मकवानपुर । हेटौडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेकाे एक सहकारीले आफ्नाे स्थापना दिवसकाे अवसरमा सरसफाई र रक्तदान कार्यक्रम गरेकाे छ । हेटौंडा–२ मनकामना चाेकमा कार्यालय रहेकाे प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाकाे १० औं बर्षकाे दिवसमा सरसफाई र रक्तदान कार्यक्रम गरेकाे हाे ।
सोमबार संस्थाको स्थापना दिवसको अवसरमा हेटौंडा–२ स्थित मनकामना चोक हुँदै मनकामना मन्दिर जाने बाटो हेटौंडा–५ सिँचाइ टोलसम्म सरसफाइ गरिएको छ । यस्तै, हेटौंडा–२ मकवानपुर बहुमुखी क्याम्पस अगाडी, वनस्खण्डी गेट, मनकामना चोकलगायतका क्षेत्रमा संस्थाले सौजन्य गरेको करिब ६० हजार रुपैयाँ बराबरको फोहोर फाल्ने २० वटा डस्टविन राखिएको संस्था व्यवस्थापक विनोद पौडेलले जानकारी दिए ।

यसैगरी सहकारी स्थापना दिवसको अवसरमा रक्तदान समेत गरिएको छ । रक्त सञ्चार केन्द्र हेटौंडाको समन्वयमा भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेकाे सहकारी अध्यक्ष दिलिश गाेविन्द जाेशीले जानकारी दिए ।
यस्तै संस्थाको अहिले सेयर सदस्य १ हजार २ सयभन्दा बढी रहेको जाेशीले जानकारी दिए । यस्तै १ करोड ३ लाख रुपैयाँ सेयर पुँजी, ४ करोड ८० लाख रुपैयाँ ऋण लगानी र ३ करोड १० लाख रुपैयाँ निक्षेप बचत रहेको व्वस्थापनक पाैडेलले बताए ।
संस्थाका अध्यक्ष जोशीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा–२ का वडाध्यक्ष विष्णु गोपाल महर्जन र ५ नम्बर वडाको वडाध्यक्ष सुशील घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । मकवानपुरको हेटौंडा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन ।
हेटौंडा उपमहानगरपालिका वडा नं.६ गौरिटारमा सुमोले मोटरसाइकललाई ठक्कर दिंदा २ जना घाईते भएका हुन् ।
हेटौंडा १६ हटियाबाट हेटौंडा ८ कमानेतर्फ जादै गरेको बा.४० प ६०६८ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउँदै गरेको ना १ ज २४२७ नम्बरको सुमोले ठक्कर दिएको थियो ।
सुमोको ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घाईते हुनेमा हेटौडा उपमहानगरपालिका–४ बस्ने ५० वर्षीय पुष्कल श्रेष्ठ र पछाडी सवार ४५ वर्षीय जुनेली श्रेष्ठ रहेका छन् ।
घाईते दुबैजनाको स्वस्थ्य अवस्था सामान्य रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर । तेश्रो राष्ट्रिय खुला हाजिरीजवाफ प्रतियोगितामा जुम्ला प्रथम भएको छ । शुक्रबार युवा रेडक्रस सर्कल हेटौंडा र लायन्स क्लब अफ हेटौंडा सुर्योदय प्लसको आयोजनामा भएको प्रतियोगितामा जुम्लाको समुह प्रथम हुँदा गोरखा जिल्लाको प्रेम पाठक र लक्ष्मण बसेलको समुह द्वितीय र मकवानपुर जिल्लाको सुशील भण्डारी र पुजन न्यौपानेको समुह तृतीय भएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समुहले क्रमशः २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १० हजार रुपैयाँसहित मेडल प्राप्त गरेका छन् । जिल्ला युवा समिति मकवानपुरको समन्वयमा कार्यक्रम भएको थियो । युवा रेडक्रस सर्कल हेटौैंडाका अध्यक्ष सुजन खतिवडाको सभाध्यक्ष तथा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देल, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिबहरि दाहाल, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति सुर्यचन्द्र न्यौपाने तथा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रीक ३२५ एसका दोस्रो गभर्नर टासी डोल्मा टुम्बाहाम्फे, नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सचिव किशन घिसिङ्ग, कोषाध्यक्ष हिक्मत श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेकपा माले मकवानपुरले प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि माले मकवानपुरले मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ र २ मा ६ जनाको नाम सिफारिस गरेको छ ।
माले मकवानपुरको साउन २६ गते विहीबारको बैठकले मकवानपुर जिल्लाको २ वटा निर्वाचन क्षेत्रबाट ६ जनाको नाम सिफरिस गरेको मालेका जील्ला अध्यक्ष कुमार बहादुर संजेलले जानकारी दिए ।
माले मकवानपुरको साउन २६ गते विहीबारको बैठकले क्षेत्र नं १ मा पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज समेत रहेका कृष्ण प्रसाद दाहाल सहित कुमार बहादुर संजेल र अम्बिका लामिछानेको नाम सिफारिस गरेको हो ।
त्यस्तै मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट तीर्थराज सुबेदी, उद्धब अधिकारी र सबिना बिश्वकर्माको नाम सिफारिस गरेको छ ।
बैंठकमा पार्टीको केन्द्रीय सदस्यमा मनोनित हुनु भएका दाहाललाई जिल्ला कमिटीले खादा र अबिर लगाएर सम्मान गरेको थियो ।
मकवानपुर । नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिकोत्सवमा हेटौडामा रक्तदान गरिएकाे छ । नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौडाले विहीबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।
रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको रक्तदानमा ७ जना महिला र ४५ जना पुरुष गरी ५२ जनाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा नेपाल विद्युत प्राधिकरण बागमती प्रदेशका डिभिजन प्रमुख दिपेन्द्रराज सुवेदी, प्रशासन प्रमुख रामचन्द्र पौडेल, रक्तदान कार्यक्रम उप–समितिका संयोजक प्रेमप्रसाद दुलाल, सहायक प्रशासकीय अधिकृत भरत भण्डारी, प्रशासन अधिकृत तारा विष्ट, प्राविधिक बिजय थिङ, रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक विष्णु रिमाल, किशोर सापकोटा लगायतकाको सहभागिता रहेको थियो ।
वार्षिकोत्सवको अवसरमा साउन १६ गतेदेखि २१ गतेसम्म ब्याटमिन्टन प्रतियोगिता भएको थियो । साउन ३१ गते सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिने छ । यस डिभिजन अन्तरगत ६ वटा वितरण केन्द्रहरु रहेका छन् ।
