मकवानपुर । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ । उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
निर्वाचन २०८२ अन्तरगत रहेर केही दिन मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दैछौ ।
रामबहादुर थोकर(राष्ट्रिय प्रजातन्त्र पार्टी)
- आगामी २१ फागुनमा हुन लागिरहेको प्रतिनिधीसभाको चुनावमा मकवानपुर जिल्ला क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रामबहादुर थोकर प्रत्यक्ष तर्फका उम्मेदवार हुन् ।
- मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर १० साविक नामटार गाविस, मर्याङकोटमा २०२३ साल साउन ७ गते जन्मिएका थोकरले एसएलसीसम्मको शैक्षिक योग्यता पूरा गरेका छन् । स्थानीय रत्नज्योति निमाविबाट सात कक्षा उत्र्तीण गरेका उनले भुटनदेवी मावि, हेटौँडाबाट २०४२ सालमा एसएलसी गरेका हुन् ।
- २०३९ सालबाटै राजनीतिमा लागेका उनी भुटनदेवी माविमा विद्यार्थी संगठन राप्रविसंमा आबद्ध भएका थिए । २०३९ सालमा पार्टीकी ओमुटेम्पा लामा मकवानपुर जिल्ला सभापतिमा निर्वाचित भएपछि स्वकीय सचिवको जिम्मेवारीमा रही थोकरले काम गरे । २०४३ सालमा भएको चुनावमा ओमुटेम्पा लामाको चुनावी सल्लाहकार भएका थिए थोकर ।
- थोकरको समुदाय सिमान्तकृत चेपाङ बाहुल्यताको भएकाले २०४०–२०४२ तिर चेपाङको प्रजा विकास कार्यक्रमका लागि उनले अगुवाई गरे । चेपाङ समुदायको जीवनस्तर सुधार्न र उनीहरुलाई चेतना अभिवृद्घि गराउँन थोकरले काम गरे ।
- २०४६ साल चैत्र २६ गते बहुदलीय व्यवस्था घोषणा भएपछी उनी आफ्नो व्यवसायिक कर्म छाडेर गाउँ फर्किए । थापा र चन्द राप्रपाका दुई समूहमध्ये उनले ‘हलो’ चिन्हकाे चन्द समूह रोजे । थोकरले आफ्नो राजनीतिक अभिभाक मानेका ओमुटेम्पा लामा २०४७ मा नेपाली कांग्रेसमा प्रवेश गरिन् । तर पनि थोकर आफ्नो राजनीतिक निष्ठामा विचलित भएनन् ।
- विद्यार्थी जीवनबाट आफूले राजनीतिक यात्रा आरम्भ गरेको पार्टीमै रही सदैव राजनीतिक कर्ममा लागिपर्ने थोकरले अठोट लिए । पार्टी एकतापछि एकप्रकारको राजनीतिक माहौल निर्माण हुँदै गर्दाको त्यसबेला २०५६ मा मकवानपुरबाट कमल थापा विजयी भए ।
- २०६० मा थोकर आफ्नो कामका लागि हङकङ गए । २०६४ सालमा पहिलो संविधानसभाको चुनावमा उनी पार्टीका उम्मेदवारलाई लिएर मतदाता सामु पुग्दै पार्टीलाई जनताका बीचमा खडा गराउन लागिपरे ।
- २०७४ सालमा भएको चुनावमा उनी समानुपातिक उम्मेदवारमा रहेका थिए । २०७९ सालको चुनावमा जनताले उनलाई उम्मेदवारको रुपमा चाहे पनि त्यसमा उनी आफू उठेनन् । आफ्नो क्षेत्रबाट आफू नउठेकै कारण क्षेत्र नम्बर १ का पार्टीका उम्मेदवार दीपकबहादुर सिंहलाई जीतका लागि सहज भएको उनको भनाई छ ।
- उनी राप्रपाको महाधिवेशनमा थोरै मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए । हाल उनी राप्रपाको केन्द्रीय सदस्य छन् । पार्टीकै संगठन प्रजातान्त्रिक जनजाति विभागको सदस्य सचिवका अलावा संघीय निर्वाचन क्षेत्र नम्बर २ का अध्यक्षमा रुपमा आफूलाई चिनाइ राखेका छन् ।
जनताको जीवनशैली परिवर्तन गर्दैै उनीहरुको सर्वाङ्गिण विकासका लागि आफ्नो उम्मेदवारी रहेको उनकाे भनाई छ । पछिल्लो समय नेपालमा भएको जेनजी अर्थात् नवपुस्ताको आन्दोलनको भावना अनुसार देशमा विकास, सुशासन कायम गराउँदै भ्रष्टाचार अन्त्यका लागि पनि आफू संसदमा गएर भूमिका खेल्ने चाहना अनुसार उनी चुनावी अभियानमा होमिएका बताउँछन् ।

