मकवानपुर । ज्ञानदीप बहुद्देश्यीय सहकारी संस्था लिमिटेड तथा ज्ञानदीप शिक्षा निकेतन मा। विको २५ ओैँ वार्षिकोत्सवको अवसरमा आयोजित ज्ञानदीप रजत महोत्सव २०८२ अन्तर्गत आज सम्पन्न नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि सनसाइन मावि, बसामाडीले जितेको छ ।
हेटौंडा उपमहानगरपालिकाअन्तर्गतका १० ओटा विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा विजेता टोली सनसाइन माविले नगद ८,००० सहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्यो । त्यस्तै उपविजेता टोली ब्रह्मदिक् एकेडेमीले नगद ५,००० सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।
तेस्रो स्थान प्राप्त गर्ने टोली तुलसीमेहर मेमोरियल माविले नगद पुरस्कार ३,००० सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।
कार्यक्रममा ज्ञानदीप शिक्षा निकेतन मावि सञ्चालक समिति उपाध्यक्ष राजेश बानिया, कोषाध्यक्ष मोहनप्रसाद न्यौपाने, पिटिए अध्यक्ष प्रकाश बानियाको पनि उपस्थिति रहेको थियो ।
विद्यालयका हाजिरीजवाफ क्लबका संयोजक नवीन मल्लको संयोजन तथा मावि तह संयोजक माधव अधिकारीको व्यवस्थापनमा सञ्चालित कार्यक्रम विश्वनारायण श्रेष्ठको अध्यक्षता एवम् ज्ञानदीप बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष श्री ऋषिराम उपाध्याय पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयले विद्यालय स्थापनाको ५० औं वर्षको अवसरमा स्वर्ण महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाउन सुरु गरेको छ ।
विद्यालयले आगामी माघ २ गतेदेखि ८ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव कार्यक्रम मनाउँदै छ । स्वर्ण महोत्सव मनाउने क्रममा विद्यालय परिसरमा बिहीबार र शुक्रबार आयोजना गरिएकाे निःशुल्क आँखा शिविरमा ९५० जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । शिविरको पहिलो दिन बिहीबार ५२१ जना विद्यार्थी तथा शुक्रबार ४२९ जना विद्यार्थीकाे आँखा परीक्षण गरिएकाे विद्यालयले जनाएकाे छ । ईसिडीदेखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको हाे ।
हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा भएकाे आँखा शिविर शनिबार समेत हुने विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले जानकारी दिए । प्रअ कर्णका अनुसार शनिबारनै विद्यालयमा विद्यार्थीहरु लक्षित दन्त शिविरको समेत आयोजना गरिने छ । आँखा परीक्षणका क्रममा केही विद्यार्थीहरुको आँखामा समस्या रहेको पाइएको छ । जटिल समस्या देखिएका विद्यार्थीहरुको थप उपचारमा विद्यालयले सहजीकरण गर्ने उनले जानकारी दिए ।
यसैबिच विद्यालयको स्वर्ण महोत्सवका अवसरमा हेटौंडा २ स्थित सिद्धार्थ टोल विकास संस्था र सिद्धार्थ माविको एसएलसी २०५६ ब्याचका विद्यार्थीहरुको समुहले गरी एक लाख ६३ हजार ९७१ रुपियाँ सहयोग प्रदान गरेका छन् ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयका (प्राविधिक शिक्षालय) १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्।
विद्यालयले आन्तरिक स्रोतबाट आर्थिक वर्ष २०८२/०८३ बाट ६ जना शिक्षक र ७ जना कर्मचारी गरी १३ जनालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको हो । बुधबार विद्यालयले उनीहरुलाई सामाजिक सुरक्षा कोषको कार्ड वितरण गरेको छ । जिफण्ट केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले बुधबार सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाहरु लाई सदस्य कार्ड वितरण गरेका हुन् ।
सामुदायिक विद्यालयले शिक्षक तथा कर्मचारीलाई सामजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्य उदाहरणीय रहेको कार्ड वितरण कार्यक्रमा श्रेष्ठले बताए । उनले भने’सामाजिक सुरक्षाले श्रमिकको पेशागत भविष्य सुरक्षित हुन्छ ।’ सामुदायिक विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षक र कर्मचारी सेवाको सुविधा सुनिश्चित गर्न कोषमा आवद्धताले सहयोग पुग्ने अपेक्षा लिइएको विद्यालय व्यबस्थापन समिति अध्यक्ष नवीन सिग्देलले उनले बताए । आन्तरिक स्रोतबाट शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने देशकै पहिलो सामुदायिक विद्यालय भुटनदेवी मावि भएको उनले जानकारी दिए ।
विद्यालयले गत साउन महिनाबाट १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको विद्यालयका लेखापाल बालकृष्ण दाहालले जानकारी दिए । १३ जनालाई कोषमा आवद्ध गराउदा विद्यालयले मासिक ४९ हजार भुक्तानी गर्दै उनले बताए । ‘यो वर्ष न्यूनतम २ वर्ष सेवा अबधि पूरा भएका १३ जनालाई सामाजिक सुरक्षामा आवद्ध गराइएको छ’ उनले भने ‘अर्को सालबाट २ वर्ष सेवा पूरा हुने थप ८ जनालाई कोषमा आबद्ध गराइनेछ ।
विद्यालयले न्यूनतम मासिक तलबको आधारमा कोषमा आवद्ध गराएको हो । विद्यालयमा निजी स्रोतमा ३१ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९, बस्तिपुरस्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव आज (मंगलबार) बाट सुरु भएको छ ।
विद्यालयले मंगलबारदेखि शनिबारसम्म ५ दिन विद्यालयको ५०औं वार्षिकोत्सवलाई स्वर्ण महोत्सवको रुपमा मनाउन लागेको प्रधानाध्यापक प्रवोध बिडारीले जानकारी दिए । उनका अनुसार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महाेत्सवकाे उद्घाटन गर्ने छन् । स्वर्ण महोत्सव अन्तरगत प्रत्येक दिन विशेष कार्यक्रमहरु आयोजना गरिने उनले जानकारी दिए ।
महोत्सवअन्तर्गत बुधबारदेखि शुक्रबारसम्म पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले ७५ हजार, द्वितीय हुनेले ५० हजार र तृतीय हुने टोलीले सन्त्वना पुरस्कार १५ हजार रुपैयाँ पाउने छन् । उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।यसैगरी बिहीबार विद्यालय परिसरमा नगरस्तरीय विद्यार्थी हाजिरीजवाफ प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ६ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने चौथो स्थान हासिल गर्नेले ४ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छ ।
शिक्षक नृत्य प्रतियोगिता समेत हुने महोत्सवमा विद्यालयको गान(गीत) तथा वृत्तचित्र सार्वजनिक हुनेछ । स्वर्ण महोत्सवमा निर्मल स्मारिका प्रकाशन तथा स्वर्ण स्तम्भ अनावरण हुनेछ भने बृहत रक्तदान तथा बृहत स्वास्थ्य शिविर समेत सञ्चालन हुने प्रअ विडारीले जानकारी दिए । विद्यालयले महोत्सव अवधिभरी खानाको स्टल तथा मिनी व्यापार महोत्सव समेत सञ्चालन गर्नेछ ।
यसैगरी स्काउट मार्चपास प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ७ हजार रुपैयाँ पुरस्कार पाउने छ । सान्त्वना स्वरुप ५ हजार पुरस्कार राशिको व्यवस्था गरिएको छ । स्थानीय र राष्ट्रिय कलाकारकाे प्रत्यक्ष लोकदोहरी कार्यक्रम समेत महोत्सवमा हुनेछ ।
स्वर्ण महोत्सवका लागि पूर्वविद्यार्थीहरुबाट करिब २५ लाख रुपैयाँ प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओलीले बताए । करिव ५० लाख रकम लाग्ने अनुमान गरिएकाे महोत्सवका लागि हेटौंडा उपमहानगरपालिकाले ५ लाख, १९ नम्बर वडा कार्यालयबाट ५ लाख, मनहरी गाँउपालिकाबाट २ लाख, बुढानिलकण्ठ नगरपालिकाबाट २ लाख सहयोग प्राप्त भएको बताइएकाे छ ।
शनिबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले स्वर्ण महाेत्सवकाे समापन गर्ने कार्यक्रम रहेकाे विद्यालयले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ स्थित श्रमिक माध्यमिक विद्यालयले हीरक जयन्ती मनाउने भएकाे छ । विद्यालयले हीरक जयन्ती (६० औँ वार्षिक उत्सव) ६ दिन विविध कार्यक्रम गरी मनाउन लागेकाे हाे ।
विद्यालयले सोमबार पत्रकारसँग भेटघाट गर्दै ९ पुस बुधबारदेखि हिरक जयन्तीलाई उत्सवकाे रुपमा मनाउने तयारी भइरहेकाे जानकरी दिएको छ ।हीरक जयन्ती तथा वार्षिक उत्सवको अवसरमा विद्यालयले १४ पुससम्म जिल्लास्तरीय शिक्षक हाजिरीजवाफ, जिल्लास्तरीय चित्रकला प्रतियोगिता, नगरस्तरीय छात्र फुटबल, वडास्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने प्रधानाध्यापक श्रीराम दाहाले जानकारी दिए ।
यसैगरि नृत्य प्रतियोगिता, पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम, अभिभावक अभिमुखीकरणसहित विभिन्न खेलकूद र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने विद्यालयले जनाएको छ । यसअघि दुई पटक वार्षिक उत्सव मनाएको विद्यालयले यो वर्ष स्थापनाकाे ६० वर्य पगेकाे उपलक्ष्यमा हीरक जयन्तीलाई उत्सवकाे रुपमा मनाउने लागिएकाे प्रअ दाहालले बताए ।
