मकवानपुर । हेटौडामा रहेकाे किताबघरले पुस्तक प्रदर्शनी यात्रा २०८० सुरु गरेकाे छ । हेटौडा ५ भैरबराेडमा रहेकाे किताबघरले मंगलबारबाट पुस्तक प्रदर्शनी यात्रा सुरु गरेकाे हाे ।
मंगलबार हेटौंडा–८, कमानेस्थित कमाने एकेडेमीबाट ‘किताबघर पुस्तक प्रदर्शनी यात्रा २०८०’ सुरु गरिएको किताबघरका सञ्चालक छवि अनित्यले जानकारी दिए ।
सञ्चालक छविका अनुसार असोज महिनाभर चल्ने प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकामा सञ्चालित सामुदायीक र संस्थागत गरी ८ वटा विद्यालय समेटिने छन् । बालबालिकामा पठन संस्कृतिको विकासकाे लागि किताबघरले स्कुलस्कुलमै पुगेर प्रदर्शनी गर्ने योजना बनाएको संचालक छवि बताउँछन् ।
‘नेपाली तथा अङ्ग्रेजी भाषासाहित्य, इतिहास, विज्ञान, खेलकुद लगायतका ४ सय बढी शीर्षकका बालपुस्तक प्रदर्शनीमा उपलब्ध हुनेछ’ उनले भने ‘प्रदर्शनीमा विद्यार्थीहरूले आफूलाई मनपरेका किताब खरिद गर्न सक्नेछन् ।’ मंगलबार कमाने एकेडेमीबाट सुरु भएको प्रदर्शनी यात्रा बुधबार कमानेकै माउन्ट एभरेष्ट बोर्डिङ र शुक्रबार हेटौडा १८ हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनमा हुनेछ ।
यस्तै, असोज १६ गते जनप्रिय मावि हेटौडा १६, हटिया, १९ गते रेड रोज इङलिस स्कुल, २३ गते प्रगति मावि हेटौडा ९ लामसुरे, २६ गते बालजागृति इङलिस स्कुल हेटौडा २ र ३० गते ज्ञानदीप शिक्षा (जीएस) निकेतन हेटौडा ५ मा पुस्तक प्रदर्शनी गरिने उनले बताए ।

मकवानपुर । सरकारले विद्यालय शिक्षा विधेयक २०८० संसदमा दर्ता गरेपछि विधेयकमा समेटिएका प्रावधानमा असन्तुष्टी जनाउँदै आन्दोलनरत शिक्षकसँग वार्ता सुरु भएकाे छ । शिक्षा विधेयक विरुद्ध बुधबारबाट राजधानी केन्द्रित आन्दाेलन गरेका शिक्षक संघ संघटनका प्रतिनिधिसँग सरकारले बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु गरेकाे हाे ।
वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ तथा मन्त्रालयका सचिवहरु र शिक्षकहरुको तर्फबाट शिक्षक महासंघका पदाधिकारीहरु रहेकाे बताइएकाे छ ।
शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, निजामती कर्मचारी सरहकाे सेवा सुविधा हुनु पर्ने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्ने, विद्यालयका कर्मचारीकाे तलब बढाउनु राहतलाई दरबन्दीमा समावेश गरिनु पर्ने लगायतका १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ ।
उनीहरुले शिक्षासँग सम्बन्धित काननून बनाउँदा शिक्षा क्षेत्रका विज्ञ तथा शिक्षक महासंघसँग छलफल नै नगरी एकलौटी रुपमा विधेयक ल्याएकाे प्रति समेत असतुष्टी रहेकाेले आफूहरुको माग शिक्षा मन्त्रालयले मात्र पूरा गर्न नसक्ने भन्दै अर्थ, शिक्षा र कानुन मन्त्रीको उपस्थितिमा मात्र वार्ता गर्ने अडान गर्दै आएका थिए ।
यसैबीच नेकपा एमालेका सचेतक महेश वर्तौला सहित संसदको शिक्षा समितीमा एमालेका तर्फका सदस्यहरुले विहीबारनै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईलाई आन्दोलनरत शिक्षकहरु सँग तत्काल वार्ता गरेर समाधानकाे लागि आग्रह गरेका थिए ।
शिक्षा मन्त्रीसँगकाे भेटमा बन्द भएका विद्यालयहरु खुलाउने वातावरण बनाउनकासाथै शिक्षकहरुले गरिरहेको शान्तीपुर्ण आन्दोलन माथि प्रहरीद्वार भईरहेको धरपकड, अवरोध र हस्तक्षप प्रति एमालेको तर्फबाट चिन्ता व्यक्त गर्दै त्यस्तो व्यवहार नगर्न समेत सरकारको ध्यानाकर्षण गराएको थियाे ।
छलफलका क्रममा एमाले सचेतक वर्तौलाले शिक्षण पेशा सम्मानीत र मर्यादित पेशा भएकोले शिक्षक महासंघले उठाएका माग पुरा गर्न सरकार गम्भीर हुनुपर्ने बताएका थिए । शिक्षा मन्त्री राईले समितिका सदस्यले राखेका सुझाबलाई सम्बाेधन हुने गरी अविलम्व विद्यालय खोल्ने वातावरण बनाउने बताएका थिए ।
मकवानपुर। नेकपा एमालेका सचेतक महेश बर्तौलाले शिक्षक महासंघको उठाएका माग विधेयकमा नै समावेश गरी सम्बाेधन गरिनु पर्ने बताएका छन् । शिक्षकहरूको आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाउँदै सांसद बर्तौलाले विधेयक भित्र बसेर उपयुक्त कानून निर्माणको प्रक्रियामा आफू सक्रिय सहभागी हुने बताए ।
’नेपाल शिक्षक महासंघले उठाएका मागहरूलाई विधेयकको अंग बनाएर अगाडि बढ्न सरकार तयार हुनुपर्छ’ उनले भने ‘त्यसको लागी सरकारले आजै प्रतिबद्धता व्यक्त गर्नुपर्दछ ।’ बर्ताैलाले संविधानसँग जोडिएका कतिपय विषयवस्तुमा भने थप छलफल र बहसको आवश्यकता महशुस गरेको बताए।’
संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८० का सन्दर्भमा नेपाल शिक्षक महासंघले आन्दोलन मार्फत उठाएका अधिकांश मागहरू समग्र सार्वजनिक शिक्षाप्रति नागरिकको भरोसा, विश्वसनीयता र गुणस्तरीयता वृद्धि गर्न तथा शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन उपयुक्त रहेको एमालेका सचेकत समेत रहेका बर्तौलाले बताएका छन् ।
बर्तौलाले सामाजिक संजाल मार्फत ऐक्यबद्धता जनाउँदै भनेका छन् ‘सरकारले शिक्षा ऐन मार्फत निजामती सेवामा जस्तै शिक्षक सेवामा पनि समान सेवा सुविधाको व्यवस्था गर्नु पर्छ, शिक्षकले पाउने उपचार खर्चलाई निरन्तरता दिनुपर्ने, शिक्षकलाई वर्षमा कम्तीमा एक पटक शैक्षिक अवलोकन भ्रमणको व्यवस्था हुनुपर्ने, योग्यता बढाउन शिक्षकहरूलाई अध्ययन बिदाको सुविधा हुनुपर्ने, शिक्षकहरूलाई सरकारी मर्यादाक्रममा समावेश गरिनुपर्छ ।’
यस्तै, शिक्षकहरूको लागि अलग्गै शिक्षक अस्पतालको स्थापना हुनुपर्ने, शिक्षकको योग्यता आधारभूत र माध्यमिकका लागि क्रमशः स्नातक र स्नातकोत्तर तोक्ने हो भने आधारभूत तृतीय लाई अधिकृत र माध्यमिक तृतीयलाई उपसचिव समान सेवा सुविधा हुनुपर्ने, स्थायी शिक्षकलाई नियमित रूपमा तह/श्रेणी बढुवाको सुनिश्चितता गरिनुपर्ने, आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवाको लागि प्रत्येक तह र श्रेणीमा ५ वर्षे सेवा अवधि तोक्नु पर्ने, विद्यालयमा कार्यरत अस्थायी प्रकृतिका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई कम्तीमा १ पटकको लागि खुल्ला तथा आन्तरिक प्रतिस्पर्धाका माध्यमबाट स्थायी हुने अवसर प्रदान गर्नुपर्ने उल्लेख गरेका छन् ।
यसैगरी उपदानको व्यवस्था हुनुपर्ने लगायतका नेपाल शिक्षक महासंघको मागहरू उपयुक्त, जायज र न्याय संगत रहेको बताएका छन्। यी मागहरूले शिक्षकहरूको मात्रै हितमात्रै नगरेर समग्र सार्वजनिक शिक्षा कै उज्यालो भविष्यका लागि नयाँ आयाम निर्माण गर्ने बर्तौलाको उल्लेख गरेका छन् ।
मकवानपुर । बागमती प्रदेशका उत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पुरस्कृत गरिएको छ । शिक्षा दिवस २०८० अवसरमा विद्यालयलाई पुरस्कृत गरिएकाे हाे । प्रदेशको सामाजिक विकास मन्त्रालयले मंगलबार राष्ट्रिय शिक्षा दिवस मनाउँदै उत्कृष्ट विद्यालय पुरस्कृत गरेकाे हाे ।
प्रदेशका सामुदायिक बिद्यालयहरु मध्येमा उत्कृष्ट प्रथम स्थान भक्तपुरको मेधा माध्यमिक विद्यालय भएको छ । त्यसैगरी नुवाकोट जिल्लाको पृथ्वी माध्यमिक विद्यालय द्धितीय भएको छ भने काठमाडाैकाे श्रम राष्ट्रिय माध्यमिक विद्यालय तृतिय भएको छ । यसैगरी काठमाडाैकै पृथ्वी नारायण माध्यमिक विद्यालय चौथाे हुँदा काठमाडाैकै बलम्बु माध्यमिक विद्यालय पाचाै स्थानमा रही पुरस्कृत भएको छ ।
यसैगरी संस्थागत विद्यालयतर्फ काठमाडाैको बुढानिलकण्ठ नगरपालिकाकाे रिलायन्स इन्टरनेसनल एकेडेमी प्रथम भएको छ । त्यसैगरी द्वितीय स्थानमा रही काठमाडाैको बालुवाटारको हिज किङ्स इन्टरनेसनल स्कुलले पुरस्कार प्राप्त गर्दा तृतीयमा काठमाडाै टोखा नगरपालिकाको फ्लोरोसेन्ट माध्यमिक विद्यालय रहेको छ ।
मन्त्रालयले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा कम्तीमा ३५ जना परीक्षार्थी सहभागी गराएको विद्यालयहरुलाई उत्कृष्टताका आधारमा छनौट गरेर पुरस्कृत गरेको जनाएकाे छ । उत्कृष्ट विद्यालयलाई बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र सामाजिक बिकास मन्त्री कुमारी मुक्तानले नगद र प्रमाणपत्रसहित पुरस्कृत गरेका छन् ।
मकवानपुर । हेटौंडा १८ रामधुनी स्थित भावना आधारभूत विद्यालयका बिद्यार्थीहरुलाई पूर्व विद्यार्थीले पाेसाक सहयाेग गरेका छन् । ५९ औं राष्ट्रिय बाल दिवस एंव विद्यालयको ३४ औं स्थापना दिवसका अवसरमा ८२ जना विद्यार्थीहरुका लागि विद्यालयका पूर्व विद्यार्थी प्रदिप पौडेलले पोसाक सहयोग गरेका हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिका ४ बाराका सामाजिक अभियन्ता बिनोद सापकोटा समेतकाे सहयाेग रहेकाे कार्यक्रममा १ लाख १ हजार रुपैयाँ बराबरको ट्र्याक सुट पौडेलले विद्यार्थीलाई बितरण गरेका हुन् । ‘विद्यालयलाई केही सहयाेग गर्ने इच्छा पहिलेदेखी हाे’ पाेसाक वितरण गर्दै पौडेलले भने ‘आफूले कखरा अध्ययन गरेको बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्र्याक सुट सहयोग गरेको हुँ ।’ आगामी दिनमा अन्य बिद्यालयहरुमा सहयोग गर्ने प्रतिबद्धता पौडेलले गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडा अध्यक्ष अनिल कुमार बानियाँले पूर्व विद्यार्थीबाट बिद्यालयले सहयोग पाउनु सह्रानीय कार्य भएको बताउँदै बिद्यालयको खाजघर निर्माणका लागि ५ लाख बजेट बिनियोजन भएको जानकारी दिए । बिद्यालयकी प्रधानाध्यापक रुपा श्रेष्ठले अध्ययनरत विद्यार्थी बिपन्न परिवारका रहेकोले पढाउने खर्च समेत नहुँदा यस्ताे सहयोगले अध्ययनमा टेवा पुग्ने भएकाेले खुशी व्यक्त गरिन् । उनले ट्र्याक सुट सहयोगले बिद्यार्थीकाे पाेशाकमा एकरुपता आउनु र अभिभावकलाई आर्थिक भार कम पर्ने भएकाेले पौडेललाई धन्यवाद व्यक्त गरिन् ।
यसैगरी २०४८ देखि २०७३ सालसम्म उक्त बिद्यालयमा अध्यापन गराउनु भई सेवा निवृत्त भएकी शिक्षक सुमित्रा भण्डारीलाई सम्मान समेत गरिएको छ । पौडेलले आफूलाई सुरुवाती समयमा कखरा सिकाउने गुरुआमा भण्डारीलाई मायाकाे चियाे दाेसल्ला सहित सम्मान गरिएकाे बताए । स्थायी घर हेटौडा १८ हर्नामाडी रामधुनी भएका पौडेल हाल काठमाडाै बस्दै आएका छन् ।
२०४६ सालमा स्थापना भएको भावना आधारभूत विद्यालय नर्सरीदेखी ५ कक्षासम्म अध्यापन हुँदै आएकाे छ । अहिले ८२ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । सहयाेग कार्यक्रममा १८ नम्बर वडा सदस्य पुजा मंग्राती, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडाका लेखा अधिकृत प्रकाश खतिवडा, अभिभावक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।