मकवानपुर । मकवानपुरको हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०८० मा शसस्त्र पुलिसको एपीएफ क्लब फाइनल प्रवेश गरेको छ । बागमती युथ क्लब सर्लाहीलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै एपीएफले फाइनलमा स्थान बनाएको हो ।
प्रतियोगिता अन्तरगत विहीबारको दोस्रो सेमिफाइनलमा बिजयी भएपछि उपाधिकालागि एपीएफले न्यूरोड टीम (एनआरटी) संग प्रतिस्पर्धा गर्ने छ ।
छैठौं संस्करणको प्रतियोगिताको फाइनलमा पुग्न एपीएफकालागि अनिश महर्जन, प्रदीप लामा, विदेशी खेलाडीद्वय सर्ज संग र फोडे फोफनाले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच अनिश महर्जन घोषित हुदै नगद १० हजार रुपैयाँ हात पारे ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा–६, गौरीटारमा जारी प्रतियोगिताको फाइनल शनिबार हुनेछ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद १५ र १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । बागमती प्रदेश खेलकुद विकास परिषद्, सामाजिक विकास मन्त्रालय, हेटौँडा मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा प्रतियोगिता भएकाे हाे ।
प्रतियाेगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको छ । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले यस संस्करणमा सहभागिता जनाएकाे छैन ।

