्यक्षम नेपाली काँग्रेसलाई भाग दिइएको छ ।
यसैगरी मनहरी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस, उपाध्यक्षमा नेकपा माओवादी केन्द्र, राक्सिराङ्ग गाउँपालिका
अध्यक्षमा नेपाली कांग्रेस उपाध्यक्षमा नेकपा माओवादी केन्द्र, कैलाश गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस उपाध्यक्षमा नेकपा माओवादी केन्द्र, बकैया गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस उपाध्यक्ष नेकपा माओवादी केन्द्र, बागमती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र, उपाध्यक्षमा नेपाली कांग्रेसलाई दिइएको छ ।
हेटौडा उपमहानगरपालिका गठबन्धनको केन्द्रीय संयन्त्रबाट यस अघि नै मेयरमा नेकपा एकीकृत समाजवादी र उपमेयर काँग्रेसलाई दिने निर्णय भैसककेको छ ।
पार्टीगत भागबण्डा मिलेपनि गठबन्धनमा सहभागी दलहरुले आफ्नो उम्मेदवारी अझै टुङ्गो लगाएका छैनन् । भोली बिहानसम्म यो बिषय टुङ्गीने सम्बन्धित पार्टीहरुले जनाएको छ ।
मकवानपुर । निर्वाचनको मनोनयन दर्ता सुरूहुंदासम्म मकवानपुर कांग्रेस भित्रको विवाद टुङ्गिएको छैन । सत्तारूढ ५ दलीय गठबन्धनको बिरोधमा रहेको नेपाली कांग्रेस मकवानपुरले अझैसम्म हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी टुङ्गयाएको छैन । यता जिल्लाको बकैया गाउँपालिकामा कांग्रेसले गठबन्धनको निर्णय नमान्ने र एकल रूपमा चुनावी मैदानमा जानेबारे निर्णय भएको पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय सुरुहुँदा समेत पार्टीको माथिल्लो निकायबाट कुनै निर्देशन नआएकोभन्दै आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरी बकैयाले गठबन्धन नगर्ने घोषणा गरेको हो ।
कांग्रेस वकैया सभापति दिलबहादुर भोम्जन तथा १२ वटै वडाका सभापतिहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको हो । ‘स्थानीय औचित्यको आधारमा गठबन्धन गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । स्थानीयस्तरमा गठबन्धनको औचित्य नभएपछि हामी एकल चुनावी प्रतिस्पर्धामा जान तयार भएका हौं ।’, उनले भने ।
मकवानपुर । लोकतन्त्र दिवसका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले देशवासीलाई शुभकामना दिएका छन् ।
प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै लोकतन्त्र प्राप्तिका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूको समेत सम्झना गरेका छन् ।
“आफ्नो देश र संसारभरी जहाँ–जहाँ छरिएर रहे पनि राष्ट्रियताको एकै सूत्रमा बाँधिएर रहेका नेपाली समुदायप्रति सुख,शान्ति र समृद्दिका लागि हार्दिक शुभकामना’ शर्माद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
प्रमुख शर्माले २०६२/०६३ सालको वसन्त विद्रोहबाट मुलुकमा लोकतन्त्र स्थापना भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रुपमा यो दिवस मनाउँने गरिएको उल्लेख छ । नेपालीहरुले विभिन्न कालखण्डमा गरिएको संघर्षबाटै अधिकार प्राप्त गरेको जनाउँदै शुभकामना सन्देशमा भनिएको छ,‘नेपालीहरुले विभिन्न कालखण्डमा गर्दै आएका संघर्ष तथा बलिदानको उपलब्धि स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थाले उपलब्ध गराएका अधिकारहरुको उपभोग गर्दा हामीले गौरवबोध गर्न सक्नुपर्दछ ।’
सन्देशमा प्रमुख शर्माले राष्ट्रले अवलम्बन गरेको संघीयता,गणतन्त्र,धर्मनिरपेक्षता र समानुपातिक समावेशितासहितको समाजवाद उन्मुख संविधानद्धारा प्रदत्त अधिकारले स्वतन्त्र नागरिक हुने अवसर प्राप्त गरेको उल्लेख गर्दै शोषण, दमन र उत्पीडनविरुद्धको बलिदानपूर्ण संघर्षको जगमा स्थापित लोकतन्त्रको अर्थपूर्ण उपयोगबाट भविष्य निर्माण गर्नु हामी सबैको कर्तव्य रहेको भएको उल्लेख छ ।
सन्देशमा उहाँले भन्नुभएको छ, ‘त्यही वसन्त विद्रोहको राप–तापमा स्थापित लोकतन्त्रले राजनीतिक क्रान्ति सम्पन्न गरिसकेको छ । यस परिप्रेक्ष्यमा सामाजिक रुपान्तरण र आर्थिक क्रान्तिलाई सम्पन्न गर्न हामी सबैले साझा दायित्वको रुपमा ग्रहण गर्नुपर्दछ ।’ शुभकामना सन्देशमा प्रमुख शर्माले आज यो दिवस मनाइँरहँदा देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्दि हासिल गर्नका लागि हामी सबैलाई यो दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ ।
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिन बागमती प्रदेशसभा सदस्य केशब स्थापितले राजिनामा दिएका छन् ।
नेकपा ( एमाले) को सचिवालय बैठकले हिजोमात्र स्थापितलाई काठमाडौको मेयर बनाउने निर्णय गरेको थियो । प्रदेशका पुर्वमन्त्री समेत रहेका स्थापितले आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई हेटौंडा कार्यालयमा पुगेर राजीनामा दिएका थिए । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने तय भएकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उहाले बताए। निर्वाचन आयोगले बनाएको आचार संहितामा पनि जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार हुन अघि राजीनामा दिनुपर्ने भनिएको छ। काठमाडौको क्षेत्र नम्बर ६ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
काठमाडौ महानगरको मेयर जितेपछि सबैभन्दा पहिले त्रिचन्द्र कलेजको पुनरोत्थान गर्ने मुख्य योजना रहेको उनले बताए । “काठमाडौको अन्य कलेजहरूको पनि उत्थान गर्ने छु,पहिलो योजना त्रिचन्द्र हुनेछ” उनले भने । “शिक्षा बिना कुन क्षेत्रको विकास संभव छ ?” उनले भने । आयुर्वेद स्वास्थको क्षेत्रमा पनि आफ्नो बिशेष ध्यान रहने उनले बताए ।
प्रदेश सांसदमा रहदा आफूले स्थानीय तहको विकासमा मन बुझ्ने गरि काम गर्न नपाएपछि आफूले स्थानीय तह रोजेको उनले बताए । “म त विद्यार्थी राजनीति देखि नै स्थानीय क्षेत्रको विकास चाहिन्छ भन्ने मान्छे हुँ,प्रदेश किन चाहियो ?” उनले भने । स्थापित बागमती प्रदेशको पुर्व भौतिक पुर्वाधार मन्त्री हुन् ।
अब बागमतीमा एमालेका ४१ जनामात्र प्रदेश सभा सदस्य रहने भएका छन् । प्रदेशमा एमालेका ४३ जना प्रदेश सभा सदस्य रहेकोमा भरतपुरमा मेयरमा उम्मेद्बारी दिन प्रदेश सभा सदस्य बिजय सुबेदीले यस अघि नै राजिनामा दिइसकेका छन् ।