मकवानपुर । देशमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले आंशिक बदलीको अवस्था रहेको छ ।
पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै अन्य स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।
यस्तै नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको असर आइतबारदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा देखिने छ । उक्त असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाडौसम्म आइपुग्ने मौसमविद् बताउँछनन् । “पश्चिमबाट पूर्वतर्फ आउँदा प्रणाली कमजोर हुँदै आउने र काठमाडौमा पनि थोरै बदली भई छिटपुटसम्म वर्षा हुनसक्ने छ, चिसो पनि केही बढ्ने छ ” मौसमविद शान्ति कंडेलले भनिन् ।
प्रणाली लुम्बिनीमा आइपुग्दा भने कमजोर हुने र त्यसको सामान्य असरमात्रै पूर्व तथा मध्यतिर पर्ने जनाइएको छ । यसले पश्चिम नेपालका हिमाली क्षेत्रमा बढी हिउँ पर्ने र पश्चिम नेपालका तराईका क्षेत्रमा चिसो बढ्ने देखिन्छ ।
मकवानपुर । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य र पूर्वी तराइ तथा उपत्यका धेरै भू-भागमा हुस्सु र थोरै भू-भागमा कुहिरो लागेको छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा पनि भइरहेको महाशाखाले जनाएको छ।सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।
सोमबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।
मंगलबारबाट मौसममा सुधार हुने समेत महाशाखाले जानकारी दिएको छ ।
तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध गरेको छ ।
मकवानपुर । जलवायुको प्रभावमा ध्यानकर्षण गर्न मंसिर १ गते अर्थात “नोभेम्बर १६” मा हेटौंडामा प्रभातफेरी गरिएको छ । जलवायु परिवर्तनको मुद्दा वातावरणीय मुद्दा मात्र नभइ सिगो पृथ्विको अस्तित्वको मुद्दा भएकोले हरेक देशका राष्ट्र प्रमुख, अभियन्ता, वैज्ञानिक, र विज्ञहरु अजरवैजनको वाकुमा जारि कोप २९ अर्थात् विश्व जलवायु सम्मेलनमा वार्तारत रहेको बेला नेपाल र नेपाली लगायत मकवानपुरमा परेकोका सम्मबन्धमा प्रभातफेरी गरिएकाे हाे ।
दिगो बिकास ईन्स्टिच्युट जलबायु अभियन्ता अलिशा मुल्मिको नेतृत्वमा, लाईन्स क्लब जिल्ला उपाध्यक्ष लियो सुशान्त खतिवडा, क्लाईमेट सम्बन्धी काम गर्ने संघ सस्थाहरु, NYCA hetauda, दिगो बिकास ईन्स्टिच्युट, क्लाइमेट्स नेपालका युवाहरु, विभिन्न स्कुलका विद्यार्थीहरु लगायतको उपस्थितिमा प्रभातफेरी भएको हो ।
मकवानपुर । बागमती प्रदेशमा जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरणमा सबै एक जुट हुनुपर्नेमा जोड दिइएको छ । जलवायु परिवर्तका कारण बागमती प्रदेशका बिभिन्न क्षेत्रमा परेको असरका विषयमा शुक्रबार हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
जनपत्र मिडिया प्रालि हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा भएकाे जलवायु परिर्वतनका कारण धेरै खालका समस्या भएको र यसको समस्या विश्वव्यापी रुपमा भएकाले पनि सबैले आफ्ना क्षेत्रबाट लाग्नका लागि कार्यक्रममा सहभागी प्रदेशसभाका समितिका सभापति, पूर्वमन्त्री, सरोकारवालाहरु, बिभिन्न क्षेत्रका व्यक्तित्वहरुले कार्यक्रममा सुझाब दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले जलवायु परिवर्तनको रोकथाम र न्यूनिकरणका लागि तीन तहका सरकारबीच समन्वय अभाव भएको बताए । उनले बागमती प्रदेश सरकारमा वातावरण क्षेत्र हेर्ने कानून, कार्यालय र कर्मचारीसमेत नभएको जानकारी दिए । ‘स्थानीय तहले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्न सकेनन् । जलवायु परिर्वतनबाट नेपाल पहिल्यैदेखि प्रभावित रहँदै आएको छ’ उनले भने ।
‘जलवायु परिवर्तको असर सम्बन्ध थाहा हुन थालेकाे धेरै समय भएकाे छैन्’ सभापति श्रेष्ठले भने ‘नेपालको विकास प्रणाली र उत्पादनका हिसाबले जटिलता बढ्दै गइरहेको छ ।’ ‘प्राकृतिक प्रकोपको सबैभन्दा बढी प्रभाव गरिब र विपन्न वर्गलाई परेको उनले बताए । उनले जलवायु परिवर्तनका कारण पृथ्वी मानिसको बसोबासका लागि अयोग्य बन्दै गइरहेकोले न्यूनिकरण गर्न पहल गर्नु पर्ने बताए ।
बागमती प्रदेशसभा सदस्य तथा पूर्वसामाजिक विकास मन्त्रीकुमारी मोक्तानले बागमती प्रदेशमा जलवायु परिवर्तनका प्रभावका विरुद्धमा गरिने कार्यका लागि वातावरण क्षेत्रका विज्ञ तथा कार्यालय नै नरहेको बताइन् । ‘प्रदेशमा जलवायु परिवर्तनका प्रभावसँग प्रतिकाका रुपमा काम गर्ने सरकारी संरचना आवश्यक रहेकोछ’ उनले भनिन् ‘जलवायु परिवर्तनबाट कृषि क्षेत्रको उत्पादन घटेकाे छ, विषादीको प्रयोगले किसानहरुमा क्यान्सरकाे संक्रमण छ ।’ हिमाली क्षेत्रमा पानीको स्रोत सुकेकाले पहाडी र तराईका क्षेत्रमा समस्या आएको उनले बताएन् । पूर्वाधार विकासमा इन्जिनियरले आफ्नो ढंगले काम गर्न नपाउनु र जनप्रतिनिधि नै हाबी हुँदै आइरहेको प्रवृतिले विपदजन्य घटनालाई बढावा दिइरहेको उनले बताइन् । ‘जलवायु परिवर्तनका असरसँगै मानवीय त्रुटीलाई रोकथामको नीति लिएर राज्य अगाडि बढ्नुपर्छ’ उनले भनिन् ।
कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका अधिकृत राधिका शर्माले जलवायु परिवर्तनका कारण समाजमा परेको असर र सम्भावित असरका विषयमा प्रस्तुतीकरण गरेकी थिइन् ।
कार्यक्रममा सहभागि कसले के भने ?
नेपालमा र प्रमुखतः बागमती प्रदेशमा जलवायु परिवर्तनको असर डरलाग्दो रुपमा छ । विगतमा जस्तै मनसुन बाहिरिसक्ने असोज महिनाको दोस्रो हप्तामा अविरल वर्षाका कारण बागमती प्रदेशमा ठूलो जनधनको क्षती भएको छ । यो जलवायु परिवर्तनको प्रमुख कारण हो । गैसस महासंघ मकवानपुरले जिल्लाका अधिकांश स्थानीय तहमा जलवायु परिवर्तनको क्षेत्रमा काम गर्नेगरी नीति बनाउन पहल गरेको छ । बागमती प्रदेशलाई हरित प्रदेश घोषणा गर्ने सरकारको घोषणा कागजमै सीमित बनेको छ । प्रदेश सरकारले जलवायु परिवर्तनको असर न्यूनिकरणका क्षेत्रमा काम गर्न नसकेको र बिनियोजित बजेट परिचालनमा पनि कमजोर देखिएको छ ।
रमिला सापकोटा, अध्यक्ष, गैरसरकारी संस्था महासंघ मकवानपुर
खोलामा किनारमा बसोबास गर्दै आइरहेको माझी समुदायको पानीको स्रोत सुकेका कारण जीवनयापनमै समस्या भइरहेको छ । बागमती नदीको कालो पानी खानुपर्ने बाध्यतामा माझी समुदाय रहेको छ । जोखिमपूर्ण जीवन बिताउँदै आएका नागरिकको संरक्षणमा पनि राज्यले ध्यान दिनुपर्छ । जलवायु परिवर्तनका कारण मात्र नभई क्रसर उद्योगलगायतका पूर्वाधारका संरचनाहरुले विपदजन्य घटना बढाएको छ । राजनीतिक नेतृत्वले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने गरी योजना बनाउन सकेको छैन् ।
लक्ष्मी माझी, महासचिव, माझी राष्ट्रिय मुक्तीमोर्चा नेपाल तथा गाउँकार्यपालिका सदस्य, बकैया गाउँपालिका कार्यालय ।
नागरिक समाजले उठाएका विषयमा राज्य गम्भीर हुन जरुरी छ । जलवायु परिवर्तनको रोकथाम र न्यूनिकरणका लागि तीन तहको सरकारको समन्वय आवश्यक छ । समन्वय अभावका कारण यसका क्षेत्रमा काम नै हुन सकेको छैन् ।
कुमारी वाइवा, संयोजक, हिमराइट्स मकवानपुर
धुँवा, धूलो, ग्यास र प्लाष्टिकजन्य पदार्थको प्रयोग घटाएर जलवायु परिवर्तनको असर न्यूनिकरणको लागि सहरमा मात्रै केन्द्रित नगरी ग्रामिण क्षेत्रमा पनि क्रियाकलापहरु गनुपर्ने देखिन्छ । राज्यले जलवायु परिवर्तनको रोकथाम र न्यूनिकरणका लागि मुख्य बिन्दुमा पुगेर काम नै गर्न सकेको छैन् । डढेलो रोक्न राज्यसँग उपयुक्त नीति र योजना नै छैन् । पानीको रिचार्ज हुने गरी संरचना निर्माणमा जोड गर्नुपर्छ ।
दीपक पुडासैनी, सचिव, राष्ट्रिय कृषक समूह महासंघ नेपाल बागमती प्रदेश
विकासको नाममा विनास भइरहेकोले यसलाई रोक्न आवश्यक छ । जंगली जनावर र मानवबीचको द्वन्द्व रोक्नु पर्नेछ । जनावर र मानवको संरक्षणका लागि राज्यले उपयुक्त नीति अबलम्बन गर्नुपर्नेछ । वनजंगलको विनाश र अव्यवस्थित विकासले जलवायु परिवर्तन गराइरहेको छ । यसलाई रोक्न नसके जीवनयापन संकट बन्दै गइरहेको छ ।
नानीमैया रुम्बा, कोषाध्यक्ष, सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश
जलवायु परिवर्तनका प्रभावका उत्पन्न समस्याका कारण कृषि पेशा गर्न अप्ठेरो भइरहेको छ । खोलानालामा पानी सुक्दै जानुले सिचाईमा समस्या र जंगली जनावर मानवबस्ती र खेतियोग्य जग्गामा आइपुग्नुले ठूलो नोक्सानी किसानहरुले व्यहोर्नु परेको छ ।
अर्जुनप्रसाद घिमिरे, अध्यक्ष, चालिसे कृषक समूह हेटौंडा–१७ राजदेवी
राज्यले जलवायु परिवर्तनका कारणहरुको साना–साना समस्याहरुमा ध्यान नै दिन सकेको छैन् । किसानहरुले उठाएका सबालमा स्थानीय तहले चासोका साथ लिने गरेको छैन् । कृषि उत्पादनमा विषादीको प्रयोग र प्लाष्टिकको प्रयोग घटाउन सके जलवायु परिवर्तनको असर कम गर्न सकिन्छ । यसको समस्या समाधानका लागि पहिला साना विषयहरुबाट काम गर्न जरुरी छ ।
गोविन्द पौडेल, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, मकवानपुर संयोजक
जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएकाे कार्यक्रममा बागमती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सचिव राजु श्रेष्ठ लगातयकाे आतिथ्यता रहेको थियाे ।
मकवानपुर । देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रही पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मंगलबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।