मकवानपुर । मकवानपुरको हेटौंडामा प्रदेशस्तरीय शैक्षिक सामग्री प्रदर्शनी भएको छ । सोमबार भएको प्रतियोगितात्मक शैक्षिक सामग्री प्रदर्शनीमा काभ्रे धुलिखेलको सेतीदेवी मावि प्रथम भएको छ ।
शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशको आयोजनामा हेटौंडा ४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा भएको प्रदर्शनीमा चितवनको सैनिक आवासीय महाविद्यालय, खैरहनी द्वितीय, सिन्धुपाल्चोको कृष्णरत्न गंगा मावि तृतीय भएका थिए । यस्तै धादिङको पासाङचोक महादेव मावि सान्त्वना भएको हो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयले क्रमशः ३० हजार, २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे । बागमती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रदान उक्त विद्यालयहरुलाई पुरस्कार प्रदान गरेकी थिइन् ।प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका एक/एकवटा माध्यमिक विद्यालयको प्रदर्शनी राखिएको थियो ।
१ जना मेन्टर शिक्षक र २ जना विद्यार्थीले सहभागिता जनाएका प्रदर्शनीमा विद्यालयले सामाजिक, विज्ञान, गणित, नेपाली र अंग्रेजी त्रिआयामिक शैक्षिक सामग्रीहरु, मोडेल र विभिन्न अवधारणालाई मूर्त रुप दिने व्यवहारिक सामग्रीहरु प्रदर्शनी गराएका थिए । सहभागी १३ वटा विद्यालयका विद्यार्थी र शिक्षकलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले विद्यालयहरुले शैक्षिक सामग्री सहित पठनपाठन गराउन यस्ता प्रदर्शनीहरु फलदायी हुने बताइन् । ‘मूर्त बस्तुसहितको शैक्षिक सामग्रीले विद्यार्थीको सिकाइ अभिवृद्धि गर्नेछ’ उनले भनिन् ।
शिक्षा विकास निर्देशनालय, हेटौंडाका महानिर्देशक खुबीराम अधिकारीको अध्यक्षतामा तथा मन्त्री खड्गीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा पवित्रा तिमल्सेना, बालकुमार श्रेष्ठ, सुवास खनाल, सरस्वती अधिकारी निर्देशनालयका सूचना अधिकारी धनश्याम खनाल लगायतको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा रहेकाे एक विद्यालयमा ‘कथा चौतारी’ कार्यक्रमको शुरुआत गरेकाे छ । हेटौंडा उपमहानगरपालिका १८ हर्नामाडीमा रहेकाे मकवानपुर बाल विद्या सदनले १३ माघबाट ‘कथा चौतारी : सिर्जना, सपना र प्रेरणाको मेल’ कार्यक्रम सञ्चालन गरेकाे हाे ।
कक्षा १ देखि ५ सम्मका बालबालिकाको सिर्जनात्मकता प्रस्तुत गर्ने विशेष मञ्चकाे रुपमा सुरु गरिएकाे कार्यक्रम ४ दिनसम्म संचालन हुने विद्यालयका संस्थागत प्रिन्सिपल सुदीपराज गिरीले जानकारी दिए । ‘कथाहरू मानिसको जीवनलाई समृद्ध बनाउने अद्भुत साधन हुन्’ उनले भने ‘यस सोचलाई व्यवहारमा उतार्दै विद्यालयले ‘कथा चौतारी’ कार्यक्रमको अवधारणा अघि सारेको हो ।’ कार्यक्रम शिक्षकमाथि गरिएको विशेष कथा लेखन तालिमबाट सुरु भएको छ। ‘तालिमले शिक्षकहरूलाई कथा लेखनको सिप सिकायो, जसलाई उनीहरूले कक्षाकोठामा विद्यार्थीहरूसँग अभ्यास गराए। यसले बालबालिकाको सोच, कल्पनाशक्ति, र लेखन क्षमतालाई प्रोत्साहन गरेको छ’ उनले भने ।
बालबालिका, शिक्षक, र अभिभावकबीचको सम्बन्धलाई सिर्जनशीलताका माध्यमबाट थप बलियो बनाउने कार्यक्रमको उद्देश्य रहेकाे छ । ‘कार्यक्रमले बालबालिकालाई आफ्ना सपना र सिर्जनाहरू अभिव्यक्त गर्न प्रेरित गर्नेछ’ प्रिन्सिपल गिरीले भने । मञ्चले उनीहरूको प्रतिभा उजागर गर्दै उनीहरूको कथा भन्न सक्ने आत्मविश्वास निर्माण गरेको उनले बताए ।
कार्यक्रमको पहिलो दिन आइतबार कक्षा १ का विद्यार्थीले आफ्ना कथा रचनाहरू प्रस्तुत गरेका छन् । बाल्यकालका सरल कल्पनाहरूले अभिभावकहरूलाई भावुकसमेत बनाएकाे थियाे । कार्यक्रममा सोमबारबाट कक्षा २ देखि ५ सम्मका विद्यार्थीले आ-आफ्ना कथा रचनाहरू प्रस्तुत गर्दै यात्रालाई अझ रोचक र प्रेरणादायी बनाउने साहित्यकार एवम् पठन संस्कृति विकासका अभियन्ता छविलाल श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमले आफ्ना बालबालिकाको सिर्जनशीलता र क्षमता नजिकबाट अनुभव गर्ने अवसर प्रदान गरेकाे अभिभावकहरूले प्रतिक्रिया दिएका छन् । एकजना अभिभावकले भने, “कुनै मञ्चमा उभिनु बालबालिकाका लागि चुनौतीपूर्ण कुरा हो। तर यस कार्यक्रममा उनीहरूले देखाएको आत्मविश्वास, जसले उनीहरूलाई आफ्ना विचार अभिव्यक्त गर्न प्रोत्साहित गर्यो, हाम्रो लागि निकै प्रेरणादायी रह्यो। यो विद्यालयको सैद्धान्तिक शिक्षाभन्दा परको मूल्यवान योगदान हो।”
‘कथा चौतारी’ सिर्जना र प्रेरणाको मात्र मञ्च होइन, यो विद्यालय, बालबालिका र अभिभावकबीचको सम्बन्धको एउटा अद्भुत कथा पनि हो। शिक्षकमाथि गरिएको तालिम र बालबालिकाले प्रस्तुत गरेको अनमोल सिर्जनाले विद्यालयको शिक्षण प्रणालीमा एउटा नवीन अध्याय थपेको छ’ प्रिन्सिपल गिरीले भने । उनले ‘कथा चौतारी’ मकवानपुर बाल विद्या सदन विद्यालयको हस्ताक्षर कार्यक्रमका रूपमा विकसित हुँदै जानेछ बताए । ‘बालबालिकाको प्रतिभा उजागर गर्ने मात्र होइन, कथाको शक्ति र जीवनका लागि यसको महत्त्वलाई पनि अझ प्रस्ट्याएको छ’ उनले भने ‘विद्यालयले यस कार्यक्रमलाई हरेक वर्ष अझ सुदृढ र विस्तारित रूपमा आयोजना गर्ने लक्ष्य राखेको छ।’
‘जसरी हरेक मानिसका जीवनमा कथा महत्त्वपूर्ण स्थान राख्छन्, त्यसरी नै ‘कथा चौतारी’ बालबालिकाको सिर्जना र प्रेरणालाई सजीव बनाउने यो विशेष प्रयास अविस्मरणीय रहिरहनेछ’ श्रेष्टले भने ।
विद्यालयका संस्थापक सुदिप राज गिरीकाे सभाध्यक्षता तथा साहित्यकार एवम् पठन संस्कृति विकासका अभियन्ता छविलाल श्रेष्ठ प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विद्यालयको शिक्षक, अभिभावक संघका सदस्य आइतमान नेगीलगायत अभिभावकहरूको सहभागिता रहेकाे थियाे ।
मकवानपुर । नेकपा एमाले पार्टीका मुख्य सचेतक महेश बर्तौलाले शिक्षा विधेयक आगामी संसदबाट पास गरिने बताएका छन् । मकवानपुरकाे हेटौंडामा सुरु नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औं जिल्ला अधिवेशनमा बोल्दै बर्तौलाले यस्तो बताएका हुन् ।
‘शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक हाे’ उनले भने ‘हरेक शिक्षकहरुमा अधिकार सँगसँगै जवाफदेहिता पजि सँगसँगै होस् । एक शिक्षकले विद्यालय जान घरबाट निस्कदै गर्दा आफूसँगै आफ्ना नानी बाबू विद्यालय लैजान सक्ने वातावरण बनाउनुपर्नेछ । शिक्षकहरु स्थानीय तहमा रहन खोजिरहेका छैनन् भन्ने बिषय पनि बाहिर उठेको बताउँदै उनले भने “शिक्षकहरु संघीयता विरोधी होइनन् ।’
स्थानीय तहको नेतृत्वले यातना दिने मानसिकताको कारणले गर्दा शिक्षकहरु स्थानीय तह अन्तर्गत बस्न खोजिरहेका छैनन् ।’ केही स्थानीय तहमा शिक्षकहरुलाई संगठनमा संगठित भएकै कारण यताबाट उता र उताबाट अर्कोमा सरुवा गराई दुःख दिइरहेकाे उनले बताए । ‘संबिधानले निर्दिष्ट गरेका व्यवस्थाहरु उपयुक्त छन् तर नेतृत्वको कार्यशैलीका कारण यस्तो भइरहेका छन् । यसलाई विद्यालय शिक्षा विधेयकले समेट्नु पर्छ’ उनले भने ।
हिजो सिङ्गो व्यवस्था परिवर्तनको आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने संगठनहरु अहिले पनि उत्तिकै ससक्त हुन जरुरी भएको उनले बताए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभा सदस्य महेश बर्ताैलाले शिक्षा प्रति विश्वासमा कमजाेरी आएकाे बताए । कानूनी व्यवस्थापन समयमै नगर्दा शिक्षा क्षेत्रमा संकट रहेकाेले शिक्षकहरुमा रहेकाे निराशा आएकाे उनले बताए । ‘विद्यालय शिक्षा विधेययकका मसिनाे ढंगले काम गरिरहेका छाै, शिक्षामा आम नागरिकहरुकाे विश्वास बढाउन, शिक्षामा भएकाे विभेद हटाउन जरुरी रहेकाे छ’ उनले भने ।
‘सरकारी विद्यालयकाे स्तर उकास्ने गरि कानून प्रवर्धन गरी सुनिश्चित गर्नुपर्ने उनले बताए । २०६१ सालदेखिका शिक्षकहरुकाे वृत्ति विकास हुन नसकेकाे बताउँदै उनले भने ‘मानव संसाधन विकासकाे दृष्टिकोणले शिक्षकहरुलाई हेर्नु पर्छ ।’ स्थानीय सरकार समेतले शिक्षा क्षेत्रलाई वलियाे बनाउने दायित्व हाे तर राजनीतिक त्रुटिका कारण स्थानीय तहप्रति निराशा पैदा भएकाे छ उनले बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औं जिल्ला अधिवेशन शनिबारसम्म चल्ने छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका २ वटा सामुदायिक विद्यालय एकीकरण(मर्ज) गरिने भएको छ ।
मकवानपुर कै पुराना २ सामुदायिक विद्यालय एकीकरण प्रक्रियामा लैजान कार्यदल समेत गठन गरिएको छ । हेटौंडा ४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालय र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई एकीकरण सम्बन्धी प्रक्रियाको लागि उपमहानगरको कार्यपालिका बैठकले ४ नम्बर वडाका वडा अध्यक्ष नवीन सिग्देलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ ।
भुटनदेवी मावि व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष सिग्देल संयोजक रहेको कार्यदलको सहसंयोजकमा आधुनिक राष्ट्रिय माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहमद समिम छन् । सदस्य सचिवमा हेटौंडा उपमहानगरपालिका शिक्षा शाखाका हरिष्चन्द्र सापकोटा तथा सदस्यहरुमा भुटनदेवी माविका प्रधानाध्यापक माधव दाहाल, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईँ, कार्यपालिका सदस्य जुना दाहाल र इश्वरी रसाइली रहेका छन् ।
कार्यदलको स्थायी आमन्त्रीत सदस्यमा उपमहानगरको सामाजिक विकास महाशाखा प्रमुख भीम प्रसाद तिमल्सिना, विज्ञ सल्लाहकार कृष्ण प्रसाद धिताल र कानूनी शाखाका लक्ष्मण मैनाली रहेका छन् ।
कार्यदलले माघ मसान्त सम्ममा दुबै विद्यालयको भौतिक विवरण, शिक्षक, विद्यार्थी, कर्मचारी लगायत अबस्थाको अध्ययन गरि तयार गरेको प्रारभ्भिक प्रतिवेदन बुझाउने कार्यदलका संयोजक सिग्देलले बताए । आगामी बैशाखबाट मेगा विद्यालय सञ्चालन गर्ने गरि कार्य अघि बढेको सिग्देलले जानकारी दिए ।
लामो समयदेखि शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै आएको दुवै विद्यालयलाई मर्ज गरी मेगा विद्यालयका रूपमा अगाडि बढाउन मर्ज गर्न लागिएको हो । हेटौंडालाई शैक्षिक हबका रूपमा विकास गर्ने उद्देश्यले दुवै विद्यालय व्यवस्थापन समितिको निर्णय, वडा कार्यालयको सिफारिससहित वडाध्यक्ष, दुवै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहितको टोलीले केही समय अघि हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामालाई आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए ।
‘हेटौंडा पछिल्लो समय शैक्षिक हबको रुपमा विकास भइरहेको छ । भौतिक पूर्वाधारको निर्माण गरी १० हजार विद्यार्थीलाई सुविधासम्पन्न रूपमा अध्ययन गराउने उद्देश्यले मर्जर प्रक्रिया अगाडि बढाइएको हो’ कार्यदल संयोजक सिग्देलले भने । उनका अनुसार दुवै विद्यालय मर्ज पश्चात भुटनदेवी माविको साधन र स्रोत पूर्ण रूपमा सदुपयोग हुने र आधुनिक माविलाई आवश्यक स्रोतको समेत सहजै पूर्ति हुनेछ ।
‘कार्यदलले अध्ययन प्रतिवेदन बुझाएपछि संघ र प्रदेश सरकारले समेत आवश्यक लगानी विद्यालयमा गर्नुपर्छ’ उनले भने । दुवै विद्यालय मर्जपश्चात खेलकुद मैदान, विज्ञान ल्याब, पुस्तकालय तथा अन्य भौतिक पूर्वाधार निर्माण हुने विश्वास वडा अध्यक्ष सिग्देलको छ ।आधुनिकमा करिब २८ सय र भुटनदेवीमा २२ सय बालबालिका अध्ययनरत छन् । भुटनदेवीमा प्राविधिक धारका विषयमा पनि अध्यापन गराइन्छ । दुबै विद्यालय एकीकृत गर्दा अहिले नै ५ हजार विद्यार्थी हुनेछन् ।
नेपालको सबैभन्दा ठूलो मानिएको बुटवलको कालिका माविमा करिब ८ हजार विद्यार्थी रहेका बताइन्छ । केही समय अघि वडाध्यक्ष सिग्देल दुबै विद्यालयका प्रअ, शिक्षा विकास महशाखाका कर्मचारी, शिक्षक सहितको टोलीले उक्त विद्यालयको अवलोकन समेत गरेको थियो ।
मकवानपुर । हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा साँस्कृतिक कार्यक्रमसहितकाे शैक्षिक प्रदर्शनी सुरु गरिएकाे छ । तहगत विद्यार्थीको प्रस्तुती रहने गरी आइतबारबाट सुरु भएको कार्यक्रम आगामी ४ माघसम्म सञ्चालन हुनेछ ।
अर्धवार्षिक परीक्षा सकिएलगत्तै विद्यार्थीलाई पुनर्ताजगी हुने गरी कला प्रदर्शनीको अवसर प्रदान गरिएको विद्यालयले जनाएको छ । विद्यालयले विद्यार्थीको आत्मबल बढाउन, सिकेका कुरा प्रस्तुत गर्न, शिक्षा, ज्ञान, सीप क्षमताको विकास गर्ने लक्ष्यसहित साँस्कृतिक, शैक्षिक प्रदर्शनीको आयोजना गरेको प्रिन्सीपल विनोद सुवेदीले जानकारी दिए । विद्यालयले खेलकुदका क्रियाकलापलाई पनि अगाडि बढाउने उनले बताए ।
कार्यक्रममा सोमबार कक्षा १ कक्षादेखि कक्षा ३ कक्षासम्मका विद्यार्थीको प्रस्तुति रहेकाे थियाे । पहिलो दिन आइतबार नर्सरी, एलकेजी र युकेजी कक्षाका विद्यार्थीले प्रस्तुती देखाएका थिए । विद्यार्थीले उद्घोषण, नृत्य, गायन, नाटक कला प्रस्तुत गरेका छन् । बुधबार कक्षा ४ र ५ को, बिहीबार कक्षा ६ देखि ९ सम्मका विद्यार्थीको साँस्कृतिक प्रस्तुती रहने बताइएकाे छ । यसैगरी शुक्रबार शैक्षिक प्रदर्शनी गरी कार्यक्रमकाे समापन गरिने छ ।
कार्यक्रममा अर्धवार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई कक्षागतरुपमा पुरस्कृत समेत गरिएको छ ।