मकवानपुर । माइती नेपाल मकवानपुरले ‘मानक संचालन कार्यविधि’ बनाई कार्यान्वयन गर्न सरोकारवालाको ध्यानाकर्षण गर्दै मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाललाई ज्ञापन पत्र बुझाएको छ ।
‘मानक संचालन कार्यविधि’ माग गर्दै लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको क्रममा संकलन गरिएको हस्ताक्षर समेत प्रजिअलाई बुझाइएको हो । मकवानपुरको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी मार्फत माइती नेपाल मकवानपुरले संघीय सरकारको नेपाल महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा रहेको राष्ट्रिय समितिलाई ‘मानक संचालन कार्यविधि’ अविलम्ब निर्माण गरी कार्यान्वयन गर्न ज्ञापन पत्र बुझाएको हो ।
मानव बेचविखन, जवरजस्ती करणी, यौनजन्य हिंसा र महिला हिंसाका विविध पक्षहरुलाई निराकरण गर्ने कार्यमा माइती नेपालले राज्यका विभिन्न निकायहरुसंग सहकार्य, समन्वय र छलफल गरी मानव वेचविखन तथा लैङ्गिक हिंसा रोकथामका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
माइती नेपालले स्वदेश तथा विदेशमा बेचविखनमा परेका महिला तथा बालबालिकाहरुको उद्वार पुनर्थापाना तथा उनीहरुको अधिकारको संरक्षणार्थ विभिन्न जनचेतानामूलक कार्यकम समेत गर्दै आएको छ । स्वदेश तथा विदेशमा बेचविखनमा परेकाहरुको उद्धार र स्वदेश फिर्ति प्रकृयामा अस्पष्टता भएको बारे बारम्बार उठान भइरहेको विषयप्रति संस्थाले गम्भिर ध्यानाकर्षण भएको ज्ञापन पत्रमार्फत जनाएको छ ।
माइती नेपालले नेपाल भारत सीमा नाकाहरुमा कार्यरत भारतीय सुरक्षा निकायहरु, नेपाल सरकारका सुरक्षा निकायहरु तथा यस विषयसँग सरोकार राख्ने विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुसँग विभिन्न समयमा सहकार्य तथा समन्वय गर्दै आइरहेको छ ।
नेपाल भारतको सीमा नाका भएर भारतका विभिन्न शहरहरुमा गैर कानूनी तरिकाले मानव बेचविखन तथा ओसार पसारबाट पीडित तथा प्रभावित नेपाली नागरिकहरुको उद्धार तथा स्वदेश स्वदेश फिर्ति र सामाजिक पुनर्स्थापनाका लागि ‘मानक संचालन कार्यविधि’ अविलम्ब निर्माण गरी कार्यान्वयन गर्न माग गरेको माइती नेपाल मकवानपुर प्रमुख माया तामाङले बताइन् ।
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) नियमावली २०६५ मा व्यवस्था भए अनुसार विदेशमा अलपत्र परेका पिडितहरुको उद्धार गर्ने तथा निजको सहमतिमा स्वदेश फिर्ति गर्ने व्यवस्था भएता पनि हालसम्म यस सम्बन्धी स्वदेश फिर्ति कार्यविधिको अभावमा उद्धार तथा स्वदेश फिर्ति कार्य सिमित संस्थाहरुको पहलको आधारमा मात्र भइरहेको हुदाँ यस सम्बन्धमा नेपाल सरकारको तर्फबाट छुट्टै स्वदेश फिर्ति कार्यविधि तयारीको लागि माइती नेपालले माग गरेको तामाङले बताइन् ।
माइती नेपालले विभिन्न जिल्लामा मानव बेचविखनवाट प्रभावितहरुको उद्धार, स्वदेश फिर्ति र सामाजिक पुनर्स्थापनाका लागि ‘मानक संचालन कार्यविधि’ अविलम्ब निर्माण गरी उक्त कार्यविधि कार्यान्वयन गर्नका लागि यस जिल्लामा संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउँदै मानव बेचविखन तथा ओसापसार नियन्त्रण जिल्ला समिति मार्फत नेपाल महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा रहेको राष्ट्रिय समितिमा जानकारी तथा कार्यान्वयनका लागि प्रेसित गरिदिनका लागि प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गरिएको माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक तामाङले बताइन् ।

