मकवानपुर । मकवानपुरकाे हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धनकोलागि अन्तराष्ट्रिय सम्मेलन हुने भएकाे छ । हेटौंडा स्कुअफ म्यानेजमेन्टकाे मुख्य आयोजनामा आगामी फागुन ५ र ६ गते हेटौंडामा उक्त सम्मेलन हुने भएकाे हाे ।
म्यानेजमेन्टले बिभिन्न संघसंस्थाहरुको साझेदारीमा सम्मेलन गर्न लागिएको हेटौडामा सोमबार पत्रकार भेटघाट गरी जानकारी दिएको हाे । सम्मेलनमा सीप र पूर्वाधार ज्ञान अधिबृद्धी गर्न, मानव संसाधन क्षमता अभिबृद्धी गर्न, अन्तर क्षेत्र सहयोगको सहजीकरण गर्न सहयोग पुग्ने म्यानेजमेन्ट प्रमुख पुरन बहादुर जोशीले बताए । दुई दिन हुने सम्मेलनमा शुल्क तिरेर सहभागिता जनाउन पाइने बताइएकाे छ ।
सम्मेलनमा सरकारबाट नवप्रवर्तन र इन्क्युबेशन विकास गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी वित्तिय सेवाहरुमा नविनता, आवश्यकता र सम्भावना, उद्यमशिलताको प्रवर्द्धनका लागि बित्तीय संस्थाहरुको भूमिका विषयमा जानकारी गराइने आयोजकले जनाएको छ । कार्यक्रममा बिभिन्न ५ देशका श्रोत व्यक्तिहरुसंगको छलफल तथा नेटवर्कको अवसर हुने छ । नेपालको उद्यमशिलता विकासमा लागेका २५ जना भन्दा बढी श्रोतव्यक्तिहरुसंगको छलफल तथा नेटवर्कको अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।
मकवानपुर । शिक्षाकाे गुणस्तर सुधारकाे लागि हेटाैंडा उपमहानगरपालिका वडा नं. १५ ले वडा स्तरीय शैक्षिक महाेत्सव २०८० गर्ने भएकाे छ ।
वडामा रहेका ८ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालयकाे प्रत्यक्ष सहभागितामा शैक्षिक महाेत्सव गर्न लागिएकाे हाे । वडा कार्यालयले शिक्षाकाे गुणस्तर सुधार र सिकाइ सिप आदनप्रदानकाे लागि याे शैक्षिक महाेत्सव महत्वपूर्ण थलाे भन्ने वडा अध्यक्ष सुनिल माेक्तानले बताए ।
वडा अध्यक्ष माेक्तानकाे अध्यक्षतामा वडा शिक्षा समिति गठन गरिएकाे छ । वडा कार्यालयकाे आयाेजना तथा उत्त समितीकाे समन्वयमा महाेत्सव गर्न लागिएकाे हाे । महाेत्सवमा १९ प्रकारका खेल तथा रचनात्मक प्रतियाेगीताहरु हुने जनजागृती माविका प्रध्यानाध्यापक केशव सञ्जेल जानकारी दिए । उक्त महाेत्सव ३ दिनसम्म चल्ने छ ।
वडा कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै यस्ताे जानकारी गराएकाे हाे । आगामी फागुन ७,८ र ९ गते विहान १० बजेदेखि दिउँसाे ४ बजेसम्म वनदेवी आधारभूत माविमा महाेत्सव हुने प्रअ सञ्जेलले बताए । महाेत्सवमा मार्चपास, खेल प्रतियोगिता रिले रेस, बेलुन फुटाउने र बचाउने, म्युजिकल चियर, चित्रकला, हाईजम्प, लङजम्प, साहित्यिक कार्यक्रम , बतृत्वकला, नृत्य, हिसाब दौड प्रतियोगिता, हस्तकला शैक्षिक सामग्रीकाे प्रदर्शनीलगायत रहने छन् ।
खेल तथा प्रतियाेगितात्मक कार्यक्रममा विद्यार्थीहरुकाे तहगत प्रतिष्पर्धा हुने छ । यसैगरी विद्यालय व्यवस्थापक समिति, शिक्षक अभिभानक समिति, शिक्षकहरुबीचमा समेत प्रतियाेगिता रहने छ ।
यसैगरी वडा भित्रको शैक्षिक व्यक्तिलाई सम्मान समेत रहने छ । यसैगरी हरेक विद्यालयबाट उत्कृष्ट शिक्षक विद्यार्थी र अभिभावकलाई पनि सम्मान गरिने छ ।
कार्यक्रमकाे लागि ४ लाख बजेट छुट्याइएकाे छ । महाेत्स्कुसवबाट प्रत्यक्ष रुपमा २ हजार जनाले हरेक दिन लाभ लिन सक्ने वडा अध्यक्ष माेत्तानले बताए । यस वडामा १ हजार ७ सय विद्यार्थी रहेका छन् । कार्यक्रममा सहभागी हुने टाढाबाट आउनेलाई विद्यार्थीहरुलाई आवासको समेत व्यवस्था छ ।
महाेत्सवकाे बारेमा जानकारी दिन आयाेजना गरिएकाे कार्यक्रममा वडा अध्यक्ष मोक्तानले विद्यार्थीहरुकाे ड्रप आउटको कारण पत्ता लगाउनेको लागि पनि महोत्सव प्रभावकारी हुने बताए । ‘याे महाेत्सव स्कुल पिच्छे सिकाइको तरिका शेयर गर्ने थलो बन्नेछ’ उनले भने ।
मकवानपुर । प्रविधिक तर्फ कक्षा ९ देखि १२ सम्म कम्प्युटर इञ्जिनियरीङ शिक्षा सञ्चालनका रहेकाे मकवानपुरकाे एकमात्रै सामुदायिक विद्यालय देबकी माविमा कक्षाकाेठाकाे अभाव हुँदा प्रयाेगात्मक सिकाइ प्रभावित हुने गरेकाे छ ।
८७६ जना विद्यार्थी अध्ययनरत देबकी माविमा हाल १८ वटा कक्षाकाेठा छन् । प्राविधिकतर्फ कक्षा सञ्चालनकाे लागि ल्याबलगायतकाे भाैतिक पूर्वाधार नहुँदा समस्या रहेकाे विद्यालयका प्रध्यानाध्यापक चन्द्रबहादुर थापाले जानकारी दिए । कक्षाकाेठाकाे अभावमा धेरै कष्टकर सिकाइ भइरहेकाे उनले बताए ।
‘विद्यार्थीमा रुचि छ तर पूर्वाधारकाे समस्या भयाे’ थापाले भने ‘पास आउट भएर गएका विद्यार्थीहरु काेही पनि बेराेजगार छैनन् याे देख्दा खुसी लाग्छ तर अझै साेचेजत्ति गर्न सकिएकाे छैन ।’ विद्यालयमा भवनकाे अभाव रहेकाेले समस्या भएकाे उनले बताए । ‘कक्षा ६ बाट माथि १२ सम्म २ देखि ३ वटासम्म सेक्सन छ प्रयाेगात्मक कक्षाकाे लागि कम्प्युटर किनियाे तर राख्ने कक्षा काेठा नै छैन’ थापाले भने । कक्षाकाेठा अभाव भएकाेले दाताकाे खाेजीमा रहेकाे उनले बताए ।
विद्यालयमा जाेड दुइतर्फ शिक्षा र मानविकी संकाय अध्यापन गराउँदै आएकाे भने प्राविधिक तर्फ कम्प्युटर इञ्जिनियरिङ पछिल्लाे ४ वर्षदेखि सञ्चालन गरिदै आएकाे छ ।
४८ औं भेला सम्पन्न, विव्यासकाे लागि ४ सदस्य सर्वसम्मत चयन
देबकी माविकाे ४८ औं भेला सम्पन्न भएकाे छ । भेलामा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले शैक्षिक सुधारकाे लागि गाउँपालिका संधै सकारात्मक रहेकाे बताएका छन् ।
विद्यालयकाे शैक्षिक गुणस्तर सुधारमा व्यवस्थापन समिती, शिक्षक, अभिभावक एक जुट भएर लाग्नु पर्ने र यसकाे लागि अन्य आवश्यकीय सर्त पुरा गर्ने पालिका तयार रहेकाे अध्यक्ष घलानले बताए ।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष हस्तबहादुर थिङकाे अध्यक्षतामा भएकाे भेलाले व्यवस्थापन समितीकाे लागि नयाँ नेतृत्व चयन गरेकाे छ । जसमा चित्रबहादुर पुलामी, वीरबहादुर थिङ, प्रमिला वाइवा र सरस्वती सिंङ्तानलाई सर्वसम्मत चयन गरेकाे छ । उक्त ४ जनाकाे समितिले अन्य २ सदस्य मनाेनित गर्ने र उनीहरु मध्येबाट अध्यक्ष चयन गरिने विद्यालयका प्रध्यानाध्यापक चन्द्र थापाले जानकारी दिए ।
अभिभावक भेलामा जिल्ला समन्वय समिति मकवानपुरका खड्गबहादुर पुलामी गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।
मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले विद्यालयको अनुगमन गरेका छन् । मन्त्री लामाले मकवानपुरकाे हेटौंडा उपमहनागरपालिका –१४ मा रहेको भृकुटी माध्यमिक विद्यालयमा अनुगमन गरेका हुन् ।
विद्यालयको शैक्षिक अवस्थाबारे जानकारी लिन मन्त्री लामाले विद्यालयको प्रत्येक कक्षाकोठामै पुगेर अनुगमन गरेका थिए । उनलाई विद्यालयका प्रधानाध्यापक अच्युतकृष्ण रिजाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार मोक्तानले विद्यालयकाे अवस्थाकाे जानकारी गराएका थिए ।
अनुगमनका क्रममा मन्त्री लामाले भविष्यका कर्णधार बनाउने जिम्मेवारी शिक्षकको काँधमा रहेको भन्दै गम्भीर भएर लाग्न निर्देशन दिए । उनले शिक्षक, तथा विद्यार्थीहरुले थप परिश्रम गरि नमूना विद्यालयको रुपमा स्थापित गराउन आग्रह गर्दै मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सार्वजनिक शिक्षा सुधार गर्ने प्रदेश सरकारको लक्ष्य रहेको भन्दै उनले विद्यालयका शिक्षक, विद्यार्थीकाे भूमिका शैक्षिक क्षेत्र सुधारमा नमूना हुने विश्वास व्यक्त गरे ।
२०७२ को भुकम्पपछि युएसएडको सहयोगमा एनआरएस परियोजना अन्तर्गत बनेको भवन एनआरएस परियोजना प्रमुख रामजी थापाले विद्यालयलाई हस्तान्तरण गरेका हुन् । १८ करोड लगानीमा निर्माण भएको विद्यालयकाे २२ कोठा रहेकाे छ । विद्यालय भवनलगायतका संरचना अपाङमैत्री रहेकाे थापाले बताए ।
यसैगरी विद्यालय भवन वातावरणमैत्री समेत रहेकाे छ । घाम कक्षाकोठामा नलाग्ने र गर्मी मौसममा गर्मी नहुने साथै चिसोमा चिसो नहुने गरी विद्यालयको भौतिक संरचना निर्माण भएको विद्यालयका प्रअ रिजालले बताए । हाल विद्यालयमा ३ सय ५० विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा २५ वटा कम्युटर सहित ल्यावको समेत व्यबस्था रहेको प्रअ रिजालले जानकारी दिए ।
मकवानपुर । मकवानपुरका विज्ञान शिक्षकहरुलाई विशिष्टिकरण तालिका तथा मूल्याङ्कनका विषयमा तालिम दिइएको छ ।
विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा जिल्लाभरिका विज्ञान शिक्षकहरूलाई कक्षा १ देखि १० को विज्ञान विषयको विशिष्टिकरण तालिका तथा मूल्याङ्कनका विषयमा अभिमुखीकरण तालिम शुक्रबार हेटौंडामा दिइएको हो । तालिममा विज्ञान शिक्षक समाजका अध्यक्ष खेमराज लामिछानेले कक्षा १ देखि ३ सम्मको मूल्याङ्कन प्रक्रिया र विज्ञान शिक्षक समाजका सचिव सुवास खनालले कक्षा ४ देखि १०सम्मको मूल्याङ्कन तथा विशिष्टीकरण तालिकासम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप्रमुख सानुकाजी लुइँटेलले विज्ञान शिक्षक समाजको अँध्यारोलाई चिर्न र रुढीवाद हटाउन चेतना बाँढ्नसक्ने हुनुपर्ने बताए । कार्यक्रममा पत्रकार सुरेश श्रेष्ठले शिक्षकले चाहेमा समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने बताए ।
दुई सत्रमा सञ्चालित अभिमुखीकरण कार्यक्रममा जिल्लाका दशवटै स्थानीय तहका ६३ जना शिक्षकले सहभागिता जनाएका थिए । सहभागी तथा प्रशिक्षकलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा सहभागीका तर्फबाट नवोदय शिशु सदनकी अनुष्का श्रेष्ठ र विज्ञान शिक्षक रामकुमार ठाकुरले मन्तव्य राखेका थिए ।
समाजका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षता, जिल्ला समन्वय समितिका उप्रमुख सानुकाजी लुइँटेल प्रमुख आतिथ्यता तथा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतमको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयका प्राचार्य मोहनप्रसाद शर्मा र पेन्टागन एकेडेमीका सञ्चालक गोविन्द चौलागाईँको आतिथ्यता रहेको थियो ।
उद्घाटन सत्रको सहजीकरण विज्ञान शिक्षक समाजका जीवन तिमल्सिनाले गरेका थिए ।