मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिन बागमती प्रदेशसभा सदस्य केशब स्थापितले राजिनामा दिएका छन् ।
नेकपा ( एमाले) को सचिवालय बैठकले हिजोमात्र स्थापितलाई काठमाडौको मेयर बनाउने निर्णय गरेको थियो । प्रदेशका पुर्वमन्त्री समेत रहेका स्थापितले आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई हेटौंडा कार्यालयमा पुगेर राजीनामा दिएका थिए । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने तय भएकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उहाले बताए। निर्वाचन आयोगले बनाएको आचार संहितामा पनि जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार हुन अघि राजीनामा दिनुपर्ने भनिएको छ। काठमाडौको क्षेत्र नम्बर ६ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
काठमाडौ महानगरको मेयर जितेपछि सबैभन्दा पहिले त्रिचन्द्र कलेजको पुनरोत्थान गर्ने मुख्य योजना रहेको उनले बताए । “काठमाडौको अन्य कलेजहरूको पनि उत्थान गर्ने छु,पहिलो योजना त्रिचन्द्र हुनेछ” उनले भने । “शिक्षा बिना कुन क्षेत्रको विकास संभव छ ?” उनले भने । आयुर्वेद स्वास्थको क्षेत्रमा पनि आफ्नो बिशेष ध्यान रहने उनले बताए ।
प्रदेश सांसदमा रहदा आफूले स्थानीय तहको विकासमा मन बुझ्ने गरि काम गर्न नपाएपछि आफूले स्थानीय तह रोजेको उनले बताए । “म त विद्यार्थी राजनीति देखि नै स्थानीय क्षेत्रको विकास चाहिन्छ भन्ने मान्छे हुँ,प्रदेश किन चाहियो ?” उनले भने । स्थापित बागमती प्रदेशको पुर्व भौतिक पुर्वाधार मन्त्री हुन् ।
अब बागमतीमा एमालेका ४१ जनामात्र प्रदेश सभा सदस्य रहने भएका छन् । प्रदेशमा एमालेका ४३ जना प्रदेश सभा सदस्य रहेकोमा भरतपुरमा मेयरमा उम्मेद्बारी दिन प्रदेश सभा सदस्य बिजय सुबेदीले यस अघि नै राजिनामा दिइसकेका छन् ।

