मकवानपुर । माइती नेपाल मकवानपुरले ‘मानक संचालन कार्यविधि’ बनाई कार्यान्वयन गर्न सरोकारवालाको ध्यानाकर्षण गर्दै मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाललाई ज्ञापन पत्र बुझाएको छ ।
‘मानक संचालन कार्यविधि’ माग गर्दै लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको क्रममा संकलन गरिएको हस्ताक्षर समेत प्रजिअलाई बुझाइएको हो । मकवानपुरको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी मार्फत माइती नेपाल मकवानपुरले संघीय सरकारको नेपाल महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा रहेको राष्ट्रिय समितिलाई ‘मानक संचालन कार्यविधि’ अविलम्ब निर्माण गरी कार्यान्वयन गर्न ज्ञापन पत्र बुझाएको हो ।
मानव बेचविखन, जवरजस्ती करणी, यौनजन्य हिंसा र महिला हिंसाका विविध पक्षहरुलाई निराकरण गर्ने कार्यमा माइती नेपालले राज्यका विभिन्न निकायहरुसंग सहकार्य, समन्वय र छलफल गरी मानव वेचविखन तथा लैङ्गिक हिंसा रोकथामका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
माइती नेपालले स्वदेश तथा विदेशमा बेचविखनमा परेका महिला तथा बालबालिकाहरुको उद्वार पुनर्थापाना तथा उनीहरुको अधिकारको संरक्षणार्थ विभिन्न जनचेतानामूलक कार्यकम समेत गर्दै आएको छ । स्वदेश तथा विदेशमा बेचविखनमा परेकाहरुको उद्धार र स्वदेश फिर्ति प्रकृयामा अस्पष्टता भएको बारे बारम्बार उठान भइरहेको विषयप्रति संस्थाले गम्भिर ध्यानाकर्षण भएको ज्ञापन पत्रमार्फत जनाएको छ ।
माइती नेपालले नेपाल भारत सीमा नाकाहरुमा कार्यरत भारतीय सुरक्षा निकायहरु, नेपाल सरकारका सुरक्षा निकायहरु तथा यस विषयसँग सरोकार राख्ने विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुसँग विभिन्न समयमा सहकार्य तथा समन्वय गर्दै आइरहेको छ ।
नेपाल भारतको सीमा नाका भएर भारतका विभिन्न शहरहरुमा गैर कानूनी तरिकाले मानव बेचविखन तथा ओसार पसारबाट पीडित तथा प्रभावित नेपाली नागरिकहरुको उद्धार तथा स्वदेश स्वदेश फिर्ति र सामाजिक पुनर्स्थापनाका लागि ‘मानक संचालन कार्यविधि’ अविलम्ब निर्माण गरी कार्यान्वयन गर्न माग गरेको माइती नेपाल मकवानपुर प्रमुख माया तामाङले बताइन् ।
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) नियमावली २०६५ मा व्यवस्था भए अनुसार विदेशमा अलपत्र परेका पिडितहरुको उद्धार गर्ने तथा निजको सहमतिमा स्वदेश फिर्ति गर्ने व्यवस्था भएता पनि हालसम्म यस सम्बन्धी स्वदेश फिर्ति कार्यविधिको अभावमा उद्धार तथा स्वदेश फिर्ति कार्य सिमित संस्थाहरुको पहलको आधारमा मात्र भइरहेको हुदाँ यस सम्बन्धमा नेपाल सरकारको तर्फबाट छुट्टै स्वदेश फिर्ति कार्यविधि तयारीको लागि माइती नेपालले माग गरेको तामाङले बताइन् ।
माइती नेपालले विभिन्न जिल्लामा मानव बेचविखनवाट प्रभावितहरुको उद्धार, स्वदेश फिर्ति र सामाजिक पुनर्स्थापनाका लागि ‘मानक संचालन कार्यविधि’ अविलम्ब निर्माण गरी उक्त कार्यविधि कार्यान्वयन गर्नका लागि यस जिल्लामा संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउँदै मानव बेचविखन तथा ओसापसार नियन्त्रण जिल्ला समिति मार्फत नेपाल महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा रहेको राष्ट्रिय समितिमा जानकारी तथा कार्यान्वयनका लागि प्रेसित गरिदिनका लागि प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गरिएको माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक तामाङले बताइन् ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा मंगलबारबाट ११ पुस सम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
उक्त सडक अन्तर्गत दक्षिणकाली–छैमले सडकखण्डमा कालोपत्र गर्न लागिएकोले सवारी सञ्चालनमा रोक लगाइएको हाे । यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।
हेटौंडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ, त्रिभुवन राजपथ लगायतकाे मार्ग भने सूचारु रहेकाे प्रहरीले जनाएकाे छ ।
१३ मंसिरदेखि २९ मंसिरसम्म समेत दक्षिणकाली–छैमले सडकखण्डमा कालोपत्र गर्न भन्दै बन्द गरिएकाे थियाे । उक्त कार्य नसकिएकाे पुनः १० दिन उक्त मार्ग बन्द रहने भएकाे हाे ।
मकवानपुर । राष्ट्रिय युवा कविता उत्सव २०८१ मा हुने खुला कविता प्रतियोगिताकाे लागि उत्कृष्ट २० वटा कविता तथा कविकाे नामावली सार्वजनिक गरिएकाे छ ।
प्रदेश युवा परिषद्, बागमतीको आयोजना एवम् साहित्य सङ्गम मकवानपुरको व्यवस्थापनमा हुने उक्त उत्सव अन्तरगत खुला कविता प्रतियोगिताकाे लागि साहि्तय संगम मकवानपुरले २० वटा कविता तथा कविका नाम सार्वजनिक गरेकाे हाे । संगम मकवानपुरले पूर्वप्रकाशित सूचना बमोजिम प्राप्त २२३ कविताहरूमध्ये उत्कृष्ट २० मा पर्न सफल कविता र कविहरूको नामावली वर्णानुक्रमानुसार प्रकाशन गरिएको जनाएकाे छ ।
उत्कृष्ट २० मा अग्रिमा शिवाकोटी मकवानपुरकाे रित्तिदैछ ‘देश’, अभिषेक ओझा बाराकाे ‘विसंवाद’, कुष्मा लौडारी मकवानपुरकाे ‘डिजिटल संसारको मायाजाल’, तारानाथ पराजुली पर्वतकाे ‘पागल प्रकृतिप्रेमीको बयान’, दीपिन सिंजापति दैलेखकाे ‘आकाङ्क्षा’, प्रदीप कोइराला तनहुँकाे ‘म’, बाबुराम श्रेष्ठ यात्री सिन्धुलीकाे ‘आमा, देश र माटो’, भरत थापा धनकुटाकाे ‘हर्कमाया दर्जी र झन्डाको व्यापार’, भीमप्रसाद खतिवडा अनुराग दोलखाकाे ‘जीवन एक पाठशाला’ शिर्षककाे कविता छनौट परेकाे संगम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए ।
यसैगरी महेश कठायत बझाङकाे ‘देश’, रञ्जिता अधिकारी धादिङकाे ‘परिवर्तन लेख्ने हातहरु’, राजु झल्लु प्रसाद धादिङकाे ‘खिया’, रुपा ढुङ्गेल मकवानपुरकाे ‘म शिक्षा मन्त्री भए’, संयोग बस्याल कास्कीकाे ‘सावधान’, सिजन श्रेष्ठ संखुवासभाकाे ‘उर्वशी’, सुदर्शन पौडेल कास्कीकाे ’घर नफर्किएको छोराको सम्झनामा’, सुन्दर शिरिष सिन्धुपाल्चोककाे ‘जहाज चढ्न मन छैन आमा’, सुबास सजल मकवानपुरकाे ‘डरलाग्दो अन्त्य मानव सभ्यताको’,सुमित्रा सुमी नुवाकाेटकाे ‘बुद्ध आऊ’, सुमित्रा पोखरेल उदयपुरकाे ‘समदर्शक यन्त्रको पर्दा नियाल्दा’ शिर्षकका कविता छनौटमा परेकाे अध्यक्ष बर्तौलाले बताए ।
प्रतियोगितामा प्रथम,द्वितीय, तृतीय र सान्त्वना पुरस्कारकाे व्यवस्था गरिएकाे छ । संगम सचिव मनोज पोखरेलका अनुसार प्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितीय पुरस्कार ३० हजार रुपैयाँ, तृतीय पुरस्कार २० हजार रुपैया र सान्त्वना पुरस्कार १० हजार रुपैयाँ रहेकाे छ । जुनसुकै विषयका मौलिक कविताले प्रतियाेगिताकाे लागि पठाउन ४० वर्ष उमेर पुरा नभएका युवाले मात्र भाग लिन पाउने गरी संगमले सूचना प्रकाशित गरेकाे थियाे ।प्रतियोगिताकाे लागि पहिलाे सूचना प्रकाशित गर्दा समय सिमा २० मंसिर रहेकाेमा १ हप्ता म्याद थप गरिएकाे थियाे ।
२७ मंसिरकाे तोकिएकाे समयसम्म प्राप्त कविका कविता मध्येबाट उत्कृष्ट २० कविता र कविकाे नामावली प्रकाशन गरिएकाे हाे । उत्कृष्ट २० मा पर्न सफल कविहरूबिच ६ पौष शनिबार हेटौंडामा अन्तिम चरणको प्रतियोगिता आयोजना गरिने सचिव पोखरेलले जानकारी दिए । उनका अनुसार अन्तिम प्रतियोगितामा कवि स्वयं उपस्थित भई कविता वाचन गर्नु पर्नेछ ।
यसैगरी राष्ट्रिय युवा कविता उत्सव २०८१ मा कवि मोमिला जोशीका एकल कविता वाचनकाे कार्यक्रम समेत रहेकाे छ । उनका १० कविता कार्यक्रममा सुनिने सचिव पोखरेलले जानकारी दिए । उक्त दिन पुस्तक प्रदर्शनी समेत रहेकाे बताइएकाे छ ।
मकवानपुर । मकवानपुरकाे मनहरीमा स्कारपियो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
मनहरी गाउँपालिका वडा नम्बर–९ खरङ्गा स्थित पुर्व पश्चिम सडक खण्डमा स्कारपियो दुर्घटना हुँदा यसमा सवार चार जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । निजगढ बाराबाट चितवन तर्फ जादै गरेको प्रदेश ३–०१–२२ च ६८६२ न।को स्कारपियो कार अनियन्त्रित भई विधुतको पोललाई ठक्कर दिइ सडकबाट ५० मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा स्कारपियोका चालक बारा निजगढ नगरपालिका–७ बस्ने ४५ वर्षीय धन बहादुर स्याङतान, उनकी श्रीमती ३८ वर्षीय हरिमाया लामा, उनका छोरा १३ वर्षीय यरोश तामाङ र सोही स्थानका ३३ वर्षिय सबु लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनीहरुको मनहरी अस्पतालमा सामान्य उपचार पछी भरतपुर अस्पतालमा रिफर गरिएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकामा भएकाे सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् । हेटौंडामा भएकाे दुर्घटनामा १ जना तथा बकैयामा भएकाे दुर्घटनामा २ जना घाइते भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
आइतबार हेटौडा १५ रातोमाटे स्थित पुर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौडातर्फ आउदै गरेको ना ७ ख ३७०९ नम्बरको तेल लोड ट्याङकरले हेटौडाबाट चुरियामाई तर्फ जादै गरेको ना.२ ह १८७५ नं.को अटोलाई ठक्कर दिदा अटो चालक कृष्ण केसी घाइते भएका छन् । हेटौडा २ काग्रेस चोक बस्ने ६० वर्षीय केसीलाई हेटौडा अस्पताल तर्फ ल्याइएकाे थियाे ।
टाउको र शरिरको बिभिन्न भागमा चोट लागि अचेत रहेका उनलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । ट्याङ्कर चालक सिन्धुली कमलामाई ६ बस्ने ४९ वर्षीय बुद्धी बहादुर स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
यसैगरी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ तिनतल्ले स्थित मदन भण्डारी लोकमार्गमा ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ट्रक चालक हेटाडा– १४ मयुरधाप बस्ने ४० वर्षिय रबि थापा मगर र ट्रकमा सवार उनको छोरा १३ वर्षिय रिहान थापा मगर घाइते भएका हुन् ।
हेटौडाबाट फापरबारी तर्फ सिमेन्ट लोड लिई आउदै गरेको ना ५ ख ४६५६ नम्बरको ट्रक दुर्घटना हुँदा बाबुछोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । उनका अनुसार ट्रकमा अचानक ब्रेक फेल भई दुर्घटना भएको हो । .घाइते दुवै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।