मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका २ स्थित बालजागृति इङ्गलिस सेकेन्डरी स्कुलको पाँच दिवसीय कार्यक्रम भएको छ । माघ २५ गते आइतबारबाट सुरु वृहत शैक्षिक प्रदर्शनी तथा अभिभावक दिवस कार्यक्रम बिहीबार सकिएकाे हाे ।
विभिन्न साँस्कृतिक एवम् शैक्षिक प्रदर्शनीकाे अन्तिम दिन बिहीबार विद्यालयले विभिन्न विषयको प्रदर्शनी तथा लोक संस्कृतिको जगेर्नाका लागि रैथाने खाना, साँस्कृतिक पोशाक लगाएर प्रदर्शनी गरेका थिए । प्रदर्शनका क्रममा विज्ञान विषय अन्तर्गत रहेर कारखानाको प्रदर्शनी गरेका थिए । साथै मौलिक संस्कृतिको रुपमा रहेको रहनसहन, खानाका परिकार प्रस्तुती अन्तर्गत लोकसंस्कृतिको जगेर्नाका लागि प्रस्तुत गरिएको विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिए ।
बिहीबार सबै विषयको प्रयोगात्मक प्रर्दशनी गरिएको थियो । उक्त प्रतियोगितामा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीको सहभागिता रहेको थियो ।
कक्षाकोठामा सिकेका ज्ञानलाई हौसला प्रदान गरी अगाडि बढाउन प्रदर्शनीको आयोजना गरिएको सुवेदीले बताए । अभिभावक दिवसको पहिलो दिन आइतबार पूर्वप्राथमिक तहका अभिभावक सहितकाे कार्यक्रम भएकाे थियो । सोमबार कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूले अभिभावकसहित साँस्कृतिक कार्यक्रम गरेका थिए । मङ्गलबार ४ र ५ कक्षा र बुधबार कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूको प्रस्तुति रहेकाे थियाे ।
अभिभावक दिवसलाई विद्यालयले वार्षिक रुपमा बृहत साँस्कृतिक तथा शैक्षिक प्रदर्शनीको रूपमा मनाउँदै आएकाे छ । यस वर्षकाे शैक्षिक क्यालेण्डरमा दशैंअघि सञ्चालन हुने गरी ताेकिएकाे कार्यक्रम विविध कारणवश माघ महिनामा गरिएकाे बताइएकाे छ ।
मकवानपुर । निर्माणधिन काठमाडौ- तराई- मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) मा टुचन मेसिन दुर्घटना भएको छ । मंगलबार भएको उक्त दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर भिमफेदी ८ महादेवटार छोक्रेडाडा स्थित निर्माणधिन फास्ट ट्रयाकको १ नम्बर पुलको खाडलमा काम गरेर टुचनमा निस्कदै गर्दा टुचन ब्रेक फेल भइ दुर्घटना हुँदा सिन्धुपाल्चोक पाचपोखरी थाङपाल ५ का २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त दुर्घटनामा सिन्धुपाल्चोक पाचपोखरी थाङपाल ६ का ३७ वर्षीय जुल्फे तामाङ घाइते भएका छन् । तामाङलाई उपचारको लागि काठमाडौं तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ । उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
निर्वाचन २०८२ अन्तरगत रहेर केही दिन मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दैछौ ।
लवशेर विष्ट (नेपाल कम्युनिष्ट पार्टी) नेकपा
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट लवशेर विष्ट उम्मेदवार छन् ।
विष्टको जन्म वि.सं. २०२८-०२-१५ मा मकवानपुरकाे थाहा नगरपालिका–३ घर्तीखोलाका भएकाे हाे । पिता बासुदेव विष्टले उनलाई मेहनत, इमानदारी र सामाजिक उत्तरदायित्वको मूल्य सिकाएकाे उनी बताउँछन् । परिवारको समर्थन र संस्कारले उनी सामाजिक र राजनीतिक जीवनमा सन्तुलन कायम राख्न सक्षम देखिन्छन्छ ।
- उनी स्थानीय समाज र संस्कृतिसँग गहिरो रूपमा जोडिएका छन्। बाल्यकालदेखि नै उनले गाउँ र समुदायको जीवनशैली, संघर्ष र सामाजिक एकताको महत्व नजिकबाट अनुभूति गरेका छन्। विष्ट थाहा नगरपालिकाका २०७४ सालमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट विजयी भइ संस्थापक नगर प्रमुख भएका थिए ।
- विष्टले थाहानगरकाे मेयर हुँदाकाे ५ वर्षे कार्यकालमा रूपचन्द्र विष्टको दर्शनलाई प्रवर्द्धन गर्ने र नगरपालिकाको विकासमा “थाहा” शैलीलाई अगाडि बढाउने प्रयास गरेका थिए । उनलाई मकवानपुरको राजनीतिमा एक निष्ठावान र ‘बेदाग’ छवि भएका नेताका रूपमा हेरिन्छ।
- निर्माण व्यवसायसँगै उद्योग वाणिज्य संघमा समेत सक्रिय व्यवसायिक व्यक्तित्व समेत रहेका उनी मकवानपुरको उत्तरी क्षेत्र (पालुङ, बज्रबाराही) को सामाजिक र आर्थिक विकासमा सक्रिय व्यक्ति मानिन्छन्। आफ्नो क्षेत्रका समस्याहरू नजिकबाट बुझ्ने र समाधानको पहल गर्ने दृष्टिकोण राख्छन्।
- विपन्न वर्ग, ग्रामीण समुदाय र स्थानीय विकासका मुद्दामा उनले विशेष ध्यान दिने गरेका बताउँछन् । पार्टीको नीति तथा सिद्धान्तअनुसार उनी जनताको हक–अधिकार, सुशासन र सामाजिक न्यायका पक्षमा निरन्तर सक्रिय छन्। उनको नेतृत्व क्षमता र जनसेवाको भावना उनलाई क्षेत्रीय राजनीतिक भूमिकामा विश्वासिलो बनाएको छ।
- विष्टले आई ए तह सम्मकाे शिक्षा पूरा गरेका छन्। उनले रत्न राज्य क्याम्पसबाट अध्ययन गरेका हुन्, जहाँ उनले सामाजिक विज्ञान, इतिहास र राजनीतिसँग सम्बन्धित ज्ञान हासिल गरेका थिए। विद्यालय र क्याम्पसको वातावरणले उनलाई आलोचनात्मक सोच र नेतृत्व क्षमतामा विकसित गराएको छ।
- उनले संगठनात्मक क्षमता र रणनीतिक सोचमा सुधार ल्याएका छन्। यसले उनलाई निर्वाचन क्षेत्रभित्र र बाहिर प्रभावकारी नेता बनाएको छ ।विष्ट सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । उनी समुदायका आवश्यकताहरू बुझ्न र समस्या समाधानमा सहयोग पुर्याउन निरन्तर प्रयासरत छन्।
- विष्टले आफू नाराभन्दा काममा विश्वास गर्ने नेता भएको स्पष्ट पारेका छन्। “म बोलेर लोकप्रियता खोज्ने नेता होइन, काम गरेर भरोसा जित्न चाहन्छु,” विष्टले भने, “जनजीविका, रोजगारी, विकास र सुशासन मेरो प्राथमिक एजेन्डा हो।” उनले पार्टीप्रति जनविश्वास थप मजबुत बनाउन सबै तहका नेता–कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
विष्टले आम नागरिकप्रति रहेको जिम्मेवारी निष्ठा र इमानदारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जेन–जी पुस्ताको भावना र चाहनालाई नेपाली कम्युनिस्ट पार्टीले मात्र सही रूपमा प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै देशको समृद्धिको नेतृत्व पनि नेकपाले नै गर्ने बताए।
२०७९ को निर्वाचनमा भने कुनै पदमा उम्मेदवार बनेका थिएनन्। मेयर रहँदा विकास निर्माण र सेवाप्रवाहमा देखाएको कार्यशैलीका कारण विष्टको चर्चा अहिले पनि जिल्लामा हुने गरेको छ।
मकवानपुर । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ । उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
निर्वाचन २०८२ अन्तरगत रहेर केही दिन मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दैछौ ।
रामबहादुर थोकर(राष्ट्रिय प्रजातन्त्र पार्टी)
- आगामी २१ फागुनमा हुन लागिरहेको प्रतिनिधीसभाको चुनावमा मकवानपुर जिल्ला क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रामबहादुर थोकर प्रत्यक्ष तर्फका उम्मेदवार हुन् ।
- मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर १० साविक नामटार गाविस, मर्याङकोटमा २०२३ साल साउन ७ गते जन्मिएका थोकरले एसएलसीसम्मको शैक्षिक योग्यता पूरा गरेका छन् । स्थानीय रत्नज्योति निमाविबाट सात कक्षा उत्र्तीण गरेका उनले भुटनदेवी मावि, हेटौँडाबाट २०४२ सालमा एसएलसी गरेका हुन् ।
- २०३९ सालबाटै राजनीतिमा लागेका उनी भुटनदेवी माविमा विद्यार्थी संगठन राप्रविसंमा आबद्ध भएका थिए । २०३९ सालमा पार्टीकी ओमुटेम्पा लामा मकवानपुर जिल्ला सभापतिमा निर्वाचित भएपछि स्वकीय सचिवको जिम्मेवारीमा रही थोकरले काम गरे । २०४३ सालमा भएको चुनावमा ओमुटेम्पा लामाको चुनावी सल्लाहकार भएका थिए थोकर ।
- थोकरको समुदाय सिमान्तकृत चेपाङ बाहुल्यताको भएकाले २०४०–२०४२ तिर चेपाङको प्रजा विकास कार्यक्रमका लागि उनले अगुवाई गरे । चेपाङ समुदायको जीवनस्तर सुधार्न र उनीहरुलाई चेतना अभिवृद्घि गराउँन थोकरले काम गरे ।
- २०४६ साल चैत्र २६ गते बहुदलीय व्यवस्था घोषणा भएपछी उनी आफ्नो व्यवसायिक कर्म छाडेर गाउँ फर्किए । थापा र चन्द राप्रपाका दुई समूहमध्ये उनले ‘हलो’ चिन्हकाे चन्द समूह रोजे । थोकरले आफ्नो राजनीतिक अभिभाक मानेका ओमुटेम्पा लामा २०४७ मा नेपाली कांग्रेसमा प्रवेश गरिन् । तर पनि थोकर आफ्नो राजनीतिक निष्ठामा विचलित भएनन् ।
- विद्यार्थी जीवनबाट आफूले राजनीतिक यात्रा आरम्भ गरेको पार्टीमै रही सदैव राजनीतिक कर्ममा लागिपर्ने थोकरले अठोट लिए । पार्टी एकतापछि एकप्रकारको राजनीतिक माहौल निर्माण हुँदै गर्दाको त्यसबेला २०५६ मा मकवानपुरबाट कमल थापा विजयी भए ।
- २०६० मा थोकर आफ्नो कामका लागि हङकङ गए । २०६४ सालमा पहिलो संविधानसभाको चुनावमा उनी पार्टीका उम्मेदवारलाई लिएर मतदाता सामु पुग्दै पार्टीलाई जनताका बीचमा खडा गराउन लागिपरे ।
- २०७४ सालमा भएको चुनावमा उनी समानुपातिक उम्मेदवारमा रहेका थिए । २०७९ सालको चुनावमा जनताले उनलाई उम्मेदवारको रुपमा चाहे पनि त्यसमा उनी आफू उठेनन् । आफ्नो क्षेत्रबाट आफू नउठेकै कारण क्षेत्र नम्बर १ का पार्टीका उम्मेदवार दीपकबहादुर सिंहलाई जीतका लागि सहज भएको उनको भनाई छ ।
- उनी राप्रपाको महाधिवेशनमा थोरै मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए । हाल उनी राप्रपाको केन्द्रीय सदस्य छन् । पार्टीकै संगठन प्रजातान्त्रिक जनजाति विभागको सदस्य सचिवका अलावा संघीय निर्वाचन क्षेत्र नम्बर २ का अध्यक्षमा रुपमा आफूलाई चिनाइ राखेका छन् ।
जनताको जीवनशैली परिवर्तन गर्दैै उनीहरुको सर्वाङ्गिण विकासका लागि आफ्नो उम्मेदवारी रहेको उनकाे भनाई छ । पछिल्लो समय नेपालमा भएको जेनजी अर्थात् नवपुस्ताको आन्दोलनको भावना अनुसार देशमा विकास, सुशासन कायम गराउँदै भ्रष्टाचार अन्त्यका लागि पनि आफू संसदमा गएर भूमिका खेल्ने चाहना अनुसार उनी चुनावी अभियानमा होमिएका बताउँछन् ।
- मकवानपुर । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ ।
उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
निर्वाचन २०८२ अन्तरगत रहेर केही दिन मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दैछौ ।
प्रशान्त उप्रेती (राष्ट्रिय स्वतन्त्र पार्टी)
राजनीतिमा नयाँ पुस्ताकाे बहस चलिरहेकाे बेला मकवानपुर निर्वाचन क्षेत्र नं. २ मा २५ वर्षीय युवाले उम्मेदवारी दिएका छन् । रास्वपाबाट उम्मेदवारी दिएका नवयुवा पुस्ताका उम्मेदवार हुन् प्रशान्त उप्रेती।
- उप्रेती मध्यम वर्गीय परिवारमा २०५७ सालमा जन्मिएका हुन् । उनी पर्यटन व्यवस्थापनमा स्नातक र ‘Educational Leadership’ मा स्नातकोत्तर अध्ययनरत छन्।
- मकवानपुरकाे मनहरी गाउँपालिकामा हुर्किएका प्रशान्त पर्यटन उद्यमी समेत हुन्। उनी हाल मनहरीमै विद्यालय शिक्षा अध्यापनरत छन्। होटल र पर्यटन क्षेत्रमा आफैँले गरेको कार्यले उनलाई उद्यमशीलताका चुनौतीहरू सिकाएको बताउँछन् ।
- आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य संसदमा गएर केवल हात उठाउनु वा संख्या पुर्याउनु मात्रै नभएकाे भन्दै जनभावनाको प्रतिनिधित्व गर्दै राष्ट्रहितका लागि कानून निर्माण गर्न र सरकारलाई निरन्तर निगरानी गरि जवाफदेही बनाउन अडिग रहेकाे बताउँछन् ।
- संविधानलाई संघर्षको प्रतिफल मान्दै र संविधानको अक्षर र भावनाको रक्षाको लागि अडिग भएकाे बताउँछन्।
- झन्झटिलो कानुनी प्रक्रिया हटाएर “Ease of Doing Business” सुनिश्चित गर्ने, निजी क्षेत्रको सशक्तिकरण गर्ने, तुलनात्मक लाभका क्षेत्रहरु जस्तैः पर्यटन तथा जलस्रोत मार्फत देशको अर्थतन्त्र समृद्ध बनाउने र स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने उनको मार्गचित्र छ।
- आफ्नो क्षेत्रका स्थानीय समस्याहरूलाई नबिर्सिएकाे तथा स्थानीयका दैनिक समस्याहरुसँग जानकार भएकाे बताउँछन्। मकवानपुर मात्र हैन समग्र देशका किसानहरूले भोग्नुपरिरहेको समस्या, आफ्नो क्षेत्रमा रहेको गरिबी, बढ्दो महंगी सम्बोधन गर्दै गुणस्तरीय स्वास्थ्य तथा शिक्षामा सर्वसाधारणको पहुँच पुर्याउनु पहिलो कर्तव्य हाे भन्छन् ।
- ‘जनताका दैनिक समस्यालाई सदनमा पुर्याउनु र सो को सम्बन्धित निकाय मार्फत सम्बोधन गराउनु जिम्मेवारी हुनेछ’ उनी भन्छन् ।
- ‘Education Leadership’ को विद्यार्थी भएकाेले हाम्रो खस्किँदै गएको शिक्षा तथा सो को प्रणालीको बारेमा जानकार भएकाेले नेतृत्व तहबाट सुधारका लागि पहल गर्ने उनकाे भनाई छ ।
- Gen Z (नवयुवा) आन्दोलन मार्फत प्रतिबिम्बित नयाँ पुस्ताको आकांक्षाहरुलाई सदनमा पुर्याउन उनीसँग उमेर र आवाज भएकाेले मतदाताहरूका लागि प्रशान्त केवल एक उम्मेदवार मात्र नभई राजनीतिमा ‘परिवर्तनको एउटा बलियो आशा’ भएकाे पार्टीकाे धारणा रहेकाे छ ।
युवा मात्रै नभई देशको नीतिगत तहमा हस्तक्षेप गर्न सक्ने परिपक्क एजेन्डाहरू समेत भएकाले निर्वाचन २०८२ मा मकवानपुर २ बाट जित्ने आत्मविश्वास भएकाे उनी बताउँछन्। रास्वपाले २०७९ सालमा उम्मेदवार बनेका भरत पराजुलीलाई यसपटक टिकट नदिएर मनहरी गाउँपालिकाका २५ वर्षीय युवक उप्रेतीलाई प्रतिस्पर्धी बनाएको छ ।
क्षेत्र नं. २ मा पुराना र नयाँ दलका उम्मेदवार बिच प्रतिष्पर्धा हुने छ । प्रशान्तले २०७९ सालमा प्रतिनिधि सभा सदस्य पदमा विजयी महेश बर्तौला, नेपाली काँग्रेस मकवानपुर सभापति बुद्ध लामा, थाहा नगरपालिकाका २०७४ सालमा मेयर पदमा वियजी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का लवशेर विष्टलगायत अन्य पार्टी र स्वतन्त्र गरी २० जनासँग प्रतिष्पर्धा गर्नेछन् ।
क्षेत्र नम्बर–२ मा स्वतन्त्र उम्मेदवारतर्फ अमृत बल, कृष्णराम श्रेष्ठ, प्रतिक्षा बानियाँ, रमेश आचार्य र सितामाया बल उम्मेदवार छन् । दलतर्फ जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह) बाट छविलाल वाइवा, राष्ट्रिय जनमोर्चाबाट निरबहादुर सिन्तान, उज्यालो नेपाल पार्टीबाट प्रविन कुमार स्याङतान र रामबहादुर थोकर उम्मेदवार छन् ।
यस्तै श्रम संस्कृति पार्टीबाट युनेश लामा सिन्तान, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट राम घलान, संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट, नेपाल मजदुर किसान पार्टीबाट सरोज तामाङ, नेशनल रिपब्लिक नेपालबाट सुर्य तामाङ बल, आम जनता पार्टी (एकल चुनाव चिन्ह)बाट सूर्य राई तथा मंगोल नेशनल अर्गनाइजेसनबाट हिरालाल स्याङतान उम्मेदवार छन् ।
२०७९ काे निर्वाचनकाे मत परिणामः
प्रतिनिधिसभा निर्वाचन–०७९ मा एमाले महेश बर्तौलाले ३४ हजार ९ सय १६, कांग्रेस र माओवादीसहित गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले ३० हजार ३ सय ९६ र रास्वपाका भरत पराजुलीले १२ हजार ३९ मत प्राप्त गरेका थिए । यसैगरी राप्रपाका राजन मैनालीले २ हजार १९४, नेकपा (माले)का उद्धवप्रसाद अधिकारीले एक हजार ८०५ मत ल्याएका थिए ।