
एसएलसी सकाएर मेरा छोराछोरी उच्च शिक्षाका लागि एक दशकअघि काठमाडौं आएका थिए । विद्यालय पढ्दाताका भातभान्सामा सघाउने गरे पनि उनीहरू कतिपय तरकारी खाँदैन थिए । काठमाडौं आएपछि बेलाबेला फोनमा ‘ममी, लसुन र प्याजको पात कस्तो हुन्छ ?’ भनेर सोध्ने गर्थे ।
विद्यालयमा छँदा उनीहरूले जीवविज्ञान अन्तर्गत परियोजना कार्य गरेको मलाई सम्झना छैन, गरेको भए उनीहरूले मलाई यसरी सोध्ने थिएनन् । विद्यालयमा छउन्जेल विज्ञान विषय उनीहरूका लागि हाउगुजी बन्न पुग्यो ।
विद्यालय चाहे सामुदायिक हुन् या निजी, अधिकांशले किताबी ज्ञानलाई मात्र प्राथमिकता दिन्छन् । विद्यालयस्तरको जीव विज्ञानको पठनपाठन अपुरो छ भनेर विज्ञहरूले भन्दै आएको धेरै भयो तैपनि अधिकांश विद्यालयले यस्ता सुझावलाई नजरअन्दाज गरिरहेका छन् । निजी विद्यालयको पूर्वप्राथमिक तहदेखि नै विज्ञान विषयअन्तर्गत विद्यार्थीलाई तरकारीलगायत फलफूलको बारेमा पढाउनुपर्ने हुन्छ । सहरबजारका अधिकांश बालबालिकाले कतिपय तरकारी र फलफूलका बोटबिरुवासमेत देखेका हुँदैनन् । त्यसो त, बोटबिरुवा मात्र हैन कतिपयले कुकुर, बिरालोबाहेक अधिकांश घरपालुवा जनावरसमेत चिन्दैनन् । अझ यसको उपयोगिता थाहा पाउनु त टाढाको कुरा । औपचारिक शिक्षाको प्रारम्भिक खुड्किलो पूर्वप्राथमिक र प्राथमिकतह हो, जहाँ ससाना विद्यार्थीलाई विषयप्रति रुचि जगाउन व्यावहारिक शिक्षणसिकाइले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । अन्य विषयभन्दा पनि जीवविज्ञानलाई रुचिकर बनाउन व्यावहारिक कक्षा अपरिहार्य हुन्छ ।
बोटबिरुवा, घरपालुवा जनावर लगायतबारे पाठ्यसामग्री भए पनि यससम्बन्धी व्यावहारिक ज्ञान पनि दिनुपर्छ भन्नेमा अधिकांश विज्ञान शिक्षकहरू अनभिज्ञ छन् । यसैका कारण बालबालिकाको शिक्षणसिकाइ पढाइलेखाइमा मात्र सीमित हुन पुगेको छ । त्यसो त, कतिपय जीवविज्ञानका पाठहरूका अभ्यास हेर्ने हो भने पुस्तक लेखकले शिक्षकहरूलाई परियोजना कार्य गराउन सुझाउँदै आएको देखिन्छ । तर, यसबारे शिक्षकलगायत विद्यालय व्यवस्थापन मौनप्रायः देखिन्छन् । अन्य विषयभन्दा विज्ञानको सैद्धान्तिक शिक्षणसिकाइलाई रुचिकर र प्रभावकारी बनाउन यस्ता परियोजना कार्यहरूले महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा विकसित मुलुकहरूको सफल अभ्यासले प्रमाणित गरेको छ । बोटबिरुवासम्बन्धी गराइने परियोजना कार्यअन्तर्गत तरकारी र फलफूलको बिरुवा उमार्न र स्याहार्न ससाना विद्यार्थीहरूलाई सिकाउँदा उनीहरूमा कौतूहल मात्र जाग्दैन, शिक्षणसिकाइ रमाइलो र प्रभावकारी पनि हुन्छ ।
चीन, भियतनाम र क्युबाले विद्यार्थीलाई कृषिसम्बन्धी ज्ञान दिन किसानको घरखेतमै पुर्याउन थालेको वर्षौं भयो । शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘अमेरिकाले प्राथमिक तहको पाठ्यक्रममा कृषिसहितको शिक्षणसिकाइलाई अनिवार्य गरेको छ भने माध्यमिक तहका विद्यार्थीहरूलाई यङ फार्मर्स एसोसिएसनमा आबद्ध गराई शिक्षालाई उत्पादनसँग जोड्ने प्रयास गरिरहेको छ ।’ अन्य विकसित देशहरूले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक कक्षालाई पनि अनिवार्य गरेका छन् । यसले विद्यार्थीको रुचि तथा सीप चिन्न र सोहीअनुरूपको शिक्षणसिकाइमा ध्यान दिन मद्दत पुर्याउँछ । विद्यार्थीहरूले आफ्नो रुचि पहिल्याए भने उच्च शिक्षाका लागि विषय रोज्न सहज हुन्छ ।
शिक्षालाई उत्पादनसँग जोड्ने शिक्षणसिकाइका कारण विकसित देशका विद्यार्थीहरूलाई पढाइलाई जनजीविकासँग जोड्न सहज भएको छ । ती देशले विद्यार्थीलाई जनशक्तिको रूपमा तयार गर्न कृषिसम्बन्धी पाठ्यसामग्रीलाई व्यावहारिक बनाउने प्रयास गर्दै आएका छन् । हामीकहाँ विद्यालय शिक्षा त के उच्चशिक्षा हासिल गरिसकेपछि पनि कुन क्षेत्रमा कस्तो काम गरी जीविकोपार्जन गर्ने भन्नेमा विद्यार्थीहरू बढी अलमलिने गरेको पाइन्छ । यसो हुनुमा विद्यार्थीभन्दा पनि अन्य विषयलगायत विज्ञान विषयको शिक्षक तथा विद्यालय व्यवस्थापनको निष्क्रिय शिक्षणसिकाइ जिम्मेवार छ । घरमा सधैं बिरुवा देख्नेलाई कक्षाकोठाको बोर्डमा बिरुवा पढाउने चलन पनि हाम्रैमा छ । त्यस्तै तरकारी खुवाउनुअघि अभिभावकले ‘यसको बोट कस्तो हुन्छ’ भनी सोध्ने गरे बालबालिकाले सहजै बोटविरुबा चिन्थे ।
त्यसो त, हामीकहाँ शिक्षाविद्, कृषिविज्ञहरूले वर्तमान शिक्षालाई उत्पादनसँग जोड्नुपर्छ भनिरहन्छन्् । विद्यानाथ कोइरालालगायत अरू विज्ञले पनि यस विषयमा लेखिरहेका हुन्छन् । कृषिविज्ञ मदन राईले पनि शिक्षालाई उत्पादनसँग जोड्नुपर्छ भनेर पैरवी गर्दै आएका छन् । यसका लागि उनले अढाई दशकदेखि खोटाङको दिक्तेलमा शुभम फाउन्डेसनको व्यवस्थापनमा जनजागृति आवासीय विद्यालय सञ्चालन गर्दै आएका छन् । राई भन्छन्, ‘विद्यालय शिक्षा सकिने बेलासम्म विद्यार्थीले जीविकोपार्जन गर्न सक्ने सय वटा सीप सिकाउँछु ।’ उनले शिक्षा र उत्पादनसम्बन्धी हरेक शनिबार दिउँसो फेसबुकमा संवाद पनि गर्ने गरेका छन् । नेपालको शिक्षालाई उत्पादनसँग जोड्नुपर्छ भनेर शिक्षाविद् कोइराला र कृषिविज्ञ राईले जस्तै अन्य व्यक्तित्वले पनि पैरवी गर्न थालेको वर्षौं भयो । तर, यस्ता प्रयासहरूलाई सरकारमा बसेकाहरूले नजरअन्दाज गर्दै आएका छन् । यसको एउटा गतिलो उदाहरण हो— यसपालिको कुल बजेटको १०.९१ प्रतिशत मात्र शिक्षाका लागि छुट्याउनु । पछिल्लो चुनावी घोषणापत्रमा दलहरूले शिक्षामा २० प्रतिशत विनियोजन गर्छौं भनेका थिए तर त्यो कागजमै सीमित छ ।
विकसित मुलुकहरूले शिक्षालाई समृद्धिको मेरुदण्ड मानेका छन् र सोहीअनुरूप शिक्षालाई उत्पादनसँग जोड्ने हरसम्भव प्रयास गर्दै आएका छन् । हामीकहाँ सरकारले अहिलेसम्म शिक्षालाई प्राथमिकतामा राखेको देखिँदैन । यसो गर्नु भनेको शिक्षालाई समृद्धिको मेरुदण्ड नमान्नु हो । सरकारको यही अल्पबुझाइको दुष्परिणाम देश र जनताले भोग्दै आएको वर्षौं भयो । जबसम्म सरकारले विकसित मुलुकले जस्तै शिक्षालाई समृद्धिको मेरुदण्ड मानी उत्पादनसँग जोड्ने प्रयास गर्दैन, तबसम्म शिक्षित बेरोजगार जन्मिरहने निश्चितप्रायः छ । कान्तिपुर दैनिकबाट
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको आयोजनामा १ महिने अनलाइन तालिम सञ्चालन गरिएको छ। शिक्षकहरुको क्षमता बृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
शिक्षक तालिम अन्तरगत प्राथमिक तहमा अङ्ग्रेजी बिषयको तालिम बिहान १० बजेदेखि १२ बजेसम्म, निमावि र माध्यमिक तहमा गणितसंग सम्बन्धित तालिम १२ बजेदेखि २ बजे सम्म, प्राविधिकसंग सम्बन्धित तालिम २ बजेदेखि ४ बजेसम्म संचालित हुने मकवानपुरगढी गाउँपालिकाका स्रोत शिक्षक इन्द्र बहादुर कार्कीले बताए ।
तालिमको मुख्य उद्देश्य शिक्षकहरुको क्षमता बृद्धि गर्ने रहेको छ । तालिममा संगम चौलागाई, जंगनाथ सिंह कार्की र सवण कुमार श्रेष्ठले प्रशिक्षण दिने गाउँपालिकाका स्रोत शिक्षक कार्कीले बताए ।
तालिम कार्यक्रमको प्रमुख अतिथि मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईं,उद्घाटन समारोहका संञ्चालक मकवानपुर गढी गाउँपालिकाका स्रोत शिक्षक इन्द्र बहादुर कार्की तालिमको सभाअध्यक्ष गढी गाउँपालिकाका स्रोत शिक्षक दासरथी उपाध्याय, अथितीमा सामाजिक विकास संयोजक जित बहादुर घिमिरे, प्रमुख प्रशासक्रिय अधिकृत राम कुमार पुडासैनी रहेका थिए। तालिममा १ सय २१ जना शिक्षकहरू सहभागी रहेकाे स्रोत शिक्षक कार्कीले बताए ।
मकवानपुर । हेटाैडामा रहेकाे एक विद्यालयले गणित विषयको उपयोगिताबारे विमर्श गर्ने भएको छ । हेटौंडा–४, कमलडाँडास्थित नवोदय शिशु सदन माविले विद्यालय तहमा अध्ययन–अध्यापन हुने गणित विषयको उपयोगिताबारे विमर्श गर्ने भएको हाे । कार्यक्रम अन्तर्राष्ट्रिय पाइ डेका दिन असार १४ गते कार्यक्रम हुनेछ ।
गणितको उपयोगिताबारे गरिने छलफललाई ‘म्याथ क्याम्प फायर’ नाम दिइएको छ । विद्यार्थीहरुकै सक्रियतामा गणितको उपयोगिताबारे विमर्श कार्यक्रम हुन लागेको हो । गणितको उपयोगितासँगै विद्यार्थीहरुको व्यक्तित्व, नेतृत्व तथा प्रस्तुती क्षमता विकास लगायतमा कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा कक्षा ४ देखि १० सम्मका जुनसुकै विद्यालय विद्यार्थी सहभागी हुन सक्ने छन् ।
मंगलबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरेर कार्यक्रमका बारेमा जानकारी गराएको थियो । कार्यक्रममा विद्यार्थीको सहभागिता निशुल्क हुने बताइएको छ । नवोदयले गत वर्ष पनि म्याथ क्याम्प फायरको आयोजना गरेको थियो । कोरोना महामारीका कारण यस वर्षकाे म्याथ क्याम्प फायर भर्चुअल माध्यमबाट हुनेछ ।
मकवानपुर । विश्व वातावरण दिवसकाे अवसर पारेर हेटाैडामा ‘फोटोग्राफी कन्टेस्ट’ कार्यक्रम भएकाे छ । हेटौंँडा ४ मा रहेको नवोदय शिशु सदन विद्यालयमा ‘नवोदय फोटोग्राफी कन्टेस्ट’ कार्यक्रम शनिबार सम्पन्न भएको हाे ।
विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएकाे भर्चुअल फोटोग्राफी कन्टेस्टमा ५२ जना प्रतियाेगीले सहभागिता जनाएकोमा रोनश उप्रेती प्रथम भएका छन् भने सुम्निमा राई द्वितीय भएकी छिन् ।
‘सिए (क्रियटिभ आर्ट)’ शिक्षकको समन्वयमा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका हेटौंडा उपमहानगरपालिका प्रशासन महाशाखा प्रमुख रामकृष्ण थापाले हावा र पानी स्वच्छ सफा भएमा मात्र मानिस स्वस्थ्य रहनेमा जोड दिए । ‘विद्यार्थीको प्रतिभाको प्रस्फोटन यसरी वातावारणसँग जोडिएर गराएकोमा तारिफ योग्य छ ।’ उनले भने –‘वातावरण स्वच्छ राख्नलाई कुरा मात्र होइन काम पनि गर्नुपर्दछ । जुन काम आज नवोदयले गरेको छ । ’
३० प्रतिशत फेसबुक लाइक, ३० प्रतिशत भोटिङ र ४० प्रतिशत निर्णायकको आधारमा नतिजा तयार पारिएको विद्यालयका शिक्षक इशाक राईले जानकारी दिए ।
वातावरण प्रदूषण हुदाँ प्रकृतिसँगै मानिसलाई कस्तो असर पु¥याउँछ भन्ने विषयलाई विद्यार्थीहरुले नाटकमार्फत प्रस्तुत गरेका थिए । वातावरण दिवसको अवसरमा फोटो प्रदर्शनी, वातावरणसम्बन्धी गीत प्रस्तुत गरेका थिए । विश्व वातावरण दिवसको अवसरमा नवोदय विद्यालयले विविध कार्यक्रम गर्दै आइरहेको छ ।
कार्यक्रममा सिएका शिक्षक प्रलय चौलागाईले धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।
मकवानपुर । यसबर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै हुने भएकाे छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले एसइई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार नै गर्ने निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस वर्षको एसइई परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले आइतबार एसइई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति शिक्षा मन्त्रालयसँग अनुमति मागेको थियो ।
यस वर्षको एसइई जेठ १३ गतेदेखि संचालन गर्नेगरी तयारी गरेपनि करोना महामारीका कारण हुन सकेको थिएन । गत वर्ष पनि परीक्षा सुरू हुनुभन्दा एक दिनअगाडि एसइई स्थगित गरि आन्तरिक मुल्यांकनबाट नजिता प्रकाशित गरिएको थियो ।