हेटौंडा/ आसन्न स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएका एमालेका संगठित सदस्यहरुलाई नेकपा एमाले मकवानपुरले कारवाही गरेको छ ।
पार्टीको संगठित सदस्य हुँदाहुँदै जिल्लाको विभिन्न स्थानीय तहमा पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएरका पार्टीकाे सुझाव अनुसार उम्मेदवारी फिर्ता पनि नलिएकाहरुलाई कारवाही गरिएको हो । पार्टी निर्णय उलङ्घन गर्ने मकवानपुरगढी गाउँपालिकाका कृष्ण कंडेल, हेटौंडा उपमहानगरपालिका वडा नं. ५ का विशालराज महत, वडा नं. ११ का अक्कलबहादुर क्षेत्री, हेटौंडा १९ का रत्नबहादुर व्लोन र रमेश पौडेललाई पार्टीले कारवाही गरेकाे हाे ।
उनीहरुसँगै उनीहरुकाे उम्मेदवारीमा प्रस्तावक तथा समर्थकबन्नेलाई समेत पार्टीको विधानको धारा ८० (६) अनुसार पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिएको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेको आधिकारीक उम्मेदवार खडा गरेको अवस्थामा पार्टीको निर्णय नमान्दै बागी उम्मेदवारी दिएको र आवश्यक समन्वय गर्दासमेत उम्मेदवारी फिर्ता नलिएकाले कारवाही गर्नुपरेको श्रेष्ठले बताए ।
नेकपा एमालेलाई पराजित गर्न दक्षिणपन्थी शक्ति नेपाली कांग्रेसको नेतृत्वमा एमाले विरोधी राजनैतिक दलहरु एकठाउँमा उभिएको सन्दर्भमा बताउँदै श्रेष्ठले भने ‘नेकपा एमालेको संस्थागत निर्णय अनुसार नै पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा हुनुहुन्छ एमालेलाई विजयी गराउनका निम्ती सिङ्गाे पार्टी चुनावी मैदानमा प्रतिष्पर्धा गरिरहेको छ ।’ अध्यक्ष श्रेष्ठले पार्टी निर्णयलाई उलङघन गर्दै केही पदमा पार्टी सदस्यहरुले उमेदवारी दिएको जानकारी प्राप्त भए लगत्तै पार्टीको आधिकारीक उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन पार्टीले गरेको निर्देशनलाई अवज्ञा तथा उल्लङ्घन गर्ने काम भएको अध्यक्ष श्रेठले बताए ।
मकवानपुर । २०७४ सालको स्थानीय तह निर्वाचनमा भएको पनि पाँच वर्ष बित्न लाग्यो । राज्य पुनःसंरचना पश्चात मुलुकमा संघीयता आएपछि दोस्रो पटक आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ ।
पाँच वर्षअघि कांग्रेसका उम्मेदवारलाई हराउँदै मकवानपुरगढी गाउँपालिकाको नेतृत्व एमालेका बिदुर हुमागाईंले विजयी हासिल गरेका थिए । इमान्दार र लगनशील व्यक्तिको परिचय बनाएका हुमागाईंको मुख्य पेशा कृषि तथा पशुपालन हो । कृषि तथा पशुपालनसँगै राजनीति गर्दै आएका हुमागाईंले मकवानपुरगढीको पहिलो अध्यक्ष बन्ने अबसर पाए । उनले यस सुनौलो अबसरलाई कसरी सदुपयोग गरिरहेका छन् त रु कार्यकाल सकिनै लाग्दा चर्चापरिचर्चा गर्नु अपरिहार्य हुन्छ । हुमागाईं अध्यक्ष बनेको पाँच वर्षमा गाउँपालिका कस्तो बन्यो, यहाँका जनताको जीवन स्तर परिवर्तन गर्न कस्तो भूमिका खेलियो ? यसविषयमा बहस गर्नैपर्छ ।
दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु चयन गर्ने समय नजिकिँदै छ । अध्यक्ष हुमागाईंले आफ्नो कार्यकालभित्र पूर्वाधारतर्फ सडक, पुल, स्वास्थ्य तथा शैक्षिक संस्थाको भवन, सामुदायिक भवन, खानेपानी आयोजनालगायतका काम गरेका छन् । कृषिमा गाउँपालिकाले आमुल परिवर्तन नै ल्याए । पर्यटनमा पृथ्वीनारायण शाह हिँडेको खुँडेधारदेखि मकवानपुरगढी दरबारको जीर्णोद्वार, १ नम्बर वडामा रानिसेरा एग्रो टुरिजम पार्कलगायतका थुप्रै काम भएका छन् ।
गाउँपालिकाको मुख्य सडकहरुमा स्ल्याब ढलान भएका छन् । सामरी खोला र ज्यामिरे खोलामा गरी तीन वटा पक्की पुल, एउटा बेलिब्रिज, दुई वटा तीन पाङ्ग्रे सवारी गुड्ने पुल र पाँच वटा झोलुङ्गे पुल निर्माण भएका छन् । विगतमा खोलाबाट ओसारेर वा मोटरबाट तानेर पानी खानुपर्ने बस्तीमा अहिले घरघरको धारामा पानी पुगेको छ । टावरडाँडा खानेपानी आयोजनाबाट २ सय ४० घरधुरी र बुर्जडाँडा खानेपानी आयोजनाबाट ३ सय घरधुरीले खानेपानी घरमै पाएका छन् । १, २, ५, ६, ७ र ८ नम्बर वडामा खानेपानी आयोजना निर्माण भइरहेका छन् । स्थानीय तह हुनुअघि करिब ५०–६० वटा तरकारी टनेल भएको गाउँपालिकामा अहिले ९ सय ५९ वटा तरकारी टनेल निर्माण भएका छन् ।
एक भन्दा बढी व्यवसायिक पशुपालनमा जोडिएका छन् भने ५० भन्दा बढी महिला समूह समूहिक तरकारी खेतीमा लागेका छन् । गाउँपालिकाले चालु आवमा दुग्ध उत्पादक किसान, संचित कोष तथा उपदान प्रोत्साहन साझेदारी कार्यक्रमका लागि २२ लाख ५० हजार रुपैयाँ बजेट राखेको छ । किसानलाई प्रतिकेजी अनाजमा ४ रुपैयाँ अनुदान, प्रतिकेजी तरकारीमा २ रुपैयाँ अनुदान, प्रतिकेजी फलफूलमा २ रुपैयाँ अनुदान र मासुमा प्रतिकेजी ३० रुपैयाँ अनुदान दिइएको छ । सायद, आफू कृषक भएरपनि हुमागाईंले कृषि तथा पशुपालनबाटै पालिकाबासीको जीवनस्तर उकास्ने योजनालाई प्राथमिकतामा राखेका हुन् । उनले कृषि तथा पशुपालनबाट मनग्य आर्जन हुने र यसबाटै जीवन स्तर उकासिनेमा पटक–पटक जोड गर्दै आइरहेका छन् ।

पशुदाना उद्योग स्थापना
मकवानपुरगढी गाउँ पालिकाको मुख्य अगुवाईमा ३ नम्बर वडास्थित तल्लो कालीखोलामा पशुदाना उद्योग स्थापना भएको छ । मकवानपुरगढी दुग्ध उत्पादक विशिष्टकृत सहकारी संघले सञ्चालनको जिम्मेवारी लिएको दाना उद्योगमा मकवानपुरगढी गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको लगानी रहेको छ । गाउँपालिका अध्यक्षमा चुनिए लगतै गाउँमा गुणस्तरीय दाना खुवाएर दूध उत्पादनमा जोड दिन हुमागाईंको योजनामा उद्योग स्थापना भएको हो । उद्योगले हाल दैनिक एक सय बोरा दाना उत्पादन गर्दै आइरहेको छ । गुणस्तरीय दाना भएकाले किसानको माग उच्च छ । उद्योगले किसानको मागअनुसार अझै दाना उत्पादन गर्न सकिरहेको छैन् ।
साना किसानलाई ऋण प्रवाह
गाउँपालिकाले साना किसानलाई व्यवसायिक कृषि पेशामा आकर्षित गर्न किसान क्रेडिट कार्डमार्फत ऋण प्रवाह गरेको छ । मकवानपुरमा पहिलो पटक मकवानपुरगढीले किसानहरुलाई क्रेडिट कार्ड वितरण गरेको हो । साना तथा सीमान्तकृत कृषकमाझ वित्तीय पहुँच पु¥याउने उद्देश्यले गाउँपालिकाले किसान कार्ड वितरण गरेर ३ दशमलव ५ प्रतिशत ब्याजदरमा नेपाल बैंगलादेश बैंकबाट ५ वर्षका लागि २ लाखसम्म ऋण दिने व्यवस्था गरेको हो । चालू आर्थिक वर्षभित्र ४ सय जनालाई ऋण दिने योजना गाउँपालिकाको छ । आर एण्ड डी ईनोभेटिभ सोलुशन प्रालि र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिको समन्वयमा यो काम भएको हो । यसवर्ष पुस मसान्तभित्र गाउँपालिकाले ५१ जना किसानलाई २ लाख रुपैयाँका दरले १ करोड २ लाख ऋण प्रवाह गरिसकेको छ ।
किसान प्रोत्साहन अनुदान कार्यक्रम
मकवानपुरगढी गाउँ पालिकाले कृषि विकास कार्यक्रम अन्तर्गत तरकारी तथा फलफूल बजारीकरण गर्न ‘कृषक प्रोत्साहन अनुदान कार्यक्रम’ कार्यान्वयन गरिरहेको छ । गाउँपालिकाले गाँउपालिकास्थित सहकारीमार्फत बजारीकरण गर्दै आएको हो । अनुदानले स्थानीय किसानको कृषि उपज बजारीकरणमा सहजता भएको छ । सहकारीमार्फत खाद्यन्न खरिद बिक्री गत आव २०७७÷०७८ बाट सुरुआत गरिएकोमा चालू आवमा तरकारी तथा फलफूलमासमेत बजारीकरणमा प्रोत्साहन अनुदानको कार्यक्रम सुरु गरिएकोे हो । गाउँपालिकामा यसवर्ष अनाज, तरकारी तथा फलफूल बजारीकरणका लागि सात सहकारी संस्था सूचीकृत भएकोमा कुर्ले कृषि सहकारी संस्थाले संकलन र बजारीकरणको काम थालिसकेको छ ।

दूधमा प्रतिलिटर १ रुपैयाँ अनुदान
गाउँपालिकाले पहिलो वर्षदेखि नै दूधमा किसानहरुलाई १ रुपैयाँ अनुदान दिन सुरु गरेको थियो । मवानपुरगढी जिल्लाकै पहिलो गाउँपालिका हो, जस्ले दूधमा अनुदान दिन सुरु गरेको हो । प्रतिलिटर दूधमा अनुदान दिन गाउँपालिकाले चालु आवमा ४५ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले दूधमा अनुदान दिएपछि प्रदेश सरकारलेपनि २ रुपैयाँ अनुदान दिन थालेको थियो । अहिले गाउँपालिकाबासीले दूधमा प्रतिलिटर गाउँपालिका र प्रदेश सरकारको २ रुपैयाँ गरी कुल ३ रुपैयाँ अनुदान पाउँदै आएका छन् ।
१५ शैयाको हस्पिटल
शरिरमा घाउचोट लागेमात्रै उपचार गर्न सरदमुकाम हेटौंडा जानुपर्ने पालिकाबासीको दुःख अब हट्ने भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा १५ शैयाको अस्पताल निर्माण भइरहेको छ । ८० प्रतिशत निर्माण सकिएको छ । घाउचोट लागे सदरमुकाम जानुपर्ने यस ठाउँका जनताले अब गाउँमै उपचार पाउने भएका छन् । गाउँपालिकाको पहल पश्चात संघीय सरकारको ९ करोड रुपैयाँ लागतमा अस्पताल निर्माण भएको हो । जिल्लाका १० स्थानीय तहमध्ये मकवानपुरले सबैभन्दा पहिला अस्पताल निर्माण सुरु गरेको थियो ।
एक वडा एक स्वास्थ्य इकाई
हुमागाईंले पाँच वर्षे कार्यकालभित्र प्रत्येक वडामा स्वास्थ्य इकाई स्थापना गरेका छन् । विगतमा भाडाको घरमा बस्नुपर्ने र जीर्ण भवनबाट सेवा दिँदै आएका इकाईहरुले आफ्नै भवनबाट सेवा दिइरहेका छन् । कतिपय वडामा स्वास्थ्य इकाई नभएको अवस्थामा स्वास्थ्य इकाई स्थापना गरेर गाउँबासीलाई स्वास्थ्य उपचार प्रदान गरिएको छ ।
एक वडा एक मावि
गाउँपालिकाको ८ वटै वडामा माध्यमिक विद्यालय स्थापना भएका छन् । कतिपय जीर्ण विद्यालय भवन हटाएर नयाँ भवन बनिसकेका छन् भने अधिकांश विद्यालयमा नयाँ संरचना निर्माण भइरहेका छन् । विदेशी सहयोग नियोगहरु बाट पनि विद्यालयका भवन निर्माण भइरहेका छन् । यसैगरी, गुणस्तरीय शिक्षा प्रदान गर्न ज्येष्ठ शिक्षकहरुलाई प्रोत्साहन स्वरुप अवकाश दिएर युवा शिक्षकहरुबाट पठनपाठन गराउने कार्य भएको छ । बाल विकास केन्द्रलाई स्तरोन्नती गर्दै इसिडी शिक्षिकाहरुको क्षमता अभिवृद्धि गर्ने कार्य भएको छ ।

माटो परीक्षण प्रयोगशाला
गाउँपालिकाको पहलमा २०७६ सालमा ६ नम्बर वडास्थित आइपीएम कृषि सहकारीको भवनमा माटो परीक्षण प्रयोगशाला स्थापना भएको छ । बामती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्लामै पहिलो पटक मकवानपुरगढीमा माटो परीक्षण प्रयोगशाला स्थापना गरेको हो । गाउँपालिकाले प्रयोगशाला कक्ष, जनशक्ती र सञ्चालन खर्च व्यहोर्दै आएको छ । माटो परीक्षण ल्याबबाट माटोमा देखिएको समस्या समाधान हुँदै आएको छ । यसबाट किसानले धेरै राहत पाएका छन् ।
देशकै चौथो बालमैत्री घोषणा
अध्यक्ष हुमागाईंले आफ्नो कार्यकालमा गाउँपालिकालाई देशकै चौथो बालमैत्री घोषणा गर्न सफल भए । ७ सय ५३ वटा स्थानीय तहमध्ये मकवानपुरगढी देशकै चौथो बालमैत्री घोषणा १२ चैतमा भएको हो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गाउँपालिकालाई बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गरेका हुन् । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार संचालन ऐन २०७४ ले निर्दिष्ट गरेका सूचक र मापदण्डहरु पूरा गरेकाले गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिएको हो । मकवानपुरगढी गाउँपालिका जिल्लाको तेस्रो बालमैत्री स्थानीय तहपनि हो ।
मकवानपुर । वर्षौदेखि ठप्प रहेको विकास एमालेले ५ वर्षमा गरेको बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।
स्थानीय चुनावपछि नेतृत्वको अवसर पाएको एमालेले विगत ५ बर्ष गरेको विकास नै एमालेको सामर्थ्यको पहिचान भएको उनले बताए । “हेटौंडा विगत ५ वर्षभित्र भएको विकास हेर्नुस् अनि मनन गर्नुस् एमालेको विकल्प छ ?” उनले प्रश्न गरे ।

अबको ५ वर्षमा फेरी पनि एमालेले नेतृत्व गर्ने अवसर पाएमा बाँकी रहेका विकासले थप फड्को मार्ने उनले बताए ।आसन्न स्थानीय तहको निर्वाचनको प्रचारप्रसार कार्यक्रम अन्तरगत हेटौंडा ८ मा आयोजना गरिएको घरदैलो तथा कोण सभामा उनले यस्तो बताएका हुन् ।
मुलुक निर्माण गर्ने पार्टी एमाले मात्रै भएको उनले बताए । उनले अबको निर्वाचनपछि अरू पार्टीको अस्तित्व नै नरहने उनले बताए । नेपाली जनताको खुसी र सुखीको लागि सोच्ने पार्टी एमाले मात्रै भएको उनले बताए ।

कार्यक्रमा हेटौंडा उपमहानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार अनन्त पौडेलले नगरमा बिगतको वडाहरू र थपिएको क्षेत्रमा भएको विकास नै एमालेको पहिचान भएको बताए । “एमालेको नुन खाएर बैरीको गुन गाउँदै हिडेका उम्मेदवारहरू छन् तपाईंले चिन्नुहुनेछ” पौडेलले भने “नेकपा एमालेले प्रतिबद्धता बोकेर तपाईको सामु आएको छ ।” पौडेलले भोली हुने आमसभामा सहभागीताको लागि आग्रह समेत गरे /
कार्यक्रममा एमालेबाट उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले सामाजिक क्षेत्रको विकासमा धेरै कामहरु गर्न बाकी रहेकोले अबको ५ वर्ष यसतर्फ ध्यान दिने बताइन् । “शिक्षा स्वास्थलगायतको भौतिक पुर्वाधारहरू जुन अधुरा छन् ति पुर्वाधार अबको ५ बर्षभित्र पुरा हुनेछ ।”

कार्यक्रममा नेता श्रीधर पोखरेलले आफूले ४१ वर्ष पासिना खर्चेको पार्टी छोडेर गलत गरेको आभाष भएपछि एमालेमै फर्केको बताउँदै भने “मैले ८ महिनाअघि बाटो विराएको थिए, अहिले सही बाटोमा आएको छु, तपाईंहरु नझुक्किनु होस् ।” मकवानपुर जिल्ला र देशको निकासको लागि एमाले मात्रै सक्षम पार्टी भएको पोखरेलले बताए ।
यसै गरी हेटौंडा ८ को वडा सदस्यमा उम्मेदवार गोपाल श्रेष्ठले वडाको विकासमा आमूल परिवर्तन भैसकेको छ,बाकी काम गर्न अबको नेतृत्व खट्ने बताए । अबको नेतृत्वको पहिलो काम सुकुम्बासीको समस्या समाधान गर्ने रहेको उनले बताए ।
यसैगरी वडा अध्यक्षका उम्मेदवार बोल बहादुर कार्कीले नेपालको सिमा रक्षा गर्ने पार्टी नेकपा एमाले भएको बताए । “शैक्षिक संस्थाको सुदृढ विकासमा हामी उत्रीएका छौ, आर्थिक विकास, पर्यटकीय विकास, टोल टोलबाट सुरु हुनुपर्छ” उनले भने । आशाका कुरा मात्रै, गरेर देखाउने पार्टी एमाले मात्रै हो, एमालेसंग प्रतिस्पर्धा गर्ने पार्टी कुनै छैन, एमालेको माहोल देखेर जमात देखेर गठबन्धन गरेकाहरूलाई जनताको मतले ध्वस्त पार्ने छ” उनले भने ।
मकवानपुर । आसन्न स्थानीय चुनावी सभालाई सम्बोधन गर्ने नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली भोली आइतबार हेटौंडा आउने भएका छन् ।
नेकपा (एमाले)ले हेटौंडा उपमहानगरपालिकामा आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न उनी हेटौंडा आउन लागेका हुन् । १८ बैशाखमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका -४ स्थित हुप्राचौर परिसरमा उपमहानगर स्तरीय अन्तिम चुनावी सभा गर्ने एमाले मकवानपु जिल्लाका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।
‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ४० हजारभन्दा बढि जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ’, श्रेष्ठले भने । त्यसअघि हेटौंडा उपमहानगरका विभिन्न चार वटा नाकाबाट पैदल र्याली गरि हुप्राचौरमा जम्मा भएर १२ बजे कार्यक्रम शुरु गर्ने र १ बजे पार्टी अध्यक्ष केपि शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने तयारी भएको अध्यक्ष श्रेष्ठले बताए ।
प्रचार समितिका संयोजk धुब्रप्रसाद चौलागाईका अनुसार कार्यक्रममा पार्टी प्रवेश कार्यक्रमसमेत हुनेछ । उनले कार्यक्रममा तीन सय जनाको स्वंयमसेवा परिचालन गरिने जानकारी दिए । चुनावी सभामा १० वटै स्थानीय तहका नेता कार्यकर्ताहरु सहभागि हुने मकवानपुर एमालेले जनाएको छ ।
यता एमालेको मुख्य प्रतिस्पर्धि सत्तारूढ गठबन्धनको भने चुनावी सभाको टुङ्गो लागेको छैन ।
एमालेबाट हेटौंडा उपमहानगरपालिकामा मेयर पदको लागि अनन्त पौडेल चुनावी मैदानमा छन् भने उपमेयरमा सुमित्रा काफ्ले । पौडेल र काफ्लेले संयुक्त रुपमा चुनावी घरदैलो गरिरहेका छन् । घरदैलो कार्यक्रममा सहभागीले मेयर उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरू घरघर पुगेर कार्यक्रममा सहभागिताको लागि समेत निमन्त्रणा गरेका छन् ।
एमालेसँग प्रतिस्पर्धाको लागि चुनावी तयारीमा रहेको सत्ताधारी गठबन्धनले पनि आगामी २२ वा २३ बैशाख आमसभा गर्ने तयारी गरेको बुझिएको छ । गठबन्धनमा नै छलफल गरेर आमसभाको टुङ्गो लगाउनु पर्ने भएकोले यसको आन्तरिक तयारी हुदै गरेको र हाल घरदैलोमा लागेको नेकपा एकीकृत समाजवादी बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले बताइन् । “मिति र अतिथिबारे टुङ्गो लागेको छैन, लगभग २२/२३ मा आमसभा गरिने तयारी भएको छ” वडा अध्यक्षको उम्मेदवार समेत रहेका नेपाली कांग्रसका सबिन न्यौपानेले भने ।
मकवानपुर । मकवानपुर ट्राफिकले सवारी चालकले लागु पदार्थ सेवन गरे नगरेकाे चेक गर्ने भएकाे छ । ट्राफिक प्रहरीले लागुपदार्थ सेवन (लापसे) गरि सवारी चलाउने चालकहरु पहिचान गर्न लापसे चेक गर्ने भएको हाे।
लागुपदार्थ सेवन चेकका लागि मकवानपुर ट्राफिक प्रहरीले सडकमै ड्रग-युरिन टेस्ट गरेर चालकले लागुपदार्थ सेवन गरे नगरेको पत्ता लगाउने अभियानको थालनी गरेको छ । सवारी चालकले लागु पदार्थ सेवन गरी सवारी चलाउने गरेकाे गुनासो आएकाेले कार्यालयले पिसाबको माध्यमबाट ड्रग-युरिन टेस्ट जाँच सुरु गरेको मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताए । लागु पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना समेत बढ्ने भएकाेले त्यसको नियन्त्रणका लागि पनि ड्रग-युरिन टेस्ट जाँच सुरु गरेको थापाले जानकारी दिए । उक्त अभियानको थालनी बैशाख १६ गते शुक्रबारबाट गरिएकाे छ ।
राजमार्गम हुइकिने सवारी दुर्घटना न्यूनिकरण गर्न सवारी चालकहरुले लागु पदार्थ सेवन गरे नगरेको बारे जानकारी लिन ट्राफिक प्रहरीले लापसे चेकजाँच अभियानको थालनी गरेकाे हाे । ठूला, साना सबै सवारी साधनका चालकहरुले लापसे गरे नगरेकाे परीक्षण गरिने बताइएकाे छ । शुक्रबारकाे अभियानमा २२ सवारी चालकको लापसे चेक गर्दा ३ जनामा पेजेटिभ भेटिएको थियाे । पेजेटिभ भेटिएका चालकलाई आवश्यक कारवाही गरिएको ट्राफिक कार्यालयले जनाएकाे छ ।