मकवानपुर । हेटौडा उपमहानगरपालिका वडा नम्बर–३ बसामाडीमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । बसामाडी स्वास्थ्य चौकी हेटौडा–३ को आयोजना तथा ३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर भएको हो ।
स्वास्थ्य शिविरमा सुगर तथा प्रेसर चेकजाँच, स्वास्थ्य परीक्षण, स्वास्थ्य शिक्षाका साथमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो । बसामाडी स्वास्थ्य चौकीमा भएकाे शिविरमा वडामा बसोबास गर्ने ४० जनाले इसीजी सेवा, ८० जनाले सुगर चेकजाँच सेवा र २ सय १५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएकाे स्वास्थ्य चौकी प्रमुख सुष्मा गौतमले जानकारी दिइन् । शिविरमा निःशुल्क औषधीकाे सेवा समेत उपलब्ध गराइएकाे थियाे ।
शिविरमा ३ नम्बर वडा अध्यक्ष ढलक बहादुर थापा, वडा सदस्य हर्क बहादुर पाख्रिन, वडा सचिव महेन्द्र चापागाई, स्वास्थ्य चौकी ब्यबस्थापन समितिका पदाधिकारीलगायतकाे उपस्थिति रहेको थियो ।

मकवानपुर । मुक्तकमञ्च मकवानपुरको १२ औं मुक्तक वाचन शृङ्खला हुने भएको छ ।
आगामी पुस २८ गते शनिबार हुने १२ औं शृङ्खलामा मकवानपुरे मुक्तककारद्वय दिपक गौतम र किसन पौडेलको संयुक्त मुक्तक वाचन विशेष हुने भएको हो । कार्यक्रममा गौतम र पौडेलले १०/१० वटा मुक्तक सुनाउने मञ्च अध्यक्ष डीबी बर्तौलाले बताए ।
यसै गरि कार्यक्रम उपस्थित अन्य मुक्तककारले समेत २/२ मुक्तक प्रस्तुत गर्न सक्ने उनले बताए । यसैगरी मुक्तक वाचन शृङ्खला कार्यक्रममा मुक्तक मञ्चका आजिवन सदस्यहरूलाई सदस्यताको प्रमाणपत्र वितरण गरिने छ ।
मञ्चमा हाल १५ जना आजीवन सदस्य रहेका छन् । मञ्चकको आजीवन सदस्यता लिन २ हजार ५ सय शुल्क तोकिएकोले सदस्यता लिन इच्छुकलाई समेत मञ्चले आग्रह गरेको छ ।
यस्तै मञ्चको दोस्रो वार्षिकोत्सब तथा प्रथम अधिवेशन आगामी माघ २७ गते गरिने भएको छ । उक्त दिन मुक्तक प्रतियोगिता समेत आयोजना गरिने बर्तौलाले बताए । वार्षिकोत्सबको अबसरमा ३ जना मुक्तककारलाई सम्मानित समेत गरिने उनले बताए।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा माछा मार्न गएका १ जनाकाे मृत्यु भएकाे छ । बागमती ४ झुरझुरे वस्ने ३५ वर्षीय गोपाल थिङ खोलामा माछा मार्न गएकाेमा मृत्यु भएकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।
आइतबार दिउँसो थिङ बागमती खोलामा माछा मार्न जान्छु भनी घरबाट हिडेका थिए । खोालमा माछा मार्न घरबाट हिडेको थिङ बेलुका अबेरसम्म घर नफर्के पछि खोजतलास गर्दा सोमबार बिहान बागमती खोलामा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।
थिङ पानीमा मृत भेटिएकाले खोलामा माछा मार्ने क्रममा डुबी मृत्यु भएको हुनसक्ने मकवानपुर प्रहरीले जनाएकाे छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुर । राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाको २४ औं बार्षिक साधारणसभा शनिबार भएको छ ।
साधारणसभाको उद्घाटन् गर्दै बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीले आफ्नो लगानी उत्पादन र उद्योगमा लगाएर रोजगारीको सृजना गर्नुपर्ने बताए । सहकारीले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नु पर्ने उनकाे भनाइ थियाे । सहकारी मध्ये पनि राष्ट्रसेवक कर्मचारी सदस्य रहेकाे सहकारी भएकाेले अरुले भन्दा फरक ढंगले काम गर्नु पर्ने उनले बताए ।
बार्षिक ११ करोड रुपैयाँको कारोवार गरेको सहकारीको शेयरपुँजी १ करोड २४ लाख २५ हजार रुपैयाँ रहेको छ । २४ वर्षअघी २०५६ साल माघ १३ गते स्थापना भएको सहकारी संस्थामा हाल ५ सय ७१ शेयर सदस्य रहेको संस्थाका अध्यक्ष यादविन्द्र पौडेलले बताए । गत असारसम्म १ सय ५५ जना महिला, ३ सय ९९ जना पुरुष र अन्य संस्थागत ३ गरी सहकारीमा ५ सय ५७ सदस्य रहेका थिए ।
गत आर्थिक वर्षमा सहकारीले ४६ लाख १५ हजार ८७ रुपैया खुद नाफा गरेकाे छ भने १ करोड २४ लाख २५ हजार ३ सय चुक्ता पुँजी रहेकाे छ । सहकारीले गत आर्थिक वर्षको मुनाफाबाट शेयर सदस्यहरुलाई १६ लाख ७६ हजार रुपैयाँ लाभांश व्यवस्था गरेको पौडेलले जानकारी दिए ।
राष्ट्रसेवक वहुउदेशिय सहकारी संस्था लिमिटेड हेटौंडाका अध्यक्ष यादविन्द्र पौडेको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर क्षेत्रनम्बर–२ का सांसद तथा एमाले सचेतक महेश कुमार बर्तौला, पेशागत महासंघका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल, नेपाल निजामती कर्मचारी संगठनका बागमती प्रदेश इन्चार्ज बिष्णु प्रसाद अर्याल, संगठनका केन्द्रीय सदस्यहरु, संगठनका इलाका अध्यक्ष उद्धब भट्टराई लगायतकाको आतिथ्यता रहेको थियो ।
छोरीलाई यातना दिने बाबु पक्राउ
Tags: No Comments
मकवानपुर । आफ्नी ४ वर्षको छोरीलाई निर्मम यातना दिने एकजना बाबुलाई मकवानपुर प्रहरीले हेटौँडाबाट पक्राउ गरेको छ । हेटौडाबाट प्रहरीले महोत्तरी घर भई हेटौँडा ५ सिंचाई टोल डेरा गरि बस्ने २७ वर्षका रामजी मण्डललाई छाेरीलाई यातना दिएकाेमा पक्राउ गरेकाे हाे ।
साढे ४ वर्षकी छोरीको हात, गालामा टोकेर गहिरो घाउँ बनाउने, कान टोक्ने, आँखामा खुर्सानीको धुलो हाल्ने गरेको स्थानीय छिमेकीले देखेपछि सिविन बाल हेल्प लाईनको सहयोगमा मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताए ।
मण्डलले नाबालिका छोरीको हात, अनुहार, कानमा टोक्ने, आँखामा खुर्सानीको धुलो हालिदिने गरेको पाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मडण्लले नाबालिका सहित श्रीमतीलाई पनि नियमित यातना दिने गरेको थाहा पाएपछि आफूहरुले उनको डेरामा अनुगमन गर्दा बाबुको यातनाबाट गम्भीर अवस्थामा रहेको नाबालिकालाई उद्धार गरेको सिवन बाल हेल्प लाईन मकवानपुरका प्रवन्धक झविन्द्र ज्ञावलीले बताए ।