हेटौंडा /आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बिदुर हुमागाईंले बितेको पाँच वर्षमा भएका विकासका विषयमा विपक्षहरुले पनि प्रश्न उठाउन नसकेको बताएका छन् ।
२०७४ मा निर्वाचन जितेर पाँच वर्षीय कार्यकाल चलाएका हुमागाईंले समाजिक, आर्थिक र भौतिक क्षेत्रमा भएका विकासका सम्बन्धमा विपक्षहरुले पनि भएन भनेर भन्न नसक्ने अवस्था नभएको दावी गरेका छन् । हेटौंडाको रेडियो थाहा सञ्चारसँग शुक्रबार बिहान अन्तर्वार्तामा बोल्दै हुमागाईंले भने, ‘मकवानपुरगढी गाउँपालिकामा विपक्षले पनि यो काम गरेन, यो काम भएन भनेर बोल्न सकेका छैनन् ।,’
पाँच वर्ष काम गर्दा जनताले कसरी परीक्षण गरेका छन् र, तपाईंलाई कस्तो महशुस भएको छ भन्ने प्रश्नमा उनले भने, ‘मैले पाँच वर्षसम्म काम गर्दा जनताले सीमित स्रोत साधन, अभावैअभाव र असहजिलोका बीचपनि तपाईंले जसरी काम उठाउनु भयो, माथिल्ला निकाय र साझेदार निकायको समन्वयमा जसरी काम गर्नसक्नु भयो अबको पाँच वर्षपनि तपाईको आवश्यकता अपरिहार्य छ भनेर भनिरहनु भएको छ ।,’ जनताको अपेक्षाका कारणपनि आफ्नो उम्मेदवारी जरुरी भएको उनले दावी गरे ।
विकास कतैबाट बजेट ल्याएर गरौंला भन्दापनि जनता र सरकारकै अन्य निकायसँग साझेदारी गरेर अगाडि बढेकोले विकासमा उल्लेख्य काम गर्न सकिएको उनको भनाई थियो । उनले बितेको पाँच वर्षमा स्थानीय सरकारको आधार तयार गरिएको बताएका छन् । नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार हुमागाईंले स्थानीय सरकार जनताको नजिकको सरकार भएकोले हरेक गतिविधि जनमुखी बनाउनु पर्छ भन्ने ढंगबाट पाँच वर्षमा काम गरिएको बताएका छन् । जन अपेक्षा अनुसार काम गरिएको भन्दै उनले आर्थिक, सामाजिक र भौतिक विकासका काम धेरै भएको उनले बताए ।
सुशासन प्रवद्र्धनका क्षेत्रमा गाउँपालिकाले उल्लेख्य काम गरेको उनको भनाई छ । पाँच वर्षमा कतिपय महत्वपूर्ण कामले पूर्णता पाइसकेको तर, केही महत्वपूर्ण योजनाले पूर्णता नपाइसकेको भन्दै उनले अधुरा कामलाई पूरा गर्नका लागि र सुशासनसहितको समृद्ध मकवानपुरगढी गाउँपालिका निर्माण गर्नका लागि थप नयाँ योजनासहित प्रस्तुत हुनुपर्ने भएकोले पुनः अध्यक्षको उम्मेदवारका रुपमा पार्टीले आफूलाई सिफारिस गरेको बताए । गाउँपालिकाको सामाजिक र आर्थिक विकासलाई गाइडलाइन दिने महत्वपूर्ण पाटो भौतिक पूर्वाधार विकास भएकोले पाँच वर्षमा भौतिक क्षेत्रका काम गरिएको उनले बताए ।
विगतमा मकवानपुरगढीबाट बसाईं सरेर जाने क्रमलाई रोक्न कृषि तथा पशुपालनसँगै भौतिक विकासका क्षेत्रमा धेरै महत्वपूर्ण काम गरिएको उनले जनाए । शिक्षा क्षेत्रमा पनि गुणस्तरीय पठनपाठनको लागि गाउँपालिकाले बितेको पाँच वर्षमा काम गरेको उनले बताए । मकवानपुरगढीमा बसोबासका लागि उपयुक्त छ भन्ने सन्देश दिइएको उनको दावी थियो ।
सिचाईं, खानेपानी, सडक, पुलपलेसा बनाएर स्थायित्व दिइएको उनको भनाई छ । लक्षित वर्गका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै हुमागाईंले मकवानपुरगढीलाई बालमैत्री स्थानीय अबलम्ब गर्ने गाउँपालिकाको रुपमा घोषणा गर्न सफल भइएको जानकारी दिए ।
मकवानपुर । आसन्न स्थानीय स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये मकवानपुरका ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मकवानपुर जिल्लाको एक गाउँपालिका अध्यक्षको उम्मेदवार सहित हेटौंडा उपमहानगरका ५ जना वडा अध्यक्ष तथा सदस्यको उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गराएकी लक्ष्मीमाया माझी कृपाले उम्मेदवारी फिर्ता गरेकी छन् । नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्षमा मनोनयन दर्ता गराएकी उनले शुक्रबार उम्मेदवारी फिर्ता गरेकी हुन् ।
उनले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका आधिकारीक उम्मेदवार काँग्रेसका धर्मराज लामिछानेलाई समर्थन गर्दै अध्यक्ष पदबाट उम्मेदवार फिर्ता गरेकी हुन् ।
गत बैशाख १२ गते उम्मेदवारी दर्ता गराएकी उनले निर्वाचन अधिकृतको कार्यालय बकैया हात्तिसुडे पुगेर उम्मेदवारी फिर्ता गरेकी हुन् ।
उनले गठबन्धनको वास्तविक मर्म र पार्टी केन्द्रको निर्देशन अुनसार आफूले उम्मेदवारी फिर्ता लिएको बताइन् । गठबन्धनको सहमति अनुसार, अध्यक्षमा कांग्रेसका लामिछाने र उपाध्यक्षमा माओवादी केनद्रका भक्तबहादुर खत्री उम्मेदवार हुन् ।
यसअघि बकैयाको उपाध्यक्ष पदमा कांग्रेसबाट उम्मेदवार बनेकी छायाँ अधिकारीको उम्मेदवार खारेज भइसकेको छ । अधिकारीको कृषि गणना कार्यक्रममा गणक पदमा कार्यरत रहेको प्रमाण फेला परेपछि उम्मेदवारी खारेज भएको थियो ।
यसैगरी हैटौंडा उपमहानगरपालिकामा हालसम्म पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर उनीहरुले उम्मेदवारी फिर्ताका लिएका हुन् । आफूले दर्ता गरेको उम्मेदवारी फिर्ताको लािग ५ जनाले निवेदन दिएपछि उनीहरुको उम्मेदवारी फिर्ता भएको कार्यालयले जनाएको छ ।
निवेदन दर्ता गराउनेमा हेटौंडा–८ माबाट वडा अध्यक्षका स्वतन्त्र तर्फका उम्मेदवार सिताराम प्रधान, हेटौंडा–४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दलित महिला सदस्यको उम्मेदवार मोहन माया देउला, हेटौंडा–१ का नेकपा एकीकृत समाजवादीका वडा अध्यक्ष उम्मेदवार लोक बहादुर घिसिङ र हेटौंडा–८ का राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष उम्मेदवार किशोर केसी खत्री र वडा सदस्य अनुजकुमार पुन मगर रहेका छन् ।
उम्मेदवारी दिने ५ जनाले नै निवेदन दिएर उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।
मकवानपुर । नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य एवं आसन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार विदुर हुमागाईँले मकवानपुरगढीमा विकास गर्ने पार्टी भनेकै एमाले भन्ने भावना स्थापित भएको बताएका छन् ।
एमालेले जनताका आधारभूत आवश्यकता पूरा गर्न र गाउँपालिकाको सबै खाले विकासका निम्ति काम गर्दै आएको उनले बताए ।
नेपाल खेलकुद महासंघ मकवानपुरगढी गाउँपालिका कमिटीद्वारा आयोजित प्रथम भेलामा बोल्दै उनले मकवानपुरगढीमा पाँच वर्षभित्र उत्पादनका क्षेत्रमा भएका कामको मुल्यांकन गर्दै जनताले एमालेमा मत दिने विश्वास गरे ।

पाँच वर्षअघिको गाउँको अवस्था र हालको अवस्थाको वास्तिवक मुल्यांकन गरेपछि आफूलाई काम गरेको सन्तुष्टि मिलेको उनले बताए ।
पर्याप्त विकासका लागि पाँच वर्षको अवधि अपुग भएको भन्दै उनले गाउँ बासीको मुहारमा खुशी ल्याउन थप काम गर्नुपर्ने देखिएकोले पुनः अध्यक्षमा उम्मेदवारी दिएको बताए ।
खेलकुद महासंघका केन्द्रीय महासचिव धर्म लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, एमाले प्रदेश कमिटी सदस्य नवराज तिमल्सिना, पार्टी जिल्ला सचिवालय सदस्य तथा मकवानपुरगढी गाउँपालिका सह–इञ्चार्ज मेम्बर लो, जिल्ला सल्लाहकार समिति सदस्यहरु अर्जुन सापकोटा, कृष्ण थिङ, गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार सन्तु थिङ, एमाले गाउँकमिटीका उपसचिव चन्द्र योञ्जन, पार्टीका वडा कमिटी अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । नेकपा एमाले ७ नं वडामा शान्तिटोलमा चुनाव प्रचार प्रसार कार्यालय खोलिएको छ ।
एमाले केन्द्रिय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर रानाले उदघाटन गर्दै नेकपा एमालेले मात्रै यो देशमा सुख समृद्धीको सपना पुरा गर्ने भभएकोले एमालेलाई जिताउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा ७ नं वडा अध्यक्षका उम्मेदवार राजन थापा, एमाले जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख ध्रुब चौलागाई, ईलाका सदस्य प्रेम वस्नेत, वडा सदस्यका उम्मेदवारहरु देवराज रिमाल, नर वहादुर भ्लोन, सपना विक, तुलसा अधिकारी, समेतले मन्तव्य राख्नु भएको कार्यक्रमको सभापतित्व पार्टी वडा अध्यक्ष कुल प्रसाद त्रिपाठी र संचालन पार्टी वडा सचिव शुसिल सुवेदीले गर्नु भएको थियो ।
कार्यक्रममा आसन्न बैशाख १८ गतेको मई दिवस नेकपा एमालेका अध्यक्ष केपी ओली आउनुहुने भएकोले सबैलाई उपस्थित हुन आग्रह गरिएको थियो ।
मकवानपुर । मकवानपुरका १० स्थानीय तहका १ सय २ वटा मध्ये हेटाैडा १७ मा मात्रै नेपाल विवेकशील पार्टी मकवानपुरले चुनावी प्रतिष्पर्धा गर्दैछ ।
नेपाल विवेकशील पार्टी मकवानपुरको तर्फबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१७ का अध्यक्ष पदका उम्मेदवार कृष्णदेव भण्डारीले अहिलेकाे स्थानीय निर्वाचनमा जनताले विकल्प खाेजेकाे बताउँछन् । भण्डारीको नेतृत्वमा वडा सदस्यहरु सविना बर्तौला पुजारी, कमला विश्वकर्मा, रविन सञ्जेल र सुरज थोकर सदस्य पदको उम्मेदवार छन् । पार्टीको केन्द्रीय सदस्यसमेत रहेका भण्डारी समृद्ध वडा निर्माणको लागि आफु योजनासहित उम्मेदवार भएकोे बताउँछन् ।
नेपालमा संविधान सभाबाट नेपालको संविधान जारी भए पछी दोस्रो पटक स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँदैछ ।निर्वाचनकाे वातावरणले टाेल गाउँ सहर सवै तताएकाे छ । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ । दावी विराेध सहितका कार्यक्रम समेत भएकाे छ । विभिन्न राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दर्ता भएका छन् । केहीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराइएका छन् । उम्मेदवारहरु आआफ्नाे एजेण्डा बोकेर घरदैलोमा व्यस्त छन् । गत स्थानीय चुनाव भन्दा याे पटक चुनावी मैदानमा युवा उम्मेदवारहरु धेरै देखिएका छन् । यसै मध्येका एक युवा उम्मेदवाद हुन् भण्डारी ।
निर्वाचनका कार्यक्रम प्रकाशित हुनु भन्दा अघी देखिनै १७ नं. वडामा घरदैलाे अभियानमा रहेकाे भण्डारीले प्रचार प्रसारलाई अघि बढाइरहेकाे बताउँछन् । राजनीतिलाई समाज सेवामा लगाउन सकिए गाउँसमाजकाे सामाजिक आर्थिक सांस्कृतिक लगायतका क्षेत्रकाे विकास सम्भव रहेकाे भण्डारी बताउँछन् । राजनीतिमा युवा पुस्ताले सहभागिता जनाउनु भावी पुस्ताकाे लागि सकारात्मक रहेकाे उनले बताए ।
२०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा हेटाैडा उपमहानगरपालिकाकाे मेयर पदमा स्वतन्त्र उम्मेदवार भएका भण्डारी शिक्षासास्त्र संकायमा स्नातकसम्म अध्ययन गरेका छन् । हेटौडा १७ हटिया ठुलाे गगटे निवासी भण्डारीको जन्म बाबुराम र यमकुमारी भण्डारीको जेठाे सन्तानकाे रुपमा २०३५ सालमा भएको हो । उनी २०४७ सालबाट नेपाल विद्यार्थी संघमा आवद्ध भएर करिब एक दशक कांग्रेसको राजनीतिमा क्रियाशील रहेकाे बताउँछन् । तत्कालिन हटिया गाउँ इकाइको विद्यार्थीको सभापति र २०६१ मा पार्टीको पालिका सचिवसमेत भएका उनी त्यसपछि झण्डै ६ बर्ष पार्टी राजनीतिभन्दा बाहिर बसे ।
२०७१ मा तत्कालिन विवेकशील नेपाली दल पार्टी दर्ता भएपछि उनी सोही पार्टीमा आवद्ध भएर राजनीतिमा पुनः सक्रिय भए । पुस्तक लेखन, प्रकाशन तथा वितरणको कार्यलाई निरन्तरता दिई उनले राजनीतिक यात्रालाई पनि सँगै अघि बढाए । हाल देशैभरका विद्यालयहरुमा भण्डारीद्वारा लिखित ४५ भन्दा बढी अंग्रेजी भाषाका पुस्तक पठनपाठन भइरहेको छ ।
आफ्नाे रुचीकाे क्षेत्र शैक्षिक रहेकाे बताउँने उनी २०५७ बाट लोटस एकेडेमी हटियाको संस्थापक प्रिन्सिपल भएर काम गरेका थिए । अहिले शिक्षण पेशा छाेडेर भण्डारी प्रशिद्धी बुक हाउस प्रा.लिको कार्यकारी छन् । हटिया बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष उनी ओसन प्रकाशन प्रा.लि.को लेखक तथा भाषा सम्पादक भइ काम समेत गरेका छन् ।
भण्डारी गत निर्वाचनमा हेटाैडा उपमहानगरपालिकाकाे मेयरमा उम्मेदवारी दिए पनि यस पटक वडा तहबाट बलियाे उपस्थिति देखाउँदै अघी बढ्ने साेचका साथ आफ्नाे उम्मेदवारी वडा अध्यक्षमा रहेकाे बताउँछन् । भन्छन् वडा अध्यक्ष भनेकाे नगर कार्यपालिकाकाे मन्त्री हाे । वडा बलियाे भए नगर वलियाे हुन्छ । नगरमा वडाका समस्या तथा गर्नु पर्ने कामकाे प्रस्ताव लगेर आफ्नाे वडाकाे विकास गर्न सकिन्छ ।
पुराना दलहरुले पटक पटक निर्वाचित भएपनि जनअपेक्षा अनुसारको काम गर्न नसकेको कारण अब जनताले विकल्प खोजेको भण्डारीको भनाई छ । उनी अन्य पार्टीमा सक्रिय उम्मेदवार नभएको र ठूलो दल भएकोले जित हाम्रो हुन्छ भन्ने घमण्डले गर्दा जनहितका काममा ठूला दलको उम्मेदवारको ध्यान नगएको कारण अब जनताले वैकल्पिक शक्ति चाहेकोे उनी दावी गर्छन् । २०७४ को निर्वाचनमा हेटौंडाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका उनले निर्वाचनपश्चात १७ नम्वर वडाको नेतृत्व लिन प्रयास गरिरहेका छन् । एक पटक वडा अध्यक्ष बन्ने मौका पाए जनहितको थुप्रै कार्य गर्ने योजना रहेको उनी बताउँछन् ।
उनले प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् । हाम्रो होइन, राम्रोलाई मतदान गरौँ । पार्टीलाई होइन, देश र जनतालाई जिताऔं भन्दै महिला सशक्तीकरण देखि स्वास्थ्य संस्थामा MBBS डाक्टर सम्मकाे व्यवस्था गरिने उनले प्रतिबद्धता गरेका छन् ।
वडा अध्यक्ष पदका उम्मेदवार भण्डारीले बताए अनुसारका प्रतिवद्धता
१. सेवा प्रवाह
- ईरिक्सा सुविधाः वृद्धभत्ता लिन बैँकसम्म जानको लागि ईरिक्साको व्यबस्था गरिने छ ।
- वृद्ध, असक्त, सुत्केरी महिला र सजिमिन गर्नुपर्ने अवस्थामा वडा सदस्यहरु र स्वयम्सेवकहरु परिचालन गरी सेवाग्राही नागरिकको घरदैलोमा पुगी सेवा प्रवाह गरिने छ ।
- एकद्वार सेवा प्रणाली लागू गरिनेछ । सेवाग्राहीले आवश्यक कागजातहरु एक ठाउँमा बुझाएपछि सेवाग्राही चिया पिउँदै प्रतिक्षालयमा आराम गरिरहेकै ठाउँमा कार्यसम्पन्न गरी सेवा प्रदान गरिने छ ।
- वडा कार्यालयको भवन लगायत वडाको विभिन्न २० वटा चोकलाई फ्रि वाईफाई स्थान बनाईने छ ।
- विद्युतीय खपत बढाउन, LPG gas प्रतिस्थापन गरी व्यापार घाटा कम गर्न हरेक परिवारलाई एउटा विद्युतीय चुलो (इन्फ्रारेड इन्डक्सन) ५ वर्षभित्रमा वडा नं.१७ मा रहेको सबै घरपरिवारमा निशुल्क वितरण गरिने छ ।
२. कृषि
- निर्वाहमुखी परम्परागत कृषि गरिरहेका किसानहरुलाई कृषि उद्यमी हुन प्रेरित गर्ने र आवश्यक कार्यक्रमहरु संचालन गर्ने ।
- डिप बोरिङ र लिप्टिङ मार्फत सिँचाइ सुविधा उपलब्ध गराउने ।
- कृषि तथा भेटनरी प्राविधिकद्वारा हरेक घर र कृषि फर्महरुमा नियमित (महिनामा एक वा दुई पटक) निरीक्षण वा जाँच गर्ने व्यबस्था गर्ने ।
- वर्षमा दुईपटक निशुल्क पशु जाँच शिविर सञ्चालन गर्ने ।
- हटिया बाख्रापालनको लागि उपयुक्त भएकोले बाख्रापालन प्रवर्धनमा जोड दिने । परम्परागतरुपमा गर्दै आएको अन्य पशुपालनलाई विकास गर्ने ।
- भेटनरी प्राविधिकको संख्या थप गरी निशुल्क पशु जाँच गराउने, औषधि पनि निशुल्क वा लागत मूल्यमा उपलब्ध गराउने ।
- हेटौँडालाई केही कृषि उत्पादनमा आत्मनिर्भर बनाउने प्रयास गर्ने ।
- लागत सहभागितामा आधारित अनुदान कार्यक्रमहरु जस्तै गोठ सुधार, टनेल निर्माण आदि कार्य गर्ने ।
- कृषि सडक निर्माण कार्य विस्तार गर्ने ।
- माटो परीक्षण गराई मेवा, केरा, कागती, च्याउ, कफी लगायत खेती प्रवर्धनमा प्रोत्साहन गर्ने ।
- विषयगत व्यावसायिक कृषि तलिमहरु सञ्चालन गरिने छ ।
- कृषिउपज संकलन केन्द्र तथा हाटबजार सञ्चालन गरिने छ ।
- पशु ल्याब स्थापनाको लागि पहल गरिने छ ।
३. शिक्षा
- शिक्षकहरुमा सीप विकासका लागि आवधिकरुपमा विषयगत तालिमहरुको व्यबस्था गरिने छ ।
- शिक्षण पेशालाई सम्मानित पेशाको रुपमा विकास गर्ने ।
- प्रधानाध्यापक तथा शिक्षकहरुले स्वनिर्मित वार्षिक लक्ष्यलाई आवधिक मूल्याकन गर्ने। लक्ष्य पूरा गर्ने शिक्षकहरुलाई पुरस्कृत गर्ने ।
- सामुदायिक विद्यालयहरुमा गुणस्तर विकासको लागि विषयगतरुपमा आवश्यक शिक्षकहरुको व्यबस्थापन गर्ने ।
- बालविकासको लागि अभिभावक शिक्षा अनिवार्य गर्ने ।
- विद्यालयहरुलाई आधुनिक शैक्षिक सामाग्रीहरु उपलब्ध गराउने ।
- सहायक लेखापाल, ईसीडी शिक्षक तथा सहयोगी कर्मचारीहरुलाई उचित पारिश्रमिकको व्यवस्था गर्न नगर परिषद्मा प्रस्ताव गर्ने ।
- श्री बालबोध माध्यामिक विद्यलयमा इलेक्ट्रोनिक्स् तथा इलेक्ट्रिकल तथा सूचना प्रविधि (IT) विषय पढाउने व्यबस्था गरिने छ ।
४. स्वास्थ्य
- महिनाको एक पटक प्रत्येक घरमा एउटा स्वास्थ्यकर्मी गएर स्वास्थ्य परीक्षण गर्ने व्यबस्था मिलाउने ।
- शहरी स्वास्थ्य प्रबर्धन केन्द्र हटियामा MBBS डाक्टर नियमित उपलब्ध हुने व्यबस्था गर्ने ।
- वर्षमा दुई पटक विषेशज्ञ डाक्टरहरुबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने ।
- आवधिकरुपमा शिविर सञ्चालन गरी प्राणायम, योग तथा व्यायाम गर्न सबै वडाबासीलाई प्रेरित गर्ने ।
- आर्थिकरुपमा विपन्न नागरिकलाई स्वास्थ्य बिमाको व्यबस्था गर्ने ।
५. पारदर्शिता
- वडा कार्यालयबाट हुने सम्पूर्ण विकास निर्माणका कामहरु, अनुदान, सहयोग, सामाग्रीहरु सूचनापाटी र वडाको आधिकारिक अकाउण्टबाट सञ्जाल (Social Media) मार्फत सार्वजनिक गर्ने ।
- वडासँग माग गरिएका वडाको क्षेत्राधिकारभित्र भएका सूचनाहरु माग भएमा अबिलम्ब उपलब्ध गराउने ।
६. फोहोर व्यबस्थापन
- फोहोरबाट मोहर लाई नारामा सीमित नगरी व्यबहारिकरुपमा कार्यान्वयन गरिनेछ ।
- फोहोर छुट्याउने काम (Garage segregation) को लागि क) प्लास्टिकजन्य, ख) सिसाजन्य र ग) धातुजन्य फोहोरका लागि ३ वटा फरकफरक रङका बाल्टिनहरु बितरण गरिने छ ।
- फोहोर व्यबस्थापन निशुल्क गरिने छ ।
७. महिला सशक्तीकरण
- महिला नेतृत्व विकासको लागि विद्यालय तह र विश्वविद्यालय तहका विद्यार्थीहरूलाई नेतृत्व विकास सम्बन्धी तालिम तथा कार्यशाला गोष्ठीहरू संचालन गर्ने।
- महिलाहरूलाई आर्थिक रूपमा सबलीकरणको लागि उद्यमशीलता सम्बन्धी तालिम सञ्चालन गर्ने।
८. खेलकुद
- टोलटोलमा व्यायाम
- वडाको कम्तीमा ३ ठाउँमा फुटशल निर्माण गर्ने।
- खेलाडीहरूलाई फुटबल, ब्याडमिन्टन लगायत खेल सामाग्रीहरू उपलब्ध गराउने।
९. अन्य
- सार्वजनिक जग्गा संरक्षण गरिने छ ।
- हेटौँडा उपमहानगरलाई व्यबस्थित सहरको रुपमा विकास गर्न योजना निर्माण तथा कार्यान्वयनमा नगरकार्यपालिकामा सक्रिय भूमिका निर्वाह गर्ने ।
- प्रादेशिक मन्त्रालय तथा विभागहरु १७ नं. वडामा ल्याउन पहल गर्ने ।
