मकवानपुर । भैरव स्मृति सम्मान २०८० हास्यव्यङ्ग्यकार मीनप्रसाद लामिछानेलाई प्रदान गरिने भएको छ ।
२१ हजार 1 सय ११ रुपैयाँ राशीको उक्त सम्मानबाट मकवानपुरका हास्यव्यङ्ग्यकार लामिछानेलाई फागुन महिनामा सम्मानित गरिने साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए ।
भैरव अर्यालका छाेरा दीपक अर्यालले उक्त सम्मानका लागि अक्षयकोष स्थापना गरेका छन् । शिक्षण पेशामा आवद्ध लामिछानेले हास्यव्यङ्ग्य कृति पनि प्रकाशन गरेका छन् ।
साहित्य संगम मकवानपुरले वरिष्ठ हास्यव्यङ्ग्यकार भैरव अर्यालको सम्झनामा हरेक वर्ष एकजना हास्यव्यङ्ग्य साहित्यमा कलम चलाउने साहित्यकारलाई सम्मान गर्ने गरेकाे छ ।
मकवानपुर । मकवानपुर हेटौंडा उपमहानगरपालिका–१४ का रामबहादुर रुम्बाले आमाबुबा र दाइको स्मृतिमा प्रतीक्षालय निर्माण गरेका छन् ।
उनले आमा केशरी, बुबा सुनलाल र दाई जितबहादुर रुम्बाको स्मृतिमा हेटौंडा–१४ स्थित कालोपानी चोकमा प्रतीक्षालय निर्माण गरेका हुन् । करिब १ लाख ५० हजार लागतमा निर्माण गरिएको प्रतीक्षालयको शनिबार हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी छन् ।
प्रतीक्षालय उद्घाटन गर्दै नगर प्रमुख लामाले सामाजिक कार्यले हेटौंडा उपमहानगरको विकासमा सहयोग पुग्ने बताइन् । लामाले आफ्नो परिवारको सम्झनामा प्रतीक्षालय निर्माण गरेकोमा रुम्बा परिवालाई धन्यबाद दिदै सामाजिक कार्यमा जोडिन आग्रह गरिन् ।
१४ नम्बर वडालाई हेटौंडा बजारसँग जोडेर बजारको अनुभूति हुने गरी काम गर्ने तयारी उपमहानगरपालिकाको रहेको उनले बताइन् । आफ्नो कार्यकालमा सबै पूर्वाधारहरु निर्माण गर्ने लक्ष्य रहेको लामाले बताइन् । निर्मित प्रतीक्षालय सक्रिय टोल कालोपानी, कालोपानी हुँदै उत्तरपानी र कालोपानी हुँदै बाँडाचौर जाने बाटोको मध्यभागमा पर्दछ । तीनतिरबाट आएका यात्रुहरुलाई थकान मार्न प्रतीक्षालयमा प्रयाेगमा आउन सक्छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा नवजात शिशु मृत अवस्थामा फेला परेको छ । हेटौडा उपमहानगरपालिका वडा नं. ११ मा नवजात शिशु मृत भेटिएकाे प्रहरीले जनाएकाे छ ।
शुक्रबार हेटौंडा ११ नवलपुरस्थित उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था नजिक बेबारिसे अवस्थामा नवजात शिशु (छोरी) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्थानीयले शिशुकाे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार शव पोष्टमाटका लागि हेटौंडा अस्पताल ल्याईएको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले छ ।
बागमतीलाई हराउदै एपीएफ फाइनल प्रवेश
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०८० मा शसस्त्र पुलिसको एपीएफ क्लब फाइनल प्रवेश गरेको छ । बागमती युथ क्लब सर्लाहीलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै एपीएफले फाइनलमा स्थान बनाएको हो ।
प्रतियोगिता अन्तरगत विहीबारको दोस्रो सेमिफाइनलमा बिजयी भएपछि उपाधिकालागि एपीएफले न्यूरोड टीम (एनआरटी) संग प्रतिस्पर्धा गर्ने छ ।
छैठौं संस्करणको प्रतियोगिताको फाइनलमा पुग्न एपीएफकालागि अनिश महर्जन, प्रदीप लामा, विदेशी खेलाडीद्वय सर्ज संग र फोडे फोफनाले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच अनिश महर्जन घोषित हुदै नगद १० हजार रुपैयाँ हात पारे ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा–६, गौरीटारमा जारी प्रतियोगिताको फाइनल शनिबार हुनेछ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद १५ र १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । बागमती प्रदेश खेलकुद विकास परिषद्, सामाजिक विकास मन्त्रालय, हेटौँडा मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा प्रतियोगिता भएकाे हाे ।
प्रतियाेगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको छ । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले यस संस्करणमा सहभागिता जनाएकाे छैन ।
मकवानपुर । प्रविधिक तर्फ कक्षा ९ देखि १२ सम्म कम्प्युटर इञ्जिनियरीङ शिक्षा सञ्चालनका रहेकाे मकवानपुरकाे एकमात्रै सामुदायिक विद्यालय देबकी माविमा कक्षाकाेठाकाे अभाव हुँदा प्रयाेगात्मक सिकाइ प्रभावित हुने गरेकाे छ ।
८७६ जना विद्यार्थी अध्ययनरत देबकी माविमा हाल १८ वटा कक्षाकाेठा छन् । प्राविधिकतर्फ कक्षा सञ्चालनकाे लागि ल्याबलगायतकाे भाैतिक पूर्वाधार नहुँदा समस्या रहेकाे विद्यालयका प्रध्यानाध्यापक चन्द्रबहादुर थापाले जानकारी दिए । कक्षाकाेठाकाे अभावमा धेरै कष्टकर सिकाइ भइरहेकाे उनले बताए ।
‘विद्यार्थीमा रुचि छ तर पूर्वाधारकाे समस्या भयाे’ थापाले भने ‘पास आउट भएर गएका विद्यार्थीहरु काेही पनि बेराेजगार छैनन् याे देख्दा खुसी लाग्छ तर अझै साेचेजत्ति गर्न सकिएकाे छैन ।’ विद्यालयमा भवनकाे अभाव रहेकाेले समस्या भएकाे उनले बताए । ‘कक्षा ६ बाट माथि १२ सम्म २ देखि ३ वटासम्म सेक्सन छ प्रयाेगात्मक कक्षाकाे लागि कम्प्युटर किनियाे तर राख्ने कक्षा काेठा नै छैन’ थापाले भने । कक्षाकाेठा अभाव भएकाेले दाताकाे खाेजीमा रहेकाे उनले बताए ।
विद्यालयमा जाेड दुइतर्फ शिक्षा र मानविकी संकाय अध्यापन गराउँदै आएकाे भने प्राविधिक तर्फ कम्प्युटर इञ्जिनियरिङ पछिल्लाे ४ वर्षदेखि सञ्चालन गरिदै आएकाे छ ।
४८ औं भेला सम्पन्न, विव्यासकाे लागि ४ सदस्य सर्वसम्मत चयन
देबकी माविकाे ४८ औं भेला सम्पन्न भएकाे छ । भेलामा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले शैक्षिक सुधारकाे लागि गाउँपालिका संधै सकारात्मक रहेकाे बताएका छन् ।
विद्यालयकाे शैक्षिक गुणस्तर सुधारमा व्यवस्थापन समिती, शिक्षक, अभिभावक एक जुट भएर लाग्नु पर्ने र यसकाे लागि अन्य आवश्यकीय सर्त पुरा गर्ने पालिका तयार रहेकाे अध्यक्ष घलानले बताए ।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष हस्तबहादुर थिङकाे अध्यक्षतामा भएकाे भेलाले व्यवस्थापन समितीकाे लागि नयाँ नेतृत्व चयन गरेकाे छ । जसमा चित्रबहादुर पुलामी, वीरबहादुर थिङ, प्रमिला वाइवा र सरस्वती सिंङ्तानलाई सर्वसम्मत चयन गरेकाे छ । उक्त ४ जनाकाे समितिले अन्य २ सदस्य मनाेनित गर्ने र उनीहरु मध्येबाट अध्यक्ष चयन गरिने विद्यालयका प्रध्यानाध्यापक चन्द्र थापाले जानकारी दिए ।
अभिभावक भेलामा जिल्ला समन्वय समिति मकवानपुरका खड्गबहादुर पुलामी गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।