मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ । हेटौंडा ८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा रहेको हेल्पबक्स प्याकेजिंङ कार्टुन फ्याक्ट्रीमा आइतबार मध्यराती आगालागी भएको हो ।
काठमाडौ १९ का संजीव मानन्धरले संचालन गरिरहेको फ्याक्ट्री आगालागीबाट पुर्ण रुपमा जलेर नष्ट भएको तर मानवीय क्षति नभएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडा उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको जनाइएको छ।
प्रहरीका अनुसार आगलागीको कारण थाहा भएको छैन । घटनामा भएको क्षतीको विवरण समेत हालसम्म प्राप्त नभएको मकवानपुर प्रहरीले जनाइएको छ।
मकवानपुर । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री माननीय एकालाल श्रेष्ठले प्रदेशको खेतीयोग्य जमिनमा सिंचाइको सुबिधा पुर्याउने आफ्नो प्रमुख लक्ष्य भएको बताएका छन् ।
हेटौंडा-७ मा रहेको बनदेवी सिंचाइ तथा वातावरण संरक्षण समितिद्वारा २०५६ सालदेखि संचालित सिंचाइ योजनाको निरिक्षण गर्दै मन्त्री श्रेष्ठले सिंचाइलाई सबै किसानको पहुँचमा पुर्याउने आफ्नो प्रमुख लक्ष्य भएको बताएका हुन् । स्थानीयको सक्रियतामा २०५६ सालमा इनार खनेर पम्पबाट सिंचाइ गरिरहेका नाग्स्वोतीका किसानले उक्त सिंचाइलाई बृहत् सिंचाइको रुपमा लैजान र ७ नम्बर वडाका धेरै खेतीयोग्य जमिनमा सुबिधा पुर्याउने योजना बनाएको समितिका अध्यक्ष भक्त बहादुर केसिले बताए ।
अहिलेको सिंचाइले बनदेबी टोल, ठुलोटार र धापटोलका केही क्षेत्रमा मात्रै सिंचाइको सुबिधा पुगेकोमा यसलाई विस्तार गर्न आवश्यक रहेको बताउदै बजेट उपलब्ध गराउन आग्रह गरे । मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालयको र आफ्नो लक्ष्य नै सबै किसानको खेतमा सिंचाइको सुबिधा पुर्याउने रहेको भन्दै आगामी बर्षको बजेटमा सम्बोधन गराउने प्रतिवद्दता व्यक्त गरे ।
उक्त सिंचाइलाई नाग्स्वोतीको तल्लो धापटोलसम्म पुर्याई खेतीयोग्य जमिनलाई सिंचाइसङ्ग जोड्न आगामी वर्ष बजेट उपलब्ध गराउने मन्त्री श्रेष्ठले बताए ।
मकवानपुर । पारिजात स्मृति दिवसको सन्दर्भमा आयाेजित वक्तृत्वकला प्रतियाेगितामा आकाङ्क्षा निरौला प्रथम भएकी छिन् । प्रतियाेगिताबाट कृतिका लौडारी द्वितीय, सुनिल न्यौपाने तृतीय, प्रियान्सु पोखरेल सान्त्वना भइन् । यसैगरी युगेश ढकालले नगद राशी ५०० प्रोत्साहन पुरस्कार प्राप्त गरेका थिए । प्रथम, द्वितीय, तृतीय, सान्त्वना स्थान प्राप्त गर्न सफल वक्ताहरूलाई क्रमशः ८ हजार , ६ हजार, ४ हजार, २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
हेटौँडा उपमहानगरपालिका १० नं वडा कार्यालयको आर्थिक सहयोग तथा आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा ‘नेपालको सामाजिक रूपान्तरणमा राजनीतिक आन्दोलनको भूमिका’ विषयक खुला वक्तृत्वकला प्रतियोगिता गरिएकाे हाे । प्रतियोगितामा १८ जना सहभागी थिए ।
प्रतियोगितामा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलकोले सिकाइ जीवनकाे ज्ञान भएकाे बताए । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका १० नं वडा अध्यक्ष फुर्वा दोर्जे तामाङ,आँचल साहित्य कला पुञ्जमकवानपुरकी सल्लाहकार पुर्णकला घिमिरे समेतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा घनश्याम घिमिरे, निरा शर्मा र श्रवण बर्तौला निर्णयक रहेकाे आँचलकाे अध्यक्ष भावना सापकाेटाले बताइन् । कार्यक्रममा हेउनपा १० नं वडा सदस्य तथा कार्यपालिका सदस्य साधना श्रेष्ठ, हेउनपा १० नं वडाका जनप्रतिनिधिहरू गोमा सुनुवार, ईश्वर प्रसाद मैनाली, साहित्यसेवी मुक्ति गोविन्द वैद्य, साहित्यकारहरू देवराज खरेल, सुदर्शन अधिकारी, रमेशमोहन अधिकारी, शम्भुप्रसाद बाँसकोटा, जनार्दन खनाल, इन्द्र नेपाल, छवी अनित्य, डिबि बर्तौला, सानु खनाल, मञ्जु खरालको आतिथ्यता रहेको कार्यक्रममा देवराज तिवारी, शान्ति प्रियवन्दना, संप्रस पौडेल, अमृता लामिछाने, जनार्दन खनाल, ऋषिराम पाण्डेयले रचनावाचन गरेकाे आँचलकी भवानी तिमल्सिना न्यौपानेले बताइन् ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा डा. महेश मास्के पारिजात स्मृति साहित्य सम्मान २०८० बाट सम्मानित भएका छन् । ३१ औँ पारिजात स्मृति दिवसको अवसरमा बुधबार साहित्यकार एवम् स्वास्थ्य सेवी मास्केलाई सहित्यकार पारिजातको स्मृतिमा स्थापित सम्मान प्रदान गरिएको हो ।
साहित्य सङ्गम मकवानपुर र आदर्श टोल विकास संस्थाले हेटौंडा–१० नम्बर वडा कार्यालयसँगको सहकार्यमा १५ हजार सय ५५ रुपैयाँ राशीको सम्मान मास्केलाई प्रदान गरिएको हो । पारिजात स्मृति केन्द्रका पूर्वअध्यक्षसमेत रहेका मास्केले पारिजातको व्यक्तित्व र कृतित्वको प्रवद्र्धनका साथै नेपाली साहित्य र स्वास्थ्य क्षेत्रको उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान प्रदान गरिएको हो ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष फुर्वा दोर्जे तमाङ, सङ्गम अध्यक्ष डिबी वर्तौला, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिललगायतले मास्केलाई नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । बुधबार हेटौंडा बसपार्कमा रहेको पारिजातको प्रतिमामा माल्यार्पण गरि पारिजात स्मृति कार्यक्रम गरिएकाे हाे ।
पारिजात स्मृति सम्मान गर्दै डा. मास्केले आफूले सम्मानबापत प्राप्त गरेको नगदमा त्यति नै रकम थपेर साहित्य सङ्गमकाे अक्षयकोषलाई सहयोग गरेका थिए । साहित्यको उन्नयनमा लागेको संस्थालाई थप मजबुत बनाउनको लागि आफूले पाएको सम्मानमा रकम थप गरी सहयोग गरेको मास्केले बताए । स्वास्थ्य क्षेत्रको विकासमा विभिन्न निकायमा बसेर भूमिका निर्वाह गरेका मास्केले २०४१ सालमै ‘भोकका कैदीहरुसँग’ कविता सङ्ग्रह प्रकाशित गरेका थिए । मास्के चीनका लागि नेपालका पूर्वराजदूतसमेत हुन् ।
कार्यक्रममा साहित्यकार शान्तिप्रिय वन्दनाले पारिजातले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेकी थिइन् । कार्यक्रममा पारिजातका कविता वाचन गरिएका थिए ।
मकवानपुर । मकवानपुर प्रहरीले गांजा ओसारपसारमा सम्लग्न २ किशोर सहित ७ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीको प्रहरीले उनीहरूको साथबाट १३० किलो गांजासहित नियन्त्रणमा लिएको हो ।
गाजासहित नियन्त्रणमा लिइएकामा मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका ३ बस्ने १५ र १९ बर्षिय किशोर रहेका छन् । यस्तै मकवानपुर कैलाश गाउंलालिका ४ बस्ने २८ बर्षिय बम बहादुर चेपाङ, २७ बर्षिय हरिकुमार प्रजा,२७ बर्षिय बिरमान प्रजा रहेका छन् ।
यसैगरी मनहरी गाउँपालिका ३ हाडीखोला बस्ने ४४ बर्षिय रामहरी लुईटेल र मनहरी ५ बस्ने ३६ बर्षिय दिपक थापा मगर रहेको प्रहरीले जनाएको छ ।
पदमपोखरी सेक्टर लामिटारबाट खटिएको नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले गस्ती गर्दै जाने क्रममा पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति इलाकामा बोरामा लागू औषध गांजा बोकेर पैदलै पर्सा जिल्लातर्फ जादै गरेको अबस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।