मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । सोमबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट खटिएकाे प्रहरीले ४५ किलो १ सय २० ग्राम गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडाबाट बीरगन्जतर्फ जाँदै गरेको डीएल ४३ एनबी ५९९४ नम्बरको भारतीय बोलेरो गाडीलाई सुरक्षाजाँच गर्ने क्रममा उक्त परिमाणकाे गाँजा बरामद भएको हाे । प्रहरीले बोलेरो गाडीका चालक भारतको बिहार राज्य मोतिहारी जिल्ला पूर्वि चम्पारणका २४ वर्षीय भुषण कुमार र बोलेरोमा सवार २१ वर्षीय साजन सिंहलाई पक्राउ गरेको छ ।
उक्त लागुऔषध, गाडी सहित दुबै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे मनहरीमा आफन्तकाेमा पाहुँना लाग्न गएकी एक युवतीकाे मृत्यु भएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ हटियाबाट मनहरी गाउँपालिका वडा नम्बर ३ स्थित निर्मला बस्तीमा पाहुना लाग्न गएकी अन्दाजी २० बर्षीया कान्छी (बोलाउने नाम) प्रजा मृत भेटिएको हाे ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार उनी निर्मलाबस्तीस्थित आफन्त शान्ती प्रजाको घरमा गएकी थिइन् । शनिबार बेलुका खाना खाएर एक्लै कोठामा सुतेकी कान्छी आइतबार बिहान मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ । बागमती प्रदेश प्रहरीका अनुसार मृतक युवतीको शरिरमा चोटपटक देखिएको छैन । शव पोष्टमाटमका लागि हेटौंडा अस्पतालमा राखिएकाे छ ।
मकवानपुर । मकवानपुरमा ध्वनी प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण गराईएको छ ।
जनसरोकार केन्द्र मकवानपुरले आइतबार प्रमुख जिल्ला अधिकारीलाई ध्वनी प्रदुषण नियन्त्रणका लागि ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराइएको हो ।
जनसरोकार केन्द्र मकवानपुर संयोजक धुर्ब प्रसाद चौलागाईले प्रजिअ सूर्य प्रसाद सेडाईलाई ज्ञापनपत्र बुझाउँदै बढ्दो ध्वनी प्रदुषण नियन्त्रण गर्न आग्रह गरे ।
ध्वनी प्रदुषणका कारण मकवानपुरका नागरिक समस्यामा परेकोले केन्द्रले प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका अन्य सरकारी निकाय एवम् विभिन्न राजनीतिक दलहरुलाई पनि ध्यानाकर्षण गराएको थियो ।


मकवानपुर । मकवानपुरकाे हेटौंडा १८ हर्नामाडीमा रहेको वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो १५ औं वार्षिक साधारणसभा गरेको छ । साधारण सभामा सहकारीले गत आर्थिक वर्षमा ८२ लाख ३९ हजार नाफा कमाएकाे जानकारी दिइएकाे छ ।
साधारण सभामा अध्यक्ष अरुणकुमार खतिवडाले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष इमान बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीकाे प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७९/०८० मा सहकारीले ८२ लाख ३९ हजार ३ सय ८९ रुपैयाँ नाफा कमाएको छ । सहकारीको कुल शेयर रकम ५१ लाख ९९ हजार ६ सय, कुल बचत रकम ५ करोड ९७ लाख ४६ हजार ९ सय ६० , कुल कर्जा लगानी ५ करोड ८३ लाख ९ हजार ५ सय ४ र कुल मौज्दात १ करोड ७७ लाख ९ हजार ८ सय ५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
साधारण सभमा ऋण उपसमितिका संयोजक माधव नारायण तुलाधरले ऋण उपसमितिको प्रतिवेदन र लेखा समिति संयोजक कपिल प्रसाद पराजुलीले आन्तरिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। सहकारीको चालु आर्थिक बर्षमा ४१ जना सदस्य वृद्धि भएको छ । हाल सहकारीको कुल १ हजार ८६ जना शेयर सदस्य कायम भएको छ । सहकारीले ४ जना सेयर सदस्यका परिवारलाई मृतक राहत कोष वितरण तथा १६ जना जना सदस्यलाई सुत्केरी स्याहार खर्च वितरण गरिएको अध्यक्ष खतिवडाले जानकारी दिए ।
सहकारीले चालुआर्थिक बर्षका लागि नयाँ कार्यक्रम थप गर्दै पुराना कार्यक्रमलाई निरन्तरता दिन योजना बनाएको छ । प्रत्येक शेयर सदस्यको सेयर १५ हजार पुर्याउने र ऋण लिँदा प्रति दुई हजारमा एक कित्ता शेयर अनिवार्य थप गर्दै लैजाने जनाएको छ । चालुआर्थिक बर्षको अन्त्यमा शेयर सदस्य संख्या १४ सय पुर्याउने सहकारीको लक्ष्य छ । आर्थिक मन्दीलाई ध्यानमा राख्दै कर्जा प्रवाह ८ लाख रुपैयाँसम्म प्रदान गरिने सहकारीले जनाएको छ ।
सहकारीले उत्कृष्ट बचतकर्ता बुद्धि बहादुर आले र असल ऋणीतर्फ संगिता पौडेललाई सम्मान गरेको थियो । त्यस्तै सहकारीले एसईई परीक्षामा सामुदायिक विद्यालयतर्फ ३.६५ जीपिए ल्याउने ज्योति माविकी छात्रा पवित्रा तिमल्सिना र संस्थागत विद्यालयतर्फ ३.९० जीपिए ल्याउने तासिर बोर्डिङ स्कुलका मणिराज बराललाई सम्मान गरेको थियो ।
कार्यक्रममा ज्योति माविका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष एवम् हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल, ज्योति सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष रामबाबु खतिवडा, सहकारीका सल्लाहकार केशब पण्डित, सेयर सदस्यका तर्फबाट तुलसी गिरी, रमेश थापालगायतले मन्तव्य राखेका थिए ।
मकवानपुर । पतंजली योग समिति नेपालका सह प्रभारी ललित शंकर योगीले जीवनमा चाहना रहेसम्म मानिस खुसि हुन नसक्ने बताएका छन् । मंसिर २१ गतेदेखि ३ दिनसम्म हेटौंडामा भएको मेडिटेसन प्रेरणात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
गरौ योग, रहौ निरोग भन्ने नाराका साथ पतंजली याेग समिति मकवानपुरकाे आयाेजजनामा भएकाे ३ दिने मेडिटेसन कार्यक्रमको अन्तिम दिन शनिबार याेगी ललित शंकरले जिवनमा ज्ञान, याेग, साधना आरधानाले नै खुसि मिल्ने बताए । ‘मान,पद प्रतिष्ठा, धन र सम्पत्तिले न खुसि मिल्छ न शान्ति’ उनले भने ‘हरेक दिन एक घण्टा मात्रै गिता पढ्नुस जिवनकाे लक्ष्य भेटिन्छ ।’
योगी ललितले भने ‘भगवान हाम्रो हृदयमा हुनुहुन्छ कुनै मन्दिर तथा तिर्थ धाउनु पर्दैन । भगवानसंग प्रेम गर्ने हाे भने संसारका हरेक माेहवाट मुक्त हुनुपर्छ ।’ मानिस आफ्नै विचारले दुखि अनि सुखि हुन्छ । विचार नै ओैषधि भएको उनले बताए । राग द्वेष विना मानिस ज्ञानि वन्न सक्दैन, मानसम्मानकाे माेह, छाेरा छाेरीप्रतिकाे माेह तथा धन सम्पत्ति प्रतिकाे माेह नत्यागी साधक वन्न नसक्ने उनको धारणा थियो ।
मेडिटेसनमा भक्तपुर याेग समितिका अध्यक्ष केदार खड्का, याेग समिति मकवानपुर जिल्ला अध्यक्ष रामकृष्ण थापा, महिला याेग समितिका अध्यक्ष शशिकला थापा लगायतका याेग शिक्षक शिक्षिका तथा साधक साधिकाकाे उपस्थिति रहेकाे थियाे ।