मकवानपुर । हेरौंडा उपमहानगरपालिका, १९ वडा कार्यालयको आयोजना एवं कलेज अफ मेडिकल साईन्स (पूरानो मेडिकल कलेज, भरतपुर चितवन) को प्राविधिक सहयोगमा हेटौंडा १९ स्थित नेवारपानी शहरी स्वास्थ्य केन्द्रमा निशुल्क स्वास्थ्य शिविर भएको छ ।
स्वास्थ्य शिविरमा २२ जनाको मेडीकल टिमले स्वास्य सेवा प्रदान गरेको थियो। शिविरबाट २८९ जनाले सेवा लिएको वडा सचिब राजेन्द्र पोखरेलले बताए ।
स्वास्थ्य शिविरमा दन्त रोग, बालरोग प्रसुती रोग जनरल फिजिसियन अर्थोपिडीक सेवा प्रदान गरिएको थियो ।
स्वास्थ्य शिविरमा २२ जनाले दन्त जांचको सुविधा लिएको वडा अध्यक्ष नरनाथ सुवेदीले बताए ।
यसैगरी प्रसुति जांच सेवा २३ जनाले, फिजिसियन सेवा-१४२ जनाले, वालरोग -सेवा २१ जनाले र अर्थोपेडिक सेवा ८१ जनाले लिएका थिए । ती मध्ये १५ जना बिरामीलाई थप उपचारको लागि रिफर गरिएको वडा सचिब पोखरेलले बताए ।
कार्यक्रमको समापनमा नगरप्रमुख मिना कुमारी लामाले स्वास्थकर्मी टिमलाई प्रशंसापत्र प्रदान गर्दै धन्यवाद दिइन ।
मकवानपुर । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ सिर्जना बस्तीमा शिक्षा विकास निर्देशनालय हेटौंडाको सुविधा सम्पन्न भवन निर्माणकार्य सुरु गरिएकाे छ ।
भवन निर्माणको लागि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले शिलान्यास गरेका हुन् । यस क्षेत्रको विकासमा यो भवन निर्माणले पनि सहयोग पुगेको बताए । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले भवन बहुउपयोगी हुने बताए ।
हेटौंडामा स्थानीय तहसंगको लगानीमा देखिनेगरी पूर्वाधार निर्माण वा रोजगारीको काम गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री जम्मकट्टेलले बताए । करिब २ अर्बसम्मको लगानीमा स्थानीय सरकारको सहकार्यमा भवन निर्माण गरिने शिक्षा विकास निर्देशनालयका प्रमुख दिपेन्द्र सुवेदिले बताए ।
हेटाैंडा ८ कठ्ठा १६ धुर जग्गामा शिक्षाको भवन निर्माण गरेपछी प्रदेशभरीका ४० हजार शिक्षकको फाइलहरु व्यवस्थित ढंगले राखिने सुवेदीले बताए । कुल २० करोड ८५ लाख रुपैयाँलागत स्टमेट गरिए पनि अहिले भने पहिलो चरणमा ३ करोड लागतमा ठेक्का लगाइएको छ । १ करोड ९३ लाख ६१ हजार लागतमा निर्माण गर्नेगरी संझौता गरिएको सुवेदीले बताए ।
हेटौंडामा स्थानीय तहसंगको लगानीमा देखिनेगरी पूर्वाधार निर्माण वा रोजगारीको काम गर्न आफुहरु तयार रहेको मुख्यमन्त्री जम्मकट्टेलले बताए । करिब दुइ अर्वसम्मको लगानीमा गरिने काममा स्थानीय सरकारको सहकार्यमा गर्नका लागि प्रदेश सरकार तयार रहेको बताए ।
पहिले जग्गाको समस्याका कारण शिक्षा निर्देशनालयको भवन बनाउने रकम फ्रिज भएकाले दुइ चरणमा निर्माण गर्नुपर्ने बाध्यतामा रहेको बताए । हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले हेटौंडामा प्रदेशको राजधानीका संरचना निर्माणमा आफूहरुले सहयोग गरिरहेको बताए ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौडा उपमहानगरपालिकाबाट लागुऔषध गाँजासहित १ जनालाई नियन्त्रणमा लिएकाे छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, रातोमाटेबाट प्रहरीले लागुऔषध गाँजासहित कैलाश गाउँपालिका १० का ४० वर्षीय पाल्साङ्क मुक्तानलाई नियन्त्रणमा लिएकाे हाे ।
बैशाख १९ गते प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ५२६७ नम्बरको बसलाई रोकी सुरक्षाजाँच गर्दा बसमा सवार मुक्तानको साथबाट ५ किलो लागुऔषध गाँजा बरामद गरेको थियो । लागुऔषध गाँजासहित मुक्तानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मकवानपुर । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति मकवानपुरको अध्यक्षमा मदन कुमार श्रेष्ठ चयन भएका छन् । संघकाे बुधबार भएको नवौं साधारण सभा तथा तेश्रो अधिवेशनबाट श्रेष्ठकाे अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन भएको हाे ।
यसैगरी संघकाे उपाध्यक्षमा केशव बहादुर कार्की, राज कुमार थापा र भोजराज पराजुली, सचिवमा रविन्द्र राई, सहसचिवमा रावण किष्म राई, कोषाध्यक्षमा दीपेन्द्र नेपाली चयन भएका छन् । यस्तै सदस्यहरूमा अनिता मिश्र, समीर भुजेल, ईश्वर कुमार श्रेष्ठ र जनकलाई चयन गरिएकाे छ ।
साथै बुधबारकाे भेलाले संदेश गौतमको नेतृत्वमा ७ सदस्यीय हेटौडा नगर समिति समेत गठन गरेको छ । नगर समितिकाे उपाध्यक्षमा अन्तेश्वर कापर, सचिवमा सन्तोष बस्नेत, कोषाध्यक्षमा अभिषेक बानियाँ, सदस्यहरु रिमेश अधिकारी, सुजन गोले र प्रकाश घिमिरे चयन भएका छन् ।
मदन कुमार श्रेष्ठकाे सभाध्यक्षमा भएकाे कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरको सदस्य आलोक स्याङतानको प्रमुख आतिथ्यता तथा हेटौडा उपमहानगर पालिका ७ नम्बर वडा सदस्य राधिका विकको विशेष आतिथ्यतामा भएकाे हाे । हेटौडा नगर खेलकुद विकास समिति सदस्य संगीता केसी तथा राष्ट्रिय तेक्वान्दो संघ नेपाल केन्द्रीय सदस्य नारायण सिंङ थिङको आतिथ्यता रहेकाे कार्यक्रमकाे सहजिकरण भोजराज पराजुलीले गरेका थिए ।
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका समुदायिक वनबाट सल्किएको आगोले घर जलेर नष्ट भएकाे छ । मकवानपुरगढी वडा नं.६, आमभञ्ज्याङ, घोप्टेगाउँमा आगलागीबाट स्थानीय चोकप्रसाद तिमल्सिनाको घर जलेर नष्ट भएको हाे ।
मंगलबार दिउँसाे स्थानीय समुदायिक वनबाट सल्किएको आगोले तिमल्सिनाको घर तथा गोठ समेत नष्ट गरेको हो । आगलागीबाट घरमा भएको काठ, लत्ताकपडा, भाडावर्तन गरी करिब ३ लाख रुपैंया बराबरको क्षति भएको जनाइएको छ ।